देश | समाचार
माओवादी कार्यक्रम विद्यार्थी सहभागी, शिक्षक
उद्घोषक
अनेरास्ववियु (क्रान्तिकारी)
ले स्कूले विद्यार्थीहरूलाई पढाइ अवरुद्ध हुने गरी कार्यक्रमहरूमा
लैजाने, नाराबाजी गर्न लगाउने क्रियाकलापहरूको शहरी क्षेत्रमा विरोध
हुने गरेपनि गुल्मीका विद्यालयहरूमा यथावत् छन्।
पछिल्ला दिनमा अनेरास्ववियू क्रान्तिकारीले गुल्मीका
विद्यालयहरूमा सेतो कमिज, कालो पाइन्ट, कालो जुत्ता र बेल्ट अनिवार्य
गर्ने उर्दी जारी गरेको छ। छात्राहरूलाई ब्वायजकट कपाल नकाट्न र स्कर्ट
नलगाउन दबाब दिएको छ। क्रान्तिकारीले जारी गरेको नयाँ ड्रेस नलगाए
कारबाही गरिने धम्की दिएकोले विद्यालयहरूमा धमाधम ड्रेस परिवर्तन हुनथालेको
छ। विद्यालय शुल्क समेत तिर्न हम्मे परिरहेका धेरै अभिभावकलाई यो निर्णयले
थप आर्थिक बोझ भिराइदिएको छ।
जनवादी शिक्षाका नाममा विद्यालयमा माओवादी हस्तक्षेप
झन् बढेको छ। माओवादी कार्यकर्ताहरू पढाइ चलिरहेका कक्षामा जवर्जस्ती
घुस्छन्, कक्षा कब्जा गर्छन् र दुई–तीन घण्टा प्रवचन दिन्छन्। जनसहयोग
मावि, भार्सेका व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद राना भन्छन्,
“माओवादीका कारण विद्यार्थीहरूले पढ्न पाउनै छाडे। त्यसैले हुनेखानेहरूले
आफ्ना बालबच्चा पढाउन शहर पठाएका छन् भने त्यसो गर्न नसक्ने गरीब विद्यार्थीहरू
जस्तोसुकै वातावरणमा पनि गाउँघरमै पढ्न बाध्य भएका छन्।”
सरस्वती उच्च मावि, जोहाङका प्राचार्य श्याम थापाका
अनुसार, केही वर्षयता विद्यालयहरूमा शैक्षिकस्तर नराम्ररी खस्किएको
छ। उनको विद्यालयमा दुईवर्षअघि ५० प्रतिशत भन्दा बढी विद्यार्थीले
एसएलसी उत्तीर्ण गर्ने गरेकामा गत वर्ष र अहिले ३० प्रतिशतले मात्र
उत्तीर्ण गरे। गुल्मीको पुरानो जनसहयोग माविमा केही समययता वर्षको
एक–एक जना विद्यार्थी मात्र एसएलसी उत्तीर्ण भएका छन्। “माओवादी हस्तक्षेपका
कारण विद्यार्थीहरू पढ्न पाउँदैनन्,” थापा भन्छन्, “त्यसमाथि विद्यालयहरूमा
गठन गरिएका अखिल क्रान्तिकारीका सङ्गठनले निहँु खोज्दै विद्यालय बन्द
गर्ने हुनाले पढाइ राम्ररी हुनसकेको छैन।”
सरस्वती उच्च माविमा ९ कक्षामा पढ्दै गरेकी जुनिया–५
की जमुना थापालाई जनवादी प्रशिक्षणबाट नफर्काइदिएपछि उनकी आमा र दाजुले
हप्तौँ खोज्नु परेको थियो। हाल काठमाडौँमा पढ्दै गरेकी उनी भन्छिन्,
“दाजु र आमाले त मलाई भेट्टाएर फर्काउनु भयो। तर, म जस्ता थुप्रै अरू
साथीहरू अझै फर्कन पाएका छैनन्।” उनलाई जसरी नै लगिएका जुनियाकै केशव
परियारलाई दुई वर्षअघि सरकारी सेनाले समातेर हत्या गरेको थियो। त्यहाँका
एक शिक्षकका अनुसार, त्यतिबेला केशवलाई सेनाले तम्घासका एसएलसी परीक्षा
केन्द्रहरूमा लगी क्रान्तिकारीका को को हुन् भनेर चिनाउन लगायो। त्यसपछि
केही महिना हिँडाएर पाल्पामा दोहोरो भिडन्तमा मारिएको प्रचार गर्यो।
विद्यार्थीहरू मात्र हैन शिक्षकहरूलाई पनि कम सास्ती
छैन। श्याम थापा भन्छन्, “महिनामा एक दिनको तलब लैजान्छन्। उनीहरूलाई
घरमा राखेर पाल्नु पर्छ। त्यसमाथि आजभोलि त सबै शिक्षकको पैसा उठाउने
जिम्मा पनि हेडमास्टरकै भएको छ।”
यसबाहेक, अखिल क्रान्तिकारीले गर्ने कार्यक्रममा शिक्षकहरूलाई
अतिथि र उद्घोषक बन्न बाध्य पारिन्छ। त्यसबापत उनीहरूले ठूलो मूल्य
चुकाउनु परेको छ। दुईवर्षअघि अखिल क्रान्तिकारीको कार्यक्रममा उद्घोषण
गरेका जुनिया निमाविका शिक्षक हरि बिक र सरस्वती उच्च माविका तत्कालीन
प्राचार्य जगनाथ ढकाललाई सेनाले एघार दिनसम्म यातना दिएको थियो।
•
जे.वी. पुन मगर, बुटवल
अमेरिकी प्रस्तावले
शरणार्थीमा फुट
६० हजारसम्म
भुटानी शरणार्थीलाई अमेरिकामा पुनःस्थापित गर्न सकिने अमेरिकी सहायक
विदेशमन्त्री ऐलेन सौरबेरीको प्रस्तावले झापा र मोरङका शरणार्थी समुदायलाई
फुटाएको छ। आधाभन्दा बढी शरणार्थीलाई अमेरिका लैजाने यो अमेरिकी प्रस्तावले
उसै पनि विभाजित शरणार्थी नेतृत्वलाई आरोप–प्रत्यारोपमा समेत उतारेको
छ।
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल
शरणार्थीलाई भुटान बाहेक अन्यत्र लैजाने प्रस्तावको विपक्षमा छन्।
यतिबेला अमेरिकी प्रस्ताव विरुद्ध झापामा दिनदिनै आयोजना भइरहेका छलफल
र गोष्ठीमा व्यस्त उनी भन्छन्, “यो प्रस्तावले दक्षिण एशियाको ऐंजेरु
जस्तै बनेको फुच्चे तानाशाहीलाई सघाउने बाहेक केही गर्दैन।”
यसले भुटानमा प्रजातन्त्र र मानवअधिकारको
आवाज दबाउने सरकारको अपराधलाई अनुमोदन गर्ने बताउँदै रिजालले विश्व
समुदायलाई यस्ता प्रस्ताव नल्याउन आग्रह गरेका छन्। उनले चाँडै नै
अमेरिकी सरकारलाई शरणार्थीलाई अनावश्यक प्रलोभन नदेखाउन पत्र पठाउने
भएका छन्। उनी भन्छन्– “यदि अमेरिका भुटानको हित चिताउँछ भने भुटान
सरकारको अत्याचार र दमन विरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा
हाल्न सघाओस्।” भुटान पिपुल्स पार्टीले पनि शरणार्थीलाई अमेरिका वा
अन्यत्र लैजाने प्रस्तावको विरोध गरेको छ। पार्टीका अध्यक्ष बलराम
पौडेल भन्छन्, “अमेरिकी अधिकारीको भनाइले भुटानमा निरङ्कुशता, दमन
र मानवअधिकार विरोधी थिति चलिरहोस् भन्ने पक्षलाई संरक्षण गरेजस्तो
लाग्यो।”
उता झापा र मोरङका शरणार्थी शिविरहरूमा
यो प्रस्तावले निकै हलचल मच्चाएको छ। सात शिविरमध्ये शनिश्चरे शिविर
व्यवस्थापन समितिकी सचिव मेनुका नेपालले मात्रै 'अमेरिका वा अरू मुलुकतिर
गयो भने राज्यविहीन हुनसकिने' बताउँदै भुटान नै जाने दृढता व्यक्त
गरेकी छन् भने बाँकी ६ वटा शिविरका सचिवहरूले अमेरिकी प्रस्तावले शरणार्थीहरूको
दुःख निवारण गर्ने बताएका छन्। बेलडाँगी–२ का शिविर सचिव हरि बंगाले
भन्छन्, “हामी पुस्ता दर पुस्तासम्म शरणार्थी भइरहन चाहन्नौँ।” टेकनाथ
रिजाल अध्यक्ष रहेको 'शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति' ले
अमेरिकी प्रस्तावको समर्थन गर्ने शिविर सचिवहरूलाई शरणार्थी हित विपरीत
काम गरेको भन्दै समितिबाट निष्कासन गरेको छ।
•
गोपाल गड्तौला, झापा
बहुरुपी
'माता' खोरमा
आफूलाई 'विन्ध्यवासिनीको अवतार' बताउँदै
दशैँका बेला विभिन्न मठ–मन्दिरमा गएर छातीमा जमरा उमार्ने गरेकी बहुरुपी
'माता' सुषमा शर्मा ठगीको आरोपमा प्रहरीखोरमा परेकी छन्। उनलाई छातीमा
जमरा उमारिरहेको अवस्थामा ११ असोजमा भक्तपुर, वाराहीस्थानबाट पक्राउ
गरिएको थियो।
झापा, चारपानेका सुनिल शिवाकोटीले सुषमा शर्माले एक
वर्षअघि वैदेशिक रोजगारीमा दक्षिण कोरिया पठाइदिने भनेर आफूसँग रु.७०
हजार ठगेको भन्ने श्रम विभागमा उजुरी गरेपछि विभागले प्रहरी लगाएर
उनको खोजी गरिरहेको थियो। विभागमा दिएको बयानमा सुषमाले घरायसी कामको
लागि शिवाकोटीसँग रु.५० हजार लिएर कागज गरेको, तर पछि आफूलाई अपहरण
गरी डल्लुमा लगेर बलजफ्ती वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम लिएको
व्यहोराको कागज गराएको भनेर आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन्।
आफूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाकी नातिनी (जेठी
छोरी सावित्री रेग्मीकी माइली छोरी) को रूपमा समेत चिनाउने सुषमाले
२०४८ सालदेखि दशैँका बेला जयवागेश्वरी, दक्षिणकाली, नरदेवी, टङ्गाल,
भद्रकाली, गौरीघाट, मनकामना र सुर्खेतका शक्तिपीठहरूमा छातीमा जमरा
उमारेको बताएकी छन्। “यो नवौँ पटक थियो, तर पूरा गर्न पाइनँ”, उनी
भन्छिन्। तर, नरदेवीका पुजारी देवनारायण महर्जनले भने नरदेवी क्षेत्रमा
त्यसरी कसैले जमरा उमारेको आफूलाई जानकारी नभएको बताएका छन्।
हाल चाबहिलमा बस्दै आएकी सुषमा शर्माले जमरा उमार्ने
क्रममा भक्तजनहरूबाट 'भेटी' पनि उठाउने गरेकी थिइन्। २०५८ सालमा जयवागेश्वरीमा
रु.९ लाख उठेको उनको दाबी छ। उनले जमरा उमार्दै आफू सुतेको खाटको आसपासमा
तीन–चार वटा चन्दा बाकस राखेर स्वयम्सेवकहरूमार्फत् आर्थिक सहयोगका
लागि माइकिङ गर्न लगाउने गरेकी माताका चर्तिकला देख्नेहरू बताउँछन्।
२०५९ सालको दशैँमा दक्षिणकालीमा उनलाई केही दुर्व्यसनीहरूले समेत स्वयम्सेवकको
रूपमा सघाएको स्थानीयवासीहरूको भनाइ छ।
यी बहुरुपी माता राजनीतिमा पनि सक्रिय देखिने गरेकी
छन्। पञ्चायतकालमा पटक–पटक विभिन्न पदमा 'स्वतन्त्र' उम्मेदवार बन्ने
गरेकी सुषमा शर्माले २०५५ सालमा 'नेपाल शान्तिक्षेत्र परिषद' नाउँको
राजनीतिक दल समेत दर्ता गरेकी थिइन्। २०५९ सालयता आफूलाई राजभक्त देखाउँदै
आएकी माताले २०६१ सालमा तत्कालीन शाही सरकार र समाज कल्याण परिषदको
सहयोगमा धापासीमा एउटा अनाथालय पनि सञ्चालन गरेकी थिइन्। तर, सो अनाथालय
एकवर्ष पनि नचली बन्द भएको छ।
•
रामहरि पौडेल
'रिड' लाई १० लाख डलर
ग्रामीण शिक्षा
तथा विकास नेपाल (रिड) १० लाख अमेरिकी डलरको 'एक्सेस टु लर्निङ् एवार्ड'
बाट पुरस्कृत भएको छ। रिड नेपालका कार्यकारी निर्देशक शरदबाबु श्रेष्ठले
हालै दक्षिण कोरियाको राजधानी सिउलमा उक्त पुरस्कार प्राप्त गरेका
थिए।
विश्वधनाढ्य बिल गेट्स दम्पतीको नाममा स्थापित 'बिल
एण्ड मेलिण्डा गेट्स फाउण्डेशन' ले रिड नेपाललाई यो पुरस्कार सामुदायिक
पुस्तकालयहरूलाई पुर्याएको सहयोगका लागि प्रदान गरेको हो। फाउन्डेशनको
पुस्तकालय कार्यक्रमकी निर्देशक मार्था चो भन्छिन्, “विकासोन्मुख राष्ट्रहरूका
लागि रिड नेपालको कार्यक्रम आदर्श बनेको छ।”
१६ वर्षअघि मुलुकको शैक्षिक, आर्थिक र सामाजिक असमानता
हटाउने उद्देश्य लिएर खुलेको यो संस्थाले हालसम्म ३५ जिल्लामा ३९ वटा
सामुदायिक पुस्तकालय स्थापना गरेको छ। स्थानीय समुदायसँग मिलेर खोलिएका
र सूचनाएवं शैक्षिक केन्द्रका रूपमा विकसित भएका यी पुस्तकालयबाट पाँच
लाखभन्दा बढी मानिस लाभान्वित भएका छन्। पुस्तकालय जाने गृहिणी, विद्यार्थी,
शिक्षक, कर्मचारीहरूले हिजोआज तिनमा कम्प्युटर प्रविधि पनि उपयोग गर्न
पाएका छन्।
कार्यकारी निर्देशक शरदबाबु श्रेष्ठ यो पुरस्कारबाट
रिडको पुस्तकालय विकास परियोजनाका साथै सूचनाप्रविधिको थप विकास गर्न
समेत मद्दत पुग्नेमा विश्वस्त छन्। पुस्तकालयहरूलाई थप कम्प्युटर दिइने
रआगामी दिनमा यसमार्फत् 'टेलिमेडिसिन' सेवा समेत शुरु गरिने उनी बताउँछन्।
श्रेष्ठका अनुसार पुस्तक पसल, छापाखाना, फर्निचर कारखाना, एम्बुलेन्स,
टेलिफोन, इमेल–इन्टरनेटजस्ता परियोजनाहरूबाट पुस्तकालयको आम्दानी बढाएर
तिनलाई आत्मनिर्भर बनाउने प्रयास पनि गरिएको छ।
सन् १९८७ मा सोलुखुम्बु ट्रेकिङ गएका बेला डा. एण्टोनिया
न्यूवरले गाइड डोमी लामालाई'तिमी आफ्नो गाउँ जुनबेसीमा के गर्न चाहन्छौ?'
भनेर सोद्धा डोमीले “पुस्तकालय बनाउन चाहन्छु” भन्ने जवाफ दिएका थिए।
डोमीको यो भनाइबाट प्रेरित एन्टोनियाको सहयोगमा सन् १९९१ मा शेर्पा
वस्ती जुनबेसीमा खुलेको सामुदायिक पुस्तकालयको विकसित रुप हो– आजको
रिड नेपाल।
•
रामजी दाहाल
एक महिनामा
पाँच हत्या
जनतान्त्रिक तराई
मुक्ति मोर्चा र माओवादी आक्रमण–प्रत्याक्रमणले गर्दा लोकतन्त्र बहालीपछि
पनि हत्या–हिंसा नरोकिएको सप्तरीमा दशैँ लगत्तै अर्को हत्या भएको छ।
पछिल्लो पटक भने प्रहरीको गोली लागेर नकटियापुर–९ का बच्चाराम चौधरी
(तस्बिर) को मृत्यु भएको छ। यो घटनासँगै असोजमा मात्र सप्तरीमा पाँच
जनाको हत्या भएको छ।
चौधरीको मृत्यु काठतस्करी गरेको आरोपमा २१ असोजमा प्रहरीले
चलाएको गोलीबाट भएको घटनाको छानबिन गर्न नागरिक समाजको तर्फबाट गठन
भएको समितिका संयोजक प्रकाश खतिवडाले जानकारी गराएका छन्। मानवअधिकारवादी
संस्था इन्सेकका स्थानीय प्रतिनिधि खतिवडा भन्छन्, “इलाका प्रहरी कार्यालय
रुपनीको टोलीले राति ९ बजे रुपनी बजारको हटियाबाट पक्राउ गरी चौधरीमाथि
गोली प्रहार गरेको थियो। पछि उपचारको क्रममा उनको मृत्यु भयो।”
हत्याको विरोधमा २२ असोजमा स्थानीय– वासीहरूले गोली
चलाउने माथि कारबाही हुनुपर्ने, पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने
मागहरू राखी दिनभर महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए। आठ राजनीतिक
दल प्रतिनिधि, मानवअधिकारकर्मी र प्रशासनको संयुक्त बैठकले पीडित परिवारलाई
क्षतिपूर्ति स्वरुप रु.१० लाख दिन माग गर्ने, क्रियाखर्च बापत रु.५०
हजार दिने र मृतकका बालबच्चाको लालनपालन, शिक्षा र रोजगारीको ग्यारेन्टी
गर्न प्रमुख जिल्ला अधिकारीलाई पहल गर्न लगाउने निर्णय गरेपछि मात्र
अवरुद्ध राजमार्ग खुलेको थियो।
यसअघि १२ असोजमा सप्तरी, मानराजा–३ मा गङ्गाराम कापैरको
हत्या भएको थियो। प्रहरीले हत्याको आशङ्कामा स्थानीय मकैया सदालाई
पक्राउ गरेको छ। ४ असोजमा डाँकाहरूको एक समूहले जनतान्त्रिक तराई मुक्ति
मोर्चाका कार्यकर्ता श्रीनारायण यादव (हरिश्चन्द) को हत्या गरेको थियो।
हत्याको बदलामा मोर्चाका कार्यकर्ताले सोही दिन हनुमाननगर–६ का शम्भु
यादवलाई मारेका थिए। १ असोजमा पटेर्वामा एउटा अज्ञात समूहले माओवादीका
पूर्व कार्यकर्ता महेश चौधरीको हत्या गरेको थियो।
•
श्रवणकुमार देव, राजविराजमा
पत्रकारमाथि खुकुरी प्रहार
रुमालले मुख
ढाकेर मोटरसाइकलमा आएका तीनजनाको समूहले बीबीसी नेपाली सेवाका स्थानीय
संवाददाता तथा जनकपुर टुडेका सम्पादक बृजकुमार यादवलाई खुकुरी प्रहार
गरेका छन्। उनलाई २५ असोजमा पत्रिकाको कार्यालयबाट घर फर्किँदै गर्दा
राति साढे दश बजे जनकपुर–२, किशोरीनगरमा आक्रमण गरिएको थियो। आक्रमणबाट
यादवको बायाँ कुहिनोमा ६ इन्च लामो र डेढ इन्च गहिरो चोट लागेको छ।
गत वर्ष पनि उनीमाथि कार्यालयमा रहेको बेला आक्रमण भएको थियो।
धनुषाका प्रजिअ दुर्गानिधि शर्माले घटनामा संलग्नहरूको
खोजी भइरहेको बताए। नायव प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले आक्रमणकारीको
आशङ्कामा एक दर्जन जतिलाई पक्रेर सोधपुछ गरी छाडिएको जानकारी दिएका
छन्। हिजोआज जनकपुरका हरेक चोक र टोलमा विभिन्न ग्याङ्गका नाउँमा अल्लारे
केटाहरू दिनदहाडै खुकुरी र पेस्तोल भिरेर घुम्दा पनि प्रहरीले तिनलाई
'माओवादी समर्थित भएकाले कारबाही गर्न अप्ठेरो भएको' बताउने गरेको
छ।
नेपाल पत्रकार महासंघ, धनुषाले स्थानीय पत्रकारहरूमाथि
पटक–पटक हुने गरेका आक्रमणमा संलग्नहरूको खोजी गरेर कारबाही गर्न २९
असोजमा शिवचोकमा एकघण्टा धर्ना दिए। पत्रकार यादवमाथि गरिएको सांघातिक
आक्रमणको विरोधमा राजनीतिक दल, नागरिक समाजलगायत सबैले विरोध जनाएका
छन्।
•
अजित तिवारी, जनकपुर
काँडेतारभित्र घर
बाग्लुङ नगरपालिका–१,
रामरेखाका कृष्णप्रसाद शर्माको यो घर वरिपरि प्रहरीले शान्ति सुरक्षाको
कारण देखाउँदै तीनवर्षदेखि काँडेतारले घेरेर माईन (विष्फोटक पदार्थ)
विछ्याएको छ। लोकतन्त्र स्थापना भएको ६ महिना भइसक्दा पनि उनले घर
फिर्ता पाएका छैनन्। अञ्चल प्रहरी कार्यालयको छेवैमा रहेको यो घर तारबारले
घेरिएपछि शर्माको सात जनाको परिवार विस्थापित भएर कालीगण्डकीको किनार
मालढुङ्गामा बस्दै आएको छ। हालसम्म उनलाई न मुआब्जा दिइएको छ, न घर
उपयोग गर्न नै।
•
हरिनारायण गौतम, बाग्लुङ
माओवादी कब्जामा पूर्व कार्यकर्ता
माओवादीबाट विद्रोह गरी
गठन भएको 'नयाँ सांस्कृतिक क्रान्ति समूह' समर्थित रातो झण्डा साप्ताहिकका
कार्यकारी सम्पादक कृष्ण अधिकारी (रवि) को अवस्था २५ भदौदेखि अज्ञात
छ। अधिकारीलाई सो दिन बिहान साढे नौ बजे पाटन मछिन्द्रबहालबाट अपहरण
गरिएको उनका निकटस्थहरूले बताएका छन्। उनी टाउकोको नशा सम्बन्धी रोगबाट
समेत ग्रस्त रहेको थाहा भएको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
का पूर्व केन्द्रीय सदस्य तथा माओवादी सेनाको छिन्ताङ–सुखानी बिग्रेडका
'बटालियन कमिसार' रहिसकेका अधिकारीलाई माओवादीले नै अपहरण गरेको आरोप
सांस्कृतिक क्रान्ति समूहका समर्थकहरूको छ। तिनको भनाइमा माओवादी विशेष
कमाण्डका 'डिभिजन भाइस कमाण्डर' संजिवले उनलाई 'गिरफ्तार' गरेको कुरा
स्वीकार गरिसकेका पनि छन्।
जनमोर्चा तीन टुक्रा संयुक्त–मार्क्सवादीमा
विद्रोह
 |
 |
| किरण पाण्डे |
विष्णुबहादुर मानन्धर। चित्रबहादुर
आले।
|
जनमोर्चा नेपाल
फेरि फुटेको छ। २७ असोजमा उपप्रधानमन्त्री अमिक शेरचनले नेतृत्व गरेको
जनमोर्चाबाट सांसद परि थापाको समूह अलग्गिएको छ। अलग्गिनेहरूले चित्रबहादुर
आलेको नेतृत्वमा 'जनमोर्चा नेपाल राष्ट्रिय सम्मेलन केन्द्रीय समन्वय
समिति' गठन गरेका छन्।
यसअघि १३ जेठ २०६३ मा चित्रबहादुर केसीको समूह अलग्गिएको
'जनमोर्चा नेपाल' को नाममा अब चित्रबहादुर आले, अमिक शेरचन र केसीले
नेतृत्व गरेका तीन दल बनेका छन्। करीब चार वर्षअघि नेकपा एकता केन्द्र
र मसालको एकीकरणबाट 'नेकपा एकता केन्द्र–मसाल' बनेपछि तिनको खुला राजनीतिक
सङ्गठनका रूपमा रहेका संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चामा पनि
एकीकरण भएर जनमोर्चा नेपाल बनेको थियो।
जनमोर्चाबाट सरकारमा प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री
बनेका अमिक शेरचन पक्षको स्वेच्छाचारिताले गर्दा दलमा एकता हुन नसकेको
आले पक्षधरको आरोप छ। यो पक्षको संसदीय दलका नेता परि थापा भन्छन्,
“हामीले एकता गर्न थुप्रै प्रयास गर्यौँ, तर शेरचन र केसीले ध्यान
नदिएपछि हामी अलग भएका हौँ।” विभाजनपछि जनमोर्चाका ६ सांसदमध्ये उप–प्रधानमन्त्री
शेरचनसँग लीलामणि पोख्रेल, चित्रबहादुर केसीसँग उनी आफैँ, डिलाराम
आचार्य र हरि आचार्य तथा आलेसँग परि थापा र नवराज सुवेदी छन्।
यता नेकपा (संयुक्त–मार्क्सवादी) मा 'विद्रोह' भएको
छ। सरकारमा गएपछि पार्टीका अध्यक्ष तथा भूमिसुधार मन्त्री प्रभुनारायण
चौधरीका निर्णय र क्रियाकलापबाट चित्त नबुझेको स्पष्ट गर्दै विष्णुबहादुर
मानन्धरले २६ असोजमा महासचिव पदबाट राजिनामा दिई सक्रिय राजनीति– बाट
अवकाश लिएका छन्भने कार्यकर्ताहरूको विरोध र घेराउ पछि २७ असोजमा चौधरी
अध्यक्ष पदबाट राजिनामा दिन बाध्य भएका छन्। पार्टीको पोलिटब्युरो
पनि भङ्ग गरिएको छ।
दुवै नेताको राजिनामापछि युवाहरूलाई लिएर पुनर्गठनमा
जुटेको पार्टीमा चन्द्रदेव जोशी र लोकनारायण सुवेदीले क्रमशः कार्यवाहक
अध्यक्ष र महासचिवको जिम्मेवारी सम्हालेका छन् भने नयाँ पोलिटब्युरो
गठन भएको छ। पार्टीले आगामी चैतसम्ममा राष्ट्रिय अधिवेशन गर्ने भएको
छ।
|