खेलकुद
| साग
डोपिङ प्रकरणः आयोग नै अन्योलमा
 |
| अनुपप्रकाश |
| राजेन्द्र भण्डारी |
१० औँ दक्षिण
एसियाली खेलकुदमा ५ हजार र ३ हजार मिटर 'स्टीपल चेज' दौडमा स्वर्णपदक
जितेका राजेन्द्र भण्डारीको डोपिङ प्रकरणको रहस्य अझसम्म खुल्न सकेको
छैन। उनको मूत्र परीक्षण गर्दा प्रतिबन्धित शक्तिबर्द्धक औषधि 'नेट्रान
डोस्टेररोन' फेला परेको थियो। सीताराम मास्केको अध्यक्षतामा गठित छानबिन
आयोगले बयानको क्रमलाई पछिल्लो समयसम्म निरन्तरता दिएपनि भण्डारी आफैँले
प्रयोग गरेेको हो या अरू कसैलेे झुक्याएर औषधि खुवाएको हो भन्ने बारेमा
छानबिन कमिटीले हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन। डोपिङको
रिपोर्ट सार्वजनिक भएलगत्तै निलम्बनमा परेका प्रमुख प्रशिक्षक नारायण
प्रधानको बयानको क्रम जारी रहेपनि अर्का एथलेटिक्स प्रशिक्षक सुशील
नरसिंह राणाको बयान सकिइसकेको छ। तर पनि मास्के आयोग अन्योलमै रहेको
छ। मास्के भन्छन्, “अनुमानकै भरमा कसैमाथि आरोप लगाउन पनि मिल्दैन।”
डोपिङ प्रकरणमा नेपाली एथलेटिक्समा विवादको
पात्र बनेका जर्मन एथलेटिक्स प्रोजेक्टका प्रमुख गुन्टर लांगेको संलग्नता
रहेको बलियो आधार नरहे पनि लांगेलाई आदर्श पुरुष मान्दै आएका भण्डारीले
आफ्नो बयानमा लांगेले दिएको लिभरटोनिक उपयोग गरेको बताएका छन्। यसैको
आधारमा जर्मन एथलेटिक्स प्रोजेक्टको कार्यालयमाथि परिषदले ताला लगाइसकेको
छ। तर भण्डारीका प्रशिक्षक सुशील नरसिंह राणा भन्छन्, “गुन्टर आफैँ
अन्तर्राष्टिय एथ्लेटिक्स महासंघका लेक्चरर भएका कारण यस खालको जोखिम
उठाउने सम्भावना हुँदैन।”
डोपिङ टेष्ट गर्ने मलेसियाको प्रयोगशालामाथि
पनि भण्डारीको आफ्नै किसिमको शङ्का रहेको छ। आठाँै दक्षिण एसियाली
खेलकुदको दौरान तिर्नुपर्ने ७२ जना नेपाली खेलाडीको परीक्षण शुल्क
सो प्रयोगशालालाई हालसम्म नतिरेेको कारण आफूमाथि षड्यन्त्र गरिएको
उनको दाबी छ। तर, त्यहीँ परीक्षण गरिएका स्वर्णपदक विजेता अन्य नेपाली
खेलाडीहरू डोपिङमा नपर्नुले भण्डारीको त्यस दाबीलाई गलत सावित गर्छ।
खेलकुद परिषदले यस प्रकरणलाई गम्भीर रूपमा
लिँदै स–साना विवादमा नअल्झिएर निष्पक्ष ढङ्गबाट छानबिन गर्नुपर्ने
हुन्छ। यो प्रकरण भण्डारी विशेषको मात्र भन्दा पनि नेपालको एथलेटिक्स
खेल र खेलाडीहरूको भविष्यसँग समेत गाँसिएको छ। यस्ता घटनाहरू दोहोरिँदै
गएमा नेपाली खेलाडीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा शङ्काको घेरामा रहिरहनेछन्।
•मनोज
घिमिरे
चम्किए कलिला 'फुटबलर'
गत साता भारतको राजधानी नयाँदिल्लीमा नेपाली फुटबलरहरूको एकछत्र राज
रह्यो। सुब्रतो मुखर्जी कप फूटबल प्रतियोगिताको २६ असोजमा भएको फाइनलमा
नेपाली अण्डर–१४ टोलीले चण्डीगढको टोलीलाई १–० ले पराजित गर्दै तेस्रो
पटक उपाधि जित्न सफल भयो। विशाल राईले ४९ औँ मिनेटमा गरेको उत्कृष्ट
गोलले विजयी नेपाली टोलीले कपसँगै रु.४८ हजार पनि हात पार्यो। सन्
१९९९ मा पहिलो सहभागितामै उपाधि माथि कब्जा जमाएको नेपाली अण्डर–१४
ले सन् २००४ मा दोस्रो पटक सो प्रतियोगिता जितेको थियो।
यो सफलता पाएको भोलिपल्टै अर्को इतिहास
रच्दै अण्डर–१७ सुब्रतो कपमाथि पनि नेपाली टोलीकै कब्जा रहन पुग्यो।
फाइनलमा नेपाली खेलाडीहरूले भारतको त्रिपुराको टीममाथि ५–० को सहज
जीत हात पारे। चेतन घिमिरे, भरत खवास दुई–दुई र निराजन मल्लको एक गोलको
मद्दतले नेपाली अण्डर–१७ टोलीले उपाधि रक्षा गर्नुका साथै रु.८० हजार
पनि प्राप्त गर्न सफल भयो। गत वर्ष उपाधि जित्दै सुब्रतो कपको ४५ वर्षको
इतिहासमा अण्डर–१७ उपाधि जित्ने पहिलो विदेशी टीम बनेको थियो, नेपाली
टोली।
नेपाली किशोरहरूले विदेशी भूमिमा पाएको
यो ऐतिहासिक सफलताले निकै लामो समयदेखि नेपाली राष्ट्रिय फूटबल टोलीले
अन्तर्राष्ट्रिय स्पर्धाहरूमा भोग्दै आएको तीतो पराजयलाई केही हदसम्म
बिर्साउन सफल भएको छ।
|