हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत | कतारमा नेपाली

कोही दुःख मात्र कमाउँछन् कोही पैसै–पैसा कमाउँछन्

आफूले गर्ने काम र चाहिने कागजपत्रबारे राम्ररी नबुझी आउँदा कतारमा धेरै नेपालीहरूले दुःख पाउने गरेका छन्। तर जो हातमा सीपसहित सबै कुरा बुझेर यहाँ आएका छन्, तिनको प्रगति लोभलाग्दो छ।

डम्बरकृष्ण श्रेष्ठ
दोहा, कतारमा


तस्बिरहरूः डम्बरकृष्ण श्रेष्ठ
आठ महिनाअघि कतार आएका प्युठानका गुरुप्रसाद पोख्रेल २ जेठमा खालीहात नेपाल फर्कदै बहराइन एयरपोर्टमा। उनको साथमा नेपालीहरूले चन्दा उठाएर दिएको रु.१ हजार मात्र थियो।

कतार भन्ने बित्तिकै 'लेवर'हरू जाने ठाउँ, नेपालीहरूको बिजोग हुने देश भनेर चित्रण गरिन्छ। तर त्यहीँ सम्पन्न जीवन बिताउने नेपालीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ। काम र अवसरको खोजीमा यहाँ आइपुगेका डेढ लाख नेपालीमध्ये करीब २५ हजारले मनग्गे पैसाका साथै सन्तुष्टि पनि पाइरहेका छन्।

श्रम तथा रोजगार प्रवर्द्धन विभागको स्वीकृति लिएर २०५०/०५१ सम्ममा जम्मा ३९१ जना नेपाली कतार छिरेका थिए भने ०६१/०६२ को एक वर्षमा मात्रै यो सङ्ख्या ४२ हजार ३९४ पुग्यो। बढ्ने क्रम अहिले पनि जारी छ। नेपाल भन्दा १५ गुणा सानो क्षेत्रफल र ३० गुणा कम जनसङ्ख्या रहेको कतारमा नेपालीहरूको अलग्गै पहिचान समेत स्थापित हुन थालेको छ।

लेवर मात्र छैनन्
रसियामा पढेर काठमाडौँको मर्कन्टायल, मिडास टेक्नोलोजी र गोल्छा अर्गनाईजेशनमा काम गरेका कम्प्युटर इञ्जिनियर श्रीधर जैसवाल अहिले दोहामा हुन लागेको एशियन गेमको तयारीमा जुटेका १२ जना सिस्टम इञ्जिनियरमध्ये एक्ला नेपाली हुन्। उनी भन्छन्, “कतार लेवरहरू आउने ठाउँ हो भनेर सबै दक्ष युवा जापान, कोरिया, अमेरिका लागिरहेका छन्। तर यहाँ पनि प्रशस्तै काम र पैसा छ।”

०५६ सालमा सवारी चालकको रूपमा आएका काठमाडौँका विजय माझी अहिले गल्फ लाइट कम्पनीमा मासिक रु.४० हजार कमाउँछन्। सेक्युरिटी गार्डको रूपमा पाँच वर्षअघि कतार पसेका जी.बी. तामाङले दोहाको समुन्द्री किनारमा रहेको अलवन्दर रेष्टुरेण्टका कतारी मालिकबाट लेखा तथा व्यवस्थापनको जिम्मेवारी पाएका छन्। करोडौँको कारोबार हेर्ने तामाङ भन्छन्, “मैले यहाँ ४० जना नेपाली केटाहरूलाई रु.१६ हजारदेखि ३० हजारसम्मको काम दिलाएको छु।” तेक्वान्दोका राष्ट्रिय खेलाडी तामाङ विश्वासिला हुनाले कतारमा अझै हज्जारौँ दक्ष नेपाली युवाहरूले सजिलै काम पाउने बताउँछन्।

कतारमा कार्यरत नेपालीमध्ये ८० प्रतिशत निम्न तहका शारीरिक श्रम गर्नेहरू नै छन्। तर ६ वर्षदेखि कतारमा रहेका नेपालीका समस्यासँग जुध्दै आएका राजदूत श्यामानन्द सुमन भन्छन्, “बढ्दो सङ्ख्यासँगै उच्च तहका काममा पनि नेपालीहरू आउन थालेका छन्।” 'लेवर' काम गरेर रु.१२ देखि २५ हजारसम्म कमाउनेहरू पनि धेरै छन्।

कतारमा कार्यरत अधिकांश नेपालीहरू 'श्रमिक'को श्रेणीमा पर्ने भए पनि यिनले आफ्नो आम्दानीको अत्यधिक अंश बचत गर्ने भएकाले यहाँबाट नेपाल भित्रिने वैदेशिक मुद्राको मात्रा उल्लेख्य छ। नेपालका कैयौँ ब्याङ्क र वित्तीय संस्थाहरूले 'रेमिट्यान्स' ओसार्न यहाँ आ–आफ्ना सञ्जाल खडा गरेका छन्। तीन वर्षअघि हिमालयन ब्याङ्कको सेवा शुरु गर्न दोहा आएका रामेश्वर श्रेष्ठ कतारमा हिमाल रेमिट का पाँच वटा शाखाबाट सेवा दिँदै आएको बताउँछन्। उनका अनुसार, सबै ब्याङ्कहरूमार्फत् गरेर मासिक १ करोड ३० लाख अमेरिकी डलर (करीब रु.९२ करोड) कतारबाट नेपाल जान्छ।


चितवनका युवा ज्योति रानाभाट आठ घण्टे ड्युटीपछि आफ्नै चिल्लो कार चढेर हिँड्छन्।

बद्लिँदो जीवनशैली
कतारका चिल्ला सडकमा महँगा कार गुडाउने भीडमा पनि प्रशस्तै नेपाली अनुहार देखिन्छन्। एक सिपिङ कम्पनीमा काम गर्दै आएका भरतपुरका युवा ज्योति रानाभाट आठ घण्टे ड्युटीपछि आफ्नै चिल्लो कार चढेर हिँड्छन्। यहाँ करीब चार सय नेपालीले निजी गाडी किनेका छन्। सस्तोमा ५ हजार रियाल (रु.१ लाख) सम्ममा र किस्ताबन्दीमा महँगा पनि गाडी सजिलै पाइने तथा पेट्रोल प्रति लिटर १ रियाल भन्दा पनि कम (रु.१६) पर्ने भएकोले पनि कमाउने नेपालीहरूलाई गाडी चढ्न गाह्रो छैन। मितेरी क्लबका अध्यक्ष समेत रहेका ज्योति दक्ष नेपाली युवाहरूका लागि दोहा रोजगारको राम्रो गन्तव्य भएको बताउँछन्।

कतारमा कार्यरत २०० नेपाली इञ्जिनियरहरूले आफ्नो एशोशिएसन नै बनाएका छन्। विभिन्न कार्यालयमा कर्मचारीको रूपमा काम गर्नेको सङ्ख्या दुई हजार जति पुग्छ। करीब १५ हजार नेपाली डिपार्टमेण्टल स्टोरहरूमा सेल्समेन र सेक्युरिटी गार्डको काम गर्छन्। बाँकी नेपालीहरू कन्स्ट्रक्सन, एयरपोर्ट, व्यावसायिक उत्पादन कम्पनीहरूमा काम गर्छन्। थ्री सीसी नामको एउटै कम्पनीमा पाँच हजार नेपाली कामदारहरू छन्।

४५ जना कामदार रहेका दोहाको तीनतारे होटल रिजेन्सीमा वेटर, कुकदेखि म्यानेजर समेत गरेर ३० जना नेपाली छन्। ६ वर्षअघि वेटरको रूपमा आएका धादिङ, नौबिसेका निरञ्जन रेग्मी अहिले त्यहाँका म्यानेजर हुन्। काठमाडौँको साङ्ग्रिला होटलमा २० वर्ष काम गरेर आठ वर्षअघि आएका रिजेन्सीका हेड कुक बालकृष्ण बस्नेत नेपालमा भन्दा ६ गुणा बढी तलब थाप्छन्। म्यानेजर निरञ्जन कतारमा वेटर, कुकहरू मात्र हैन इञ्जिनियर, नर्स, ब्याङ्किङ र प्रशासनिक ज्ञान भएका ६० हजार दक्ष नेपालीले अझै काम पाउने बताउँछन्। भन्छन्, “डेढ लाख नेपालीमा २५ प्रतिशत भन्दा बढीले त राम्रो काम नै पाएका छन् नि! चार वर्षयता कतारको रुप फेरिए झैँ नेपालीहरूको लाइफस्टायल पनि बदलिएको छ।”

कतारमा आउने नेपाली महिलाहरूको सङ्ख्या पनि दिनहुँ बढिरहेको छ। गल्फ र कतार एयरवेजका एयरहोस्टेस र ग्राउण्ड कर्मचारीदेखि यहाँका डिपार्टमेण्टल स्टोरहरूमा सेल्स गर्ल, रेष्टुरेण्टमा वेटर र अस्पतालमा नर्ससम्मको काम गरिरहेका नेपाली महिलाहरू भेटिन्छन्। ब्याङ्क अफ काठमाडौँमा पाँच वर्षको अनुभव सँगालेर कतार आएकी रमिला श्रेष्ठ यहाँ पनि ब्याङ्कमै काम गर्छिन्। अर्की महिला सविता वैद्य विगत तीन वर्षदेखि सरकारी सेन्सर बोर्डमा बसेर नेपाली पत्रपत्रिका, चलचित्र, गीत/सङ्गीत लगायतका आमसञ्चार सामग्रीहरू सेन्सर गर्ने काम गर्छिन्।


६ वर्षदेखि पेण्टरः नवलपरासीका गोपाल मगर र वेटरदेखि म्यानेजरः नौविसेका निरञ्जन रेग्मी।

नेपालीलाई नेपालीकै रोजगार
श्रमिकको रूपमा आएका नेपालीहरूकै सक्रियतामा आ–आफ्नो क्षेत्र, जिल्ला र गाउँका तथा अलपत्र परेका अन्य नेपालीलार्ई सहयोग गर्ने उद्देश्यले कतारमा लगभग ५५ वटा संघ–संस्था स्थापना भएका छन्। यहीँ व्यापार व्यवसाय गरेर नेपालीलाई रोजगारी दिने नेपालीहरू पनि छन्। ११ वर्षअघि आएका इञ्जिनियर बद्रीप्रसाद पाण्डेको अलफाजर इण्टरनेशनल नामको निर्माण कम्पनीमा १७५ नेपाली बाहेक पाकिस्तानी र सुडानीले समेत रोजगार पाएका छन्। १ करोड डलर पूँजी भएको उनको कम्पनीले १८ वटा विल्डिङ कन्स्ट्रक्सनमा काम गरिरहेको छ।

त्यस्तै सागर नेपालको गोरखा कन्स्ट्रक्सन कम्पनीले ९० नेपालीलाई रोजगार दिएको छ। कण्ट्रक्सन र व्यापारको क्षेत्रमा काम गर्ने नेपालीहरूमा डा. देवकाजी डङ्गोल पनि छन्। उनको आफ्नै कण्ट्रक्सन कम्पनी र ग्यारेज छ भने नेपाली रेष्टुरेण्ट भान्छाघर उनकी श्रीमती माला डङ्गोलले चलाइरहेकी छन्। त्यस्तै 'कतार नेपाल डटकम' नामक अनलाइन पत्रिका सञ्चालन गर्दै आएका शिखर वैद्यले कतार टुर्ससँगै नेपालीलाई रेमिट्यान्स सेवा दिइरहेका छन्। केही नेपालीले आफ्नै लगानीमा एक दर्जन जति नेपाली रेष्टुरेण्ट व्यवसाय चलाइरहेका छन्। ती रेष्टुरेण्टहरूमा वेटरदेखि कुकसम्म सबै नेपाली नै छन्।


गल्फ एयरबाट नेपाल फर्र्कँदा बहराईन एयरपोर्टमा ट्राञ्जिट परेपछि थकाई मार्दै नेपालीहरू।

नबुझी आए दुःख पाइन्छ
नेशनल ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ कम्पनीमा कम्प्युटर अपरेटरको काम गर्न २०६३ वैशाखको तेस्रो साता दोहा आएका दाङका कमल के.सी. अलपत्र परेका छन्। दलालमार्फत् आएका उनलाई भनिएको कम्पनीमा नै पुर्‍याइएको छैन। रु.८० हजार जति खर्च गरेर आई अलपत्र परेका के.सी.लाई घर फर्कन समेत समस्या छ।

मोरङ, राजघाटका बीरबहादुर घोरसाइने चार महिनादेखि जेलमा छन्। आफ्नो राहदानी हराएपछि काठमाडौँमा सयपत्री ट्राभल्समार्फत् श्रमको कागजपत्र बनाइदिने राजु सुवेदीले नयाँ बनाएर त पठाइदिए, तर भीसामा पुरानै राहदानीको नम्बर भएकोले उनी दोहा विमानस्थलमा ओर्लनासाथ पक्राउ परे। प्रवासी नेपाली सम्पर्क मञ्च, कतारका अध्यक्ष कमलमणि गुरागाईँ नेपालको श्रम मन्त्रालय, अध्यागमन र दलालका कारणले बीरबहादुर जेलमा बस्नु परेको बताउँछन्। “भीसा र राहदानी नमिलेको मान्छेलाई त्रिभुवन विमानस्थलबाट कसरी उडाइयो?” गुरागाईँ प्रश्न गर्छन्।

विराटनगरका परशुराम डोटेल, सुशील शाक्य र विपिन कार्की दुई महिना कतारमा अलपत्र परे। शुभम् ओभरसिज काठमाडौँको नामबाट गङ्गाबहादुर बस्नेतले प्रतिव्यक्ति रु.६० हजार लिएर पठाएका मोरङका यी तीन जनालाई एक कम्पनीको भीसा दिएर पठाइएको थियो। बस्नेतले नेपालबाट पठाएका चार जनामध्ये सुशील शाक्यका आफन्त पर्ने एक युवक चाहिँ मिति सकिएको भीसा दिइएकोले कतार एयरपोर्टबाटै फर्काइएका थिए।

रु.७५ हजार खर्च गरी आठ महिनाअघि कतार आएका प्युठानका गुरुप्रसाद पोख्रेल यही २ जेठमा खालीहात नेपाल फर्किए। उनी भन्छन्, “अरू कमाएर फर्कन्छन्, म गुमाएर फर्कँदैछु।” उनलाई अर्घाखाँचीका तुलसी भुसालले राम्रो कमाई हुने लोभ देखाएर ठगेका थिए।

पोख्रेललाई कालीमाटीमा मोहनकुमार महतले खोलेको मेरीगोल्ड सेक्युरिटी सर्भिसले ड्रिम्स इण्टरनेशनल इम्प्लाईमेण्ट एजेन्सीको नाममा भीसा आएको भनी श्रम मन्त्रालयको कागजपत्र बनाएर कतार उडाइदिएका थिए। ५५० कतार रियल (रु.११ हजार) तलब पाउने भनिए पनि कतार क्लिनिङ कम्पनीमा उनलाई महिनाको ३०० रियाल मात्र दिइयो। चन्दा उठाएर फर्किएका पोख्रेल अब साहुको ऋण खेतबारी बेचेर तिर्ने बताउँछन्।

कतारमै रहेका भीम दमाईले पठाइदिएको भीसामा ऋण काढेर रु.८५ हजार खर्च गरी २ जेठमा दोहा आइपुगेका पर्वतका १९ वर्षीय युवक जीवन दमाई तुरुन्तै अर्को हवाईजहाज चढेर फर्कनु पर्‍यो। भीसाको म्याद ३१ वैशाखमा सकिने हुँदाहुँदै पनि शिवजी गेष्टहाउस, नयाँ बसपार्कका अमर दाहाल र तिलक कार्कीले उनलाई १ जेठमा दोहा पुग्ने टिकट काटेर पठाइदिएका थिए। भीसाको म्याद सकिएको देख्दादेख्दै श्रमको कागजपत्र बनाइदिने कार्की आफूहरूले भीसाको मिति नहेरेको गैरजिम्मेवार जवाफ दिन्छन्। जीवनलाई ८५० रियल तलब भनेर महालक्ष्मी कन्सल्टेन्स प्रा.लि. गौशालामार्फत् २२ वैशाखमा छनौटमा परेका सय जना कामदारमध्येको उल्लेख गरी श्रम मन्त्रालयको कागज बनाएर गल्फ एयरमा उडाइएको थियो।


दोहा ब्याङ्ककी कर्मचारी काठमाडौँकी रमिला श्रेष्ठ र टोयटा शो रुमकी सह–एकाउण्टेट प्रविना पन्त ।

समस्याको पाटो
नेपाली कामदारहरू कतारमा अरू देशका कामदार भन्दा कम तलबमा काम गर्छन् र कति त्यही तलब पनि समयमै तलब पाउँदैनन्। नेपालबाट ८०० देखि १२ सय रियालसम्म तलब पाइने भनेर पठाइए पनि यहाँ ४०० रियालभन्दा कममा काम गर्नेहरू पनि छन्। अधिकांश कम्पनीमा नेपालीहरूलाई खान, बस्न र बीमाको सुविधा छैन। ओभरटाइम हुने भए पनि कति त १४ घण्टासम्म त्यही तलबमा काम गर्न बाध्य छन्।

कम्पनीले सित्तैँमा उपलब्ध गराउने भीसा किनबेचमा कतारमै रहेका म्यानपावरका एजेण्ट, दलाल समूहदेखि 'समाजसेवा' गरिरहेका नेपालीहरू समेत संलग्न रहेको पाइन्छ। काममा दक्ष नभएपनि श्रम मन्त्रालयले मनपरी कागजपत्र बनाएर पठाइदिनाले समस्या थपिएको छ। दुई साताअघि मात्र सवारी चालकको भीसामा आएका दुई जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा 'एचआईभी पोजेटिभ' फेला परेपछि उनीहरूलाई नेपाल फर्काइएको छ।

नेपाली राजदूतावास, दोहाका अनुसार अहिले पनि भीसा समाप्त भएर कम्पनीले नवीकरण नगरेका, नेपालबाट नक्कली कागजपत्र बनाएर पठाइएका र भीसा सकिएपछि पक्राउ परेका ३६१ नेपालीहरू कतारको जेलमा छन्। दोहा प्रहरी कार्यालयमा पनि दुई दर्जन नेपालीहरू माथि मुद्दा चलिरहेको दूतावासका सहचारी अनिल लम्साल बताउँछन्। लम्सालका अनुसार दैनिक ६–७ जना नेपालीहरू यसरी अलपत्र परेर दूतावासमा गुहार्न आउँछन्। कम तलब र कम्पनीले भीसा नथपिदिएका कारण कम्पनी छाडेर लुक्दै र मुद्दा खेप्दै बसेकाहरू झण्डै दुई सय छन्। उनीहरूको समूहलाई यहाँ 'गुरिल्ला ग्याङ' भन्ने गरिन्छ।


सरसफाई कर्मचारी रहेका धनुषाका गोलाई साह।

 

गैर आवासीय नेपाली समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाल कतिपय नेपालीहरूले कतार आएर कमाउने भन्दा पनि सर्वस्व गुमाएको बताउँछन्। भन्छन्, “३६ प्रतिशत ब्याजमा ऋण काढेर आउनेहरू यहाँ कम तलबमा काम गर्नुपर्दा ऋणमा डुबेका छन्। म्यानपावरहरूले चेतना जगाउनुको साटो रकम मात्रै असुलेका छन्। श्रम विभागले राम्रोसँग नबुझी पैसा खाएर सर्टिफिकेट दिएर पठाउँछ। उनीहरूको काम विमानस्थलबाट उडाउनु मात्र त हैन नि!”

४५ डिग्रीको चर्को घाममा कडा काम गर्दा पनि ऋण उकास्न नसकेर मानसिक तनावका कारण आत्महत्या गर्ने नेपालीहरू पनि छन्। सन् २००५ मा यसरी चार जनाले आत्महत्या गरेका थिए भने सन् २००६ मा अहिलेसम्म तीन जनाले आत्महत्या गरिसकेका छन्। त्यस्तै, जोखिममा काम गर्दा, कतारको ट्राफिक नियमको ज्ञान नहुँदा र यहाँको मौसम, हावापानी नमिल्दा बिरामी भई मृत्यु हुनेको सङ्ख्या पनि प्रशस्त छ। दूतावासको तथ्याङ्क अनुसार यसरी सन् २००५ मा ४९ जना नेपालीको मृत्यु भएको थियो भने सन् २००६ का चार महिनामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ।

१३ अप्रिलमा कतारको उत्तरी क्षेत्र रास्लाफानमा रहेको सीसीआईसी कम्पनीमा धादिङका मुईचा लामा र एक इजिप्सियन कामदारको मृत्यु भएपछि क्षतिपूर्ति नदिई घटना ढाकछोप गर्न लागिएकोले विरोध प्रदर्शन भएको थियो। कामदारको आक्रोश नियन्त्रण गर्न कतार सरकारले कमाण्डो फोर्स नै परिचालन गर्नु परेको थियो। प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये १०९ नेपाली र ३९ भारतीय कामदारलाई कामबाट निष्काशन गरी फर्काइएको छ।

रवि भट्टको सहयोगमा


अरू देशबाट कहिले सिक्ने?

फिलिपिन्स, भारत, श्रीलङ्कालगायतका देशका सरकारले आफ्ना नागरिकहरूलाई पठाउनुअघि नै सम्पूर्ण परीक्षण गर्ने, बुझ्ने गरेकाले उनीहरूले यहाँ कम दुःख व्यहोर्नु परेको छ। ती देशहरूले ८०० देखि १ हजार रियाल भन्दा कम तलबमा कामदार नपठाउने, बीमा र समयमै तलब पाए नपाएको अनुगमन गर्ने जस्ता काम नियमित गर्दै आएका छन्। तर नेपाल सरकारले १२५ डलर (करीब ४५० रियाल) न्यूनतम तलब तोके पनि त्यो कार्यान्वयन हुनसकेको छैन। राजदूत श्यामानन्द सुमन पनि सरकारले ६–७ सय रियाल भन्दा कममा मान्छे पठाउनै नहुने बताउँछन्।

कतारमै रहेका प्रिज्मा इम्प्लाईमेण्ट ओभरसिजका निर्देशक हाफिज खान अदक्ष कामदार भएका कारणले समस्या उत्पन्न भएको र धेरैले दुःख पाएको बताउँछन्। उनको आरोप छ, “सरकारलाई नेपालीहरू विदेश पठाउन र श्रम मन्त्रालयलाई राजस्व सङ्कलन गर्न मात्र ध्याउन्न छ अन्य देशसरह पठाउनुअघि परीक्षण राम्रो गरे समस्या नै आउँदैन।” रेमिट्यान्सकै भरमा चलेको सरकारले आफ्ना नागरिकले विदेशमा दुःख नपाउन् भनेर जिम्मेवारीसाथ लाग्नुपर्ने कथन छ– गैर आवासीय नेपाली समाज कतारका अध्यक्ष बद्रीप्रसाद पाण्डेको।