चिठी
• राष्ट्रियताको
साम्प्रदायीकरण!
'पहिचान त नेपाली राम्रो' (आवरण कथा, १६–३१ हिमाल) मार्फत्
हिमाल ले भारतमा रहेका प्रवासी नेपालीको पीडा झल्काउनुभन्दा नेपालमा
जातीय स्वशासनविरुद्ध बढी वकालत गर्न खोजेको अनुभव भयो।
रिपोर्टभरि नै हिमाल सम्वाददाता आफ्नै भूमिमा पहिचानको
पीडा बोकेका नेपालका जनजाति, दलित र तराईवासीहरूप्रति असंवेदनशील देखिएका
छन्। एक प्रसङ्गमा उनले 'नेपालका राष्ट्रिय भाषाहरू त झन् बामे सरिरहेका
छन्' भनेका छन् तर कुनै बेला नेपालभाषा र मैथिलीभाषा नेपाली नामकरण
गरिएको खसभाषाको स्थितिभन्दा धेरै उच्च र समृद्ध थिए। ती शिथिल भएका
'पहिचान नेपाली राम्रो' भनेर खसभाषालाई मात्र राष्ट्रभाषा बनाउनाले
हो कि होइन? त्यसको जिम्मेवारी कसले लिने? नेपाली मूलका भारतीयका लागि
नेपालले आवाज उठाउनुपर्ने हिमाल को आग्रह चाहिँ स्वागतयोग्य छ।
नेपालमा बसेका तराईवासी, दलित तथा जनजातिहरूले प्रवासी
नेपालीभन्दा बढी पीडा भोगिरहेका छन्। असमका लीलबहादुर क्षत्रीले भारतीय
साहित्य एकेडेमी पुरस्कार पाएका रहेछन्। तर नेपालमा रहेका राष्ट्रिय
भाषाका लेखकहरूले अहिलेसम्म सरकारबाट कुन चाहिँ पुरस्कार पाएका छन्
त? यथार्थ के हो भने, राष्ट्रिय भाषामा जति नै स्तरीय लेख्नेलाई पनि
यहाँ लेखकै गनिँदैन। भारत जेजस्तै भए पनि अङ्ग्रेजले शासन गरेको ठाउँ
हो, प्रजातन्त्रको आधा शताब्दीको अनुभव भएको देश हो। भाषा, जाति जस्ता
मामिलामा नेपालको भन्दा राम्रो स्थिति त्यहाँ छ। तर त्यहाँ पनि जनमतबाट
राज्य छुट्टिने व्यवस्था (आत्मनिर्णयको व्यवस्था) नभएकाले कतिपय राज्यमा
हिंसात्मक विद्वेष जारी छ। नेपालमा त्यसबाट सिक्न सकिन्छ। असमका जनजातिका
लागि गरिएका व्यवस्थाबाट पनि नेपाल र नेपालीहरूले सिक्नै पर्छ। भारतमा
अजनजातिले भोग्नेभन्दा धेरै पीडा नेपालका जनजातिले आफ्नै भूमिमा भोग्नुपर्छ,
भोगिरहेका छन्।
पहिचान नेपाली राम्रो अवश्य पनि हो। प्रवासमा नेपालीले
आफ्नो परिचय आफ्नो सुविधाअनुसार देलान्। तर नेपालभित्र नेपाली पहिचान
खसकुरा, दौरासुरुवाल र दशैँ जस्ता कुराहरूमा सीमित हुनुहुँदैन। नेवारमै
पनि परापूर्वकालदेखि दशैँ (मोहनि) मान्नु नपर्ने समूह काठमाडौँभित्र
लगनटोलमै छ। नेवारको पहिचान मानिने म्हपूजा (आत्मपूजा) मान्नु नपर्ने
जात पनि नेवारभित्रै छ। उनीहरूलाई दशैँ र म्हपूजा मान्न कर पनि गरिँदैन
न त नमान्दैमा उनीहरू नेवार पहिचानबाट बाहिरिएका छन्। कुरा हृदयको
हो, जसलाई फराकिलो बनाउनु जरुरी छ। दशैँ एउटा संस्कृति हो। मन पर्नेले
मान्लान्, नपर्नेले नमान्लान्। दशैँ, दौरासुरुवाल र खसभाषामा राष्ट्रियता
जोड्नु राष्ट्रियताको साम्प्रदायीकरण हो, सङ्कुचन हो। राणाकाल र पञ्चायतको
सोचलाई निरन्तरता दिनु हो।
अर्कोतिर, सम्वाददाताले ठाउँठाउँमा नेपाली जाति भनेका
छन्। तामाङ, गुरुङ, मगर, खस, थारू, यादव, महतो आदि जाति हुन्। नेपाली
त राष्ट्रियता हो। यो 'जाति' भन्दा धेरै फराकिलो र उच्च छ।
मुख्य कुरा अहिले परिभाषा, पहिचान सबैलाई फराकिलो बनाउनु
जरुरी छ। अझ हृदयलाई फराकिलो बनाउनु पर्छ। १६–३१ भदौको हिमाल मा कनकमणि
दीक्षित र जे.बी. पुनको संयुक्त लेखले पनि जातीय राज्यलाई नकारेको
छ। उनीहरूले कमै जिल्लामा मात्र एउटै जातिको सघनता छ भनेका छन् तर
जिल्ला (अझ गाविस पनि) विभाजन नै जातीय विभेद ल्याउन गरिएका छन् भन्ने
कुरा विद्वान् लेखकहरूलाई अवगतै होला। त्यसैले पनि पुनर्संरचना आवश्यक
छ। फेरि लेखकद्वयले जातीय संघमा हुने अग्राधिकारको विरोध गरेका छन्
तर अहिले नेपाली (खस) भाषाले देशभरि नै अग्राधिकार लिइरहेकै हो। बाहुनक्षेत्रीले
राजनीति, प्रशासनमा एकाधिकार लिइराखेकै छन्। त्यसैले बाहुनक्षेत्रीले
राष्ट्रिय एकताको कुरा गर्दा त्यहाँ राष्ट्रिय एकताभन्दा पनि आफ्नो
एकाधिकार गुम्ने चिन्ता बढी झल्किन्छ।
हिमाल ले पटकपटक जातीय स्वशासनलाई माओवादीको मुद्दा
भनेको छ। तर जातीय स्वशासन कम्युनिष्ट आन्दोलनका प्रवर्तक क. पुष्पलालदेखि
नै उठेको कुरा हो र यो जनजातिको मुद्दा पनि हो। सुशासन स्वशासनको विकल्प
हुनसक्दैन भन्ने लोकतान्त्रिक विद्वान्हरूकै मान्यता हो।
राजुमान श्रेष्ठ
काठमाडौँ
• अपेक्षा
र खबरदारी
मानव तस्करीसँग सम्बन्धित समाचार 'दुबईमा महिला बेच्ने
नेपालमा पक्राउ' (देश/समाचार, १६–३१ असोज) ले नेपाली चेलीहरू विदेशमा
ठगिँदै गरेको तथ्य छर्लङ्ग पारिदिएको छ भने लक्ष्मी घिमिरे संलग्न
आपराधिक गिरोहको समेत पर्दाफास गरेको छ। यूएईमा त्यस्ता अन्य थुप्रै
घटना/समस्याहरू छन् तर पीडितहरू विभिन्न कारणले तिनलाई सार्वजनिक गर्न
चाहँदैनन्। यति हुँदाहुँदै पनि थुप्रै नेपाली चेलीहरूको नेपाली समाज
यूएईले उद्धार गरिसकेको छ। यस कार्यलाई प्रभावकारी बनाउन पत्रकारिता
क्षेत्रको ठूलो भूमिका रहने हुँदा हिमाल को थप सहयोग अपेक्षित छ।
हिमाल मा प्रकाशित समाचारमा 'यूएईका कार्यवाहक राजदूत
मोहनकृष्ण श्रेष्ठले २७ साउनमा परराष्ट्र मन्त्रालयलाई त्यस सम्बन्धमा
पत्र लेखेको' उल्लेख रहेछ तर यथार्थ के हो भने श्रेष्ठले २८ भदौ (१३
सेप्टेम्बर) बाट मात्र कार्यभार सम्हाल्नुभएको हो। ३० साउनसम्म का.वा.
राजदूतका रूपमा मधुवनप्रसाद पौडेल नै कार्यरत हुनुहुन्थ्यो। समाचार
दिँदा यस्ता तथ्यहरूको ख्याल गरियोस् भन्ने हाम्रो आग्रह छ।
दामोदर नेपाल
नेपाली सोसाइटी, यूएई
• पक्कै
घच्घच्याउनेछन्
'छोटो भेटघाट क्रान्तिकारीहरूसँग' शीर्षकमा व्यक्त
रामेशको भोगाइ (१–१५ असोज) मा उल्लिखित जनताको मन जित्ने र विश्वास
प्राप्त गर्ने सुझावहरू मननयोग्य छन्। माओवादीका कतिपय कार्यकर्तामा
जनतासँग प्रस्तुत हुने शैलीमा कमजोरी देखिएको सत्य हो। अर्काको कुरै
नसुन्ने आँलाकाँचा कार्यकर्ताहरूको शैलीलाई रुपान्तरण गर्न रामेशका
सुझावले पक्कै घच्घच्याउने छन्। जनताको भावनासँग जोडिएर जान नसक्ने
कार्यकर्ता जनताका सेवक हुन कदापि सक्दैनन्।
हिरालाल के.सी.
ढाकाडाम, सल्यान
• स्पष्टीकरण
हिमाल को दशैँ अङ्कमा प्रकाशित 'नेपाल, रूस र अक्टोवर
क्रान्ति' शीर्षकको लेखको पुछारमा सम्पादक मण्डलले जोडिदिएको मेरो
परिचयले केही भ्रम सिर्जना हुनसक्ने अनुभव गरेँ। अतः उक्त लेखमा प्रस्तुत
भावनाहरू म प्रवक्ता रहेको गैरआवासीय नेपाली संघको आधिकारिक विचार
नभई नेपालको वर्तमान अवस्थामा मेरो नितान्त व्यक्तिगत विश्लेषण भएको
प्रस्ट पार्न चाहन्छु।
जुगल भूर्तेल,
मस्को, रूस
• प्रतिक्रिया
नीलो शिरीषबारे
 |
| नीलो शिरीष (जाकाराण्डा) |
डा. तीर्थबहादुर श्रेष्ठको
'कुहिरो र धुइरोः पारिजात र शिरीष' (हिमाल, विज्ञान–विचार, १६–३१ असोज)
माथि केही टिप्पणी गर्न चाहेको छु।
'उन्नत नश्ल' को हुँदाहुँदै पनि 'न्यू हेम्पसर' जातको
सुँगुर मात्र भएका कारण यो लोकप्रिय हुन सकेन। यसैले कृषिविज्ञ जानकीप्रसाद
प्रधानले यसलाई बङ्गुर नाम दिए। नेपाली वाङ्मयमा बङ्गुर शब्दका प्रणेता
उनै हुन्। डा. श्रेष्ठले लेखेको “हामीले पनि बँदेल र सुँगुरको ठिमाहालाई
बङ्गुर भनेजस्तै” साँच्चै बँदेल पनि बङ्गुरमा मिसिएको भए त्यो सबैका
निम्ति नयाँ जानकारी हुनेछ।
अलिभ स्मिथी लिखित 'टाइगर लेडी' पुस्तकको पृष्ठ १५९
मा जाकाराण्डाको प्रस्ट उल्लेख छ। पङ्तिकारले जानेसम्म यो सन् १९४१–४२
को प्रसङ्ग हो, जतिबेला उनी काठमाडौँ–लैनचौरस्थित ब्रिटिश दूतावासमा
बस्थिन्। उनी त्यहाँ आफ्नो बगैँचाको वर्णन गरिरहेकी थिइन्।
अलि पर जाऔँ, जाकाराण्डा मिमोसिफोलियाको पहिलो रूख सुरशम्शेर राणाले
अहिलेको नेपाल औद्योगिक विकास निगम
(दरबारमार्ग) को पश्चिम पेटीमा पर्ने गरी सन् १९२० को दशकमा रोपे।
त्यसको लगत्तै राजा त्रिभुवनले दोस्रो रूख अहिले जयनेपाल चित्रघरको
अगाडिपट्टि दरबार पस्ने पुरानो दक्षिणी ढोकाको तीनकुने जमिनमा रोपे।
यी दुवैमा सन् १९५५ मा सार्वजनिक बाटो खोलेर फराकिलो पारियो। यसर्थ
“५० वर्ष पहिलेको काठमाडौँ शहरमा यी शिरीष यसरी फुलेको मलाई सम्झना
छैन” भन्ने डा. श्रेष्ठको वाक्यमा सत्यता छैन।
“त्रिचन्द्र कलेजमा वनस्पतिशास्त्र पढ्दा घण्टाघर अगाडि
मसला र काङ्गियोका वृक्ष थिए, आजको जस्तो शिरीष थिएन”, डा. श्रेष्ठको
यो वाक्यमा भने सत्यता हुनसक्छ। किनभने १२ वर्षमा एसएलसी उत्तीर्ण
गरेर १३/१४ वर्षको उमेरमा आइएस्सी पढ्ने त्यतिबेला थुप्रै हुन्थे।
उहाँ सन् १९५१ मा १४ वर्षको हुँदा त्यहाँ शिरीष थिएन पनि होला। तर
त्यससँगैको वाक्य “त्यसैले शङ्कर लामिछानेले २०२२ सालमा पनि शिरीषको
फूलबारे अनभिज्ञता प्रकट गरे” मा भने रत्तिभर सत्यता छैन। सन् १९६१
मा बेलायती महारानी एलिजावेथको स्वागतका निम्ति टँडिखेल वरिपरि सडक
बनाएपछि तत्कालीन मजिस्ट्रेट विष्णुमणि आचार्यले जाकाराण्डा पनि प्रशस्तै
रोपे। सन् १९६५ को हिउँदमा त्यो रूख देखेको मलाई स्पष्ट सम्झना छ भने
त्यो वर्ष लामिछानेमा अनभिज्ञता देखिँदैमा त्यसको सार्वजनिक उपस्थिति
नै थिएन भनेर म मान्न सक्तिनँ।
 |
| नेपाली रैथाने शिरीष (माइमोसा)। |
भारतीय लेखिका अमृता प्रितमलाई एक पटक कृष्णचन्दरले
सोधेका थिए, “गुलमोहरका फूलको उल्लेख खुब गर्छ्यौ, तर चिनेकी छौ?”
प्रितमले जवाफ दिन सकिनन्।
कृष्णचन्दरले सँगैको रूखका टुप्पा देखाइदिए। त्यसैगरी,
काठमाडौँका रैथाने लामिछानेले रूख धेरै पटक देखेका थिए तर जाकाराण्डा
भनेर चिनेनन्। मुरारिशम्शेर राणाले उहिल्यै काठमाडौँ भित्र्याएको गुलमोहर
(डेलोनिक्स रेगिया) लाई शिरीष भन्ने र जाकाराण्डालाई गुलमोहर भन्ने
मानिसहरू मैले पाएको छु। यद्यपि, डा. हुगल्याण्डले जाकाराण्डालाई 'वीरेन्द्र
फूल' नाम दिएर प्रचार गर्ने प्रयास नगरेका होइनन्।
सन् १९६५ को हिउँद (२०२२ साल) मा मैले खुल्लामञ्चको
पूर्वी किनारमा मसलाका पाँच वटा विशेष रूख देखेको थिएँ। धेरै वर्षसम्म
युकालिप्टस् इमिग्लाइडसको फेद हेरेको हुँला भन्ने लागिरह्यो, करीब
१० वर्षयता त्यो युकालिप्टस् साइनेरिया रहेछ भन्ने म बुझ्दैछु। ती
आज छैनन्। राम्रा बिरुवा, जनावर चोरीका प्रसङ्ग काठमाडौँमा अथाह छन्।
तिनमा ठूलाबडा पनि संलग्न थिए। यसर्थ यी साइनेरिया त्यहाँ अहिले नहुँदैमा
अनभिज्ञता प्रकट गर्नु जस्तै हो लामिछानेको अनभिज्ञता।
“चियाबारीको सेरोफेरोमा आफ्नो बाल्यावस्था विताउँदाको
शिरीषको सम्झना नै शिरीषका फूल थिए वा नीलो जाकाराण्डामा नै उनले आफ्नो
शिरीषका फूल भेट्टाइन्, त्यो अतीतको कुहिरोमा बेरिएको छ” मा पनि सत्यता
छ जस्तो लाग्दैन। ८ जनवरी २००५ को कान्तिपुर दैनिक मा छापिएको सुकन्या
वाइवाको 'ब्लिडिङ्ग हार्ट र चाइना क्याप' शीर्षकको लेखोटले पारिजातको
पुष्पज्ञान सामान्य मानिसको भन्दा माथिको थियो भन्ने स्पष्टै पारेको
छ। त्यसमा ३४ वटा विदेशी जातका फूलहरूको नाम छ। ब्लिडिङ्ग हार्ट र
चाइना क्याप त्यस्तै फूलका नामहरू हुन्। यसर्थ सुषुप्त मनको शिरीष
र चेतन मनको जाकाराण्डाबीच उनलाई भ्रम हुने अवस्था थिएन। जबकि डा.
श्रेष्ठले चियाबारीमा हुने खास शिरीष अर्थात् 'जिनस अल्वेजिया' लाई
सङ्केत गरेका छन्। तर कलकत्ताको ग्लोव नर्सरीबाट सिक्किमको प्रधान
नर्सरी पुर्याएर मौसम अनुकूल (एक्लेमटाइज) तुल्याएपछि कालेवुङ्ग तल
पेदोङ हुँदै शुरुमा दार्जीलिङ त्यसपछि माईखोला पारिको इलाम अनि काठमाडौँमा
बिरुवाहरू छरिन्थे अर्थात् दार्जीलिङमा पारिजातको भित्री मनसम्म पुग्नेगरी
जाकाराण्डा प्रशस्त भइसकेका थिए। नभन्दै 'कोलिकाता'को रोयल बोटानिकल
गार्डेनमा सन् १८४१ भन्दा अघि नै नीलो शिरीष लगाइएको थियो।
पारिजात र जाकाराण्डा दुइटैमा एउटा समानता छ। ती खुब
झर्छन्। उनले आफ्नो र आफ्नो कृतिको नाम चयन गर्दा नित्सेको निस्सारतावादी
प्रतीकका रूपमा 'झरेको फूल' भन्न खोजेकी हुनुपर्छ। तर पारिजातको कुरा
गर्दा “त्यही कुहिरोले गर्दा धानबाली समयमै पाक्ने भयो भन्ने कथन अझै
पनि जनजिब्रोमा जीवितै छ” डा. श्रेष्ठले नलेखेको भए हुन्थ्यो। धानखेती
सम्बन्धी नेपाली मिथकहरू मात्रै हुन्, तिनमा वैज्ञानिकता हुने कुरै
भएन। डा. श्रेष्ठले उल्लेख गरेको कथाको परोक्ष स्रोत मानगुप्त गोमीको
दहचोकस्थित इन्द्रदहसम्बन्धी करीब १३ सय वर्षयताको अभिलेख हो। त्यो
उति पुरानो कथा नै होइन। यसको मूल स्रोत भागवत, मत्स्य र वायु पुराण
जस्ता पारिजात उद्यानका गुण गाउने पौराणिक ग्रन्थको 'नन्दन वन' हो
जो हदभन्दा हद ईशापूर्व १४ औं शताब्दी भन्दा पर पुग्दैन।
अन्त्यमा, प्रकाश साय्मिले करीब ६ महिनाअघि एक बिहानै
सोधेका थिए “जाकाराण्डा भनेको शिरीष नै हो कि होइन? र, हाम्रो यताको
शिरीषलाई 'रेशम फूल' पनि भन्छन् हो?” सम्भवतः यही प्रश्न डा. श्रेष्ठलाई
पनि सोधियो होला। जो उनको यो लेखको आज प्रेरणा–स्रोत बन्न पुगेको हुनुपर्दछ।
डा. श्रेष्ठले “फूल भने रेशमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर” समेत
लेखिसकेपछि यस प्रसङ्गका मौलिक उत्प्रेरक प्रकाश साय्मि र रेशम फूलको
उल्लेख नगरेको देख्दा अलि खल्लो लाग्यो।
सौरभ
पुतलीसडक, काठमाडौँ
• भोगाइ
र अनुभव आ–आफ्नै हुनसक्छन्
मेरा लागि
पाठक नै प्रेरणाका मूल स्रोत हुन्। गहन अध्ययन गरेर प्रतिक्रिया समेत
पठाउने पाठकहरू झन् महत्त्वपूर्ण हुने नै भए। यद्यपि, अन्य पाठकहरूमा
भ्रम र अलमल नहोस् भन्ने हेतुले केही कुरा स्पष्ट गर्न चाहन्छु।
• बँदेल र सुँगुर–
यी दुई शब्दको ठिमाहा रुप बङ्गुरको प्रसङ्ग मैले उठाएको हुँ। बङ्गुरका
नाममा किनबेच वा विकास हुने चौपायाका नश्लबारे सम्बन्धित विशेषज्ञबाट
जानकारी लिनुपर्ने हुन्छ। मेरो लेखको उद्देश्य त्यतातिर लक्षित थिएन।
बँदेल मिसिएका बङ्गुर हुन सक्तैन भन्ने मेरो मान्यता पनि हैन।
• जाकाराण्डाबारे
मैले आफ्नो अनुभव र भोगाइ पाठकसमक्ष राखेँ, सौरभजीले आफ्नो अनुभव र
सम्झना बताउनुभएछ। अन्य पाठकहरूको पनि आ–आफ्नै अनुभव र भोगाइ होलान्।
५० वर्ष पहिलेको काठमाडौँ देख्ने थुप्रै दाजुभाइ, दिदीबहिनीहरू अझै
पनि धेरै छन्, यस उपत्यकामा।
• चाँप र गुराँस
जस्तै शिरीष हाम्रै रैथानको वनस्पति हो। हाम्रो कला, साहित्य र संस्कृतिमा
मात्र हैन, आयुर्वेदमा पनि यसको भूमिका रहेको छ। कालीदासका कृतिमा
पनि यसको उल्लेख छ। यही शिरीषलाई पश्चिमा वनस्पति विज्ञानले शुरुमा
'माईमोसा' भनेको थियो, नाम परिवर्तनको सिलसिलामा आजकल 'अल्विजिया'
भनिन्छ। हाम्रो शिरीष त्यही हो, जाकाराण्डा हैन। जाकाराण्डाको रैथान–भूमि
दक्षिण अमेरिकामा पर्दछ। सौरभजीको जिकिर छ– दार्जीलिङमा परिजातको भित्री
मनसम्म पुग्ने गरी जाकाराण्डा प्रशस्त भइसकेको थियो। यसबाट पारिजातले
'ब्लिडिङ हार्ट' भने झैँ जाकाराण्डालाई जाकाराण्डा नभनी किन शिरीष
भनिन् भन्ने प्रश्न उठ्न सक्छ। तसर्थ, मेरो मान्यता पुनः दोहोर्याउँदछु
“चियाबारीको सेरोफेरोमा आफ्नो बाल्यावस्था बिताउँदाको शिरीषको सम्झना
नै शिरीषका फूल थिए वा नीलो जाकाराण्डामा नै उनले आफ्नो शिरीषका फूल
भेट्टाइन्, त्यो अतीतको कुहिरोमा बेरिएको छ।”
• हाम्रो मौलिक
शिरीषमध्येकै एक प्रजातिलाई पश्चिम हिमालखण्डमा गुलाब रेशम भनिन्छ
भन्ने जानकारी मैले प्रकाश साय्मिलाई उपलब्ध गराएको थिएँ। शिरीषको
फूलबारे चलचित्र बनाउने उहाँको चासो थियो। त्यही प्रसङ्गमा मौलिक शिरीष
र जाकाराण्डाको भेद बताउने चेष्टा गरेको थिएँ। प्रकाश साय्मिको स्थापित
व्यक्तित्व छ हाम्रो समाजमा। उहाँलाई उकास्ने वा उक्साउने प्रत्येकको
आ–आफ्नै ढङ्ग होला। त्यसलाई व्यक्तिगत स्वतन्त्रतामा छोड्दा वेश होला
भन्ने मेरो मान्यता छ।
डा. तीर्थबहादुर श्रेष्ठ
काठमाडौँ
|