| तन्नेरीका कुरा
नयाँ कलेज कल्चर
•
शैली बस्नेत

सुम्निमा चाम्लिङ |
| काठमाडौँको एक कलेजमा स्वागत कार्यक्रममा भएको
'न्यूजपेपर डान्स'। |
अखबारका पानामा
टेकेर नाचिरहेका कलेजका विद्यार्थी जोडीहरू। नाच्दानाच्दै पाना क्रमैसँग
झिकिन्छ। नाच्ने ठाउँ साँघुरो र जोडीहरूलाई टिक्न गाह्रो हुँदै जान्छ।
अखबार बाहिर टेक्ने जोडी खेलबाटै बाहिरिने हुनाले कहिले एकअर्काका
खुट्टामा टेक्छन् त कहिले अँगालोमा बाँधिन्छन्। अन्त्यसम्म टिक्न केटाले
केटीलाई बोकेर पनि नाच्छन्। र, जो अन्तिमसम्म टिक्छ त्यही जोडी विजयी
हुन्छ। निजी कलेज, क्याम्पस वा विश्वविद्यालयका पार्टीहरूमा निकै लोकप्रिय
'न्यूजपेपर डान्स' भनिने खेलको दृश्य हो यो। हिजोआज धेरै नेपाली युवाहरूको
'प्लस टु' विद्यालय र कलेज जीवनको यात्रा यस्तै खेल र नाचगानहरू हुने
'वेलकम पार्टी'बाट शुरु हुन्छ।
पहिलेका पुस्ताका मानिसहरूको कलेज जीवनको सुरुआत भाषण
र विविध सांस्कृतिक कार्यक्रम एवं स्वागत समारोहबाट हुन्थ्यो। अहिले
पनि अधिकांश सरकारी र सार्वजनिक कलेजहरूमा त्यस्तै समारोह हुन्छन्।
तर, प्रायः निजी र केही सार्वजनिक कलेजको स्वागत चाहिँ कन्सर्टबाट
शुरु भएर रातिसम्म चल्ने 'लेटनाइट पार्टी'मा टुङ्गिन्छ। सामान्य सांस्कृतिक
कार्यक्रम, पिकनिक, भ्रमण, आदिमा सीमित कलेज जीवनको मनोरञ्जन कल्चर
पनि समयसँगै बदलिएको छ।
पार्टीमा थरीथरीका कार्यक्रम हुन्छन्– न्यूजपेपर डान्स,
मिस्टर र मिस कलेज कन्टेष्ट, केटाहरूलाई साडी लाउने, केटाले केटीको
कपाल बाट्ने, प्याज काट्ने, टेबुलमा राखेको खानेकुरा सीधै मुखले खाने
प्रतियोगिता आदि। केटाहरूलाई 'हलिउडको नायिका बन्न पाए को बन्छौ?'
र केटीहरूलाई 'आफ्नो व्यक्तित्वलाई कुन तरकारीसँग दाँज्छौ?' भन्नेखालका
ठट्यौला प्रश्न गरेर विजेता छानिन्छ। कलेजको नाम नलेखिदिन आग्रह गर्दै
स्नातकोत्तर तहकी एक छात्रा यस्ता पार्टीमा छाडा प्रश्नहरू पनि सोधिने
गरेको बताउँछिन्। उनी भन्छिन्, “हामी नयाँ हुँदा त्यस्तै प्रश्न सोधियो,
हामीले नयाँ आउनेहरूलाई पनि त्यस्तै प्रश्न सोध्ने गरेका छौँ।” नेपाल
इन्स्टिच्युट अफ हेल्थ साइन्सेस्, टुसालमा स्नातक गरिरहेकी स्यारोन
भन्छिन्, “हामीकहाँको वेलकम पार्टीमा सिनियरले जुनियरलाई गुलाफको फूल
दिने र नाच्न प्रस्ताव राख्ने चलन छ।” कार्यक्रम आयोजक पुराना विद्यार्थीहरू
नयाँ विद्यार्थीलाई र्यागिङ गर्ने मौकाको रूपमा पनि यस्ता पार्टीलाई
उपयोग गर्छन्।
पार्टी आयोजना गर्न कलेज व्यवस्थापन र विद्यार्थी सङ्गठनहरूले
केही सहयोग गर्छन् भने विद्यार्थीहरूबाटै रु.३०० देखि ५०० सम्म उठाइन्छ।
थोरै विद्यार्थी हुने कलेजहरूमा उठाइने रकम योभन्दा बढी हुनसक्छ। काठमाडौँ
विश्वविद्यालयको स्कूल अफ म्यानेजमेण्टमा रु.२ हजारसम्म उठाइएको त्यहाँका
विद्यार्थीहरू बताउँछन्। पार्टीहरू धेरैजसो कलेज परिसरमै र केही तारे
होटलहरूमा पनि आयोजना गरिन्छन्। निजी कलेजका पार्टीहरू अक्सर रातको
११–१२ बजेसम्म चल्छन्। अबेरसम्म पार्टी गर्नेमा सरकारी शिक्षण संस्था
त्रिवि, महाराजगञ्ज क्याम्पस पनि कम छैन। त्यहाँ भएका पार्टीहरू राति
दुई–तीन बजेसम्म पनि चल्ने गरेका छन्। एमबीबीएसकी एक छात्रा भन्छिन्,
“एकपटक त बिहान ६ बजेसम्म चल्यो।” शङ्करदेव, पब्लिक युथ, पद्मकन्या
जस्ता सार्वजनिक क्याम्पसहरूमा हुने स्वागत कार्यक्रमहरू चाहिँ त्यति
भड्किला हुँदैनन् र बेलैमा सकिन्छन्।

शैक्षिक भ्रमणका दौरानमा गोवामा समुद्रको
आनन्द लिँदै नेपाली युवाहरू । |
प्रायः शिक्षक–शिक्षिका र अभिभावकको उपस्थिति नहुने
यस्ता पार्टीहरूमा विद्यार्थीहरू स्वतन्त्रताको पूरा 'फाइदा' उठाउँछन्।
यसैकारण पार्टीमा धुम्रपान र मद्यपानलाई सामान्य रूपमा लिइन्छ। चुरोट
थुप्रै छात्र–छात्राको अभिन्न लत बनिसकेको छ भने कति त गाँजा समेत
तान्छन्। आफ्नो कक्षाका दुई–तीन जना छोडेर सबै केटीहरू 'स्मोक' गर्ने
बताउने डेभलपमेण्ट स्टडिजमा स्नातक गरिरहेकी एक छात्रा भन्छिन्, “धेरैजसो
केटाहरू नियमित गाँजा लिन्छन्, हामी पनि कहिलेकाहीँ रमाइलो गर्न लिन्छौँ।”
विद्यार्थीहरूबीच 'ज्वाइन्ट' वा 'जी'को नामले पनि चिनिने गाँजा किन्न
नगरकोट, मलेखु, चोभार, धुलिखेलसम्म पुग्ने गरेको उनीहरू बताउँछन्।
कलेजका यस्ता पार्टीमा डिस्कोमा झैँ केटीहरू छोटा र
खुला पहिरनमा हुन्छन्। हल्टर, लो नेक, ब्याकलेस, मिनी, माइक्रो र स्ट्रिङस्
हिजोआज पार्टीमा देखिने नारी पहिरन हुन्। पार्टीमा यस्तै लुगा लगाउन
रुचाउने चाबहिलकी अमिना भन्छिन्, “जमानासँगै हिँड्न पनि जान्नु पर्छ।
पछि मेरी छोरीले लगाई भने मलाई समस्या हुनेछैन। नराम्रा मान्छे र नराम्रा
ठाउँमा त जस्तोसुकै लुगा लगाए पनि समस्या पर्नसक्छ।”
स्वागत बाहेक कलेजहरूमा फेयरवेल, वार्षिकोत्सव, अन्य
चाडपर्व र अवसरमा पनि पार्टीहरू आयोजना भइरहन्छन्। त्रिचन्द्र क्याम्पसमा
'भ्यालेन्टाइन डे'मा प्रेमपत्र लेख्ने प्रतियोगिता हुन्छ। धेरै पार्टीहरू
हुने काठमाडौँ विश्वविद्यालयको स्कूल अफ म्यानेजमेण्टको मोमो पार्टी
पाठ्यक्रमकै अङ्गमा पर्दछ। 'पट–लक' पार्टी पनि हुन्छन्, जसमा विद्यार्थीहरू
घरबाटै खानेकुरा ल्याएर सँगै खान्छन्। दशैँमा चङ्गा चेट, सङ्गीत प्रतियोगिता
र मेला कलेजहरूमा हुने अन्य चहलपहल हुन्। डिस्को र होटलहरूमा डान्स
पार्टी पनि आयोजना भइरहेका हुन्छन्। 'कलेज बंक' गरेर अर्थात् पढ्न
नगएर डान्स पार्टीमा जानेहरू पनि हुन्छन्। बिहान–दिउँसो चल्ने कलेजका
विद्यार्थीहरू समेत बेलाबेखत 'बंकर्स पार्टी' गरिरहेका हुन्छन्। कति
त पार्टी गर्न मन नपराउने विद्यार्थी पनि हुन्छन्। लिटिल एञ्जल्स्का
एक छात्र भन्छन्, “पार्टी गर्नेहरूले टिकट किन्न कर गरेर वाक्कै पारिसके।”
 |
राजनीतिक गतिविधि हुने कलेजहरूमा चुनाव प्रचारका लागि
पार्टी आयोजना हुन्छ। शङ्करदेवमा एमबीएसमा अध्ययनरत प्रकाश महर्जन
भन्छन्, “पार्टीको सबैले फाइदा उठाउँछन्, गीतहरूका बीचमा उम्मेदवार
चिनापर्ची, भाषण र सङ्गठनको प्रचार हुन्छ।” यस्तो बेलाको कार्यक्रममा
पप गायन र लोकदोहोरीहरू राखिएको हुन्छ। चुनाव जितेको खुशीयालीमा पनि
कलेजमा कार्यक्रमहरू हुने गर्दछन्।
कलेजहरूको शैक्षिक भ्रमणको स्वरुप पनि फेरिन थालेको
छ। देशका अन्य भागबाहेक भारतको शैक्षिक भ्रमणमा जाने चलन बढेको छ।
प्रायः स्नातक तह अन्तिम वर्षका विद्यार्थीहरू जाने यस्ता भ्रमणको
नाम 'शैक्षिक' भए पनि तिनमा ठूल्ठूला शैक्षिक संस्था र कम्पनी भएका
बैङ्गलोर, पुना, हैदरावाद, दिल्ली जस्ता शहरका लागि थोरै र गोवा, मुम्बईजस्ता
शहरका लागि धेरै दिन छुट्याइएको हुन्छ। गोवा त कुनै पनि कलेजको भ्रमणमा
छुट्दैन। गत वर्ष जेभिएर एकेडेमीको कक्षा १२ का विद्यार्थी समेत भारत
भ्रमणमा गएका थिए। विज्ञान र व्यवस्थापनका विद्यार्थी सम्मिलित उक्त
भ्रमणको उद्देश्य शैक्षिक भन्दा पनि मनोरञ्जन भएको विद्यार्थीहरू बताउँछन्।
महाराजगञ्ज क्याम्पसका एमबीबीएस विद्यार्थीहरू दिल्ली
स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसद्वारा आयोजना गरिने
कार्यक्रममा भाग लिन जान्छन्, जसमा पुस्तक र विज्ञान प्रदर्शनीका साथै
नाचगान र प्रतियोगितात्मक खेल हुने पार्टी लगातार सात दिन सात रात
चल्छ।
नेपाली कलेजहरूमा भित्रिएको पार्टी कल्चरका केही कुरा
समयको माग अनुसार ठीकै छन् भने केही नचाहिँदो देखासिकी र स्वतन्त्रताको
दुरुपयोग पनि हुन्। त्यसैले छोराछोरीहरू कलेजमा के गर्छन्, कस्तो साथसङ्गतमा
लागेका छन् भन्ने कुरामा शुरुदेखि नै बाबुआमा, अभिभावक र शिक्षकहरूले
ध्यान दिनु जरुरी भएको विचार राख्ने इन्दु राना भन्छिन्, “केटाकेटीले
पनि के गर्नुहुन्छ, के गर्नुहुँदैन, कतिसम्म आधुनिक हुन ठीक छ आफैँ
विचार गर्न सक्नुपर्छ।” एपेक्स कलेजका प्रधानाध्यापक एलपी भानु शर्मा
भन्छन्, “आजका विद्यार्थी आधुनिक हुनैपर्छ, तर के आधुनिक हो त्यो बुझ्न
उनीहरू आफैँ सतर्क हुनुपर्छ। कलेज पुग्ने उमेर भइसकेका विद्यार्थीलाई
अभिभावक र कलेजले पनि प्रवचन हैन आफ्नै व्यवहारबाट मार्गदर्शन दिनुपर्छ।”
|