हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

वीरगञ्जकी बिजुलिया

दिनहुँ दर्जनौँ चिठी आउँछन्। उनलाई हेर्न वा कुराकानी गर्न युवा प्रशंसकहरू मात्र हैन; अधबैँसे, वृद्धहरू समेत रेडियो परिसरमा झुम्मिन्छन्। जब उनी 'अपनेहीके दिलमे रहेवाली...' भनेर कार्यक्रम शुरु गर्छिन्, श्रोताहरू तन्मयसाथ रेडियो सुन्न थाल्छन्। उनीद्वारा सञ्चालित सङ्गीत बहार, फूलझरी, नोकझोक, मस्तीमस्ती, धूम मचादो रंग जमादो जस्ता मनोरञ्जनात्मक कार्यक्रम प्रायोजन गर्न उद्यमी, व्यवसायीबीच भइरहेको प्रतिस्पर्द्धा देखेपछि सजिलै अनुमान गर्न सकिन्छ मध्य तराईमा झाङ्गिदो उनको क्रेज। रेडियो वीरगञ्जमा भोजपुरी कार्यक्रमकी प्रस्तोता प्रतिमा चौधरी नेपालको सिन्धुलीदेखि भारत–बिहारको सिवानसम्म 'वीरगञ्जकी बिजुलिया' भनेर चिनिन्छिन्।

प्रतिमाले रेडियो वीरगञ्जमा भोजपुरी कार्यक्रम 'खटीमिठी' शुरु गर्दा उपनाम राखेकी थिइन् बिजुलिया। त्यो नाम जिब्रो–जिब्रोमा झुण्डियो। फलतः कार्यक्रम बन्द भएको दुई वर्ष बितिसक्दा पनि श्रोताहरू उनलाई बिजुलियाकै रूपमा सम्झन, हेर्न रुचाउँछन्। प्रशंसकहरू यी बिजुलिया बिदामा बसेको, अनुपस्थित भएको समेत सुन्न चाहन्नन्। फागुन ०६१ मा उनले रेडियो प्रस्तोताबाट राजिनामा दिँदा श्रोतावृत्तमा तहल्का मच्चियो, प्रशंसकहरूले उनलाई नल्याई हुन्न भनेर व्यापक दबाब दिएपछि रेडियो सञ्चालकहरू भोजपुरी कार्यक्रम पुनः शुरु गर्न र सञ्चालकका रूपमा प्रतिमालाई नै निम्त्याउन बाध्य भए। अनि, झन्झन् चुलिँदै गयो उनको लोकप्रियता।

ाणिज्यशास्त्रमा स्नातकोत्तर गरिरहेकी प्रतिमा अहिले भोजपुरी समाचार वाचन तथा बायोग्राफी र मरमसला शीर्षकको मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिरहेकी छन्। फोनवार्ता, 'शेर', चुट्किलाहरू सँगसँगै बिना स्त्रि्कप्ट धाराप्रवाह कार्यक्रम चलाउने उनको शैली र आत्मविश्वास उनले सञ्चालन गर्ने स्टेज कार्यक्रमहरूमा समेत उत्तिकै देख्न सकिन्छ।

'मर जाई हम, मिट जाई हम', 'सैया मिलले सिमसिमाह', 'ओ गोरी चोरी चोरी आव' जस्ता लोकप्रिय गीत समेत गाएकी प्रतिमाको हाय रे तोहर कजरा, सुरसरगम नामका गीतिअल्बमहरू बजारमा आइसकेका छन् भने केही अल्बम प्रकाशनको तयारीमा छन्। ककरी–२ बाराकी २४ वर्षीया प्रतिमा भन्छिन्, “भोजपुरी बोलेरै श्रोताहरूको दिलमा बसिरहने धोको छ।”