हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

तन्नेरी | मिडिया

आकर्षण बढ्यो प्रशिक्षण भएन

नयाँ–नयाँ एफएम रेडियो र टेलिभिजन च्यानलहरू खुल्ने क्रमसँगै प्रसारण माध्यममा युवा आकर्षण बढेको छ। तर उनीहरूले राम्रो शिक्षा र प्रशिक्षण पाउन सकेका छैनन्।

विषम ठकुरी/कृष्ण तिवारी

तस्बिरहरूः किरण पाण्डे
सुरजसिंह ठकुरी र माल्भिका सुब्बा, कान्तिपुर टिभी।

एक दशकयता नयाँ–नयाँ एफएम स्टेशन र टेलिभिजन च्यानल खुल्ने क्रमसँगै प्रसारण माध्यममा युवा आकर्षण बढेको छ। उनीहरू रेडियो–टीभी प्रस्तोता, 'रेडियो जक्की' (आरजे) वा 'भिडियो जक्की' (भीजे) बन्ने ध्याउन्नमा देखिन्छन्। तर प्रसारण पत्रकारिता र कार्यक्रम निर्माण–सञ्चालनको शिक्षण–प्रशिक्षणमा स्थापित शिक्षणसंस्थाहरूको उदासीनता एवं कम्प्युटर इन्स्टिच्यूटदेखि डान्स सेन्टरसम्ममा अन्धाधुन्द खुलेका 'उद्घोषण' र 'पत्रकारिता' तालिमले गर्दा उनीहरूले राम्रो सिक्ने ठाउँ भने पाएका छैनन्।

५–१० वर्षयता प्रसारणमाध्यममा करिअर बनाउन थालेका युवा कार्यक्रम सञ्चालकहरू यतिखेर 'सेलिब्रीटी' बनिसकेका छन्। कान्तिपुर एफएमका हेम सुवेदीले व्यवस्थापन विषय पढेका थिए। “म ब्याङ्कको म्यानेजरसम्म बन्थेँ र पैसा पनि कमाउथेँ होला, तर मेरो परिचय त्यतिमै सीमित हुन्थ्यो। रेडियोले मलाई प्रशस्त चिनाएको छ”, उनी भन्छन्। लहैलहैमा टेलिभिजनमा लागेका कान्तिपुर टीभीका सुरजसिंह ठकुरीले पत्तै नपाई सेलिब्रिटी बनेको अनुभव गरेका छन्। वातावरण विज्ञानमा स्नातकोत्तर सुरज 'कल कान्तिपुर' कार्यक्रम चलाउँछन्। भन्छन्, “मलाई मिडियाको कुनै ज्ञान थिएन, न यसमा सोख नै। अनायासै लागेँ। अहिले अनुभवबाट धेरै सिकेको छु। यसैमा पढेर वा प्रशिक्षण लिएर लागेको भए अझै छिटो र राम्रो प्रगति गर्न सक्थेँ होला।”

पत्रकारितामा स्नातक गरेर मेट्रो एफएम, कान्तिपुर टीभी हुँदै हाल इमेज च्यानलमा समाचार प्रस्तोता रहेकी कल्पना ढकाल यो क्षेत्रमा स्थापित भइसकेकी छन्। उनी टेलिभिजन स्त्रि्कीनमा सबैले देख्ने भएकाले पनि यसमा युवायुवतीको क्रेज बढेको ठान्दछिन्।

ेडियो–टेलिभिजनमा काम गरेपछि आम मानिसको हेराइ नै बदलिएको अनुभव गरेकी महिमा भट्टराईले नौ वर्षअघि हिट्स एफएमबाट काम गर्न थालेकी हुन्। पत्रकारितामा स्नातक पनि गरेकी महिमा अहिले इमेज च्यानल र इमेज एफएममा कार्यक्रम चलाउँछिन्। उनी भन्छिन्, “मिडियामा सोख र चार्म भएर करिअर बनाएँ। पढाइ पनि भएकाले केही सजिलो भयो। यसमा धैर्य पनि चाहिन्छ। काम गर्ने अवसर प्रशस्त छ।”

नेपालमा अहिले सय भन्दा बढी व्यावसायिक र सामुदायिक एफएम रेडियोले प्रसारण अनुमति पाएका छन् भने करीब ५० वटा नियमित प्रसारणमा छन्। राजधानीमा मात्रै झण्डै डेढ दर्जन एफएम रेडियोका साथै आधादर्जन टेलिभिजन च्यानल प्रसारण भइरहेका छन्। राजाको प्रत्यक्ष शासनको अवधिमा नयाँ अनुमति दिन लगभग बन्द नै भएको थियो भने त्यसपछि मात्रै ५० वटा एफएम र चार वटा टेलिभिजन च्यानलले अनुमति पाएका छन्।

प्रशिक्षण केन्द्रहरूको ओइरो

हेम सुवेदी, कान्तिपुर एफएम।

नयाँ–नयाँ रेडियो–टीभी र तिनमा युवा आकर्षणसँगै राजधानीलगायत विभिन्न शहरमा उद्घोषण, कार्यक्रम सञ्चालन र पत्रकारिताको तालिम दिने थुप्रै प्रशिक्षण केन्द्र खुलेका छन्। साना तथा घरेलु उद्योग विभागका अनुसार, राजधानीमा मात्रै यस्ता केन्द्र ५० भन्दा बढी छन्। विभागका कर्मचारी हरिनारायण वाग्ले भन्छन्, “दर्ता गरेर चलाउने भन्दा नगरी चलाइएका अझ धेरै होलान्।” तिनले दिने सेवाको स्तर, मापदण्ड आदिको अनुगमन कुनै निकायले गर्दैनन्, घरेलुले पनि। कानूनी हैसियत र तालिमको स्तर जेजस्तो भए पनि यस्ता केन्द्रमा उद्घोषण र पत्रकारिता तालिम लिनेहरूको भीड भने निक्कै हुने गर्दछ। चार वर्षअघि स्थापित असन, कमलाक्षीको ग्लोबल ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक डिल्लीराज पोखरेल छापाभन्दा रेडियो–टेलिभिजन तालिममा प्रशिक्षार्थीहरूको चाप बढी भएको बताउँछन्।

“अधिकांश व्यवस्थापन र विज्ञान पढेकाहरू आउँछन्”, पोखरेल भन्छन्, “हामीले चार वर्षमा दुई हजार मिडियाकर्मी उत्पादन गरेका छौँ, जसमध्ये सयभन्दा बढी यही क्षेत्रमा कार्यरत छन्।”

सेन्टरबाट प्रशिक्षण लिएका विशाल कार्की र राजु लामा मेट्रो एफएम, अनुषा पौडेल इमेज च्यानल, शर्मिला खनाल कान्तिपुर टेलिभिजन, कल्पना भण्डारी च्यानल नेपालमा कार्यक्रम सञ्चालक तथा निर्माता छन्। 'उकाली ओराली' कार्यक्रमकी सञ्चालक तथा 'म्युजिक अफ योर च्वाइस' र 'एसएमएस एण्ड मोर' की निर्माता अनुषा पौडेलले केन्द्रको सैद्धान्तिक ज्ञानले आफूलाई काम गर्न केही सहज भएको बताइन्। जमलेश्वर इन्स्टिच्युटमा प्रशिक्षण लिएका पवन आचार्य कान्तिपुर एफएममा समाचारवाचक छन्। पवनले पछि नेपाल प्रेस इन्स्टिच्युटको रेडियो पत्रकारिता प्रशिक्षण पनि लिए। उनी भन्छन्, “प्रशिक्षण लिएर आए राम्रो हुन्छ, तर अब त प्रशिक्षण केन्द्रहरूमा पनि विकृति आउन थालेको छ। कतिले आफैँकहाँ भरखरै प्रशिक्षण लिएकालाई प्रशिक्षक राख्न थालेका छन्।”

अस्वस्थ प्रतिस्पर्धा र व्यापार

ज्योति श्रेष्ठ, ईमेज च्यानल।

रेडियो–टीभी प्रशिक्षणमा अस्वस्थ प्रतिस्पर्धा र सजिलोसँग पैसा कमाउने धन्दाले पनि ठाउँ पाइरहेको छ। युवाहरूको आकर्षण देखेपछि कम्प्युटर इन्स्टिच्युटदेखि सिलाई–बुनाई, कूकिङ र डान्स केन्द्रसम्मले 'उद्घोषण तालिम' दिन थालेका छन्। तिनले कत्तिको स्तरीय प्रशिक्षण दिइरहेका छन् त? सरकारी निकाय, प्रशिक्षण केन्द्र, सबै मौन छन्। कुनै विषयको प्रशिक्षणका लागि पाठ्यक्रम, भौतिक साधन, पूँजी र शुल्क निर्धारण गर्ने र ती कुराको अनुगमन गर्ने आधिकारिक निकाय नहँुदा केन्द्रहरूकै मनोमानी चल्ने गरेको छ। प्रायः तीनमहिने प्याकेजको लागि प्रशिक्षण केन्द्रहरूले रु.१५ सयदेखि ६ हजारसम्म शुल्क लिने गरेका पाइएको छ।

कतिपय प्रशिक्षण केन्द्रले विज्ञापनमा नाम चलेका आरजे, भीजे र मिडिया प्रशिक्षकहरूको नाम हालेर प्रशिक्षार्थी आकर्षित गर्ने गरेका छन्। कान्तिपुर एफएमका स्टेशन म्यानेजर प्रभात रिमाल आफ्नै उदाहरण दिँदै भन्छन्, “हामीसँग सम्पर्क नै नगरी विज्ञापनमा नाम राखिदिन्छन्। अनि उल्टै आउँछु भनेर धोका दियो भन्छन्। कतिपय प्रशिक्षण केन्द्रमा कार्यक्रम सञ्चालकले समाचार लेखन तालिम दिने गरेका छन्। भौतिक साधन, शुल्क र प्रशिक्षकहरूको योग्यतामा एकरुपता छैन। यस्ता केन्द्रबाट दक्ष जनशक्ति उत्पादन हुने कुरामा कसरी सन्तोष मान्ने?” ईमेज एफएमका स्टेशन म्यानेजर भरत शाक्यका अनुसार, अधिकांश प्रशिक्षण केन्द्र व्यापारमुखी छन्। उनको भनाइ छ, “सिकाउन खोज्नु राम्रो हो, तर त्यसको नाममा ठगी गर्नु भएन। दक्ष प्रशिक्षकको कमी, अस्वस्थ प्रतिस्पर्धा, डान्स सेन्टरसम्मले तालिम दिने गरेकाले विकृति बढेको छ।”

तालिमका नाममा धेरै विकृति भित्रिएकाले कस्ता केन्द्रलाई स्वीकृति दिने र कस्तो पाठ्यक्रम राख्ने भन्ने मापदण्ड बनाउनुपर्ने तथा स्थापित कलेज र प्रशिक्षण केन्द्रहरूले प्रसारण पत्रकारिता अध्यापन गर्नुपर्ने सुझाव प्रभात रिमालको छ। तर, शहरमा भने नयाँ तालिम केन्द्रहरूको ताँतीसँगै कतिपय चलेका प्रशिक्षण केन्द्र बन्द भइरहेका छन्, जसको पछिल्लो उदाहरण बनेको छ– सात वर्षदेखि सञ्चालित जमलेश्वर इन्स्टिच्युट। इन्स्टिच्युटका सञ्चालक तथा रेडियो नेपालका पूर्व सम्पादक तीर्थ भण्डारी भन्छन्, “१२ हजार रुपैयाँ खर्च गरेर विज्ञापन निकालेँ, पाँचजना मात्र आए। तालिम खर्च धान्नमात्रै कम्तीमा १५ जना चाहिन्छ।” भरत शाक्यले चलाएको संवाद
अडियो भिजुअल एकेडेमी तालिम केन्द्र्र पनि बन्द भएको छ।

स्थापित शिक्षणसंस्थाको खाँचो

कल्पना ढकाल, ईमेज च्यानल।

त्रिभुवन विश्वविद्यालय, रत्नराज्य लक्ष्मी क्याम्पसमा तीन दशकदेखि पत्रकारिता तथा आमसञ्चारको अध्यापन हुँदैआएको छ र प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म सात वर्ष यस विषयको पढाइ हुन्छ। तैपनि उक्त क्याम्पसले पाठ्यक्रममा स्नातक र स्नातकोत्तर तहमा ऐच्छिक विषयको रूपमा राखिएको प्रसारण पत्रकारिताको पढाइ शुरु गरेको छैन। त्रिवि, पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागका पूर्व प्रमुख लालदेउसा राई भन्छन्, “पर्याप्त स्रोतसाधन र अनुभवी शिक्षक–प्रशिक्षकको अभावका कारण प्रसारण पत्रकारिता सञ्चालन हुन नसकेको हो।” रेडियो पत्रकारिता शिक्षणका लागि रत्नराज्य क्याम्पसमा निर्मित स्टुडियो र उपकरणहरू केही वर्षदेखि त्यत्तिकै थन्किएर बसेका छन्।

पछिल्लो समय उच्चमाध्यमिक शिक्षा परिषद, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर धेरै नयाँ क्याम्पस–कलेजहरूले पनि प्लस टु/प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहमा पत्रकारिता पढाउने गरेका छन्। एक वर्षअघि भाषा विज्ञानसँग जोडेर काठमाडौँ विश्वविद्यालय र यससँग सम्बद्ध केही कलेजले पनि 'मिडिया स्टडिज' को चारवर्षे स्नातक तह पढाउन थालेका छन्। तर यीमध्ये कसैले पनि प्रसारण माध्यमलाई मूलधारको रूपमा पढाउने गरेका छैनन्।

२० वर्षदेखि छापा पत्रकारिताको प्रशिक्षण दिँदै आएको नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) ले केही वर्षअघि रेडियो पत्रकारिताको नियमित तालिम दिन शुरु गरेको थियो। तर एनपीआई पनि अहिले यो प्रशिक्षण बन्द गरेर प्रसारण पत्रकारितामा आक्कलझुक्कल दिइने तालिममा खुम्चिएको छ। १० वर्षदेखि पत्रकारिताको आधारभूत तालिम दिँदै आएको मिडिया प्वाइन्टले पनि छापा माध्यमलाई नै प्राथमिकता दिएको छ। २०५५ सालदेखि रेडियो–टेलिभिजन कार्यक्रम उत्पादन तालिम दिँदै आएको एकेडेमी अफ अडियो–भिजुअल आर्टस् एण्ड साइन्सेस् (आभास) ले पनि रेडियो कार्यक्रम उत्पादन र सञ्चालन तालिम पनि बन्द गरेको छ।

प्रसारण माध्यमहरूमा युवाहरूको आकर्षण बढे पनि स्तरीय शिक्षण संस्था र प्रशिक्षण केन्द्रहरूको खाँचो यथावत् नै छ।