हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

टुँडिखेलः सालिकहरूको आश्रयस्थल


रविन साय्मि

मूर्ति भन्ने चीज नै त्यस्तै हो। आज खडा रहेको मूर्ति भोलि लडिरहेको हुन सक्छ। फूलको माला लगाउने मूर्तिले कुनै बेला जुत्ताको माला पनि पहिरिनुपर्ने हुन्छ। जहाँ मूर्ति खडा गर्नेहरू हुन्छन्, त्यहाँ त्यसलाई गिराउने र बिगार्ने मूर्तिभञ्जकहरू पनि हुन्छन्।

धेरै मानिस मूर्तिमा अमरत्व देख्छन्। तर उनीहरू बिर्सन्छन् समयले कोल्टे फेर्दा आज पुजिने मूर्ति भोलि रछ्यानमा ढल्न सक्छ। आज त्यही भइरहेछ। हिजो यो जयन्ती र त्यो जयन्तीमा ब्यान्डबाजासहित पुजिने सालिकहरू आज ती उभिएका ठाउँबाट कि त गायब छन्, कि भग्नावस्थामा छन्, कि प्लास्टिक वा कपडाले छोपिएर रहेका छन्। सद्दे रहेकाहरू चाहिँ हतियारधारी सिपाहीको पहरामा छन्। विचरा स्वर्गवासी (मानौँ स्वर्ग छ र उनीहरू स्वर्गमै वास गरिरहेका छन्) श्री ५ का सालिकहरूउपर ठूलै सङ्कट आइपरेको छ।

राजाका सालिकहरू मूल सडकको जक्सन–जक्सनमा ठड्याउने काम कसको बुद्धिको खेल हो कुन्नि! त्यो त वास्तवमा बत्ती नभएका बेला ट्राफिक प्रहरी उभिनुपर्ने ठाउँ हो। कहाँ सालिक ठड्याउनुपर्ने हो, कसको स्मारक राख्नुपर्ने र कस्तो राख्नुपर्ने हो त्यसको ज्ञान हामी नेपालीहरूमा अझै आएको छैन। जसको शक्ति उसकै भक्ति! सडकमाझ ठड्याइदिए पुग्यो। अब सडकको माझमा उभिएर ट्राफिकको काम गर्न नसक्ने वस्तुलाई व्यावहारिक कारणले पनि हटाएर कतै अन्तरमा लगी राख्नुपर्ने हुन्छ, रिसकै कारणले मात्र होइन।

श्री ५ का सालिकहरूको तुलनामा मरेका श्री ३ का सालिकहरू बरु सुरक्षित देखिन्छन्। राणाशासन विरुद्ध पनि नेपाली जनताले आन्दोलन नै गरेका थिए। तैपनि कुनै श्री ३ महाराजका सालिकहरूले जनताका हातबाट त्यस्तो आक्रमण व्यहोर्नुपरेन जो श्री ५ महाराजका सालिकहरूले अहिले व्यहोर्नु परिरहेछ। त्यसको एउटा कारण त के हो भने एउटा जुद्धशमशेरलाई छाडेर जङ्गबहादुरदेखि धीर, चन्द्र र भीमशमशेर आदिका सालिकहरू काठमाडौँ टुँडिखेलको गिर्दाभित्र रहेका छन्। तिनमा अहिलेसम्म कुनै क्षति पुगेको छैन। हो, जङ्गबहादुरको हातको तरबारचाहिँ हराएको छ, त्यत्ति हो। इस्पातको खाँचो पर्ने कुनै निर्धनले लिएर गयो होला।

तर दिवङ्गत श्री ५ का सालिकहरूलाई अहिले बन्दुक लिएका सिपाहीहरूले रातोदिन पहरा दिनु परिरहेको छ। त्यसो गर्दा पहरा दिनेलाई पनि दुःख, हेर्नेका पनि आँखा बिझाउने। नौ फुट फलामे बारले गर्दा टुँडिखेल पहिले हेरी कता हो कता सुरक्षित भएको छ। त्यो ठाउँ सालिकहरुका लागि सुरक्षित आश्रयस्थल बन्नसक्छ। यत्रतत्र छरिएर रहेका राजा–महाराजाका निरीह सालिकहरूलाई टुँडिखेलको गिर्दाभित्र ल्याएर राख्दा त्यहाँ ती सबूत रहन सक्छन्। साथै ती सालिकहरू राणा र शाहकालका शासकहरूको खुला म्युजियमका रूपमा भावी पुस्तालाई शिक्षा दिन काम पनि लाग्नेछन्। यसबारे लोकतान्त्रिक नेताहरूले गौर गर्ने हो कि?

लोकतान्त्रिक व्यङ्ग्यकार

लोकतन्त्र के आयो, यसले मेरा एक जना मित्रलाई व्यङ्ग्यकार बनायो। उमेरले 'वरिष्ठ' कहलिन लायक भए पनि उनले अहिलेसम्म कलम समातेका थिएनन्। कलम चलाउने प्रेरणा उनले लोकतन्त्रको आगमनबाट प्राप्त गरे। संयोगवश उनले व्यङ्ग्य विधा चुनेका छन् र आफूलाई विमल निभा घरानाका व्यङ्ग्यकार मान्छन्। विमल निभाझैँ उनी पनि गद्य–पद्य दुवैमा एकैसाथ हात चलाउँछन्। अनि यता धडाधड लेखिरहेछन्। तर उनको यश र कीर्ति अझै फैलिनसकेको हुनाले उनलाई आफ्ना रचना छपाउने समस्या परिरहेको छ। त्यसैले आफ्ना सृजनाका केही पङि्क्तहरू छपाउनलाई यस स्तम्भमा केही वर्गसेन्टीमिटर ठाउँ मागे। ठाउँ नदिउँ्क भने पछि यी महान् व्यङ्ग्यकार भएर निस्कलान् र आफैँलाई व्यङ्ग्यबाण प्रहार गरेर मर्माहत पार्लान्। त्यसैले ती अनाम र उदीयमान व्यङ्ग्यकारका केही पङि्क्तहरू यहाँ प्रस्तुत गर्ने धृष्टता गरिएको छ। ठहर विज्ञ पाठकहरू आफैँ गर्नोस्। उनको रचनाको शीर्षक छ 'लोकतन्त्र'।

लोकतन्त्र भनेको मन नपरेको हाकिमलाई कालोसूचीमा राख्न पाउनु हो, परे कालोमोसो नै दल्न पाउनु हो।
लोकतन्त्र भनेको आफू काम गर्ने अफिसमा तालाबन्दी गर्न पाउनु हो।
लोकतन्त्र भनेको एम्बुलेन्स जलाउनु र अस्पतालमा ढुङ्गामुढा गर्न पाउनु हो।
लोकतन्त्र भनेको संसद् भत्काउने र बनाउने दुवै एकसाथ बस्न पाउनु हो।
लोकतन्त्र भनेको संविधानसभाको कुरा गर्दै प्रतिनिधिसभाको आयु लम्ब्याउनु हो।
लोकतन्त्र भनेको वीर अस्पतालबाट रत्नपार्क नगई खुलामञ्चबाट सोझै बसपार्कमा गाडी लैजान पाउनु हो।
लोकतन्त्र भनेको व्यक्ति व्यक्तिले राष्ट्रियगान रच्न पाउनु हो अथवा त्यसको सिफारिस गर्न पाउनु हो।
लोकतन्त्र भनेको पुराना सालिक ढालेर नयाँ सालिक ठड्याउनु हो।
लोकतन्त्र भनेको नाम फेरेर काम चाहिँ पुरानै गर्न पाउनु हो।

यी त केवल नमूना हुन्। केही भविष्य देख्नुहुन्छ यी व्यङ्ग्यकारको?

धन्यवाद प्रस्ताव

जनबलको सञ्जीवनी बुटी पाएर बिउँतिएको प्रतिनिधिसभाले नेपालको इतिहासमा युगान्तकारी ठहरिने प्रस्तावहरू पारित गरेर धेरैलाई हर्षित, थोरैलाई विस्मित र केहीलाई मूर्च्छित पारिदिएको छ। तर यस्तो युगान्तकारी प्रस्ताव पारित गर्ने क्रममा हाम्रो गरिमामय पुप्रस (पुनःस्थापित प्रतिनिधिसभा) ले एउटा ज्यादै महत्त्वको काम गर्नचाहिँ बिर्सेको जस्तो छ। अहिलेको लोकतन्त्र ल्याउनलाई धेरैले सघाएका छन् आ–आफ्नो ठाउँबाट। कसैले सडकबाट, कसैले पर्दाभित्रबाट। कसैले लगाएको गुन बिर्सन हुँदैन। बैगुनी कहलाइन्छ।

तसर्थ त्यसरी लोकतन्त्र ल्याउन सघाउनेहरूलाई संसद्ले विशेष प्रस्ताव पारित गरेर धन्यवाद दिनु सान्दर्भिक हुनेछ। सबभन्दा पहिले धन्यवाद दिनुपर्छ राजा ज्ञानेन्द्रलाई, उनको उद्दाम महत्त्वाकाङ्क्षा र दम्भका लागि। उनका एक मात्र पुत्ररत्न पनि धन्यवादका अधिकारी छन्, उश्रृङ्खलता र उदण्डताका लागि। राजाका मन्त्रीहरू पनि धन्यवादका पात्र छन्– खासगरी गृह र सञ्चारमन्त्रीहरू जसले आन्दोलन दबाउन अतिरिक्त उत्साहका साथ अतिरिक्त शक्तिको प्रदर्शन गरेका थिए।

उल्लिखित व्यक्तिका सक्रिय योगदानबिना यति छिटै लोकतन्त्रको सपना साकार कहाँ हुन्थ्यो र?