रिपोर्ट
| मानव तस्करी
कुवेत जान दिल्लीको बाटो
पछिल्लो दुई महिनामा नेपालगञ्जबाट दिल्लीहुँदै
कुवेत जान खोज्ने ८२ युवतीलाई 'आवश्यक प्रमाण नभएको' भनेर जमुनाहा
प्रहरीले फिर्ता पठाएको छ। घरेलु कामदारका रूपमा खाडी मुलुकमा जान
नपाइने सरकारी प्रतिबन्धको कसरी उल्लङ्घन हुँदैछ भन्ने प्रमाण हो यो।
•
रामेश्वर बोहरा, नेपालगञ्ज
 |
| रामेश्वर बोहरा |
| ४ असोजमा जमुनाहाबाट फर्काइएका युवतीहरू।
उनीहरू काठमाडौँबाट दिल्ली हुँदै कुवेत जान चाहन्थे। |
कुवेत जाने भन्दै
राहदानी बोकेर नयाँदिल्लीतिर लागेका रसुवा, सोलुखुम्बु, ओखलढुङ्गा
र खोटाङका १५ जना नेपाली युवतीलाई असोजको पहिलो साता नेपालगञ्ज नजिकैको
जमुनाहा सीमाचौकीमा रोकियो। प्रहरी र माइती नेपालका कार्यकर्ताले काठमाडौँ–नयाँदिल्ली
बस सेवाको ना२ख, ६५२८ नम्बरको बस जाँच गर्ने क्रममा शङ्कास्पद ठानेर
उनीहरूलाई रोकेका थिए। प्रायः १६ देखि २२ वर्षसम्मका ती युवतीलाई सामान्य
सोधपुछपछि 'कुवेत जाने विश्वासिलो र वैधानिक आधार नभएको' भनी आफन्तको
जिम्मा लगाइएको छ।
यसअघि २१ भदौदेखि ३ असोजसम्म पनि यसैगरी दिल्ली हुँदै
कुवेत जान लागेको बताउने सिन्धुपाल्चोकका १४, नुवाकोटका पाँच, बाँकेका
तीन र रसुवा, सल्यान, झापा तथा गोरखाका एक–एक जना गरी २६ युवतीलाई
घर फर्काइएको थियो। पछिल्ला दुई महिनामा मात्रै नेपालगञ्ज नाकाबाट
भारत हुँदै कुवेत जान खोज्ने ८२ नेपाली किशोरी र युवतीहरूलाई सीमाबाट
फर्काइएको छ।
दलालहरूले प्रायः घरेलु कामदारको रूपमा नेपाली महिलाहरूलाई
कुवेतलगायतका खाडी राष्ट्रहरूमा लैजाने गरेका छन्। तर सरकारले खाडी
मुलुकहरूमा सङ्गठित क्षेत्रबाहेक अन्यत्र महिलाहरूलाई पठाउन रोक लगाएको
छ। अर्कोतिर कुवेत लैजाने नाउँमा दलालहरूले नेपाली युवतीहरूलाई भारतका
कोठीमा पुर्याउने पनि गरेका छन्। यस्तै खतरा देखेर उनीहरूलाई रोकेको
बताउँदै जमुनाहा चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक छवि राना भन्छन्,
“एक त उनीहरू कुवेत पुग्छन् भन्ने विश्वासै लागेन। कुवेत नै जान लागेका
हुन् भने पनि त्यसको वैधानिक आधार हुनुपर्यो, जुन उनीहरूसँग थिएन।”
पहिले–पहिले पनि नेपाली युवतीहरू नेपालगञ्ज नाका भएर
भारत लगिने गरेका थिए। तर धेरैजसो एक्लाएक्लै रिक्सा, टाँगा चढेर जाने
भएकाले को कहाँ जान लागेको हो ध्यान पुर्याउन प्रहरीलाई गाह्रो हुन्थ्यो।
कति 'पारि किनमेल गर्न जाने' भनेर पनि जाने गर्दथे। करीब तीन महिनादेखि
चलेको काठमाडौँ–नयाँदिल्ली सीधा बसमा राहदानी बोकेका १०–१५ जना युवतीका
समूह नै भेटिन थालेपछि उनीहरूप्रति कडा निगरानी राख्न प्रहरीलाई कर
लाग्यो।
प्रहरी नायब निरीक्षक राना भन्छन्, “जानेहरूको डरलाग्दै
रुप देखिएपछि कडाइका साथ रोक्ने र केरकार गर्ने काम गर्न थालेका हौँ।”
माइती नेपालकी नेपालगञ्ज कार्यालय संयोजक रिता भट्टराईको भनाइ छ, “पहिले
त थाहै हुँदैनथ्यो, सीधा बस चलेपछि ठूलो भीड देखिन थाल्यो र पो थाहा
भयो।” यस काममा नेपालगञ्ज बाहेक बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका
अन्य खुल्ला नाकाको पनि प्रयोग हुँदै आएको बताइन्छ।
 |
| काठमाडौँ नयाँदिल्ली चलने बस नेपालगञ्जमा |
भारतः पारवहन मार्ग
४ असोजमा सीमामा रोकिएका १५ युवतीसँग पर्याप्त बाटोखर्च पनि थिएन।
दिल्ली पुगेर कुवेत उड्ने बताउने उनीहरूमध्ये धेरैले ५–६ सय रुपैयाँभन्दा
बढी बोकेका थिएनन्। विनापैसा कसले उडाउँछ भन्ने प्रश्नको जवाफ पनि
कसैले दिएनन्। खोटाङकी अञ्जना राई भन्छिन्, “बसटिकट, खानाखर्च केही
तिर्नुपरेन। उता पनि तिर्नुपर्दैन भन्थे।” तर त्यो पैसा कसले तिर्यो
भन्ने उनलाई थाहा थिएन। सँगै आएकी ओखलढुङ्गाकी अकलमाया सुनुवारले आश्वस्त
पारेपछि हिँडेको उनले बताइन्।
अकलमायाले पनि कसले कसरी कुवेत पुर्याउने हो भन्ने
खुलाइनन्। उनले भनिन्, “गाउँकै एकजना दाइ कुवेतमा छन्, उनैले दिल्लीको
मान्छेसँग सम्पर्क गरेर आऊ भनेको छ।” तर दिल्लीबाट कसले पठाउने भन्ने
चाहिँ त्यो समूहका कसैले बताएनन्। सोलुखुम्बु, सल्यान–६ की ज्ञानु
रानामगरले थपिन्, “दिल्लीबाट पठाइदिन्छन् भन्ने सुन्यौँ र त्यत्तिमै
हिँड्यौँ, अरू केही थाहा छैन।” १० कक्षासम्म पनि नपढेका यी युवतीहरू
कसको सहयोगबाट कहाँ कसरी पुग्ने भन्ने विषयमा या त आफैँमा स्पष्ट थिएनन्,
या उनीहरूलाई कसैलाई नबताउनू भनिएको थियो।
माइती नेपालकी संयोजक भट्टराई भन्छिन्, “स्थितिले देखाउँछ,
उनीहरू कुवेत पुग्दैनथे र धेरै भारतका कोठीमै फँस्ने थिए। कोही पुगिहाले
पनि विचल्लीमा पर्ने या घरेलु कामदार बनेर यौनशोषणको शिकार बन्ने सम्भावना
धेरै थियो।” माइती नेपाल र प्रहरीमा कुवेत वा खाडी राष्ट्रमा पुगेर
नेपाली युवतीहरू समस्यामा परेका र उद्धार गर्न आग्रह गरिएका थुप्रै
उजुरी छन्। माइती नेपाल, नेपालगञ्जमा सन् २००६ मा मात्रै त्यस्ता आठ
वटा उजुरी परेका थिए। तीमध्ये कुवेतमा यौनशोषणको शिकार बनेकी नेपालगञ्ज,
फुल्टेक्राकी एक र कुवेत जाने भन्दै बम्बईको कोठीमा पुगेका दाङ र बाँके,
हवल्दारपुरका दुई युवतीलाई उद्धार गरी घर फर्काइएको जानकारी दिँदै
भट्टराई भन्छिन्, “सुर्खेत, बाँके र दाङका अरू केहीलाई उद्धार गर्ने
तयारीमा छौँ।”
कुवेत पुगेका महिलाको त्यहाँ कति विजोग हुन्छ भन्ने
कुरा त्यहाँबाट बल्लतल्ल फर्केका महिलाका कथा–व्यथाले पनि छर्लङ्ग
पार्छन्। १२ असोजको अन्नपूर्णपोष्ट मा झापा, शान्तिनगर–५ की दया गड्तौलाले
आफूसँगै रहेका १३ नेपाली महिला कष्टपूर्ण जीवन विताइरहेको र चाहेर
पनि घर फर्कन नसकेको बताएकी छन्। सञ्चार–माध्यमहरूमा यस्ता पीडा बारम्बार
आउने गरेका छन्। सुखी जीवनको सपना बोकेर कुवेत पुग्नेहरूको त यस्तो
हालत छ भने भारतीय कोठीहरूमा बेचिनेहरूको अवस्था झन् कस्तो होला? मुम्बइबाट
उद्धार गरिएकी नेपालगञ्जकी एक युवतीले पोखेको पीडा सम्झिँदै भट्टराई
भन्छिन्, “उनीहरूले सुनाएका कुरा हामी व्यक्त गर्नै सक्दैनौँ।”
माइती नेपालद्वारा हालै प्रकाशित माइती लेखन पुस्तिका
मा कुवेतलगायत खाडी मुलुकमा पुगेका नेपाली महिलाहरूको पीडा, उनीहरू
चरम यौनशोषणको शिकार बन्ने गरेका, अलपत्र परेर स्वदेश फर्किएका कथा–व्यथाहरू
छापिएका छन्। पुस्तिकामा कुवेतमा कानी शेर्पाको यौनशोषणपछि हत्या भएको,
साउदी अरबमा अत्यधिक यौनशोषणका कारण शारीरिक रूपले असक्त भएकी एक युवतीलाई
जहाजमा हालेर वेवारिसे र बेहोस अवस्थामा नेपाल पठाइएको दर्दनाक विवरणहरू
छापिएका छन्।
तैपनि भारत भएर कुवेत जान खोज्ने युवतीहरूको सङ्ख्या
बढ्दो छ। शुरुमा कुवेतलगायत खाडी मुलुक जानेमा पूर्व र मध्य क्षेत्रका
महिलाहरू धेरै हुन्थे भने अहिले देशको जुनसुकै क्षेत्रका महिला पनि
भेटिन्छन्। राष्ट्रिय मानवअधिकार आयोगको महिला तथा बालबालिका बेचविखन–ओसारपसार
विरुद्ध राष्ट्रिय समाधीक्षकको कार्यालयद्वारा प्रकाशित मानव बेचविखन
राष्ट्रिय प्रतिवेदन–२०६२ मा महिला र बालबालिकाको ओसारपसार, बेचविखनमा
पहिले नुवाकोट र सिन्धुपाल्चोकजस्ता केही जिल्ला मात्र रहेकामा अहिले
हिमाल, पहाड, तराईमा त्यसो नगर्ने जिल्ला भेट्नै मुश्किल भएको उल्लेख
छ। प्रतिवेदनमा भनिएको छ, “पहिले भारत मात्रै नेपालबाट लगिएका अधिकांश
महिला र बालिकाहरूको गन्तव्य हुन्थ्यो, अहिले भारत गन्तव्य साथै पारवहन
मार्ग भएको छ। कुवेत, मलेसिया, कतारजस्ता मुलुकमा घरेलु कामदार, यौन
व्यवसायीका रूपमा काम गर्न लैजान भारतलाई पारवहन मार्गका रूपमा प्रयोग
गर्ने गरिन्छ।”
किन बढ्दैछ कुवेतमोह
नेपाली चेलीहरू कति थाहा नपाएर त कति थाहा पाएरै कुवेत पुगेका
छन्। तैपनि किन जान्छन् उनीहरू? अञ्जना राई भन्छिन्, “केही काम नपाएपछि
के गर्ने त?” शैक्षिक योग्यता र व्यावसायिक सीप नभएका नेपाली महिलाका
लागि कुवेतमा घरेलु कामदारबाहेक अरू काम उपलब्ध छैन।
सरकारले सङ्गठित क्षेत्रवाहेक अन्य हिसाबले महिलाहरूलाई
खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएकोले घरेलु कामदारको रूपमा जाने महिलाहरू
दिल्लीको बाटो ताक्छन्। यसरी गएर फर्किएका महिलाहरूका अनुसार, रु.३०–४०
हजारको खर्चमा खाडी पुग्न सकिन्छ। तर, दिल्लीको बाटो समात्दा उनीहरू
दलालको फन्दामा पनि त्यत्तिकै पर्दछन्। ती दलालहरू नेपाली कामदार पठाउने
आधिकारिक एजेन्ट नहुने भएकाले त्यहाँ पुगेर अप्ठ्यारोमा पर्नेहरूको
पीडा सुनिदिने कोही हुँदैन। यस्तो अप्ठ्यारोमा परेका आफ्नो देशका नागरिक
उद्धार गर्न र सुरक्षा दिन अरू देशहरूले आवश्यक संयन्त्र बनाउन प्रयास
गरेपनि नेपाल सरकार अहिलेसम्म त्यहाँ जानै नदिने उपाय अवलम्बन गरेर
बसेको छ। तर, यस्तो प्रतिबन्धले समस्याको समाधान हुन्न भन्ने उदाहरण
साउदी अरेविया छ। जहाँ सरकारले 'प्रतिबन्ध' भने पनि अहिले करीब ५०
हजार नेपाली महिला कार्यरत छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एलपी साँवाका
अनुसार, सरकारले रोक लगाएकोले नै खाडी मुलुकमा महिला कामदारको समस्या
डरलाग्दो बनेको हो। उनी भन्छन्, “खाडीमा आधिकारिक रूपमा महिला घरेलु
कामदार जानै दिइँंदैन, अनि खुल्ला सिमानालाई उपयोग गर्दै सबै भारतको
बाटो हुँदै जान्छन् र अनधिकृत व्यक्तिहरूको जालमा फँस्छन्।” सरकारको
तथ्याङ्कमा कानूनी रूपमा खाडी मुलुक जाने नेपाली महिलाको सङ्ख्या करीब
३० हजार मात्र छ। तर संघका कोषाध्यक्ष भाष्करराज पन्त एक लाखभन्दा
बढी महिला खाडी पुगेका बताउँछन्। भन्छन्, “तीमध्ये धेरै अवैध रूपमा
भारतीय बाटो हुँदै कुवेत जानेहरू नै छन्।”
गरीबी, अभाव, बेरोजगारीसँगसँगै देखासिकीले पनि नेपाली
महिलाहरू कुवेत वा खाडी राष्ट्रहरूमा घरेलु कामदार बन्न जान्छन्। त्यहाँ
घरेलु कामकाजमा नेपाली महिलाको राम्रो माग छ। त्यसैले उनीहरूलाई पठाउने
दलालहरूको ठूलो गिरोह पनि यस काममा सक्रिय छ। यद्यपि त्यहाँ जानेहरू
गिरोहबारे केही बताउन भने चाहँदैनन्।
४ असोजमा घर फर्काइएका १५ युवतीले आफूहरूलाई नरोकेको
भए 'विजोग हुन्थ्यो कि' भन्नेसम्म त महसूस गरे, तर कसले पठाउन लागेको
भन्ने कुरा चाहिँ खोलेनन्। २० भदौमा घर फर्काइएकी सोलुखुम्बु, सल्लेरीकी
एक युवती र ६ असारमा फर्काइएका रसुवाका दुई युवतीले मात्रै दावा तामाङ
र कान्छा लामाको नाम लिएका थिए। तामाङ र लामा चेलीबेटी बेचविखनमा चर्चित
नाम हुन्। माइती नेपालका अनुसार, उनीहरूले थुप्रै चेलीलाई भारतमा बेचेका
छन्।
दलालहरू गाउँसम्म पुगेर राम्रो काम र राम्रै कमाइको
लोभ देखाउँदै युवतीहरूलाई फकाउँछन्, आमाबाबुलाई मक्ख पार्छन्, काठमाडौँ
र अन्य शहरसम्म ल्याएर बसभाडा समेत तिरी दिल्ली पठाउँछन्। कतिको पैसा
गाउँमै असुलेका हुन्छन् भने कतिलाई दिल्लीमा गएर दिएपनि हुन्छ भन्छन्।
दिल्लीमा उनीहरूलाई लिन दलालहरूको अर्को समूह बसपार्कमै आइपुग्छ। भट्टराई
भन्छिन्, “यत्रो सञ्जाल भएपनि महिलाहरू केही भन्दैनन्। कतिलाई थाहा
पनि हुँदैन। त्यसैले हामीलाई धेरै अप्ठ्यारो छ।”
उजुरीको ओइरो
“मेरी बहिनीलाई छिटो उद्धार गरिदिनुस्, नत्र ऊ कहिले
पनि घर आउन पाउँदिनँ” यस्तो कारुणिक याचना गर्दै नेपालगन्ज, धम्बोझीकी
एक महिलाले माइती नेपालमा उजुरी दिएकी छन्। उनकी २५ वर्षीया बहिनी
गत चैतमा दिल्ली हुँदै कुवेत पुगेकी थिइन्। उजुरीमा लेखिए अनुसार,
घरमा काम गर्न भनेर लगिएपनि उनलाई त्यहाँ मालिकले यौनशोषण गरेका छन्।
बल्लतल्ल फोनमा भेट्दा बहिनीले उताबाट रुँदै भनेकी थिइन्– 'दिदी! म
यहाँ मरीमरी बाँचेकी छु, मलाई तुरुन्त उद्धार गर। अब अर्को ठाउँमा
पठाउँदैछ। त्यसपछि कहिल्यै घर फर्किन पाउँदिनँ।'
एक वर्षअघि काठमाडौँबाट दिल्लीहुँदै कुवेत पुगेकी दाङ,
जुम्लेकुलाकी २२ वर्षीया एक युवतीका बाबुले पनि यस्तै व्यहोराको उजुरी
माइती नेपालमा दिएका छन्। उजुरीमा उनले छोरीले कुवेतबाट फोन गरेर आफू
यौनशोषणको पीडाले छटपटाइरहेको विलौना गर्दै छिट्टै उद्धार नगरे कहिल्यै
पनि नेपाल फर्किन नसक्ने बताएकी भन्ने कुरा उल्लेख गरेका छन्।
गाउँका सोझा केटीहरूलाई झुक्याएर कुवेत, कतार र मलेसिया
पठाई यौनशोषण गराएको र जीवन बर्बाद पारेको भन्दै बर्दियाको जमुनी–३,
शिवसत्तीपुरका महिलाले आफ्नै गाउँका जयबहादुर सुनारमाथि कारबाहीको
माग गरेका छन्। माइती नेपालमा दिएको उजुरीमा उनीहरूले सुनारले अहिलेसम्म
सत्तीपुरका १५ चेलीलाई विचल्लीमा पारिसकेको र धेरैलाई फेरि पनि पठाउने
तयारी गरेको भन्दै यो काम रोक्न पनि माग गरेका छन्।
उजुरी गर्नेहरूमा त्यहाँबाट फर्केका पीडित महिलाहरू
पनि छन्। उनीहरूको भनाइ छ, “त्यहाँ सधैँ मालिक र उसका पाहुनाहरूको
वासना पूर्ति गर्न लगाइन्थ्यो। नमाने बेस्सरी कुुट्थे। हाम्रो त जिन्दगी
नै बर्बाद भयो। पञ्जाबी एजेण्टलाई केटी बुझाएर पैसा कमाउने सुनारलाई
कडा कारबाही होस् र अरू धेरैको जिन्दगी बर्बाद हुनबाट जोगाइयोस्।”
सुनार अहिले गाउँमा देखिन छाडेका छन्। उनका लोग्नेस्वास्नी
मिलेर खाडीमा राम्रो रोजगार पाइन्छ भन्दै गाउँका केटीहरूलाई फकाएर
त्यता पठाउने गर्दथे। बर्दियाको अनधिकृत बलइगाउँ नाकाबाट केटीहरूलाई
नयाँदिल्ली पुर्याउने गरेकाले उनलाई कुनै अवरोध पनि थिएन।
|