हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

प्रशंसनीय जीत

विकास कार्की

२७–२९ असोजमा काठमाडौँको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न एसियाली क्रिकेट काउन्सिल (एसीसी) को तीन दिवसीय प्रिमियर लिगमा नेपालले हङकङविरुद्धको म्याचमा उत्कृष्ट प्रदर्शन गर्दै १६५ रनको सहज जीत हात पारेको छ।
उक्त म्याचमा नेपाली टोलीले आठ विकेटको क्षतिमा २१७ रन बनाएर पहिलो इनिङ घोषणा गरेको थियो। नेपाली बलरहरू विनोद दास, मेहबुब आलम, सन्जम रेग्मीको घातक बलिङका सामु हङकङको पूरै टोली मात्र १३६ रनमा आउट हुन पुग्यो। ८१ रनको अग्रतासँगै मैदानमा उत्रिएको नेपाली टोलीले उपकप्तान पारस खड्काको उत्कृष्ट ८७ रनको मद्दतले हङकङ सामु म्याचको अन्तिम दिन ३०५ रनको लक्ष्य तेर्स्याएको थियो। तर, फेरि एकपटक कप्तान विनोद दासको नेतृत्वमा रहेको धारिलो नेपाली 'बलिङ लाइनअप' का सामु हङकङ निरीह बन्दै १२९ रनमै आउट भयो र नेपाल १६५ रनले विजयी भयो। यो विजयसँगै नेपाल ३२ अङ्क बटुल्न सफल भएको छ भने हङकङले १३ अङ्क मात्र बटुलेको छ। यसअघि 'फास्ट ट्रयाक टुर्नामेन्ट' का नामले आयोजना हुने गरेको यो प्रतियोगितामा नेपालसहित मलेसिया, युएई, हङकङ र सिङ्गापुरको सहभागिता छ।

म्याचमा नेपाली खेलाडीहरू हरेक पक्षमा हङकङमाथि हावी रहेका थिए। आफ्नो टोलीको प्रदर्शनमा दङ्ग कप्तान विनोद दास भन्छन्– “त्यो विकेटमा दुवै इनिङमा २०० रन बनाउनु ठूलो कुरा थियो। ब्याट्सम्यानहरूमा निकै परिपक्वता आएको छ। यो निकै राम्रो सङ्केत हो।” शक्ति गौचन, धीरेन्द्र चन्द जस्ता उत्कृष्ट खेलाडीहरू बिना नै नेपालले देखाएको यो प्रदर्शन साँच्चिकै प्रशंसनीय छ। नेपालको यस विजयबाट सम्पूर्ण नेपाली टोली मात्र नभई, कीर्तिपुर क्रिकेट मैदानका स्याहारकर्ता 'क्युरेटर' कोमल पाण्डे पनि कम दङ्ग छैनन्। उनी भन्छन्, “ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट प्रदर्शन देखियो र पिचले पनि स्पीनर र फास्ट दुवै बलरहरूलाई गतिलो साथ दियो। आफ्नो देशले जित्दा थप खुशी लागेको छ।”

नेपालको उत्कृष्ट प्रदर्शनमा विनोद दासले कुशल कप्तानी मात्र देखाएनन्, आफ्नो क्रिकेट जीवनमा नयाँ कोशेढुङ्गा पनि निर्माण गरेका छन्। हङकङविरुद्धको म्याचमा नदिम अहमदको विकेटसँगै कलैयाका २३ वर्षीय दास दुई इनिङको प्रतिस्पर्धामा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बन्न सफल भए। आफ्नो सफलताका बारेमा उनी भन्छन्, “मैले यसलाई सम्मानको रूपमा लिएको छु। पहिलो खेलाडी बन्न पाउँदा गौरव अनुभव गरेको छु।” म्याचका दौरान दासले कप्तान र बलरको भूमिका मात्र खेलेनन्, ब्याटले पनि उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो इनिङमा उपकप्तान पारस खड्कालाई गतिलो साथ दिएका थिए।

त्यसैगरी शरद भेसवाकर र मेहबुब आलमको प्रदर्शन पनि प्रशंसनीय रह्यो। म्याचमा अलराउण्डर प्रदर्शन गर्दै ९० रन बनाएर र तीन विकेट लिएर मेहबुब 'म्यान अफ द म्याच' बन्न सफल भए। पहिलो इनिङमा १५ र दोस्रो इनिङमा उत्कृष्ट ८७ रन बनाएका नेपाली उपकप्तान पारस खड्का उत्कृष्ट ब्याट्सम्यान भए भने पाँच विकेट लिएका हङकङका नविन अहमद बेस्ट बलरबाट पुरस्कृत भए। प्रतियोगिता अन्तर्गत युएईविरुद्ध खेल्न नेपाली टोली तिहार लगत्तै युएई जाँदैछ भने आगामी महिना काठमाडौँमै सिङ्गापुरसँग भिड्ने छ। गत वर्ष नेपाली टोलीले 'फास्ट ट्रयाक टुर्नामेन्ट' मा युएईलाई पराजित गरी सिङ्गापुर र हङकङसँग बराबरी खेलेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाएको लगत्तै खेलाडीहरूले देखाएको पछिल्लो उत्कृष्ट प्रदर्शनबाट नेपाली क्रिकेटले नयाँ गति लिने आश कप्तान विनोद दाससँगै सम्पूर्ण खेलप्रेमीहरूले गरेका छन्। दास भन्छन्, “खेलाडीहरूले क्रिकेट बढी खेल्न पाउनु पर्‍यो। प्रतियोगिताको सङ्ख्यासँगै व्यावसायिकतामा वृद्धि भयो भने हामी धेरै अगाडि बढ्न सक्छौँ।”

सुरेश न्यौपाने