हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

पचास वर्ष हुञ्जेल स्कर्ट लगाउँछु

नायिका रेखा थापा

पाँच वर्षअघि मिस कोशी प्रतियोगितामा सेकेण्ड रनरअप बनेकी विराटनगरकी रेखा थापा आज व्यस्त नायिकाको रूपमा चिनिन्छिन्। हिरो चलचित्रबाट अभिनय थालेकी उनले मितिनी, हामी तीन भाइ, कर्णवीर, धड्कन जस्ता ४५ चलचित्रमा अभिनय गरिसकेकी छन्। चार वर्षअघि हिरो चलचित्रकै निर्माता छवि ओझासँग घरजम बसाएकी उनले आफ्नै नामको रेखा फिल्मस्को ब्यानरमा अजम्बरी नाता, हिम्मत चलचित्र निर्माण समेत गरेकी छन्। नारी प्रधान दुर्गा चलचित्रबाट 'एक्सन लेडी' को रूपमा चिनिएकी रेखाको ५० वर्षको उमेरसम्म स्कर्ट नै लगाएर प्रस्तुत हुने चाहना छ।


डम्बरकृष्ण श्रेष्ठ

पाँच वर्षको अनुभवमा चलचित्र क्षेत्र कस्तो पाउनुभयो?
असाध्यै राम्रो पाएँ। यो क्षेत्रमा आउनका लागि भाग्य चाहिन्छ। मलाई त भगवानले नै यो क्षेत्रमा 'गरी खा' भनेर पठाएको जस्तो लाग्छ। हुनत अरू क्षेत्रको तुलनामा यो क्षेत्र बदनाम बनाईएको छ।

कसरी बद्नाम?
बद्नाम हुनका लागि फट्याइँ नै गर्नुपर्दैन। यो क्षेत्र शिशाको घर जस्तै छर्लङ्गै देख्न सक्ने भएकोले बद्नामी हल्ला चलेको हो। अरू क्षेत्र पनि उस्तै हुन्छ तर बढी नराम्रो हल्ला यस क्षेत्रमा चलाइन्छ। 'ग्ल्यामर' क्षेत्र भएकोले यहाँ हुने स–साना कुरा पनि मान्छेहरूलाई ठूलो पहाड जस्तो लाग्छ। हामी स्कूलमा लभ गर्दैनौँ र? गर्थ्यौँ नि! तर यसलाई ठूलो 'स्क्याण्डल' बनाइन्छ।

यस क्षेत्रमा टिकिरहन त गाह्रै होला हैन?
यस क्षेत्रमा 'एडजष्ट' हुन धेरै नै गाह्रो भएपनि 'एडजष्ट' हुने खुवी मसँग छ। मान्छेले त यसलाई छाडा क्षेत्र पनि भन्छन् तर नराम्रा हल्ला नै बढी हुन्छन्। टिकिरहन झन् गाह्रो हुन्छ त्यही भएर धेरै पलायन भएर गएका छन्।

हल्लामा सत्यता नै छैन र?
अहँ छैन। दुई जना कुरा गरेर बसिराखेका छन् भने त्यही कुरालाई ठूलो हल्ला चलाइन्छ। गफ गर्न पाउँदैन र मान्छेले? गफ मात्र हैन लभ गर्न पनि पाउँछ नि! तर यस क्षेत्रमा हुने हल्लालाई म सत्य मान्दिनँ।

त्यसोभए, पत्र–पत्रिकामा आएका कुरा सत्य होइनन्?
तपाईँले लेख्दा अनुसन्धान नगरी, नबुझी लेख्नुहुन्छ? हुँदैन नि! तर यहाँ कतिपय पत्रकारले जे पायो त्यही लेखिरहेका हुन्छन्। मेरा बारेमा लेखिएका कुरा मलाई नै सोधिएको हुँदैन।

तपाई धेरैजसो एकदमै छोटो वस्त्रमा देखिनुहुन्छ नि?
आई लभ स्कर्ट, मलाई छोटो लुगा लगाएको मनपर्छ। छोटो लुगा लगाएर मैले नाङ्गिएर 'भल्गरिटी' देखाउन खोजेको हैन। मेरो उमेर छ म लाउँछु। ३० वर्ष पार गरेपछि विचार गर्छु। मैले लगाउँदिन भन्या हैन नि, यदि शरीर र सुन्दरताले साथ दियो भने ५० वर्षको उमेरसम्म पनि स्कर्ट लगाएर हिँड्छु, कसले के गर्छ र? मेरो इच्छा, मेरो चाहना हो। मान्छे जो पनि स्वतन्त्र भएर बाँच्न चाहन्छ।

यस क्षेत्रमा आउनासाथ विवाह गरिहाल्नुभो, असुरक्षित लागेर हो?
चलचित्र क्षेत्र हैन, म आफैँ असुरक्षित महसूस गरेर भने हो। अरू नायिकाहरूलाई पनि म देखिरहेकी छु। उहाँहरूको विवाह अझैसम्म भएको छैन। अहिले लाग्छ मेरो बचपना थियो त्यो, म गलत थिएँ, त्यसबेला मलाई 'हिरोइन' भएपछि बिहे हुँदैन कि क्या हो? भन्ने लाग्यो। त्यही बेला बिहेको प्रस्ताव पनि आइरहेको थियो र मैले १६ वर्षमै बिहे गरेँ।

चलचित्र निर्मातासँगै बिहे गर्नुभो नि!
निर्मातासँग बिहे गर्नु संयोग मात्र हो। म यो क्षेत्रमा छु त मेरो डक्टर, पाइलटसँग त भेटै हुँदैन नि! आफ्नै क्षेत्रको मान्छेसँग बिहे हुन्छ नि!

निर्मातासँग बिहे गरेर फाइदा पनि त भयो होला नि?
केही पनि फाइदा भएको छैन। निर्मातासँग बिहे गरेर फिल्म खेल्न पाएको हैन। रेखा थापा एकदम प्रतिभावान् केटी हो। उहाँले पनि म 'मोडलिङ' गरिरहेको बेला हिरो फिल्मको लागि मलाई सुहाउने देखेर नायिका बनाउनुभएको हो। अहिले अरू निर्माता पनि मेरो प्रतिभा देखेर काम दिन आउँछन्।

तर, निर्माताकी श्रीमती भनेर फिल्म पाइरहेको भन्छन् नि?
त्यस्तो चर्चा चल्ने गरेको छ तर त्यो गलत कुरा हो। हेर्नुस् यहाँ धेरै निर्माताका श्रीमतीहरू छन्, सबैले फिल्म पाएका छन् र? ममा प्रतिभा नभएको भए पाँच वर्षमा ४५ चलचित्र हुन्थ्यो र? त्यसै पनि थाहा हुन्छ नि। मलाई त त्यसो भन्यो भने रिस उठ्छ। म आफ्नै अस्तित्व र परिचयमा बाँच्न चाहने केटी हुँ। घरभित्र म छवि ओझाको श्रीमती हुँ तर बाहिर नायिका रेखा थापा।

आफ्नै 'ब्यानर'मा चलचित्र बनाइरहनुभएको छ किन नि?
पछिको लागि हो। ७० वर्षसम्म त म नायिका भइरहन सक्दिनँ। तर ५० वर्षसम्म चाहिँ कोशिश गर्छु। यो क्षेत्रले मलाई यत्रो नाम दियो, पछि म अमेरिका गएर भाँडा माझ्ने? त्यसैले यही क्षेत्रको लागि केही गर्नुपर्छ भनेर निर्माणमा हात हालेकी हुँ। अझ पछि निर्देशन नै गर्ने इच्छा छ।

'लभ गुरु' बनेर पत्रिकामा परामर्श दिनुहुँदैछ नि!
लभको बारेमा समस्या परेकाहरूलाई सल्लाह दिने हो। त्यति सजिलो प्रश्नको जवाफ दिन पीएचडी नै गर्नुपर्छ र?

आफैँले चाहिँ कत्तिको लभ गर्नुभो नि?
मैले धेरै लभ गरेकै छैन। बरु कलेजमा हुँदा पनि साथीहरूलाई यसैगरी सल्लाह दिन्थेँ। मलाई धेरै मन पराउनेहरू थिए। तर मेरो जीवनमा पनि एक जना केटा मन परेको थियो। बीचमा उसको बानीब्यहोरा नै मन परेन र भैहाल्यो यस्तो लभ–सवको चक्करमा पर्दिनँ भनेर छाडेँ।

छविजीसँग चाहिँ लभ गर्नुभएन र?
त्यसलाई म लभ भन्दिनँ। मलाई मन पर्‍यो, तर मन पर्ने बित्तिक्कै लभ त हुँदैन नि! उहँले मेरो घरैमा गएर माग्नुभयो। मलाई पनि मन पर्‍यो र बिहे गरेको हो। अहिले माया गर्छु त्यो बेला मन परेको मात्र हो, लभ गरेको हैन।

अब आमा कहिले बन्ने नि?
अहिले नबन्ने, दश वर्षपछि मात्र। अहिले आमा बन्नका लागि म योग्य छैन। मेरो उमेर नै मलाई कसले स्याहारोस् भन्ने छ, बच्चालाई कसरी स्याहार्नु नि? ३२ वर्षसम्म त नायिकाहरूले बिहे नै गरेका छैनन् भने मलाई आमा बन्न के को हतार।

अनुशील श्रेष्ठ


सङ्गीत

पप–सङ्गीतको इतिवृत्त
ओमविक्रम

को हो त्यो जसले मलाई मोहनी लगायो...
म मौनतामा अल्झिरहेको एउटा जीवन...
सुनचाँदी भन्दा महङ्गो यो ज्यानलाई...

२०२९ सालबाट गायन शुरु गरेका पप गायक ओमविक्रम विष्ट आज पनि उत्तिकै सक्रिय छन्। नेपाली पप सङ्गीतलाई अहिलेको उचाइमा पुर्‍याउन उनको महत्त्वपूर्ण योगदान छ। गायक धिरज राईले निर्माण गरेको वृत्तचित्र ओम विक्रम मा उनै विष्टको गायन यात्रा र नेपाली पपसङ्गीतको वृत्तान्त छ।

वृत्तचित्रमा धिरजले नेपाली पपसङ्गीतको विकासक्रम र ओमविक्रमको निरन्तरता एवं समर्पणलाई समेटेका छन्। उक्त वृत्तचित्र १५ जेठमा गुरुकुलमा भेला भएका सञ्चारकर्मीमाझ सार्वजनिक गरिएको छ।

२०१७ सालमा नारायणगोपालले गाएको स्वर्गकी रानी मायाकी खानी... गीत नेपाली सङ्गीतको पहिलो पप गीत मानिन्छ। एकै समयमा रेकर्ड भए पनि नारायणगोपालको भन्दा पछि बज्न थालेको हो, कुमार बस्नेतको दिउँला यो जोवन तिमीलाई दिउला...। वृत्तचित्रमा स्वर्गकी रानी... का रचनाकार रत्नशम्सेर थापा, गायक कुमार बस्नेतका धारणा समेटिएको छ। नारायण र कुमारको गीतमध्ये पहिलो पप कुन हो भन्ने वारे मतएक्यैता नभएको अवस्थामा आएको वृत्तचित्रमा धिरजले पपसङ्गीतको अगुवा ओमविक्रमलाई नै ठहर्‍याएका छन्।

ओमविक्रमलाई नेपाली पपसङ्गीतको हजुरबुवा मान्ने धिरज भन्छन “भीम तुलाधर, हरिश माथेमा र सुनिल उप्रेती बाबु हुन्, हामी भने छोरा।” ०४७ सालमा लुकी लुकी आँखा तिमी नजुधाऊ... गीत गाएर पप गायनमा लागेका धिरजले पपसङ्गीतको सुरुआतदेखिको विवरण सङ्कलन गर्न निकै मेहनत गरेको देखिन्छ। पहिले पहिले सञ्जय श्रेष्ठहरूसँग अल्बमका पोष्टर राति राति टाँस्दै हिँड्दा चोर भनेर लखेटिएका क्षणहरूदेखि ओमविक्रमका गीतहरूले रेडियो नेपालमा भोग्नु परेको तिरस्कारका मार्मिक सन्दर्भहरू छन्, वृत्तचित्रमा।

रेडियो नेपालमा पप गीतका कार्टेजहरूमा चुरोटले पोलेर प्वाल पारिएको र रेडियोका निर्देशक आफ्नै बुबा दौलतविक्रम बिष्टले समेत उल्टै गाली गरेको ओमविक्रमले सुनाएका छन्। वृत्तचित्रमा उनी भन्छन्, “बुबा नै रेडियोको निर्देशक भएपछि छोरोको गीत बज्ला भन्ठानेको त उल्टै समाज बिगार्ने आरोप पो लाग्यो।” ओमविक्रमको दुःख र सङ्घर्ष समेटिएको ४८ मिनेटको वृत्तचित्रमा गत १३ कात्तिकमा श्रीमती फ्लोरा विष्ट अस्पतालको आईसीयुमा हुँदा पनि उनले भक्तपुरमा सुन्दर शान्त नेपाल सङ्गीत यात्रा २०६२ मा गीत गाइरहेको दृश्य एउटा गजबको अभिलेख बनेको छ। भक्तपुरको कार्यक्रम सकिएको १२ घण्टा नबित्दै विष्टले पत्नी वियोग सहनुपरेको थियो।

त्यस्तै पपसङ्गीत र म्युजिक भिडियोहरूमा नौला प्रयोग गर्ने गायकहरू सञ्जीव प्रधान, नविन के भट्टराई, निमा रुम्बा, दिपेशकिशोरलगायत धेरै गायक/गायिकालाई पनि वृत्तचित्रमा देख्न पाइन्छ। दर्जन भन्दा बढी पप स्रष्टाहरूको अनुभव र विचार समेटिएको छ। एफएम रेडियोको सुरुआत र व्यावसायिक म्युजिक भिडियो निर्माणपछि पप सङ्गीतको बढ्दो आकर्षण तथा देश/विदेशका स्टेज कार्यक्रममा पप गायकहरूको बढ्दो मागलाई पनि चित्रण गरिएको छैन। हिमालयन ब्याण्डको मुसु मुसु हाँसीदेऊ... गीतलाई हिन्दी चलचित्र प्यार मे कभी कभी मा चोरिएको र त्यो थाहा पाएपछि ब्याण्डका सदस्य फ्रेङ्कलिन मुखिया मुद्दा हाल्न मुम्बईसम्म पुगेको घट्नाको संग्रह गरेर धिरजले नेपाली पपसङ्गीतको ख्याति देखाउन खोजेका छन्। उनी भन्छन्, “पप गायकहरू हराउँदै जान्छन् तर पपसङ्गीतहरू हराउँदैनन्, यस क्षेत्रमा नयाँ नयाँ स्टारहरू आइरहन्छन्।” हराउने र पलायन हुने क्रम जारी रहदा अविरल छाइरहेका ओमविक्रम पप गायनको जिउँदोजाग्दो धरोहर भएको उनको ठम्याइ छ।

प्रणय लिम्बूको निर्देशनमा गायक कुवेर राई माथि बनेको वृत्तचित्र इतिहास जित्नेहरूका लागि मा पप गायन क्षेत्रको प्रतिनिधित्व गरेका राईले त्यसैबाट प्रभावित भएर वृत्तचित्र निर्माणमा हात हालेको बताउँछन्। दुई वर्षयता पपमा वितेको पन्ध्र वर्ष र के हो पपसङ्गीत? नामक पुस्तक प्रकाशन गरेर लेखन प्रतिभा देखाएका पप गायक धिरजले वृत्तचित्र निर्देशन गरेर आफ्नो वेग्लै व्यक्तित्व उजागर गरेका छन्।

अनुशील


विविध

आँधी आयो...


मीन बज्राचार्य

आँधी आयो उडाई के ल्यायो
असम्भव सबै सम्भव भएर आयो...

लामो समयपछि पहिलो पटक जनगायकहरू रामेश, रायन, रामकृष्ण दुवाल र जे.बी. टुहुरेले १३ जेठमा एकसाथ गुरुकुलको मञ्चबाट आँधीको गीत सुनाए। गोपालप्रसाद रिमालको नाममा गुरुकुलमा नवनिर्मित रिमाल नाटकघरको उद्घाटनको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रमको शीर्षक थियो 'आँधी आयो'।

२०२५ सालतिरको राल्फाली आन्दोलनका सक्रिय सङ्गीतकर्मी रामेश र रायन अहिले फेरि एकसाथ मञ्चमा प्रस्तुत भइरहेका छन्। रामकृष्ण दुवाल र जे.बी. टुहुरेसँगै उनीहरूलाई जनसांस्कृतिक मञ्चका कलाकारहरूले साथ दिएका थिए। दुई घण्टा लामो कार्यक्रममा शहीदहरूको सपना अझै मधुरो छ..., नील आकाशमा कावा खाँदै हाँस्दै रमाउँदै..., रक्ताम्मे पार्‍यो सडकलाई..., एक जुगमा एकदिन एक चोटि आउँछ.., पानी चल्दैन रे तर रगत चल्छ..., गाउँगाउँबाट उठ... गीतहरू प्रस्तुत गरिएका थिए। गीत मात्र गाएनन् उनीहरूले, जनआन्दोलनमा देखिएको जनचाहना विपरीत नजान नेताहरूलाई सचेत पनि गराए। मञ्चमा जनआन्दोलन २०६३ का दृश्यहरू पनि प्रदर्शन गरिएका थिए।

एक जमानामा जनगीत गाउँदै मेचीकाली यात्रा गरेका ती गायकहरू अहिले गीतलाई शान्तिको पक्षमा जनमत जुटाउने सहारा बनाइरहेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको शब्दलाई लयबद्ध गर्दै रामेशले शान्ति प्राप्ति पछि सुनौलो बिहानी आइछाड्ने बताए।

सुनको बिहान एक उदाउँछ रे,
यस देश खुलिकन आउँछ रे...

सार्थक सङ्गीत यात्राअन्तर्गत जनसांस्कृतिक मञ्चका कलाकारहरूले जनआन्दोलन २०६३ पछि जनताका गीत गाउँदै जनतामाझ जाने सामुहिक अभियान शुरु गरेका छन्।


'द ड्रागन'


अनुशील

हरेक वर्ष झै स्टुडियो सेभेनले यो वर्षका लागि ५ जेठबाट 'द ड्रागन' को मञ्चन शुरु गरेको छ। नेपाली रङ्गमञ्चमा व्यावसायिक रूपमा अङ्ग्रेजी नाटकहरूको मञ्चन गर्दै आएको 'स्टुडियो सेभेन'ले विगत पच्चीस वर्षदेखि होटल बज्रस्थित 'नागा थियटर'मा उत्कृष्ट अङ्ग्रेजी नाटकहरू मञ्चन गर्दै आइरहेको छ।

२१ जेठसम्म जम्मा ९ दिन प्रदर्शन हुने ड्रागनको मिथमा आधारित 'द ड्रागन' मा चार सय वर्षअघिदेखि तीनटाउके ड्रागनको त्रासदीमा पिल्सिरहेका वासिन्दाहरू ड्रागनबीचको त्रिपक्षीय द्वन्द्वलाई प्रस्तुत गरिएको छ। नाटकमा प्रतीकात्मक रूपमा नेपालको राजनीतिक अवस्था पनि चित्रण भएको देखिन्छ। गाउँ गाउँबाट उठ... गीतको सङ्गीतले त नेपालीपनको झल्को नै दिन्छ। नाटकमा मानिस र जनावरको सम्बन्धलाई हास्यात्मक र व्यङ्ग्यात्मक रूपमा देखाइनु नाटकको उल्लेख्य विशेषता हो।

'द ड्रागन' र 'डर ड्रा–ड्रा'बाट प्रभावित यसको निर्देशक सविना लेहमन हुन्। नाटकमा सलिल सुवेदी 'कनिका', सविना लेहमन, लुडमिला हुंगरहुवर, गिरिश सुवेदी, शम्भुकुमार लामा, छिरिङ लामा, राजेन्द्र श्रेष्ठ, जोहन्ना, सुवास थापा, सन्दिप सिंह, मल्लिका अर्याललगायतको अभिनय रहेको छ।

यात्री


रङ्गमञ्च

१०० वर्ष नेपाली नाटक


कृष्ण शाह यात्री
चितवनमा सत्यमोहन जोशी र सरुभक्त।

वि.सं. १९६३ मा प्रकाशित पहलमानसिंह स्वारको नाटक 'अटलबहादुर' नेपाली नाटक र रङ्गमञ्चको क्षेत्रमा क्रान्ति नै थियो। नेपाली रङ्गमञ्चमा एकातिर सस्तो मनोरञ्जनपूर्ण थिएटरको बोलवाला र अर्कोतिर संस्कृत परम्परा अघि बढिरहेको बेला मौलिक नेपाली नाटक 'अटलबहादुर' देखा परेको हो। आधुनिक नेपाली रङ्गमञ्चको सुरुआत भने बालकृष्ण समको नाटक 'मुकुन्द इन्दिरा' बाट भएको मानिन्छ।

राणातन्त्रको उदयपछि नाटकलाई विलासिताको माध्यमको रूपमा लिएका राणाहरूले दरबारभित्र सस्तो मनोरञ्जनका लागि भारतीय वस्तादहरू झिकाउन थाले। नाटक जनताको लागि नभएर सीमित वर्गको विलासिताको माध्यम बने। हिन्दी र उर्दूको प्रभावको कारण नेपाली नाटकमा एकाएक ह्रास आयो। जुन नेपाली रङ्गमञ्चको विकाशमा एउटा अवरोध थियो।

यस्तो आरोह अवरोह विच शताब्दी गुजारेको नेपाली नाटकको चर्चा गर्न नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान र पहलमानसिंह स्वार स्मृति प्रतिष्ठानले २६–२९ वैशाखमा दुई दर्जन रङ्गकर्मी, नाटककार तथा समालोचकहरूले चितवनमा 'सय वर्षको नेपाली नाटक र रङ्गमञ्च' आयोजना गरेका थिए। 'चितवन जङ्गल लज'मा आयोजित उक्त कार्यक्रममा वयोवृद्ध नाटककार सत्यमोहन जोशी भन्दैथिए, “१९९५ सालमा दरबार हाइस्कूलमा मञ्चन हुँदा 'मुकुन्द इन्दिरा' हेर्न पाएको थिएँ। कालो पर्दाको भरमा गरिएको यो नाटकले नाट्य जगतमा नयाँ मोड नै ल्यायो।”


'भुलैभूलको यथार्थ' (२०३८) मा हरिहर शर्मा, लक्ष्मी श्रेष्ठ र शैलेन्द्र सिम्खडा।।

आधुनिक नेपाली रङ्गमञ्चको सुरुआत पछि पनि नाटक र रङ्गमञ्चमा उल्लेख्य घटनाहरू देखा परे। वि.सं. २००४ अघि दरबारभित्र र बाहिर हुने सबै नाटकहरूमा पुरुषहरूले नै महिलाको अभिनय गर्नु पर्दथ्यो। महिलालाई नाटकमा खेलाउने छुट थिएन। त्यस अवस्थामा हरिप्रसाद रिमाल, श्यामदास वैष्णवलगायतका रङ्गकर्मीहरूले तत्कालीन प्रधानमन्त्री पद्म शमशेरसामु नाटकमा महिला कलाकारहरूलाई अभिनयको अनुमति दिन गरिएको माग सशर्त स्वीकृत भयो। शर्त थियो– कुमारी भएमा बाबुको मञ्जुरी र विवाहिता भए लोग्नेको मञ्जुरी चाहिने। त्यसपछि सवैभन्दा पहिले बुद्धिदेवी २००४ सालमा 'स्वर्गीय मिलन' बाट रङ्गमञ्चमा देखा परिन्। “नेपाली नाटक र रङ्गमञ्चभित्र नखोतलिएका यस्ता धेरै तथ्यहरू छन्।” डा. मोहनहिमांशु थापाले भन्छन्, “नेपाली रङ्गमञ्च यो अवस्थामा आउनुमा धेरै रङ्गकर्मी र रङ्गसंस्थाको योगदान छ।”

सय वर्षको अन्तरालमा दुई सयभन्दा बढी रङ्गसंस्थाहरू स्थापना भएको पाइन्छ। २००७ सालमा प्रजातन्त्रको उदय पछि जनस्तरबाट भएका नाट्य गतिविधिहरू कम्ती महत्त्वपूर्ण छैनन्। भीमनिधि तिवारीको 'नेपाल नाटक संघ'को प्रयास होस् वा अशेष मल्लको 'सर्वनाम समूह'को सडक नाटकको परम्पराको थालनी, रङ्गमञ्चको विकासमा आफ्नै भूमिका छ।

कृष्ण शाह यात्री


कला

'चारकोल'मा विगतको खोजी


मीन बज्राचार्य

चारकोल (अँगारको प्रशोधित रूप) मा कलाकार दुर्गा बरालको झुकाव पहिलेदेखिकै हो। सानो छँदा अँगारबाटै चित्र बनाउथे उनी। कागज र कलमको अभावमा आफुले त्यसरी बनाएका चित्रहरूले उनलाई पछिसम्म लोभ्याइरह्यो।

त्यसकै परिणाम, प्रायः कमैजसो गरिने 'चारकोल' र 'वाटर कलर'को समिश्रणबाट बनाइएका कलाकार बरालका सुन्दर पेन्टिङहरूको प्रदर्शनी अहिले भइरहेको छ। उनले 'चारकोल' र 'एक्रोलिक कलर' मिसाएर गत वर्ष तयार पारेका पेन्टिङहरूको प्रदर्शनीलाई 'समयका अनुहार र संवेदनाका रङ्गहरू' शीर्षक दिइएको छ। उनी भन्छन्, “चारकोल चलाउँदा मलाई आफ्नो बाल्यकालको सम्झना हुन्छ, एउटा आत्मीयता र सहजपन अनुभव गर्छु।”

२१ जेठसम्म ग्यालरी नाइन लाजिम्पाटमा राखिएको प्रदर्शनीलाई उनले एककिसिमको प्रयोग ठानेका छन्। भन्छन्, “चारकोल र एक्रोलिकको मिसाउँदा सन्तुष्टि नमिलेकोले वाटर कलर मिक्स गरेर बनाएको हुँ। मैले पेन्टिङमा यस्तो प्रयोग नेपालमा देखेको छैन।”

प्रदर्शनीमा 'ट्रान्सेन्डिङ' शीर्षकमा बनाएका उनका पेन्टिङमा नारी आकृतिहरू बढी छन्। ती कलाकार बरालको आफ्नो बाल्यकाल र सिंगो जीवनको अनुभूतिका अभिव्यक्ति हुन्। डेढ वर्षको छँदा आमा बितेपछि मातृत्वबाट बञ्चित बराललाई दुई बालविधवा फुपूहरूले हुर्काउनु भएको थियो उनी सम्झिछन्, “उहाँहरूको सामाजिक भोगाइका विभिन्न अवस्थाहरूमा म पनि सहभागी भएकोले तिनै कुराहरू अवचेतन रूपमा पेन्टिङमा आए जस्तो लाग्छ।”

असीको दशकमा अन्य कलाकारसँगै बराल पनि अमूर्त चित्रहरूमा खुबै आकर्षित भएका थिए। भन्छन्, “अरूहरू जस्तै मैले पनि अमूर्त कलालाई सबैभन्दा उत्कृष्ट, आधुनिक र श्रेष्ठ ठान्थे। बुझ्दै जाँदा त्यो भ्रम हट्यो।”

अधिकांश समय पोखरामा बस्ने कलाकार बरालको दिनचर्या प्रायः आफ्नै आर्ट स्टुडियोको सिर्जनामा बित्छ। प्रदर्शनीमा राखिएका २९ थान पेन्टिङ पछिल्ला तीन महिनाको सृजना हो। व्यङ्ग्यचित्र (कार्टुन) क्षेत्रमा पनि ६३ वर्षिय कलाकार बराल प्रख्यात छन्। उनले 'वात्स्यायन'का नाममा २०४६ सालपछि बनाएका 'कार्टुन चित्र'को पुस्तक जेठ महिनाको अन्तिम हप्ता प्रकाशित हुँदैछ। उनीलाई दुर्गा बरालभन्दा पनि वात्स्यायनका नामले चिन्नेहरू धेरै छन्। “कार्टुन पत्रिकासँग सम्बन्धित विषय भएकोले यसका पाठक धेरै छन्।” उनी भन्छन्, “त्यसैले स्वभावतः कार्टुनको व्यक्तित्व हावी भएकोले मेरो फाइन आर्टिष्ट व्यक्तित्व ओझेलमा परेको छ।”

कृष्ण शाह


शिशिरको 'सुस्केरा'

नेपाली सुगम सङ्गीतको फाँटमा शिशिर योगी अब नयाँ नाम रहेन। सङ्गीतका शिखर व्यक्तित्व अम्बर गुरुङका शिष्य योगीले पहिलो अल्बम पहिचान बाटै आफ्नो पृथक् पहिचान बनाएका हुन्। झण्डै दुई वर्षको अन्तरालपछि गायन यात्रालाई निरन्तरता दिँदै उनले सुस्केरा बजारमा ल्याएका छन्। पहिचान को दाँजोमा सुस्केरा मा उनी निकै खारिएका छन्।उक्त अल्बममा दुर्गालाल श्रेष्ठ, माधव घिमिरे, डा. विश्वनाथ प्रेम, डा. सुन्दरमणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, रमण घिमिरे र घमराज लुइँटेलका एकएकवटा र रत्नशमशेर थापाका दुई रचना छन्। जसमध्ये दुई गीतमा शक्ति बल्लभ र एउटामा सुरेश अधिकारीको सङ्गीत छ। बाँकी छ वटा गीतमा शिशिर आफैँले सङ्गीत भरेका छन्। एउटा गीतमा सपनाश्रीले साथ दिएकी छन्।

स्तरीय रचना छनौट गर्न सक्ने खुबी भएका शिशिरले भावको विविधतामा पनि उत्तिकै ध्यान दिएका छन्। २०१५ सालमा लेखिएको माधव घिमिरेको माटै र छोउँ... ले विश्व बन्धुत्वको आवाज घन्काएको छ भने डा. सुन्दरमणिको म हराएँ हरे... ले एउटा अहंवादी र महत्त्वाकांक्षी मान्छेको मनोदशा चित्रण गरेको छ। क्षेत्रप्रतापको रचना मार्मिक र यथार्थवादी छ।

धौलागिरी क्यासेट सेन्टरले बजारमा ल्याएको सुस्केरा को अर्को बलियो पक्ष सङ्गीत र गायकी हो। सङ्गीत सिर्जनामा खाँटी नेपालीपन पाइन्छ। जति सुने पनि श्रोतालाई फेरि पनि सुनुँसुनुँ लाग्ने गरी मोहनी लगाउन सक्नु यसको विशेषता हो। सुस्केरा ले शिशिरलाई गायक मात्रै नभएर स्तरीय सङ्गीतकारको कोटिमा समेत उभ्याएको छ।

अविरल