| •
ऋतुराज |
 |
ऋतुविचार
यस्तो
पनि बहिष्कार?
“दशैँ चाइँ मान्दुङ्न।
टीका पनि लाङ्दुङ्न। तर चाड हो पैलेदेखिको। खानु ता परो नि। पाकेको
खाउँ न हाउ।” यसो भनेर ताप्लेजुङबाट धरानमा आई बसोबास गरेका एक जना
सुब्बादाइले ठूलो खातिर गरेका थिए ऋतुराज र उसको साथमा रहेको साथीलाई
पाँच वर्षअघिको दशैँमा। महानवमीको दिन थियो त्यो र बियर, फाक्सा, आलुदम
अनि चनाको तरकारी आनन्दले खाइएको थियो सुब्बादाइकहाँ। उनको उदार आतिथ्यको
हार्दिक उपभोगबाट महानवमीको त्यो दिन रमझम बनेको थियो हाम्रा लागि
मध्याह्नमै।
मतुवाली जातिका मानिसहरूको घना बसोबास भएको ठाउँमध्ये
एउटा हो धरान। परिवर्तित राजनीतिक सन्दर्भमा साबिकका मतुवाली जातिका
मानिसहरू यता आएर जनजातिमा दरिएका छन् र त्यही नामले चिनिन थालेका
छन्। अनि जनजातिहरूद्वारा थालिएको आत्मपहिचानको खोजीले दशैँलाई हिन्दू
धर्मले उत्पन्न गरेको चाड ठहर्यायो। त्यसपछि त्यो चाड नमनाउने बहिष्कारको
लहर शुरु गरायो। त्यस लहरले धरानका जनजाति समुदाय अछूतो रहन सकेन,
अपितु त्यसबाट अत्यधिक प्रभावित हुन पुग्यो।
तर बानी पर्यो नानीदेखि लागेको। मार नहाने पनि, टीका
नथापे पनि र अरू विधिविधान नमाने पनि दशैँका बेला मासु र रक्सी खानलाई
कसले रोक्ने र? बरु ती दुवै वस्तुको प्रचुर उपभोगका लागि अनुकूल अवसर
पो बनेको छ दशैँ। जस्तो ती सुब्बासाहबको त्यस दिनको आतिथ्यले प्रमाणित
गरेको थियो।
तैपनि बहिष्कारको नारा यथावत् छ, जो दशैँतिहारको मुखमा
झनै मुखरित हुन्छ।
जनसङ्ख्याको अनुपातमा नसही, थोरै नै सही जनजातिको केही
न केही प्रतिशत त निजामती सेवामा छ, प्रहरीमा छ, सेनामा छ। विश्वविद्यालय
र क्याम्पसमा पढ्ने–पढाउनेहरूमा जनजाति भनिने समूहका सदस्यहरूको सङ्ख्या
पनि उल्लेख्य छ। जनजाति विद्यार्थीहरूका सङ्गठनहरू पनि छन्। अझ जनजातिहरूको
राष्ट्रिय सङ्घसंस्थाका ठूला नेताहरूमा धेरै विश्वविद्यालयकै सेवामा
रहेकाहरू छन्। हिसाबले उनीहरूबाट दशैँको ठूलो बहिष्कार हुनुपर्ने हो।
तर अहिलेसम्म कसैले हिन्दू चाड दशैँको बिदा लिन्नौँ भनेका छैनन्। शिक्षण
संस्थाहरूमा त झन् घटस्थापनाको दिनदेखि नै लामो बिदा हुन्छ। कुनै जनजाति
विद्यार्थी वा शिक्षकले पनि दशैँ बिदा बहिष्कार गरेका छैनन्।
रकारी सेवामा हुने जनजातिहरूले पनि भनेनन् हामी बिदा
मनाउँदैनौँ, काम गर्छौं र जनतालाई सेवा दिन्छौँ भनेर। एक महिनाको तलब
पनि मिल्छ दशैँको पेश्कीस्वरुप। कुनै जनजातिले हिन्दू दशैँको तलब पेश्की
लिन्नौँ भनेका छैनन्।
दशैँमा राजा र पार्टीका नेताको हातबाट टीका थाप्ने,
बिदा आनन्दसँग पूरै मनाउने, तलब पेश्की पनि लिने, रक्सी र मासुको भोज
पनि खाने तर बहिष्कारको नारा भने भट्याउन नछाड्ने। यो कस्तो किसिमको
बहिष्कार हो?
कल्पना गरौँ!
घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत भएका भूगोलविद्द्वय डा.
हर्क गुरुङ र डा. चन्द्र गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम
फूलपातीको अघिल्लो दिन कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा
आयोजना गरिएको थियो। त्यसका लागि तमु समुदायका संघसंस्थाहरूले निकै
ठूलो रकम खर्चेर अखबारहरूमा सार्वजनिक सूचनासमेत जारी गरेका थिए। त्यो
कार्यक्रम दिउँसो मध्याह्नदेखि प्रारम्भ भएको थियो।
त्यसै दिन बिहान ९ बजे विश्व वन्यजन्तु कोषले बानेश्वरको
वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सामूहिक शोकसभा गरेको
थियो हेलिकोप्टर दुर्घटनाका शिकार चौबीसै जना दिवङ्गत आत्माको सम्झनामा।
त्यो शोकसभा मर्मस्पर्शी त छँदैथियो, शालीन पनि थियो।
एकै चिहान भएका चौबीसै जनाको श्रद्धाञ्जली सभापछि त्यस्तै
प्रयोजनका लागि तीन घण्टाको अन्तरालमा दुई जनाका लागि मात्र छुट्टै
कार्यक्रम प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिनुलाई समयको सदुपयोगमा जोड
दिने तार्किक र विचारवान् व्यक्ति डा. गुरुङले के भन्नुहुने थियो होला?
कल्पना गरौँ!
प्रिय र श्रद्धेय व्यक्तिको अवसानमा दैनिक पत्रपत्रिकामा
शोकसन्देश छाप्नु अवशाद व्यक्त गर्ने सजिलो उपाय बनेको छ अचेल। यस्तो
उपाय जति सजिलो छ त्यत्तिकै खर्चिलो पनि छ। डा. हर्क गुरुङको अप्रत्याशित
अवसानमा पनि त्यसो हुनु अनपेक्षित थिएन। सीमित स्रोत र साधनलाई फलदायी
काममा लगाउनुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा पनि उतार्ने डा. हर्क
गुरुङको कस्तो प्रतिक्रिया हुनेथियो होला विज्ञापनमा भएको यस व्ययमाथि?
कल्पना गरौँ!
नेपाल पर्वतारोहण संघले होटलमा, जनजाति महासंघले आफ्नै
कार्यालय प्राङ्गणमा र 'न्यु एरा' नामक संस्थाले पनि आफ्नै अफिस भवनमा
डा. हर्क गुरुङको छुट्टाछुट्टै स्मृतिसभा गरे। यी सबै संस्थाका साझा
मार्गदर्शक हुनुहुन्थ्यो डा. हर्क गुरुङ। हरेक कुरामा समन्वित प्रयासमा
भए त्यसको प्रभावकारिता बढी हुन्छ भनी जोड दिने डा. गुरुङको कस्तो
प्रतिक्रिया हुनेथियो होला उनीहरूका अलगअलग उपक्रमप्रति? कल्पना गरौँ!
डा. हर्क गुरुङको प्रतिमा काठमाडौँको कुनै चौबाटामा
खडा गर्ने प्रस्ताव गर्ने पनि छन् कति जना। परित्यक्त र उपेक्षित अवस्थामा
रहेका अरूका प्रतिमाहरू देखेका डा. हर्क गुरुङको कस्तो भनाइ हुनेथियो
होला यस प्रस्तावप्रति? कल्पना गरौँ!
शुभकामना दशैँको
उसो त यसपालि आफ्नो दशैँ थिएन पिताजीको बरखी फुक्न बाँकी रहेकाले।
तर त्यो सबैलाई थाहा हुने कुरा भएन। त्यसैले शुभकामना पठाउनेले पठाए,
थाप्नै पर्यो- त्यो पनि एस.एम.एस. मार्फत् आउने सन्देश नहेरी सुखै
छैन। एस.एम.एस.बाट आउने यस्ता शुभकामना सन्देशहरू सृजनात्मक पनि हुने
गर्छन्।
'आयु द्रोणसुते' र 'टीका होस् निधारमा' भन्ने जस्ता
सन्देश पनि यसपालि नआएका होइनन्, आए। तर मलाई प्राप्त सन्देशहरूमध्ये
मन परेको चाहिँ पाठकसित पनि यहाँ बाँड्न चाहन्छु। यो शुभकामना पठाउने
थिए दाङका पत्रकार भाइ उदय घर्तीमगर।
“कुलतहरू छाड्नु होला
सुमति जोड्नु होला
कामको पूजा गर्नु होला
भगवान्को भर नपर्नु होला
फाल्तु खर्च रोक्नु होला
नयाँ काम थाल्नु होला
सफलता चुम्नु होला
आफ्नो देशको माया गर्ने
असल नागरिक बन्नु होला
विजयादशमी २०६३ को यही शुभकामना।”
धन्यवाद उदय भाइ!
|