अर्थ | पर्यटन
शान्तिले आश जगायो
शान्तिवार्ताको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन
उद्योगमा देखिन थालेको छ। पोखरा, लुम्बिनी र सौराहा जस्ता प्रमुख पर्यटकीय
गन्तव्यहरूमा पर्यटकको चहलपहल बढ्ने क्रमसँगै बन्द होटलहरू खुल्नु
तथा व्यवसायीहरूको मुहारमा रौनक देखिनु यसको प्रमाण हो।
•
त्रिभुवन पौडेल, पोखरा
सिंगारिएका रेस्टुरेण्ट,
रङ्गिएका होटल, पर्यटकका लागि आवश्यक सामग्रीको जोहो गर्ने चटारोमा
देखिएका व्यवसायीहरू, नयाँ साजसज्जामा मध्यरातसम्म खुल्न थालेका बारहरू
हेर्दा लाग्छ, पर्यटकीय 'सिजन'को आगमनसँगै नयाँ पाहुनाहरूलाई स्वागत
गर्न पोखरेली पर्यटन व्यवसायीहरू तयार भएर बसेका छन्।
अङ्ग्रेजी क्यालेण्डरमा अक्टोबर महिनाको पातो पल्टिएपछि
शुरु हुन्छ, पोखरासँगै समग्र नेपालको पर्यटकीय 'सिजन'। शान्तिवार्ता
शुरु भएर मुलुकको परिस्थिति बदलिएपछि यसअघि भन्दा बढी पर्यटक आउने
आशामा व्यवसायीहरू हौसिएका छन्। साना होटलहरूमा आशाअनुरुप पाहुनाहरूको
सङ्ख्या बढी नसकेको भएपनि फूलबारी, साङ्ग्रिला, बाराही, कान्तिपुर
जस्ता ठूला होटलहरू अहिले 'फुल अक्यूपेन्सी'मा चलिरहेका छन्। पोखरास्थित
होटल बाराहीका सञ्चालक विप्लव पौडेल भन्छन्, “अहिलेसम्मको बुकिङ चित्तबुझ्दो
छ।”
पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डका गजेन्द्र सापकोटा
पनि डिसेम्बरसम्मको बुकिङ राम्रो रहेको बताउँछन्। उनी भन्छन्, “अक्टोबरको
बुकिङ फुल छ, नोभेम्बर र डिसेम्बरको पनि राम्रै छ।” ब्याङ्कको कर्जा
नतिरेर कालोसूचीमा परेको पाँचतारे होटल फूलबारीको समेत यो सिजनको बुकिङ
राम्रो भएको होटल प्रशासनले जनाएको छ।
उता करीब ६ महिना बन्द भएर हालै खुलेको लुम्बिनीस्थित
होटल होक्केमा पनि आउँदो डिसेम्बरसम्मका लागि ३ हजार ६ सय पाहुनाहरूले
कोठा 'बुक' गरिसकेका छन्। अघिल्लो वर्ष माओवादीले गरेको एकतर्फी युद्वविरामताका
यही अनुपातमा होटल बुकिङ भएपनि युद्वविराम भङ्ग भई देशमा पुनः हत्या–हिंसाले
गति पाएपछि ठूलो परिमाणमा बुकिङ रद्द भएको थियो।
 |
| जनक अर्याल |
| सौराहामा पर्यटकको चहलपहल। |
खचाखच सौराहा
अर्को पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि यतिखेर स्वदेशी र विदेशी
पर्यटकहरूले खचाखच छ। क्षेत्रीय होटल संघका कार्यवाहक अध्यक्ष हरिभक्त
घिमिरेका अनुसार यतिखेर दिनहुँ सरदर १५० विदेशी पर्यटक र २०० स्वदेशी
पर्यटकहरू आउने गरेका छन्। यति धेरै नेपाली पर्यटकहरू पहिलो पटक सौराहा
आएको बताउँदै घिमिरे भन्छन्, “यो शुभ–सङ्केत हो। विदेशीलाई दिने सुविधा
हामी नेपालीलाई आधा मूल्यमै उपलब्ध गराउँछौँ।”
पर्यटकको सङ्ख्या बढेपछि राष्ट्रिय निकुञ्ज प्रवेश गर्नेहरूको
सङ्ख्या पनि बढेको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत रामजी सिवाकोटीका
अनुसार गत वर्षको साउनदेखि असोजसम्म तीन महिनामा सौराहा नाकाबाट ६,६५१
पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेका थिए भने यस वर्षको
साउनदेखि २६ असोजसम्ममा ९,९६१ पर्यटकले निकुञ्ज प्रवेश गरिसकेका छन्।
सिवाकोटी भन्छन्, “मुुलुकमा शान्ति भयो भने पर्यटक अझै बढ्छन्।”
पर्यटक बढेपछि हात्ती चढेर गैँडा हेर्र्न जानेहरूको
सङ्ख्या पनि ह्वात्तै बढेको छ। निकुञ्जका तीन र निजी क्षेत्रका २३
हात्तीले पर्यटक ओसारपसार गर्दै आएका छन्। सामान्य अवस्थामा एक पटकमा
चारजना पर्यटक बोकेर २–३ घण्टाका दरले दुई पटकसम्म जङ्गल घुमाउने एउटा
हात्तीले दैनिक ४–५ टिपसम्म गर्ने गरेको छ। होटल व्यवसायी पूर्णमान
श्रेष्ठ भन्छन्, “पर्यटकहरूको चाप बढेपछि हात्ती व्यवस्थापनमा कठिनाई
आएको छ।” निजी क्षेत्रका हात्तीले मध्यवर्ती क्षेत्रमा र निकुञ्जका
हात्तीले निकुञ्जभित्र घुमाउने गर्दछन्।
खुल्न थाले होटल
अहिलेसम्म सबैभन्दा बढी सन् १९९९ मा एक लाख पाँच हजार पर्यटक
भित्रिएको पोखरामा अघिल्लो वर्ष करीब ७४ हजार पर्यटक मात्र आएका थिए।
पर्यटक नआउँदा छाएको मन्दीले ब्लुबर्ड, ट्राकोपानलगायत साना–ठूला गरी
करीब चार दर्जन स्थानीय होटलहरू बन्द भएका थिए। पर्यटक बढ्ने क्रमसँगै
बन्द होटलहरू खुल्ने संभावना बढेको छ। ब्लु बर्ड व्यवस्थापनले पनि
होटल खोल्ने सोच बनाएको छ। क्षेत्रीय होटल संघका उपाध्यक्षसमेत रहेका
विप्लव पौडेल भन्छन्, “पर्यटक बढ्दा बन्द होटल मात्र होइन नयाँ पनि
खुल्न सक्छन्।”
विदेशी पर्यटकहरूमै लक्षित लुम्बिनीस्थित होटल होक्के
६ महिना बन्द भएर १६ भदौमा खुलेको छ। खोलेयता भएको बुकिङका आधारमा
यसपटक होटल घाटामा नजाने देखिएको म्यानेजर सुभाष शर्मा बताउँछन्। शर्मा
भन्छन्, “अहिलेसम्म बुकिङ राम्रै छ, सरकार–माओवादी वार्ता सफल हुने
हो भने यसमा अझै सुधार आउनेछ।” पाहुनाको अभावमा बिजुली, पानी, टेलिफोन
र कर्मचारीको खर्च समेत धान्न नसकेपछि ६ महिनाअघि यो होटल बन्द गरिएको
थियो।
यद्यपि अहिले आइरहेकै पर्यटक र तिनले बिताउने गरेको
दिन हेर्दा भएका चल्ने र बन्द होटलहरू खुल्ने कुरामा पर्यटन व्यवसायीहरू
अझै विश्वस्त छैनन्। यसअघिसम्म पोखरामा एक पर्यटकले सरदर तीन दिन बिताउँथे।
यो तथ्याङ्क यतिखेर दुई दिनमा झरेको छ। यो कारण नखुट्याउँदासम्म पोखराको
पर्यटन नफस्टाउने पर्यटन बोर्डका पूर्व सदस्य विश्वशङ्कर पालिखे बताउँछन्।
 |
| जनक अर्याल |
'पर्ख र हेर'
पर्यटक आगमन सन्तोषजनक हुँदै गए पनि, पर्यटन सम्बद्ध सबै
व्यवसायीहरूले राहत महसूस गर्न वर्षमा २ लाख पर्यटक पोखरा भित्रिनुपर्ने
बताउँछन् विप्लव पौडेल। उनको भनाइमा अझै दुई वर्षसम्म यही गतिमा पर्यटक
आएमा मात्र हिजोको घाटा पूर्ति हुनसक्छ।
लुम्बिनीस्थित होटल होक्केका प्रबन्धक शर्मा पनि एक वर्षको अवधिमा
४ हजार पाहुनाले आफ्नो होटलमा एक रात बिताए भने मात्रै खर्च उठ्ने
बताउँछन्। जबकि सन् २००५ भरिमा जम्मा १५ सय पर्यटकले होटलमा रात बिताएका
थिए। २००४ मा यो सङ्ख्या १६ सय थियो।
लुम्बिनीस्थित पर्यटन सूचनाकेन्द्रका अनुसार सन् २००५
को जनवरीदेखि सेप्टेम्बरसम्म लुम्बिनीमा आउने विदेशी पर्यटकको सङ्ख्या
२३ हजार ५ सय ७९ रहेकोमा यस वर्षको सोही अवधिमा सो सङ्ख्या ३० हजार
७ सय ४५ पुगेको छ। अघिल्लो वर्षको तुलनामा भन्दा यसवर्ष अहिलेसम्मको
अवधिमा पर्यटकको सङ्ख्या ३० प्रतिशतले बढेको केन्द्रका सूचना अधिकृत
ज्ञानिन राई बताउँछन्।
त्यसो त स्थलमार्ग भएर सबैभन्दा धेरै पर्यटक भित्रिने
बेलहिया (भैरहवा) नाकाबाट आउने पर्यटकको सङ्ख्या पनि केही बढेको छ।
त्यहाँको अध्यागमन कार्यालयका अनुसार सन् २००५ को जनवरीदेखि सेप्टेम्बरसम्म
३१ हजार २ सय ५८ पर्यटक नेपाल आएकोमा सन् २००६ को सोही अवधिमा ३८ हजार
६ सय पर्यटक सो नाकाबाट नेपाल भित्रिएका छन्।
नेपाल भित्रने पर्यटकको सङ्ख्या बढेको देखिए पनि अहिले
नै त्यसबाट हर्षित हुनुपर्ने स्थिति नभएको व्यवसायीहरूको भनाइ छ। लुम्बिनीस्थित
होटल क्रिष्टलका हरि पराजुली अहिलेको सिजन पर्यटकीय भएकाले सङ्ख्यात्मक
रूपमा पर्यटक बढेको देखिएपनि अघिल्ला वर्षहरूमा देखिएको मन्दीलाई पूर्ति
गर्नका लागि देशको स्थितिमा आधारभूत परिवर्तन हुनुपर्ने बताउँछन्।
लुम्बिनीका अधिकांश होटलहरू थाइ पर्यटकमा निर्भर छन्।
तर सेप्टेम्बरमा थाइल्याण्डमा भएको सैनिक 'कु'का कारण थाइ पर्यटक नआउने
हुन् कि भन्ने चिन्ता व्यवसायीहरूमा छ। क्रिष्टल होटलका पराजुली भन्छन्,
“वर्षको सुरुआत राम्रै भएपनि अघिल्ला वर्षमा जस्तो थाइ पर्यटकहरू यो
वर्ष आएका छैनन्।” उता समूह नै बनाएर नेपाल आउन चाहने पर्यटकहरूले
हवाइटिकट नपाएको असङ्ख्य
इमेल आएको दुःखेसो सुनाउँछन्, पोखरा पर्यटन परिषदका
पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई। उनको भनाइमा बन्द, हड्ताल नहुने
हो भने अबको दुई महिना चाहिएजति पर्यटकहरू आउँछन् तर यसबीचमा सरकारले
अन्तर्राष्ट्रिय उडानका लागि जहाजहरू थप्ने व्यवस्था गर्नुपर्र्छ।
त्यसो त पर्यटकको सङ्ख्या बढाउन वा आएका पर्यटकहरूको
बसाइ लम्ब्याउन स्वयं पर्यटन व्यवसायीहरूले गर्नुपर्ने पनि धेरै कुराहरू
छन्। हनिमुन वा पारिवारिक घुमघामका लागि आउने नेपाली, भारतीय पयर्टकहरू
बाहेक तेस्रो मुलुकबाट आउने पर्यटकहरूले भने 'एडभेञ्चर'का लागि पोखरालाई
'ट्रान्जिट प्वाइण्ट' बनाएका हुन्छन्। पोखरा भएर अन्नपूर्ण क्षेत्रको
पदयात्रामा जाने पश्चिमा पर्यटकहरूका लागि पोखरा यस्तै प्वाइन्ट मात्र
भएको छ। फेवा, वेगनास जस्ता ताल तथा गुफाहरूको सौन्दर्यपान गर्न ट्रान्जिटकै
अवधि पर्याप्त हुन्छ। प्राकृतिक सौन्दर्यमा टिकेको पर्यटकको ट्रान्जिट
बसाइ लम्ब्याउन अझै कुनै ठोस प्रयास हुनसकेको छैन। पोखरेली पर्यटन
व्यवसायीहरू अझै पनि 'जाउँ है पोखरा' भन्ने नारामा सीमित छन्। तर 'के
का लागि' भन्ने प्रश्नले स्पष्ट उत्तर भेटेको छैन।
मुकेश पोखरेल, भैरहवा
जनक अर्याल, चितवन
चार वर्षपछि खुल्यो लेक रिसोर्ट
 |
| त्रिभुवन पौडेल |
माओवादी आगजनीका कारण चार वर्षदेखि बन्द
लेखनाथ नगरपालिकास्थित वेगनास लेक रिसोर्ट यो वर्षको दशैँसँगै सञ्चालनमा
आएको छ। स्थानीयवासी र उद्योग बाणिज्य संघ, लेखनाथको पहलमा दशैँलगत्तै
यो सञ्चालनमा आएको हो। २७ कोठासहितको यो रिसोर्टको १८ कोठा हाल सञ्चालनमा
रहेको व्यवस्थापनले जनाएको छ। जङ्गल अतिक्रमण गरेको, आफ्ना कार्यकर्तालाई
सेना लगाएर थुन्न लगाएको र समाजमा विकृति फैलाउने काम गरेको आरोपमा
माओवादीहरूले २०५९ सालमा रिसोर्टमा आगजनी गर्दा यसका ९ वटा कोठा ध्वस्त
भएका थिए।
विगतका क्रियाकलाप नदोहोर्याउने शर्तमा
रिसोर्ट सञ्चालन गर्न दिइएको माओवादी कास्की जिल्ला जनसरकार प्रमुख
विष्णु पौडेल बताउँछन्। व्यवस्थापक अर्जुन पराजुलीका अनुसार माओवादी
आगजनीका कारण करीब रु.२ करोडको क्षति व्यहोरेको यस रिसोर्टलाई चार
वर्ष बन्द हुँदा थप त्यति नै घाटा लागेको छ। पराजुली भन्छन्, “अहिले
रिसोर्टको मार्केटिङ्ग गर्ने काम भइरहेको छ र केही पर्यटकहरू आएर बस्न
थालिसकेका छन्।”
|