हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट | होटल याक एण्ड यति

शङ्कै–शङ्का, षड्यन्त्रै–षड्यन्त्र

मजदुरहरूद्वारा राखिएको माग तथा बाटोको अवरोधलाई देखाउने बहाना मात्र बनाइएको पाँचतारे होटल याक एण्ड यति बन्द हुनुको पछाडि दरबारिया षड्यन्त्रले पनि काम गरेको देखिन्छ।

किरण नेपाल


राधेश्याम सर्राफ।

झण्डै ५०० स्थायी र ज्यालादारी कर्मचारी तथा करीब रु.९ अर्बको सम्पत्ति रहेको, विगत १० वर्षदेखि सबैभन्दा बढी 'अक्युपेन्सी'मा चलेको र सर्वाधिक वैदेशिक मुद्रा आर्जन गरिरहेको होटल याक एण्ड यति ६ महिनादेखि बन्द छ। मजदुरहरू होटल खुलाउन दैनिक धर्ना बस्ने र सरकारदेखि विभिन्न संघसंस्थाहरूमा धाउने गरिरहेका छन् भने मालिकहरू कोही विदेशको शयरमा छन् त कोही घरमै आराम गरेर बसिरहेका छन्।

होटल बन्द हुनुको पछाडि सतहमा व्यवस्थापन–मजदुरबीचको समस्या देखाइए पनि खास कारण अरू नै छन्– शाही शासनका बेला भएको शक्तिको दुरुपयोग, अर्काको सम्पत्तिमाथि आँखा गाड्ने शाही नातेदारहरूको कुनियत र लगानीकर्ता सर्राफ परिवारको आपसी कलह आदि। बन्द होटल खुल्न नसक्नुको पछाडि हिजोआज देखाइने गरेको नेपाल औद्योगिक विकास निगमको स्वामित्वमा रहेको दरबारमार्गबाट होटलतिर जाने प्रवेश मार्गसम्बन्धी विवाद पनि सतही नै छ। निगमले बाटोको जग्गाको भाडा अत्यन्त कम भएको दाबी गर्दै अहिले बाटोमा परेको आफ्नो दुई रोपनी कब्जामा लिएको छ। निगमको भनाइमा, सो जग्गा प्रयोग गरेबापत होटलले आफूलाई वार्षिक रु.१० हजार भाडा तिर्ने गरेको थियो भने आफूले सो जग्गाको कर मात्रै वर्षको रु.१ लाख ५० हजार जति बुझाउनुपर्दछ। भाडाको विषयमा निगमको दाबी जायज भएपनि चलनचल्तीमा रहेको बाटो एकाएक बन्द गर्नु रहस्यमय नै छ।

यता करीब रु.९ अर्बको सम्पत्ति रहेको होटल बाटोकै कारणले मात्रै बन्द हुनु पनि कम रहस्यमय छैन। स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष छवि पाण्डे बन्द बाटो खुलाउन निगमसँग वार्ता गर्न र नभए अन्य वैकल्पिक बाटो प्रयोग गर्न सकिने सम्भावना रहेको बताउँछन्। उनको भनाइ छ, “होटल व्यवस्थापन बाटोको विषयमा सहमति गर्न भन्दा पनि उल्टो मुद्दा र झै–झगडा गर्नमा अल्मलिइरहेको छ।” यस विषयलाई लिएर होटलले निगमविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन मुद्दा हालेको छ।

बन्दको बहाना– मजदुरका माग
प्रत्येक दुई–दुई वर्षमा व्यवस्थापनसमक्ष माग राख्न सक्ने श्रम ऐनको व्यवस्था बमोजिम गत १७ पुस २०६१ मा मजदुरहरूले पेश गरेका माग नै विवादको सुरुआत बन्यो। सामान्य प्रक्रिया अनुसार राखिएका मागलाई निहुँ बनाएर व्यवस्थापनले होटल बन्द गर्ला भन्ने मजदुरहरूले सपनामा पनि चिताएका थिएनन्। माग राखेपछि पटक–पटक भएका वार्ता र सहमतिहरूमा अनेकन् बखेडा झिकेर व्यवस्थापनले २४ पुस २०६२ देखि होटल बन्द गरेको आरोप मजदुरहरूले लगाएका छन्। न्यूनतम तलबमा ६ प्रतिशत ग्रेड वृद्धि, अन्तिम तलबमा उपदान, पूर्व सम्झौता बमोजिम स्वास्थ्य बीमा र बोनस, भ्रमण विदा भत्तामा शतप्रतिशत वृद्धिलगायतका मजदूरका पाँचबुँदे माग पन्छाएर व्यवस्थापनले उल्टै आफ्ना १० बुँदे शर्तहरू अघि सार्‍यो– खाईपाई आएको तलब घटाउने, भत्ता काट्ने, स्वास्थ्य सुविधा नदिने, क्याफ्टेरियामा दिइँदै आएको खाना कटौती गर्ने आदि।

वार्तामा सहमति हुन नसकेपछि विवाद श्रम कार्यालय हुँदै विभागसम्म पुग्यो। कार्यालय र विभागको पहल पनि सफल नभएपछि १९ भदौ २०६२ मा सरकारले एउटा ट्राइब्युनल गठन गर्‍यो, जसको निर्णय मान्न दुवैपक्ष सहमत भए। सह–महान्यायाधिवक्ता राजनारायण पाठकको अध्यक्षतामा व्यवस्थापन पक्षबाट कमलनारायण दास र मजदुर पक्षबाट रमेश बडाल रहेको याक एण्ड यति विवाद समाधान ट्राइब्युनलले १७ मङ्सिर २०६२ मा फैसला सुनायो– ६ प्रतिशतले ग्रेड वृद्धि गर्ने, घाटामा गएको अवस्थामा बोनस नदिने र तलब नबढाउने, स्वास्थ्य बीमा साबिक बमोजिम दिने र अन्तिम तलबमा उपदान दिने। तर, व्यवस्थापनले फैसला कार्यान्वयन गरेन। मजदुरहरूले २४ पुसमा कालोपट्टी बाँधेर विरोध जनाए। र, होटलले सोही रात पाहुनाहरूलाई अन्त सारेर करीब–करीब पूर्ण अक्युपेन्सीमा रहेको होटलमा ताल्चा लगायो। युनियनका अध्यक्ष पाण्डे भन्छन्, “समझदारी र कानूनी उपचारको बाटो रहँदारहँदै पनि व्यवस्थापनले एकलौटी रूपमा होटल बन्द गरेको हो।”


तस्बिरहरू मीन बज्राचार्य

ट्राइब्युनलको निर्णयविरुद्ध व्यवस्थापनले ३ माघमा सर्वोच्च अदालतमा मुद्दा पनि दायर गर्‍यो। ७ माघमा सर्वोच्चले कर्मचारीहरूलाई कालोपट्टी नबाँध्नू र व्यवस्थापनलाई होटल सुचारु गर्नू भन्ने आदेश दियो। तर सर्वोच्चको आदेशलाई पनि व्यवस्थापनले टेरेन। नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)का विष्णु लम्साल भन्छन्, “प्रक्रियागत रूपमा भएका थुप्रै सहमति, ट्राइब्युनल र सर्वोच्चका फैसला समेतलाई व्यवस्थापनले उपेक्षा गरेको छ।”

यसैबीच व्यवस्थापन र मजदुरबीच १३ चैतमा अर्को सहमति भयो। ट्राइब्युनलले आफ्नो पक्षमा सुनाएको फैसला भन्दा पनि तल झरेर मजदुरहरूको ३ प्रतिशत ग्रेड वृद्धि, काम गरेको वर्षको तलब अनुसार उपदान, औषधोपचार खर्चमा कटौतीजस्ता कुरामा राजी भए र व्यवस्थापनले एक महिनापछि १ मे (१८ वैशाख) देखि होटल खोल्ने प्रतिबद्धता जनायो। होटल चलाउन छाडेपछि बन्द भएको भूमिगत पानीको पाइप खुलाउन व्यवस्थापनले यति लामो समय सीमा पाएको थियो। त्यतिबेला होटल बन्द भएयता मजदुरहरूले जनवरी महिनाको पूरै र ११ मार्चदेखि ३१ अप्रिलसम्मको न्यूनतम तलबको आधा तलब पाउने र फेब्रुअरीदेखि १० मार्चसम्मको केही नपाउने समझदारी पनि भएको थियो। तर २७–२८ अप्रिलसम्म पनि होटल खुल्ने छाँट नदेखिएपछि मजदुर र व्यवस्थापनबीच १५ वैशाखमा १ मेपछिको पनि पूरै तलब पाउने सहमति भयो। तर यी कुनै सहमति पालना भएनन्। मजदुरहरूसँग सहमति गर्ने अरुण सर्राफ यतिखेर अमेरिकाको शयरमा छन् भने उनका बाबु राधेश्याम सर्राफ 'जबरजस्ती' सहमति गराएको आरोप लगाएर पन्छिन खोजिरहेका छन्।

यतिखेर मजदुरहरू होटलमा आपूर्ति भइरहेको बिजुली काटिदिने मनस्थितिमा पुगेका छन्। तर त्यसो गर्दा सँगै रहेको रोयल क्यासिनो समेत बन्द हुने र थप ८०० मजदुर बेरोजगार हुने कुराले मात्र अहिलेसम्म रोकिएका हुन्।

सनक कि षड्यन्त्र?
भारतमा समेत ठूला होटल सञ्चालन गर्दै आएको सर्राफ परिवारको व्यवसायलाई फैलाउन याक एण्ड यतिको ठूलो योगदान छ। सर्राफ परिवारको लगानीमा भारतमा चार वटा पाँचतारे होटल चलिरहेका र दुई वटा निर्माणाधीन अवस्थामा छन्। याक एण्ड यतिका अध्यक्ष राधेश्याम सर्राफका दुई छोरामध्ये अरुण काठमाडौँमा बस्छन् र दिल्लीको व्यापार समेत हेर्छन् भने उमेश मुम्बईमा बसेर उतैको व्यापार हेर्छन्। अन्तर्राष्ट्रिय होटल चेन हायात रिजेन्सीको समेत मुख्य लगानीकर्ता रहेको सर्राफ परिवारले काठमाडौँस्थित हायात रिजेन्सीमा पनि १९ प्रतिशत लगानी गरेको छ।

उत्कृष्ट होटल व्यवस्थापकको रूपमा पटक–पटक पुरस्कृत सर्राफ परिवारले के–कति कारणले याक एण्ड यति बन्द गरेको हो भन्ने कुरा बुझिनसक्नु छ। भित्रिया सूत्रका अनुसार, शुरुमा होटल बन्द गराउन लागेका अरुण सर्राफले पछि चलाउन चाहेका थिए र त्यसै अनुसार उनले आफ्नै पहलमा मजदुरहरूसँग पटक–पटक सहमति पनि गरे। तर, शुरुमा बन्द गर्नुहुँदैन भन्ने राधेश्याम सर्राफ अहिले नखोल्ने पक्षमा देखिएका र मजदुर नेताहरूसँगका वार्तामा भन्ने गर्दछन्, “अब माओवादीहरूले सत्ता लिन्छन्। सम्पत्ति राष्ट्रियकरण हुन्छ। मैले किन चलाउने?” यही बेला अरुण काठमाडौँ बाहिर गएका छन्। जिफण्टका विष्णु लम्साल मालिकहरूको पारिवारिक कलहमा मजदुरहरू पिल्सिरहेका बताउँछन्।

याक एण्ड यति बन्द प्रकरणमा राजा ज्ञानेन्द्रका छोरी ज्वाइँ राजबहादुर सिंहको नाम समेत जोडिएको निकटतम सूत्रहरू बताउँछन्। शाही शासनका बेला आफ्ना ससुराको नाम र शक्ति भजाएर व्यापार–व्यवसायमा जम्न खोजेका सिंहले होटल खरीद गर्ने मनसाय व्यक्त गरेपछि सर्राफ परिवारले नेपाल नै छाड्न चाहेको चर्चा पनि होटलजगतमा चलेको थियो। भित्रियाहरूका अनुसार, सिंहले अरुण सर्राफलाई दरबारमै बोलाएर करीब रु.९ अर्बको सम्पत्ति रहेको होटल निक्कै सस्तोमा बेच्न दबाब दिएपछि सर्राफ परिवार नेपालमा नबस्ने निर्णयमा पुगेको बुझिएको छ। र, यही बेला बहाना बन्यो– मजदुरहरूको माग। दरबारको दबाब खप्न नसकेपछि सर्राफ परिवारले नयाँदिल्लीमा लबिङ समेत गरेको थियो। दिल्लीले आफ्नो दूतावासमार्फत् दरबारमा विरोध जनाएपछि सिंहले प्रत्यक्ष दबाब दिन त छाडे, तर आफ्नो शक्ति प्रयोग गरेर नेपाल औद्योगिक विकास निगमका महाप्रबन्धक मिलनविक्रम शाहलाई हात लिएर होटलको बाटो बन्द गर्न लगाए, भित्रियाहरू बताउँछन्।

अर्का एकथरीको भनाइमा, शुरुमा दरबारको दबाब र पारिवारिक कलहका कारण बन्द गर्ने निर्णयमा पुगेको सर्राफ परिवार यतिखेर होटल खोल्नको लागि सिजन पर्खेर बसेको छ। सामान्यतयाः वर्षायाममा नेपालमा खासै पर्यटकहरू नआउने र सेप्टेम्बरदेखि मात्र उनीहरूको चाप बढ्ने हुनाले बेमौसममा होटल खोलेर घाटा व्यहोर्न मालिकहरू चाहँदैनन्। फेरि यसै पनि भाडाबाट उनीहरूलाई मासिक एक करोड रुपैयाँभन्दा माथिको रकम आइरहेकैले होटल बन्दको असर व्यवस्थापनलाई खासै परेको छैन। बन्द होटल परिसरमा रहेका अन्य संस्थाहरूबाट आउने भाडा नै उसलाई मनग्ये छ– रोयल क्यासिनोबाट रु.४५ लाख, विश्व ब्याङ्क, अमेरिकी कन्सुलर शाखा र पुस्तकालय तथा अन्य निकायहरूबाट करीब रु.७५ लाख।