हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक | समीक्षा

'अभागी' मन्त्रीको आत्मानुभूति

किताबः माघ १९
लेखकः ईश्वर पोखरेल
प्रकाशकः कमलमणि दीक्षित, ललितपुर, २०६३
पृष्ठः २८६+,
मूल्यः रु.२५०

“देउवाको नेतृत्वको सरकारमा गएर हामीले गल्ती गरेका हौँ। र, त्यो गल्ती असोज १८ को लगत्तैपछि प्रस्टै देखिने गरी शुरु भएको तथ्यलाई स्वीकार गर्नुपर्छ।...यही कमजोरीको उत्कर्षले माघ १९ को राजाको प्रतिगमनलाई आधार दिएको हो” क्षेत्रीय प्रहरी इकाइ कार्यालय राजविराजको बन्दी कोठामा जेठ २०६२ मा नेकपा एमाले स्थायी समिति सदस्य ईश्वर पोखरेलले यो स्वीकार गरिरहँदा राजाको शासन गर्ने महत्त्वाकाङ्क्षाका कारण राजनीतिक दलका प्रायः प्रमुख नेताहरू गिरफ्तारीमा थिए। महिनौँसम्म जेल बसेर निस्किएपछि पोखरेलले त्यो आत्मानुभूति लुकाएर राख्न सकेनन्। फलतः जन्मियो– माघ १९।

पुस्तकमा पोखरेलको बन्दी जीवनका अनुभूति, वेदना, पीडा र आत्मसमीक्षा समेटिएका छन््। यति हुँदाहुँदै पनि माघ १९ पुस्तकाकारमा छापिएको राजनीतिक दस्तावेज हो भन्दा फरक पर्दैन। किनकि बन्दी जीवनको उकुसमुकुसको कुरा गर्दागर्दै लेखक एमाले स्थायी समितिको निर्णयको समीक्षा गर्न पुग्छन् भने, प्रहरी प्रशासनको व्यवहारको प्रसङ्ग लेखिरहँदा उनी प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीप्रति टिप्पणी गर्न पुग्छन्।

बन्दी जीवन कतिपय अवस्थामा हदैसम्म निराशाजनक रहन्छ। पत्रपत्रिका पढ्न नपाएर न्यास्रो मानिरहेका लेखकलाई पनि यस्तै भयो। पढ्न दिइएको एउटा साप्ताहिक पत्रिकामा 'आफ्नो घरको पानीट्याङ्कीमा लुकाएर राखेको अवस्थामा करोडौँ रुपैयाँ भेटिएको' समाचार पढेपछि उनले पत्रिकाप्रति भन्दा आफ्नो पार्टीप्रति बढ्ता गुनासो पोखे– “ममाथि आपराधिक योजनाका साथ आरोप लगाइँदा मैले सिङ्गो जीवन सुम्पिएको पार्टीले किन चार हरफ वक्तव्य दिएर खण्डन गर्न तयार भएन? के हामी पार्टीमा लागेर पनि एक्लाएक्लै छौँ? एक्लाएक्लै लड्नुपर्दैछ?” तुलनात्मक रूपमा संस्थागत देखिने एमालेको यो हालत छ भने समग्र नेपाली राजनीतिको यथार्थ योभन्दा अझ कुरुप छ भन्न सजिलो बनाइदिएको छ यो पुस्तकले।

समग्रमा १९ माघ ले ईश्वर पोखरेलका राजनीतिक जीवनमा केही समयका लागि 'फुर्सद' दियो। यही समयमा उनले आफ्नो जीवनको आत्मसमीक्षा, लगानीको मूल्याङ्कन गरेर खेस्रा तयार गरेपछि यो पुस्तक जन्मियो। 'सिङ्गो जीवन पार्टी (एमाले) मा लगानी गरेको' ठान्ने ईश्वर पोखरेल जब असजिलोमा परे तब देखे पार्टीभित्र सामूहिकता थिएन, त्यहाँ त सबै एक्लाएक्लै थिए।

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि आपूर्ति मन्त्रीको झण्डा खोसिएर एकैचोटि बन्दी हुन पुगेका थिए पोखरेल। त्यसैले उनका भावना र पीडा आफ्नै खालका छन्। तर, जतिखेर उनी बन्दी थिए, आम मानिसमा उनीप्रति (प्रजातन्त्र खोसिएकोमा चिन्ता र आक्रोश हुँदाहुँदै पनि) खासै सहानुभूति थिएन। राजाले शासन लिनुअघिका डेढ दशकमा राजनीतिक दलहरू जे जति कर्तव्यविमूढ रहे र जनताले आश गर्ने ठाउँ कहीँ पनि पाएनन्, त्यसैको नकारात्मक परिणाम थियो त्यो। त्यसअर्थमा त्यो स्वाभाविक पनि थियो। किनकि पोखरेल स्वयंले नै एक ठाउँमा स्वीकार गरेका छन्, “इतिहासको एउटा अभागी कालखण्डमा मन्त्री हुन पुगिएछ।”


“मन्त्रिपरिषदको कुनै एउटा निर्णयका बारेमा एक जना मन्त्रीले छलफलमा लिएको अडानलाई लिएर बैठकबाट निस्कँदै गर्दा उनको मोबाइलमा एउटा कूटनीतिक नियोगका अधिकारीले 'किन त्यस्तो अडान लिएको? तपार्इँ त हाम्रा विरुद्धमा पो हुनुहुँदोरहेछ' भन्नेसम्मको स्थिति झेल्नुपर्‍यो। अरू कुनकुन केन्द्रहरूमा बैठकभित्रको 'जीवन्त तस्बिर' कसरी कसरी पुग्ने गर्थ्यो होला, सहजै अनुमान लगाउन सकिन्छ र ती 'केन्द्रहरू' ले मन्त्रिपरिषदका प्रत्येक सदस्यको प्रत्येक अभिव्यक्ति र अडानको शब्दचित्र प्राप्त गरिरहेका हुन्थे भन्ने कुरामा कुनै शङ्का नै थिएन।”
–पुस्तकको एक अंश

शिव


प्राप्त कृति

जनताको बहुदलीय जनवादका आधारहरू
(लेख–सङ्ग्रह)
लेखक/सम्पादकः राजेन्द्र गौतम
प्रकाशकः विराट प्रकाशन
विराटनगर, २०६३
पृष्ठः १२०+, मूल्यः रु.१२०



सिक्काका दुई पाटा
(उपन्यास)
उपन्यासकारः
उन्नति बोहरा 'शीला'
प्रकाशकः सरस्वती सङ्गीत निकेतन, काठमाडौँ, २०६३
पृष्ठः ११२+, मूल्यः रु.१५०


नेपाल (गीतिकाव्य)
कवि/गीतकारः नीलकण्ठ न्यौपाने
प्रकाशकः लुम्बिनी डिजाइनिङ एण्ड प्रिण्टिङ, काठमाडौँ, २०६३
पृष्ठः १२९+, मूल्यः रु.१००


समय सुनामी
(निबन्ध–सङ्ग्रह)
निबन्धकारः कृष्णचन्द्रसिंह प्रधान
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६३
पृष्ठः ११०, मूल्यः रु.१४५

सुन्दर सपना
(सामाजिक उपन्यास)
उपन्यासकारः भूपाल राई
प्रकाशकः मनिक्षा
पृष्ठः १०३+, मूल्यः रु.४०
आगोको विद्रोह
(गजल–सङ्ग्रह)
गजलकारः 'बरु'
प्रकाशकः कमला श्रेष्ठ/हार्दिक श्रेष्ठ, काठमाडौँ, २०६२
पृष्ठः ५४+, मूल्यः रु.४०