]
हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

शिवानीको नाट्य–अवतार

नेपाल टेलिभिजनमा खोजमूलक कार्यक्रम मूल्याङ्कन ३६० डिग्रीको कोणबाट मा देखिँदादेखिँदै एकाएक हराएकी शिवानीसिंह थारू दशैँअघि राजधानीको गुरुकुल मा नाटक लिएर देखा परिन्। एक्टर्स स्टुडियोको तीनमहिने अभिनय र रङ्गकर्म कार्यशाला सकेर उनी आफ्नै लेखन, निर्देशन र अभिनयसहितको नाटक भर्चुअल रियालिटी मा प्रस्तुत भएकी थिइन्।

पाँच वर्षअघि र्‍याम्प मोडलिङबाट ग्ल्यामर क्षेत्रमा लागेकी शिवानी सिंह थारू च्ाार वर्षसम्म लगातार टेलिभिजनमा छाइरिहन्। मेरो गीत मेरो सन्देश कार्यक्रममार्फत् देशभर चहार्दै उनले धेरै दर्शकमाझ अलग्गै पहिचान बनाएकी छन्। टेलिभिजनमा ५२ भागका लागि शुरु भएकोे मूल्याङ्कन ३६० डिग्रीको कोणबाट को १६ भाग नसकिँदै उनले काम छोडेकी थिइन्। भन्छिन् “टेलिभिजनमा शम्भुजीत बाँस्कोटा आएपछि दलविरोधी र नगर निर्वाचनको प्रचार गर्ने खालका कार्यक्रम बनाउन दबाब दिन थालियो। मलाई चित्त बुझेन र कार्यक्रम नै छाडेँ।”

नेपालगञ्जमा जन्मेकी, काठमाडौँमा हुर्केकी शिवानीको नाट्य–अवतारले राम्रै प्रशंसा बटुलिरहेको छ अहिले। भर्चुअल रियालिटी मा उनले कम्प्युटर, इन्टरनेटसँग गाँसिएको मानिसको जीवनलाई प्रयोगात्मक तरिकाले प्रस्तुत गरेकी छन्। भन्छिन्, “एउटी शिवानी कम्प्युटर जीवनमा छिरेपछि ५/६ जना मान्छे बन्न सक्छे र त्यसको अर्कै संसार हुन्छ। त्यस्तै संसारमा रमाउनेहरूको कथालाई नाटकमा समेटेकी हुँ।”

पूर्वमन्त्री फत्तेहसिंह थारूकी छोरी शिवानीलाई मोडलिङ, मिडिया र रङ्ग क्षेत्रमा लाग्छु भन्ने कहिल्यै थिएन। जे जेे अवसरहरू आए, पछ्याउँदै गइन्। टेलिभिजन, फेशन र नाटक तीनै क्षेत्रमा उनले खासै अन्तर पाइनन्। भनिन् “तीनै क्षेत्र प्रस्तुतिका अलग–अलग माध्यम न हुन्।”

शिवानी अहिले रङ्गकर्ममा व्यस्त हुन थालेकी छन्। दुई वर्षअघि स्नातकोत्तर तहको शोधपत्रका लागि अनुसन्धान गर्न पश्चिम नेपालको पहाडी क्षेत्रमा पुग्दा माओवादी अपहरणमा समेत परेकी शिवानी कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्ने प्रयास गरिरहेकी छन् यतिखेर। कम्युनिष्टहरूको सर्वहारा–क्रान्तिको कथामा आधारित नाटकको तयारीमा जुटेकी शिवानी भन्छिन् “मान्छे धनले मात्र सामन्ती हुँदैन, विचारले पनि हुन्छ। यथार्थमा आएपछि सर्वहारा वर्गको सपना कसरी हराएर जान्छ भन्ने कुरा मेरो नाटकले देखाउँछ।”

मोडल: शिवानीसिंह थारू
तस्बिरः अनुप प्रकाश
शृङ्गारः चाहना ब्युटिपार्लर, बागबजार

अनुशील


अव्वल माकः प्याखँ

गाईजात्रा, इन्द्रजात्रा जस्ता सांस्कृतिक अवसरहरूमा काठमाडौँ उपत्यकाका सडकहरूमा नाच्दै हिँड्ने एउटा समूह भारत–गुजरातमा हालै आयोजित नवरात्र महोत्सवमा निकै प्रशंसित भयो। भक्तपुर–८, चासुखेलको त्यो टोलीले महोत्सवसम्बद्ध विभिन्न जमघटहरूमा प्रस्तुत गरेको माकः प्याखँ (बाँदर नाच) महोत्सवकै उत्कृष्ट प्रस्तुति बन्यो र यसमा सहभागी १२ वर्षमुनिका आठ बालक अनि उनीहरूका सहयोगी चार वाद्यवादक बधाई र स्याब्बासीका थुप्रै उपहार बोकेर नेपाल फर्किए। टोली नेता रनेशराज राजोपाध्यायका अनुसार त्यहाँ देशविदेशका करीब १०० टोलीको सहभागिता थियो। अरू सबै टोलीमा युवा, प्रौढहरूको बाहुल्य थियो। “तर, हाम्रो फुच्चे टोलीको नाच देखेपछि यस्ता बच्चाहरूले यो कला कसरी जाने होला भन्दै आश्चर्य र खुसी देखाइरहे। अनि, हामी हौसिँदै गयौँ,” भन्छन् रनेश।

महोत्सव दशैँको नवरात्रि, त्योसँग जोडिएका सांस्कृतिक परम्पराहरूकै सेरोफेरोमा केन्द्रित थियो। महोत्सवको केन्द्र थियो गुजरातको गान्धीनगर। र, त्यहाँको हेलिप्याड ग्राउण्डमा हरेक साँझ आयोजना हुने बृहत् कार्यक्रममा आ–आफ्नो कला देखाउन भारतका विभिन्न राज्यका अतिरिक्त भुटान, इण्डोनेशिया, रूस, श्रीलङ्का, बङ्गलादेश र इजरायलका टोलीहरूसमेत पुगेका थिए। मुखुण्डो नाच, प्रार्थना नाच, भरतनाट्यम्, माझीनाच जस्ता प्रस्तुतिहरूका माझ नेपालको माकः प्याखँ (जसलाई रामविजय नृत्य पनि भनिन्छ) ले भारतमा प्रचलित दाण्डिया नृत्यसँग निकटता देखाउँदै धेरैको ध्यान खिच्यो। नेपाली टोलीले लगाएको 'ज्याँ घाङ्ला' अनि वाद्य टोलीका हातमा नाचिरहेको खिँङ, तँ, भवारा समेत आकर्षणको केन्द्र बने। वाद्यवादक रनेश, राज, गोविन्द, आशाकुमारसँगै कलाकारहरू वीरवल, सुरज, अनिमेश, रुकेश, सञ्जय, सुरज, सरोज, सचिनको विदेशी भूमिको पहिलो प्रस्तुति थियो त्यो। त्यसमै प्रथम बन्नुलाई निकै सुखद् ठान्छन् टोली नेता रनेश। उनी भन्छन्, “राजस्थानमा प्रचलित 'गर्वा' नृत्य श्रेणीमा भने हामी द्वितीय भयौँ।”

संस्कृतिविद् राजु तुलाधरका अनुसार भक्तपुरमा करीब एक दर्जन यस्ता समूहहरू छन्। त्यसमा आवद्ध कलाकारहरू स्थानीय थकालीहरूबाट विभिन्न परम्परागत नाच सिक्छन्। उनीहरू बाल्यावस्थामै माकः प्याखँ जस्ता नाचहरूमा पोख्त भइसकेका हुन्छन्। अनि, जात्रापर्वहरूमा देख्न सकिन्छ उनीहरूको खुबी। ठूला भएपछि तिनै कलाकार देवीनाच जस्ता भावभङ्गिमापूर्ण नृत्यहरूमा देखिन्छन्।

काठमाडौँस्थित भारतीय राजदूतावासको निम्तो पाएर गुजरात गएको सो टोलीका क्याप्टेन रनेश स्वयं पनि कुशल नृत्य कलाकार हुन्। वाद्यवादनमा पनि उत्तिकै रुचि छ उनको। यसपल्ट गान्धीनगरको स्टेजमा उत्रनासाथ त्यहाँ नेपालको झण्डा फर्फराइरहेको देख्दा उनले गौरवको अनुभव गरे। भन्छन्, “विभिन्न देशका सांस्कृतिक टोलीसँग साक्षात्कार गर्न पायौँ। नेवारी, नेपाली मात्र बोल्ने/बुझ्ने बालकहरूले थरी–थरीका भाषामा बधाई पाए। उनीहरूको खुसी र चम्किलो अनुहार देखेपछि मैले ठम्याएँ– सांस्कृतिक पहिचानको साँच्चै ठूलो महत्त्व रहेछ।”

इन्द्र श्रेष्ठ


मौलिक नाच

६ वर्षअघि धनगढीबाट राजधानी आएका देवु बरा (२९) राम्रा नृत्यकार मानिन्छन्। गत वर्ष कोरियामा भएको गोङ्गजु एशियन मोनोड्रामा फेस्टिवल मा उनी सर्वोत्कृष्ट भएका थिए।

कोरिया, जापान, थाइल्यान्ड, बाङ्लादेश, श्रीलङ्का, नेपालका लोकनृत्यकर्मीहरूका ३४ समूहले भाग लिएको सो फेस्टिवलमा पहिलो पुरस्कार पाउनु सजिलो थिएन। कडा प्रतिस्पर्द्धाबीच उनले जापान (दोस्रो) र थाइल्यान्ड (तेस्रो) का सहभागीलाई उछिनेर आफूलाई उत्कृष्ट सावित गरेका थिए। आधा घन्टाको समयावधिमा उनले नेपालका सात खाले लोकनृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा उनले देउडा टप्पा गीतमा गरेको मैनवत्ती नाच मुख्य आकर्षण बनेको थियो। नाङ्गो शरीरमा ५१ वटा मैनबत्ती बालेर नाचिने सो नृत्य जोखिमपूर्ण पनि छ। कतिपटक आगोले पोलेर उनको शरीरमा ठूलै खत पनि बसेको छ। फेस्टिवलमा अभिरुचिपूर्वक नेपाली लोक–नृत्यलाई हेर्ने दर्शकहरूलाई सम्झँदै देवु भन्छन्, “उत्कृष्ट भएपछि आयोजकहरूले मलाई त्यहीँ प्रशिक्षकको जागिर दिन्छौँ, बस भनेका थिए तर नेपाली लोक नृत्यबारे अझै धेरै गर्न बाँकी छ भन्दै म फर्किएँ।”

देवु हरेक किसिमको लोकनृत्य गर्न आफू सक्षम रहेको बताउँछन्। गएको वर्ष सांस्कृतिक संस्थानले आयोजना गरेको राष्ट्रिय लोकनृत्य महोत्सवमा हुड्क्यौली नृत्य र साधना कलाकेन्द्रको लोकनृत्य प्रतियोगितामा छलिया नृत्य प्रस्तुत गरेर बेग्लै प्रभाव छोडेका देवु रुचि, लगन र स्व–अभ्यासले नै नृत्यमा पारङ्गत बनेका हुन्।

कृष्ण शाह यात्री


स... कर्णाली को शुभ– सङ्केत

डोल्पाबारे तपाईँलाई कति थाहा छ? डोल्पाली जनजीवनबारे चासो राख्नुहुन्छ? त्यहाँको संस्कृति, रहनसहन, अद्वितीय प्राकृतिक सौन्दर्यसँगै म्युजिक भिडियोको निर्माण–कला हेर्न चाहनुहुन्छ? हाजिर छ ५२ मिनेटको स्वादिलो खुराक। नेपालयले निर्माण गरेको पछिल्लो वृत्तचित्र स...कर्णाली थ्रु डोल्पा ले तपार्इँलाई नेपालगञ्जदेखि जुफाल, दुनै, सुलिगढहुँदै मनमोहक शे–फोक्सुण्डो तालसम्म पुर्‍याउँछ। लोकप्रिय म्युजिक भिडियो स...कर्णाली को निर्माण–कथा र परिवेश डकुमेन्ट्रीको विषयवस्तु हो। नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार, निर्माण टोलीका एक सदस्यका रूपमा यात्रा गर्ने क्रममा त्यहाँ भइरहेका क्रियाकलापलाई क्यामेरामा कैद गर्दागर्दै बनेको हो यो डकुमेन्ट्री। डोल्पाको कथाव्यथा अनि त्यहाँको अतुलनीय सौन्दर्य यसका थप विशेषता र आकर्षणहरू हुन्। कर्णाली क्षेत्रको एक लोकभाकालाई गायक अमृत गुरुङले नवजीवन दिए, भूषण दाहालले त्यसलाई लोभलाग्दोसँग दृश्यमा उतारे अनि किरणकृष्णले ती दुवै प्रयासलाई श्रव्यदृश्यमा लिपिबद्ध गरे। निर्माता/निर्देशक किरणकृष्णले निर्माण टोलीलाई पछ्याएका मात्र छैनन्, यसमा मानवीय अभिरुचिको एउटा कथा उनेका छन्। डकुमेन्ट्रीका एक प्रमुख पात्र थिन्लेको निर्विकार व्यवहार र अभिव्यक्ति त्यसैको प्रमाण हो।

याराभान चलचित्रमार्फत् ख्याति कमाएका थिन्ले, नेपथ्यका गायक अमृत गुरुङ र म्युजिक भिडियोका निर्देशक भूषण दाहाल वृत्तचित्रका प्रमुख पात्रहरू हुन्। पत्रकार नारायण वाग्लेको पटकथाले वृत्तचित्रलाई मजैले डोर्‍याएको छ।

त्यो अभिलेख हालै राजधानीमा प्रदर्शन भएको थियो। त्यो पनि सिनेमाघरमा, विदेशी फिचरफिल्महरूलाई चुनौती दिँदै। नेपालय अभियन्ताहरूले प्रतिक्रिया राम्रै मिलेको ठम्याएका छन्। यसअघि, लाङटाङ क्षेत्रमा एउटा लोकधुनको खोजीमा हिँडेको एक रसिक टोलीलाई पछ्याउँदापछ्याउँदै तयार वृत्तचित्र भेडाको ऊन जस्तो ले देशविदेशमा राम्रै ख्याति कमाएको थियो, सिनेमा हलहरूमा समेत प्रशस्तै दर्शक बटुलेको थियो। स...कर्णाली ले समेत त्यस्तै सङ्केत बोकेको छ।

अनुशील


बिना तालिम मूर्तिकला

रुपन्देहीका रामचन्द्र भारी (६०) ले बिना तालिम राम्रा मूर्तिहरू बनाएर 'मै हुँ' भन्ने कलाकारहरूलाई समेत आश्चर्यमा पारेका छन्। २०४१ सालदेखि मूर्तिकलामा लागेका उनी अहिले प्रतिष्ठा आर्जनसँगै सात जनाको परिवारको पालनपोषण गर्न सफल भएका छन्।
रुपन्देहीको गजेडी–१, लौसाका भारी दुईदशक पहिले मृत्यु भएका आफ्नै बुबाको ढुङ्गाको मूर्ति बनाएर यस क्षेत्रमा लागेका थिए। शुरुमा यसरी आम्दानी र प्रतिष्ठा कमाइन्छ भन्ने उनले सोचेकै थिएनन्। तर अहिले उनले बनाएका मूर्ति ३ सयदेखि ४० हजार रुपैयाँसम्म बिक्री हुने गरेका छन्। घरखर्च गरेर पनि मासिक दशहजार रुर्पैयाँभन्दा बढी बचत गर्ने उनी बताउँछन्। उनले ढुङ्गा, माटो, सिमेन्ट, काठ, ढलोट, छाला र कागजको माध्यमबाट बनाएका मूर्तिहरू रुपन्देहीका दर्जनौँ स्थानसँगै कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, पोखरा, काठमाडौँ, चितवन तथा भारतको बिहारका विभिन्न ठाउँसम्म पुगेका छन्। भारीलाई अहिले छोरा प्रचण्डले पनि साथ दिँदै आएका छन्।

मानिस, देवीदेवता, शहीद तथा दार्शनिकहरूका मूर्ति बनाउने भारीसँग हाल सात जनाले नियमित प्रशिक्षण लिइरहेका छन्। चार शहीद, बीपी, गणेशमान, मनमोहन तथा पुष्पलालको सालिक बनाइसकेका उनी अहिले २०६२/६३ को जनआन्दोलनका सबै शहीदका मूर्ति बनाउन लागिपरेका छन्। हालसम्म ठूला २ सय ५० र साना ७ सय मूर्ति बनाएर बिक्री गरेको बताउने रामचन्द्र भन्छन्, 'लगनशीलता र परिश्रम भएमा बिना प्रशिक्षण जान्दै नजानेको काम पनि गर्न सकिने रहेछ।”

प्रकाश पन्थी


डिस्कोमा पोखरेली

तस्बिरहरूः सुदर्शन रञ्जितकार

अब युवापुस्ताका लागि मात्रै सीमित रहेन डिस्कोथेकमा गएर नाच्ने संस्कृति। यसपालिको दशैँमा पोखराको लेकसाइडस्थित क्लब प्याराडिसो मा आयोजना गरिएको डान्स पार्टीमा रमाउनेहरू तन्नेरीहरू मात्र थिएनन्, पचास वसन्त देखेका पोखराका अग्रज पत्रकार माधव शर्मा पनि पसिना आउने गरी झुमे ब्लुजको वन लभ... गीतमा।

लेखनाथको पचभैयाका चालीस वर्षीय धु्रव अधिकारी पनि जीवनमा पहिलो पटक डिस्कोमा पुगेर रमाए। “साथीहरूको आग्रहमा डिस्को गएर नाचियो” अधिकारीले भने, “रमाइलो हुँदोरहेछ। अब फेरि पनि आउनुपर्ला।” प्रायः शुक्रबार मात्र डान्स पार्टी हुने प्याराडिसो दशैँभर कुनै दिन खाली रहेन। त्यसका सञ्चालक गोपीबहादुर भट्टराई भन्छन्, “देशमा शान्ति भएकाले होला; काठमाडौँ, भैरहवादेखि बुटवलसम्मका पनि आए यहाँ।” “डिस्को भन्नेबित्तिकै नराम्रो सोच्नेहरू पनि नभएका होइनन्”, गोपीले थपे “तर कोक खाएर नाच्नेहरू पनि प्रशस्त हुन्छन्।” कति त शारीरिक तन्दुरुस्तीका लागि समेत डिस्कोमा जान थालेका छन्।

दशैँका लागि भनेरै पोखरामा एक दर्जन भन्दा बढी डान्स पार्टी सम्पन्न भए। तिहारका लागि समेत त्यत्तिकै डान्स पार्टीको तयारी भइरहेको पोखरामा रहेका रेष्टुरेण्ट र क्याफेहरूमा टाँसिएका पोष्टरबाटै स्पष्ट हुन्छ। पोखरामा प्याराडिसो, प्लानेट जेड र म्याजिक क्लव नाम चलेका डिस्कोथेक हुन्। त्यसमध्ये पुरानो चाहिँ मध्य रातपछि खुल्ने म्याजिक हो। यहाँका तारे होटलका डिस्कोमा भनेयस किसिमका पार्टीहरू कमै हुन्छन्। डिस्कोथेक भाडामा लिई डान्स पार्टी गर्ने चलन पनि पोखरामा बढ्दो छ। साँझ परेपछि क्याफे, डान्स रेष्टुरेण्टमा समूहमा बस्नेहरू नै डिस्कोमा जाने असली ग्राहक हुन्।

पोखरामा डिस्कोमा रमाउनेमा नेपालीहरू मात्र हुँदैनन््। सात समुद्रपारिबाट आएका पर्यटकहरू पनि नेपालीहरूसँग हातमा हात मिलाएर डिस्कोथेकमा शरीर हल्लाउँदै पसिना चुहाइरहेका भेटिन्छन्। डिस्कोथेक तन्नेरीहरूका लागि डेटिङस्टल जस्ता पनि भएका छन्। रोमान्स र भेटघाटका लागि त्यहाँ पुग्नेहरू प्रशस्त छन् यहाँ। साँझ पर्नासाथ पोखराको लेकसाइडमा सबै उमेर समूहका मानिसहरूको चहलपहल देखिने गरे पनि रात छिप्पिँदै गएपछि भने तन्नेरीहरूको बाहुल्य हुने गरेको छ।

सामुदायिक प्रहरीले राति अबेरसम्म डिस्कोथेक सञ्चालन गरेर ठूलो आवाज र होहल्ला गर्न नपाइने भन्दै रात्रि जीवनका पारखीहरूलाई केही खिन्न बनाएको भए पनि डिस्कोथेकहरू निर्वाध चलिरहेका छन्। नियमअनुसार व्यवसाय गरेर खान पाउने आफ्नो अधिकार भएको व्यवसायीले बताएपछि यस्तो अवस्था आएको हो। व्यवसायी र सामुदायिक सेवा केन्द्र मिलेर यससम्बन्धी आचार–संहिता नै बनाइएको छ पोखरामा। त्यसको पूर्ण पालना गरिरहेको व्यवसायीहरूको दाबी छ।

त्रिभुवन पौडेल


अस्तायो मीठो आवाज

भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै...,
बाबरी फूलको बोट...,
बाईरोडको बाटोमा ट्याक्सी गुडाउँदै...,
यो दाजुको मिर्मिरे आँखा...,
साउने खोला उर्लेर आउँदा...,
म रक्त हुँ यो देशको ...

यस्ता कर्णप्रिय गीतका सर्जक, गायक पाण्डव सुनुवारले नेपाली साङ्गीतिक दुनियाँमा हत्तपत्त नमेटिने पहिचान मात्र बनाएका थिएनन्, मीठो आवाजको रेडियोकर्मी तथा संस्कृतिविद्का रूपमा श्रोतामाझ मजैले छाएका थिए उनी। कलेजोसम्बन्धी रोग सिरोशिषबाट पीडित सुनुवारको २१ असोजमा लण्डनस्थित किङ्गस कलेज हस्पिटलमा निधन भएको खबरले धेरैलाई स्तब्ध बनायो, त्यसको कारण त्यही प्रिय बोली र पहिचान थियो। रेडियो नेपालका फोन इन, चौतारी, झरना र झङ्कार, सुनगाभा, इन्द्रेणी जस्ता कार्यक्रममार्फत् रेडियो–श्रोतामाझ अत्यन्त प्रिय बनेका सुनुवारको आवाजमा एक खालको जादु नै थियो। कुनै बेला रेडियो नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम फोन इन को सुरुआत उनैले गरेका थिए। दुई दशकअघि कोरिया र हङकङका रेडियोको सिको गरेर उनले नेपालमा शुरु गरेको फोन इन को लोकप्रियताको फाइदा अहिलेका एफएम रेडियो र टेलिभिजनहरूले पनि लिइरहेका छन्। त्यस्तै, चौतारी मार्फत् उनले गाउँघरका प्रतिभाशाली कलाकारहरूको आवाजलाई रेडियोमा गुञ्जिने अवसर दिलाएका थिए।

रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका सुनुवारले नेपाली सङ्गीतलाई उत्कृष्ट लोकलयहरूको उपहार छाडेका छन्। २०३० सालतिर सपनाभरि हाँसिरहन्छु...बोलको गीत गाएर गायन क्षेत्रमा प्रवेश गरेका थिए सुनुवार। ऐंसेलुको पात..., सक्यो नानी सक्यो नानी..., शहरै जाउँला नि धन कमाइ ल्याउला... जस्ता उनका दर्जनाँै गीतहरू आज पनि जनजिब्रोमा झुण्डिएका छन्। एक समय सुनुवार र वासुदेव मुनालको जोडी नेपाली गायन क्षेत्रमा खुबै छाएको थियो। दुवैको संयुक्त स्वरमा पाँच दर्जन जति गीत रेकर्ड भएका छन्। उनको फ्याफुल्ला गीति अल्बम र रेडियो प्रसारणका आरोह अवरोह नामक पुस्तक समेत प्रकाशित छन्।

पाण्डव सुनुवारको आवाजको लोकप्रियतालाई शारीरिक रूपसँग दाँजेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ठट्यौली कथन बनाएका थिए, “अनुहार न दनुवार पाण्डव सुनुवार।” आफ्ना बारेमा यसरी उखानै बनेको देख्दा उनलाई गर्वको अनुभूति हुन्थ्यो। रेडियोको आवाज, ठेट शब्दयुक्त लोकगीत र यस्तै उखानहरूमार्फत् सुनुवार कुनै न कुनै रूपमा सुनिन्थे, चर्चा–परिचर्चाको विषय बनिरहन्थे। उनका कमजोरी, आनीवानी र आलोचनाका कुरा यी विशेषताका अघि निष्प्राण देखिन्थे। “हेल्लो...कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि, त्यहाँको मौसम कस्तो छ नि?...” जस्ता प्रश्नहरूबाट सुनिने रेडियो वार्ताहरूले सदैव उनलाई सम्झाइरहने छन्। ५४ वर्षको उमेरमै अस्ताएका आवाजका धनी पाण्डव सुनुवार नेपाली सङ्गीत पारखीहरूका मनबाट सजिलै नअस्ताउने पक्का छ।

अनुशील