अर्थ | संक्षेप
असिनाले खायो सुन्तला
कात्तिके सङ्क्रान्तिको रात एक्कासी परेको असिनाले सबै
सुन्तला झ्ारेपछि कृस्ति–३ कास्कीकी ६६ वर्षीया मैती नेपालीलाई बाँकी
वर्ष दिनको गर्जो कसरी टार्ने भन्ने समस्या आइलागेको छ। सम्पत्तिको
नाममा पाखोवारिका रित्तो सुन्तलाका बोटहरू देखाउँदै मैती भन्छिन्,
“मेरो त धान, कोदो, मकै जे भने पनि यही थियो, सखाप भयो। अब यसकै लागि
लिएको ऋण पनि कसरी तिर्ने हो?”
मैती मात्रै नभई गाउँका खिमबहादुर कामीको अवस्था पनि
उही छ। उनका लागि पनि छोराछोरी पढाउनेदेखि लिएर नुनतेलको गर्जो टार्ने
भनेको सुन्तला बेचेर नै हो। भन्छन्, “असिनाले त हाँगा पनि राखेन, सुन्तला
त के रहन्थ्यो।”
१ कात्तिकको रात कास्की र वरपरका जिल्लाका लागि साँच्चिकै
कालो रात बन्न पुग्यो। लगातार पौने घण्टासम्म परेको एकनासे असिनाले
बजारमा लैजाने बेलाको सुन्तला मात्र नभई भियाउन ठिक्क पारेको धान,
बाला फक्रन लागेको कोदो, तरकारी, कफी सबै माटोमा मिसिए। कृषि विकास
कार्यालय कास्कीले नगर र गाउँ क्षेत्रमा गरी करीब ३० हजार रोपनीको
धानवाली, २० हजार रोपनीको फलफूल र पाँच हजार रोपनीको तरकारी बालीमा
क्षति पुगेको जनाएको छ।
एक रातको असिनाले धान तथा फलफूलमा मात्रै पुर्याएको
क्षति करीब साढे ६ करोड रुपैयाँ बराबरको रहेको अनुमान कार्यालयको छ।
सबैभन्दा बढी करीब रु.१ करोड ८० लाख बराबरको क्षति कृस्तिका सुन्तलामा
मात्रै परेको कार्यालयका वागवानी अधिकृत अरुण काफ्ले बताउँछन्। त्यसवाहेक
निर्मलपोखरी, पुम्दीभुम्दी, थुम्की लगायतका गाविस र पोखरा नगरपालिकाको
विरौटा, कुँडहर, छोरेपाटन लगायतका फाँटहरूमा बढी नोक्सानी पार्योभने
तनहुँ श्याम्घाका क्रियापानी, श्याम्घा हरिया, काफ्लेफाँट, शिखारी,
अम्रेनी, बाह्रबिसेलगायतका फाँटमा पनि ठूलो परिमाणमा बाली नष्ट भएको
गाविस सचिव सिद्धिभक्त पण्डित बताउँछन्। लमजुङको ईशानेश्वर र पर्वतका
केही गाविसमा पनि असिनाले क्षति पुर्याएको छ।
अखण्ड ज्योति,
कास्की
रोयल च्यालेन्ज बजारमा
मदिरा पारखी नेपाली उपभोक्ताहरूका लागि म्याक डोवेल्स
नेपाल लि.ले रोयल च्यालेन्ज प्रिमियम ह्वीस्की बजारमा ल्याएको छ। उच्चकोटिको
ह्वीस्की मनपराउनेहरू बीच आरसी को नामले प्रख्यात यो ह्वीस्की स्कच
र जौको सम्मिश्रणबाट तयार गरिएको कम्पनीले जनाएको छ। हाल काठमाडौँ
उपत्यकाका सीमित पसलहरूमा १८० मिलि, ३५० मिलि र ७५० मिलि बोतलमा उपलब्ध
आरसी को उपभोक्ता मूल्य क्रमशः रु.१५०, रु.३०० र रु.६०० तोकिएको छ।
उमेर अनुसारको क्रिम
 |
युवती तथा वयस्क महिलाको छाला फरक हुने भएकाले तिनले
प्रयोग गर्ने क्रिम पनि फरक नै हुनुपर्ने मान्यताका साथ भारतीय कम्पनी
इमामी लिमिटेडले यी वर्गकालाई सुहाउँदो दुई भिन्नाभिन्नै क्रिम बजारमा
ल्याएको छ। अमेरिकी कम्पनी एक्टिभर कर्पको प्राविधिक सहयोगमा युवतीहरूको
कोमल छालालाई पोषण दिने तथा संभावित डण्डिफोर नियन्त्रण गर्ने गरी
फेयर एण्ड टिन ल्याइएको छ भने वयस्क महिलाहरूका लागि ल्याइएको फेयर
एण्ड एजलेस को प्रयोगले ढल्कँदो उमेरमा पनि अनुहार च्याउरिन नदिने
र छाला नरम बनाइरहने दाबी कम्पनीको छ। ९, ३०, र ६० मिलिको तीन वटा
प्याकमा उपलब्ध दुवै क्रिमहरूको उपभोक्ता मूल्य क्रमशः रु.११, रु.५१
र रु.९१ रहेको छ।
विकास फ्लोर लाई ताम्रपत्र
विगत दुईदशकदेखि विभिन्न ब्राण्डका खाद्य सामग्रीहरू
उत्पादन गर्दै आएको के एल ढुगड समूहको विकास फ्लोर मिल प्रालिलाई कृषि
विभागले ताम्रपत्रद्वारा सम्मानित गरेको छ। उत्कृष्ट खाद्य उत्पादन
गरेबापत छब्बीसौँ विश्व खाद्य दिवसको अवसरमा राष्ट्रियस्तरमा प्रथम
स्थान हासिल गर्न सफल भएकोमा विभागले यो सम्मान गरेको हो। मिलले नेपाल
गुणस्तर चिन्ह प्राप्त खाद्य ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता ब्राण्डका
खाद्य सामग्रीहरू उत्पादन गर्दै आइरहेको छ।
सत्य साई हेयर टनिक
कपाल र्झ्ने र फुल्ने समस्या हुनेहरूलाई लक्षित गर्दै
हिमालय हेयर केयर सेन्टरले सत्य साई हेयर टनिक बजारमा ल्याएको छ। सम्पूर्ण
रूपमा आयुर्वेदिक यस तेलको मालिसबाट नयाँ कपाल उम्रने र टाउकोको चाया
समेत कम हुने तथा कुनै 'साइड इफेक्ट नहुने दाबी कम्पनीको छ। टनिकको
बजार मूल्य रु.३०० रहेको छ।
लक्ष्मी ब्याङ्कको बीमा सेवा
आफ्ना ग्राहकहरूलाई एकीकृत रूपमा ब्याङ्किङ तथा बीमा
सेवा प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी ब्याङ्कले बीमा एजेण्टको रूपमा
पनि काम गर्ने भएको छ। ब्याङ्क सुरक्षण नामक जीवन बीमा योजनामार्फत्
बीमा कम्पनीहरूको सेवा बिक्रीवितरण गर्न लागेको ब्याङ्कले जनाएको छ।
योजनामार्फत् आफ्ना ग्राहकहरूसमक्ष बीमा कम्पनीको पहुँचलाई सहज बनाई
लगानीको निम्ति लाभदायक वातावरण सिर्जना हुने विश्वास ब्याङ्कको छ।
ब्याङ्कले आफ्ना सात शाखालगायत इन्टरनेट, एसएमएस तथा एटीएमबाट पनि
बीमा सेवाहरू बिक्री गर्ने बताएको छ।
यसैबीच इण्टरनेटबाट समेत ब्याङ्किङ सेवा प्रदान गर्दै
आएको यस ब्याङ्कको सूचनाप्रविधि प्रणालीलाई मान्यता प्राप्त भारतीय
अनुगमन टोलीले अत्यन्तै सुरक्षित प्रमाणित गरेको ब्याङ्कले दाबी गरेको
छ। भविष्यका लागि अहिलेदेखि नै इन्टरनेट ब्याङ्किङलाई सुदृढ गर्दै
लाने क्रममा ब्याङ्कले फ्लेक्सक्यूब सफ्टवेयर र सुरक्षित प्रणालीको
विकास गरेको बताएको छ।
एनआईसी ब्याङ्कलाई आईएसओ
गुणस्तरीय व्यवस्थापन पद्धतिका निम्ति बेलायतको युनाइटेड
किङ्डम अफ रजिष्टार सिष्टम्सले प्रदान गर्ने आईएसओ ९००१ः२००० प्रमाणपत्रद्वारा
एनआईसी ब्याङ्क सम्मानित भएको छ। यससँगै सो सिष्टम अन्तर्गतको यस्तो
प्रमाणपत्र प्राप्त गर्ने मुलुककै पहिलो बाणिज्य ब्याङ्क भएको ब्याङ्कको
दाबी छ। ब्याङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'भविष्यमा पनि आफ्ना
ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै जानेमा ब्याङ्क विश्वस्त
छ।'
पुरुषका लागि मेन्ज एक्टिभ
आकर्षक देखिनका लागि शारीरिक सुगठन, पहिरन, कपालको साजसज्जासँगै
पछिल्लो समयमा अनुहारको सुन्दरतामा समेत ध्यान दिनुपर्ने भन्ने पुरुष
चाहनालाई ध्यान दिँदै सौन्दर्य प्रशाधनहरूको उत्पादक युनिलिभरले पुरुषहरूका
लागि फेयर एण्ड लभ्ली मेन्ज एक्टिभ बजारमा ल्याएको छ। पुरुषको कडा
छालाको निम्ति विशेष रूपमा तयार पारिएको यो क्रिमले छालालाई सूर्यको
परावैजनी (अल्ट्र भ्वाइलेट) किरणबाट सुरक्षा प्रदान गर्दै अनुहारलाई
नरम तथा गोरो बनाउने दाबी कम्पनीले गरेको छ।
नेपालीनक्स १.१ बजारमा
मदन पुरस्कार पुस्तकालयले नेपाली भाषामा स्थानीयकरण
गरी विकास गरेको नेपालीनक्स कम्प्युटर सञ्चालन प्रणालीको परिमार्जित
संस्करण नेपालीनक्स १.१ को सीडी सार्वजनिक गरेको छ। गत वर्ष सार्वजनिक
गरिएको परीक्षण संस्करणमा प्रयोगकर्ताहरूले दिएको सुझ्ाव र सल्लाह
अनुसार थप नयाँ सफ्टवेयर र आवश्यक परिमार्जनका साथ यसलाई बजारमा ल्याइएको
पुस्तकालयले जनाएको छ। पूर्णरूपले खुल्ला स्रोतमा आधार भई विकास गरिएको
नेपालीनक्स सीडीको मूल्य रु.५० तोकिएको पुस्तकालयले जनाएको छ।
|