हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | लोकसेवा परीक्षा

मारे छलाङ महिलाले

शाखा अधिकृत पदका लागि लोकसेवा आयोगद्वारा यो वर्ष लिइएको परीक्षामा महिलाहरूले छलाङ नै मारेका छन्। गएको वर्ष ५६ पदमा परीक्षा दिनेमध्ये ५ ले मात्र सफलता प्राप्त गरेकोमा यो वर्ष १४६ मध्ये ३७ पद महिलाले हात पारेका छन्।

ध्रुब खिम्खडा

तस्बिरहरूः किरण पाण्डे
शाखा अधिकृत उत्तीर्णमध्येका ३३ महिला।

लोकसेवा आयोगले फागुन २०६२ मा नेपाल प्रशासन सेवा (प्रशासन, राजस्व, लेखा र कूटनीतिक समूह) का १४६ शाखा अधिकृतका निम्ति परीक्षा लिएको थियो। प्रशासनतर्फ माग भएको ११७ पदमा ४१ जना महिलाले लिखित परीक्षा उत्तीर्ण गरेपनि ५ जनाले वैकल्पिकमा मात्र चित्त बुझाउनुपर्‍यो। उता कूटनीतिक समूहको ६ पद र लेखाको १८ पदमा भने एकजना पनि महिला उत्तीर्ण हुन सकेनन्।

राजस्व, लेखा र कूटनीतिक समूहमा दरखास्त दिनेको सङ्ख्या नै कम थियो। राजस्वतर्फ उत्तीर्ण एक मात्र महिला सङ्गीता घिमिरे (सुवेदी) ले उत्तीर्ण ७ जनामध्ये सबैभन्दा धेरै (मेरिट) अङ्क ल्याएकी छन्। अघिल्लो वर्ष कूटनीतिक, राजस्व र लेखा समूहको शाखा अधिकृत तहको परीक्षामा एकजना पनि महिला उत्तीर्ण भएका थिएनन्।

निजामती सेवाका लागि लोकसेवा आयोगले विगत वर्षहरूमा लिएको अधिकृतस्तरका परीक्षाहरूमा उत्तीर्ण महिलाहरूको सङ्ख्या र अनुपात निकै कम हुने गर्थ्यो। लोकसेवाका भनाइमा, २०३२ सालबाट निजामती सेवामा महिलाहरूको प्रवेश अलिअलि बढ्न थाले पनि सङ्ख्या नगण्य नै थियो। गत वर्ष प्रशासन, राजस्व, लेखा र कूटनीतिक समूहमा गरी ५६ पदका लागि लिइएको शाखा अधिकृत तहको परीक्षामा प्रशासनतर्फ ५ जना महिला मात्र पास भएका थिए। लोकसेवा आयोगका प्रवक्ता माधवप्रसाद ढकाल भन्छन्, “आयोगकै इतिहासमा खुल्ला प्रतिस्पर्धाद्वारा राजपत्राङ्कित तृतीय श्रेणी (खुल्ला) मा यति धेरै महिला उत्तीर्ण भएको यो पहिलो पटक हो।”
लैङ्गिक समानताका लागि मूलप्रवाहीकरण कार्यक्रम (एमजीइपी) ले विगत ६ वर्षदेखि महिलाहरूलाई लोकसेवाको परीक्षासम्बन्धी तालिम दिँदै आएपनि यस्तो उपलब्धि हात लागेको थिएन तर यो वर्ष तालिम दिएकामध्ये झण्डै ६० प्रतिशत महिलाले शाखा अधिकृतको परीक्षा उत्तीर्ण गरे। व्यवस्थापक इन्दु पन्त (घिमिरे) र तालिम विज्ञ अर्जुनमणि दीक्षित रहेको एमजीइपीले राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा

महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत सञ्चालन गरेको यो तालिम शाखा अधिकृत पदमा परीक्षा दिने महिलाहरूका लागि निकै उपयोगीसिद्ध भएको छ।

कार्यक्रमका पूर्व निर्देशक (हाल सहसचिव, राष्ट्रिय योजना आयोग) श्यामसुन्दर शर्माका अनुसार, पहिले महिलाहरूलाई लोकसेवाको परीक्षातिर आकर्षित गर्न चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमअन्तर्गत राजधानी बाहिरका क्याम्पसहरूमा समेत गएर फारम बाँड्ने र बढी भन्दा बढीलाई दरखास्त दिन उत्साही बनाउने काम गरियो। यस वर्षका सहभागी छनौट गर्न तालिमका लागि ५०० सिटको विज्ञापन गरियो र त्यस मध्येबाट २०० जना छनोट गरियो। यसमा योग्यता (मेरिट) र समावेशीकरण दुवैलाई ध्यान दिँदै १७० जना परीक्षाबाट र ३० जना क्षेत्र र जनजातिका आधारमा छानिएको थियो। शर्मा भन्छन्, “हामीले तालिममा लोकसेवाको पाठ्यक्रमसँग ठ्याक्कै मिल्ने गरी ज्ञान र सीप दिएकाले ३३ प्रतिशत महिला उत्तीर्ण भए। यो एकदम खुशीको कुरा हो।” शाखा अधिकृतका लागि परीक्षा दिन स्नातक, २१ वर्ष पूरा भई ४० ननाघेको महिला र ३५ ननाघेको पुरुष हुनुपर्ने व्यवस्था छ।

तालिमबाट प्राप्त ज्ञान र सीप लोकसेवाको परीक्षामा निकै उपयोगी भएको बताउँदै पछिल्लो परीक्षा उत्तीर्ण शान्ता नेपाल (मरासिनी) भन्छिन्, “सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ। युएनडीपीले पनि यस्ता कार्यक्रमहरूलाई अझ अगाडि बढाओस् भन्ने चाहन्छु।” शान्ताको विचारसँग सहमत अर्की सफल उम्मेदवार गीता गुरुङले भनिन्, “हामी उत्तीर्ण हुनुमा एमजीइपीले दिएको तालिमको प्रमुख भूमिका छ।” अहिले एमजीइपी परियोजनाको अवधि सकिएको छ तर सरकारले यसलाई निरन्तरता दिने सोचाइ बनाइसकेको सहसचिव शर्मा बताउँछन्।

प्रशासनतर्फ महिलाहरूमध्ये सबैभन्दा धेरै अङ्क (मेरिट) ल्याउने लक्ष्मी घिमिरे एमजीइपीले दिएको तालिम, आफ्नो लगातारको मेहनत, दृढता र घर–परिवारको सहयोगका कारण खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृत पास गर्न सकेको बताउँछिन्। घिमिरे भन्छिन्, “चार महिनाको बच्चा काखमा भएपनि प्रतिस्पर्धा गर्न डराइनँ।” एमजीइपीले यस्तो तालिम केन्द्रमा मात्र नभई जिल्ला–जिल्लामा पनि पुर्‍याउनुपर्छ। र, जनजाति, दलित तथा आदिवासी महिलाहरूलाई अझ बढी दिनुपर्ने धारणा राख्छिन् गोमा चेमजोङ। 'त्यसोभयो भने निजामती सेवा समावेशी हुने' उनको सुझाव छ।

समावेशी अझै हुन सकेन
यति हुँदाहुँदै पनि यसपल्टको परीक्षामा गुल्मी, स्याङ्जा, मोरङ, झापा, पाल्पाका उम्मेदवारहरू नै धेरै उत्तीर्ण भए भने कर्णालीबाट एकजना पनि सफल हुन सकेनन्। जनजाति र दलितको पनि उचित प्रतिनिधित्व हुन सकेन। जनजाति समुदायबाट मुश्किलले ८ जना पास भएका छन्। तर १४६ जना अधिकृत निजामती सेवामा प्रवेश गर्दा दलित र मधेशी समुदायबाट भने एकजना पनि परेनन्। राज्यको पुनर्संरचना र समावेशीकरणको कुरा उठिरहेका बेला महिलाको प्रतिनिधित्व आशलाग्दो भएपनि यो नतिजामा क्षेत्र, जनजाति, दलित र मधेशी समुदायको प्रतिनिधित्व भने निराशाजनक नै रह्यो।

लोकसेवा आयोगले निकालेको यो नतिजा विवादरहित भने हुन सकेन। परीक्षामा आफ्ना मानिस पास गराउन केही कर्मचारीले 'गडबड' गरेको आरोप लगाएर त्यसको विरोधमा असफल भएका केही परीक्षार्थीले सङ्घर्ष समिति समेत गठन गरे। र, समितिका तर्फबाट विष्णुराज गौतमले लोकसेवा आयोग, संसदको राज्यव्यवस्था समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितताको छानबिन हुनुपर्ने माग गरे। उत्तरपुस्तिका 'कोडिङ' 'डिकोडिङ' मा धाँधली भएको, परीक्षार्थीले पाएको अङ्क साटेर नतिजा निकालेको, उत्तरपुस्तिकाहरू घर, पसल र कार्यालयमा लगेर परीक्षण गर्दा आर्थिक लेनदेन गरेको, परीक्षकका नातेदार तथा चिनजानका व्यक्तिलाई पास गराएको, कुनै नीति नै नबनाई ३३ प्रतिशत महिला उत्तीर्ण गराउने नाममा आफ्ना मान्छेलाई पास गराएको र एक घण्टा परीक्षा दिएर निस्केको परीक्षार्थीलाई समेत पास गराएको भन्ने उनीहरूको आरोप थियो। शङ्काको सत्य–तथ्य पत्ता लगाउन लोकसेवा आयोगले २९ साउन २०६३ मा आयोगका सदस्य उर्मिला श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिको गठन गरेको थियो। त्यसले अनियमितताको कुनै प्रमाण फेला नपरेको रिपोर्ट दिएपछि मात्र नतिजा प्रकाशन गरिएको आयोगका प्रवक्ता ढकाल बताउँछन्। ल

तीन छोरी 'अफिसर'

विष्णु, विन्दा र रमा।

विष्णु–विन्दा–रमा–रेनु–अनु र जुनु एकै दम्पतीका ६ छोरीहरू हुन्। सुनसरी, इनरुवा–९ का गङ्गादेवी र विदुरप्रसाद भट्टराईका यी छोरीहरूमध्ये जेठी, माहिली र साहिँलीले हाल लोकसेवाले लिएको शाखा अधिकृतको परीक्षा उत्तीर्ण गरे। तिनै दिदी–बहिनी विवाहित हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा विदुर छोरा नभएकोमा चिन्तित छैनन्। एकै पटक एउटै विज्ञापनमा एकै घरका तीनजना दिदी–बहिनीले शाखा अधिकृत उत्तीर्ण गरेको निजामती सेवामा यो नै पहिलो पटक हो। यसअघि एकै बाबुको दुईजना छोराहरू एकैपल्ट अधिकृत भएका थिए। आफ्ना छोरीहरूले 'रेकर्ड ब्रेक' गरेकोमा मख्ख छ भट्टराई परिवार।

अर्की बहिनी रेनु श्रम विभागमा खरिदार पदमा छिन् भने अनु बीबीएसमा र जुनु आमसञ्चार विषय लिएर 'प्लस–टु' गर्दैछिन्। सबैभन्दा जेठी विष्णु ३१ वर्षकी भइन्। अरू सबै दुई–दुई वर्षको फरकका छन्। अहिले तिनै दिदी–बहिनी शाखा अधिकृत उत्तीर्ण भएर स्टाफ कलेजमा तीनमहिने तालिम लिइरहेका छन्। तालिमको लागि स्टाफ कलेज पुगेकी रमाले हिमाल सँग भनिन्, “तिनै दिदी–बहिनी लोकसेवाबाट अधिकृत उत्तीर्ण भएकामा पूरै परिवारमा खुशी छाएको छ।”