हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ बजार

टनेलमा गोलभेँडा खेती

पाल्पा, मदनपोखराका किसानहरूले टनेलमा शुरु गरेको गोलभेँडा खेती अहिले पर्वतका किसानहरूबीच पनि लोकप्रिय भएको छ। बेमौसममा गरिने यस्तो खेतीबाट उत्पादित गोलभेँडा बढी मूल्यमा बिक्री हुन थालेपछि किसानहरू आकर्षित भएका हुन्।

किसानहरूका अनुसार, अघिपछि किलोको रु.१० मा पनि बेच्न गाह्रो हुने गोलभेँडालाई असारदेखि कात्तिकसम्मको बेमौसमको बेला रु.४०–५० सम्म दिन व्यापारीहरू बारीमै आउने गर्दछन्। “मूल्य राम्रो पाइँदो रहेछ”, फर्सेका किसान जीवानन्द सापकोटा भन्छन्, “खाली जमिनमा लगाउनुभन्दा टनेलमै फाइदा छ।” फर्सेलगायत पर्वतका अत्यधिक तरकारी उत्पादन हुने धाइरिङ्ग, माँझफाँट, चुवा, पातीचौर, फलेबास गाविसहरूमा पनि टनेलको गोलभेँडा खेती फैलिएको छ। वर्षायाममा जमिनमा लगाइने गोलभेँडा प्रायः कुहिने भएकोले यो प्रविधिको विकास भएको हो। कृषि वैज्ञानिक डा. केदार बुढाथोकीद्वारा प्रबर्द्धित यो प्रविधि मदनपोखराका किसान नगेन्द्र पाण्डेले यस क्षेत्रका गाउँमा पुर्‍याएका हुन्।

किसानहरू यो प्रविधि उपयोग गरेर काठमाडौँ, पोखरा जस्ता शहरी क्षेत्रमा सलादका लागि बढी माग हुनेगरेको 'थिम–१६' जातको ठूलो गोलभेँडा उत्पादन गरिरहेका छन्। स्थानीय बजारमा अचारका लागि बढी खपत हुने सानो आकारका जातहरू पनि लगाउन पाए अझै फाइदा लिन सकिनेमा उनीहरू विश्वस्त छन्।

टनेल बनाउन डेढलाख रुपैयाँसम्म लगानी गरेका किसानहरूले ४ देखि १० रोपनीसम्म जग्गामा यस्तो गोलभेँडा खेती गरेका छन्। टनेल बनाउन लाग्ने प्लाष्टिक खरिदमा उनीहरूले जिल्ला कृषि कार्यालयबाट २५ प्रतिशतसम्म अनुदान पाउने गरेका छन्। एकपटक बनाएको टनेलबाट १० वर्षसम्म काम लिन सकिन्छ। तरकारी उत्पादन हुने क्षेत्रहरूमा टनेल प्रविधिलाई प्रवर्द्धन गर्दै जाने धारणा बनाएको पर्वत जिल्ला कृषि विकास कार्यालयले यो वर्ष थप २४ किसानलाई टनेल बनाउन अनुदान दिन लागेको कार्यालय प्रमुख नरबहादुर केसी बताउँछन्।

दुर्गाप्रसाद शर्मा,
पर्वत

कस्मिकको नयाँ शोरुम
नेपालको पहिलो मोटरसाइकल निर्माता कस्मिक मोटरसाइकलले काठमाडौँको टेकुमा नयाँ शो–रुम खोलेको छ। आफ्ना उत्पादनहरूको बिक्री वितरण सहज बनाउने तथा उपभोक्तामाझ बढी भन्दा बढी सेवा पुर्‍याउने उद्देश्यका साथ दोस्रो शो–रुम खोलिएको कम्पनीले जनाएको छ। शो–रुमबाट १०० र १२५ सीसीका चार मोडलका मोटरसाइकल तथा तिनका पार्टपुर्जाको बिक्री तथा बिक्री भएका मोटरसाइकलको 'सर्भिसिङ' सेवाको व्यवस्था गरिएको छ।

आईएफबीको सुवर्ण एक्सचेन्ज योजना
आईएफबी होम अप्लायन्सेसद्वारा उत्पादित घरायसी उपकरणहरू बिक्री वितरण गर्दै आएको काठमाडौँस्थित साग्तानी एक्जिमले 'एक्सचेञ्ज' योजना प्रस्तुत गरेको छ। योजना अनुरुप जुनसुकै ब्राण्डका पुराना घरायसी उपकरणहरूको साटोमा आईएफबीद्वारा उत्पादित वासिङ मेशिन, माइक्रोवेभ ओभन, ड्रायर्स र डिसवासरसँग साट्न सकिन्छ। जस्तोसुकै अवस्थामा भएपनि साटफेरको व्यवस्था गरिएको बताउने कम्पनीको यो योजना काठमाडौँ उपत्यकामा तिहारसम्म लागु रहने बताइएको छ।

एभरेष्ट ब्याङ्क ३९ प्रतिशत नाफामा

एभरेष्ट ब्याङ्कले आर्थिक वर्ष २०६२/०६३ मा आफ्नो मुनाफा अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले वृद्धि भएको घोषणा गरेको छ। ब्याङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अर्थतन्त्रमा देखिएको व्यवधानका बाबजूद अघिल्लो वर्षको रु.१७.०८ करोडको करकट्टीपछिको मुनाफालाई यो वर्ष रु.२३.७३ करोड पुर्‍याउन सफल भइएको छ, जुन सन्तोषजनक उपलब्धि हो।” यो अवधिमा ब्याङ्कले आफ्नो निक्षेप सङ्कलनलाई अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत तथा कर्जा प्रवाहलाई २८ प्रतिशतले बढाउन सफल भएको छ। यो उपलब्धिसँगै ब्याङ्कले आफ्ना शेयर होल्डरहरूलाई २५ प्रतिशत नगद 'डिभिडेण्ड' दिने घोषणा गरेको छ। निजी क्षेत्रको सबैभन्दा धेरै शाखा सहितको ब्याङ्क बन्न सफल यस ब्याङ्कले गत वर्ष इटहरी र चाबहिलमा दुई नयाँ शाखा थप गरेको थियो।

ब्याङ्क अफ काठमाडौँ सर्वोच्चमा

ब्याङ्क अफ काठमाडौँले पछिल्लो दिनमा ब्याङ्किङ सेवाग्राहीहरूबीच निकै लोकप्रिय बन्दै गएको एटिएम (अटोमेटिक टेलरिङ मेशिन) सेवालाई सर्वोच्च परिसरमा पुर्‍याएको छ। प्रधानन्यायाधीश दीलिपकुमार पौडेलद्धारा उद्घाटित सो सेवाबाट सर्वोच्च अदालत परिसरका कर्मचारीहरूसँगै सर्वसाधारणले समेत लाभान्वित हुने विश्वास ब्याङ्कको छ।