टिप्पणी
| मधेशी दलित
भूमि र नागरिकताको पीडा
•
रामप्रीत
पासवान
अधिकांश मधेशी
दलितसँग जग्गा हुँदैन, उनीहरू सुकुम्बासी हुन्छन्। दलितहरूको परम्परागत
पेशा खोसिएको छ, कतिले आफैँ छाडेका छन्। डोमले चोयाको भाँडाकुँडा,
वाँतरको पराल र पटेरको गुन्द्री बनाउन, तत्माले तान बुन्न, हलखोरले
मलमूत्र फाल्ने र चमारले छालाको काम गर्न तथा सिनो फाल्न छाड्दैछन्।
दुसाधहरूले पाले, गोडाइत, कम्तीया र सुरक्षाको काम गर्न छोडेको धेरै
भयो।
सहरहरूले माटो काट्ने र खत्वेहरूले फोहोर फ्याँक्ने
पेशा पनि छाड्दै छन्। विज्ञान र प्रविधिको विकासले प्रतिस्पर्धा गर्न
नसकेर वा गर्दै आएको पेशा अपमानित भएर उनीहरूको पेशामा यस्तो परिवर्तन
आएको हो। हाल सबै मधेशी दलित कृषि मजदुर भएका छन्।
कृषिः नेपाल
कृषि प्रधान देश भए पनि यहाँको कृषि व्यवस्था पिछडिएको र अव्यवस्थित
छ। सिंचाईको अभाव छ। किसानले समयमा मलखाद पाउँदैनन्, पाए पनि महँगोमा
किन्नुपर्ने हुन्छ। खडेरीको कारण प्रायः बर्सेनि उब्जनी कम हुन्छ।
यस्तो अवस्थामा सामान्य किसानकै त बेहाल छभने कृषि मजदुरको अवस्था
झन् के होला? मधेशका कृषि मजदुर वा मधेशी दलितले बाँच्न लायक ज्याला
पाउँदैनन्। कामको समय सीमा निश्चित हुँदैन। बिहानदेखि बेलुकासम्म मालिक
वा गृहत्को खेतमा काम गर्नु तिनको नियति भएको छ। िनभरि कडा शारीरिक
श्रम गरेर पनि उनीहरूले चार–पाँच किलो अन्न पाउँछन्। यतिले नै सबै
गर्जो टार्नुपर्ने बाध्यता हुन्छ।
आर्थिक अवस्थाः यो
हालतमा रहेका मधेशी दलितको आर्थिक अवस्था जर्जर हुनु स्वाभाविकै हो।
अत्यन्त कमसँग जग्गा छ, त्यो पनि ज्यादै न्यून। आफ्नै हलगोरु हुनेले
आफ्नो जग्गा र वटैया खेती गर्छन्। तर पनि हातमुख जोर्न धौधौ पर्छ।
मानव विकास प्रतिवेदन, २००४ मा मधेशका ४४ प्रतिशत दलित भूमिहीन र १०
प्रतिशत न्यून जग्गा भएका देखाइएको छ।
बसोबासः
प्रायः मधेशी दलितहरूका घर बाटो (डगर) छेउका ऐलानी जग्गामा हुन्छन्।
सामान्य काठ, बाँस र खरले छाएका फुसका छाप्रारुपी ती घरलाई कुनै पनि
बेला हुरीले उडाइदिन सक्छ। सार्वजनिक जग्गामा घरबास रहेकोले उनीहरूले
बारम्बार सँधियार र नम्बरी जग्गाधनीको हप्कीदप्की खानु तथा चुनावका
बेला डर, धाक र धम्की व्यहोर्नुपर्छ।
नागरिकताः पुस्तौँदेखि
यही ठाउँमा बस्दै आएका र यहीँको धर्तीलाई आफ्नो रगत पसिनाले सिँच्दै
आएका मधेशी दलितहरू नागरिकता पाउन अर्थात् 'नेपाली' बन्न सफल भएका
छैनन्। तर, दलाल नोकरशाह पूँजीपति र विदेशी तस्करहरू नेपाली नागरिकता
पाएर मस्तसँग कालो धन्दा चलाउन सक्छन्। पैसा खर्च गर्न सक्ने र पहाडे
मूलका छन् भने विदेशी भए पनि नेपाली नागरिक हुने, तर मधेशी नेपाली
भए पनि विदेशी मानिने– यो कस्तो विडम्बना? मधेशमा नागरिकता समस्या
एउटा गम्भीर विषय बनेको छ। भूमि र नागरिकताका लागि मधेशी दलितहरूले
प्रदर्शन पनि गरेका छन्। यो समस्या रहिरह्यो भने कुनै पनि बेला ठूलो
दुर्घटना हुनसक्छ।
|
मधेशी
दलितको शैक्षिक उत्तीर्ण दर |
| दलित |
प्राथमिक |
माध्यमिक |
एसएलसी |
प्रमाणपत्र
र माथि |
| दुसाध |
४.२ |
१.८ |
०.३ |
०.१ |
| मुसहर |
१.४ |
०.४ |
०.० |
०.० |
| चमार |
४.८ |
१.९ |
०.२ |
०.१ |
| खत्वे |
५.४ |
२.४ |
०.४ |
०.१ |
| धोवी |
८.९ |
५.३ |
०.९ |
०.७ |
|
शिक्षाः भोक
र गरीबीसँग लडिरहेका मधेशी दलितका बालबालिकाहरूका दिन मालिककै गाई,
भैंसी, बाख्रा चराउँदै र खेत खलिहानमा काम गर्दै बित्छन्। धेरै कम
स्कूल जान्छन्। दलितहरूले पढ्नुहुँदैन, पढे पनि जागिर पाईँदैन भन्ने
मान्यता छ। राष्ट्रिय दलित आयोगले २०६० सालमा सार्वजनिक गरेको एक विवरण
अनुसार, मधेशी दलितहरूको शैक्षिक उत्तीर्णदर ज्यादै न्यून छ।
स्वास्थ्यः पौष्टिक
आहारको कमीले मधेशी दलितमा कुपोषणको समस्या छ। स्वास्थ्य स्थिति बिग्रिँदो
छ। दलितहरूका वस्तीमा डाक्टरभन्दा धामी–झाँक्रीले बढी मान्यता पाउँछन्।
आर्थिक अभावले गर्दा पनि उनीहरू डाक्टरकहाँ जान सक्दैनन् र धामी–झाँक्रीकै
शरणमा पर्न बाध्य हुन्छन्। कुरीति, अन्धविश्वास व्याप्त छ। मदिरापान
र धुम्रपान त मधेशी दलितका लागि अनिवार्य नै मानिन्छ। खाना खाइसकेपछि
होस् या काम गरेर थकाइ मार्दा, जुनबेला पनि यिनीहरू धुम्रपान गर्छन्।
मालिकको काममा रहँदा आराम गनर्ेे एक वहाना पनि हो यो। टाठाबाठा मालिकले
कामदारलाई रिझाउन गाँजा र सुर्तीको राम्रो व्यवस्था गरेका हुन्छन्।
गाँजा खाएर लठ्ठ परेपछि एकसुरमा थोरै समयमा धेरै काम गर्न सक्छन् भनेर
पनि उनीहरूको स्वास्थ्य बिगार्ने काम गरिएको हुन्छ। मधेशी दलितमध्ये
मुसहर र डोमको आयु अत्यन्त छोटो, ४५–५० वर्ष मात्रै छ। कुपोषण, अस्वस्थ
रहनसहन र समयमा खान नपाउनाले प्रायः मधेशी दलितहरू युवा अवस्थामै बूढाजस्ता
देखिन्छन्।
सामाजिक भेदभावः नेपाली
समाजमा सम्मानित र अपमानित दुई वर्ग छन्। मधेशी दलित अपमानित वर्गमा
पर्दछन् र उनीहरूमाथि चर्को छुवाछूत र भेदभाव गरिन्छ। डोमले सुँगुर
पालेको, चमारले सिनो फालेको र हलखोरले मलमूत्र फालेकोले नै पेशाको
आधारमा छुवाछूत गर्ने काम भएको छ। मधेशी दलित जति अल्पसङ्ख्यक छन्,
तथाकथित बहुसङ्ख्यक जाति–जनजातिबाट त्यति नै पीडित छन्। मधेशमा अहिले
पनि थारू, यादवलगायतका बहुसङ्ख्यक जनजातिबाट दलित माथि बहिष्कार, कुटपिट,
भौतिक कार्वाही हुने गरेको छ। धम्की, गाली र अपमानका शब्दहरू प्रयोग
गरिन्छ। सार्वजनिक इनार, मन्दिर, स्कूलहरूमा विभेद गरिन्छ। गरीब र
अशिक्षित भएकाले मधेशी दलितहरू अपमान सहन विवश छन्।
राजनीतिः नेपालका
ठूला पार्टीका संरचनामा मधेशी दलितहरूको उपस्थिति अति नै न्यून छ।
अहिले पनि ठूला दलहरूले यो वर्गलाई समावेश गर्न सकेका छैनन् र त्यस्तो
गर्ने सोच राखेको पनि देखिन्न। देशका दुई प्रमुख पार्टीहरू नेपाली
काङ्ग्रेस र नेकपा एमालेका केन्द्रीय समितिमा मधेशी दलितको उपस्थिति
छँदैछैन। पार्टीहरू गाउँ, नगर, जिल्ला तह र संसदमा मधेशी दलितलाई उम्मेदवार
बनाउन तयार हुँदैनन्। दलितलाई टिकट दिएमा पार्टीभित्र असहयोग हुन्छ
भनिन्छ।
(पासवान राष्ट्रिय सभाका उपाध्यक्ष
हुन्।)
|