पुस्तक | परिचय
मित्रताको कोसेली
किताबः मित्रता
लेखकः चन्द्रकान्त आचार्य
प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६२
पृष्ठः २२०, मूल्यः रु.१४५
पेशाले इञ्जिनियर
भए पनि केही वर्षदेखि लेखक–साहित्यकारको रूपमा समेत चिनिँदै आएका चन्द्रकान्त
आचार्यका एक–एक वटा उपन्यास र यात्रा संस्मरणको सूचीमा थपिएको छ अर्को
उपन्यास– 'मित्रता'। तत्कालीन सोभियत संघमा अध्ययन गरेका, नेपालमा
आफ्नै पेशामा लागेका र बेलाबखत आफूले पढेको रूसलगायत विभिन्न युरोपेली
मुलुकहरूको भ्रमण गरेका आचार्यको अतीत र अनुभवले उपन्यासमा राम्रै
अभिव्यक्ति पाएका छन्। साथमा नेपालको द्वन्द्व, गरीबी, महिला उत्पीडन,
भ्रष्टाचार, कर्मचारीतन्त्र र परामर्श सेवाका विकृति जस्ता धेरै कुरा
पनि गाँसिएका छन्।
उपन्यास धेरै यथार्थपरक छ। यसका पात्रहरू कुनै ठाउँमा
पुग्छन्; त्यहाँको भूगोल, इतिहास, राजनीति, समाज, जीवन–पद्धतिलगायत
विभिन्न सन्दर्भहरू कोट्याइन्छ। सन् १९९० को दशकमा सोभियत संघमा आएको
परिवर्तन होस् वा बर्लिन पर्खाल ढलेको प्रसङ्ग– धेरै विषयमा थुप्रै
जानकारी पाइन्छ, इतिहास वा 'इन्साइक्लोपेडिया'का पानाहरू पल्टाए जस्तै।
जस्तो नाम उस्तै कथावस्तु पनि छ 'मित्रता'मा। उपन्यासमा सबै राम्रा
पात्रहरू मात्रै छन्। चर्को द्वन्द्व, भिडन्त, कटुता छैन। एका–दुई
अपवाद त जहाँ पनि हुन्छन्, तर कथामा ती हावी छैनन्। कोही आफूलाई सुधारेर
राम्रो काममा लागेका छन्। सबैको मूल ध्येय नैतिकता, मानव कल्याण, समाज
सेवा र विश्वबन्धुत्व छ। त्यसकै लागि आफ्नो सुख–समृद्धि, भावना र प्रेमलाई
बलिदान गर्ने पात्रहरू समेत भेटिन्छन्।
कतैकतै प्रमुख पात्रहरूको प्रेम र मिलन तथा शङ्का र
विछोडका घटनाहरू बढी नै नाटकीय लाग्दछन्। रहस्यमय रूपमा प्रस्तुत गर्न
खोजिएका कतिपय तथ्यविवरण तथा कल्पना र सपनाका दृश्यहरू पनि त्यति स्वाभाविक
लाग्दैनन्। कुनै पात्र, घटना वा प्रसङ्गसँगै त्यसको पृष्ठभूमि दिने
लेखन शैली राम्रै छ। तर धेरै ठाउँमा यसो गरिएकोले ठाउँ–ठाउँमा सिलसिला
टुटेको, कुरा दोहोरिएको पनि भेटिन्छ। सात अध्यायमा विभाजन गरेर शीर्षक–उपशीर्षकहरू
समेत राखिएकोले उपन्यास पढ्नलाई निकै सजिलो छ। भाषा रोचक नै छ, तर
अझै सहज र चुस्त बनाउन सकिने ठाउँहरू पनि छन्।
•
बद्री पौड्याल
निबन्धको त्रिवेणी
किताबः आफ्नै सेरोफेरोभित्र
लेखकः गोपालकुमार बस्नेत
प्रकाशकः रत्नबहादुर बस्नेत/टङ्गबहादुर बस्नेत, २०६१
पृष्ठः १७९, मूल्यः रु.१५१
साहित्यकार र
राजनीतिकर्मी गोपालकुमार बस्नेतले निबन्ध–सङ्ग्रह 'आफ्नै सेरोफेरोभित्र'मा
आफ्नै कर्मथलो झापालाई चुनेका छन्। झापाको साहित्यिक/बौद्धिक उत्खनन्
बन्न पुगेको यस किताबमा इतिहासपरक, जीवनीपरक र स्वतन्त्र चिन्तनयुक्त
३० वटा निबन्धको माध्यमबाट लेखकले झापाको उत्थान–अवतरण, विजय–पराजयका
गाथा–व्यथासँगै केही राष्ट्रिय व्यक्तित्वप्रति शब्द–श्रद्धा चढाएका
छन्। स्थानीय राजनीतिक–सामाजिक प्रवृत्ति र तिनका गुणदोषको चिरफार
गरेका छन्। मीठो भाषाशैली र रोचक अभिव्यक्तिमा प्रस्तुत उनका आलेखहरूले
निजात्मक निबन्धको रमाइलो प्रयोग समेत गरेको पाइन्छ।
केही निबन्धमा लेखकको साहित्यिक र राजनीतिक व्यक्तित्वको
संयोजन र टक्कर सँगसँगै अनुभव गर्न सकिन्छ। तिनमा देखिने राजनीतिक
आकलनलाई भावनात्मक अनुभूतिहरूले उछिनेका छन्। महाकवि लक्ष्मीप्रसाद
देवकोटा, सीके प्रसाई, रामबाबु प्रसाई, तुर्सा हेमरमजस्ता व्यक्तित्वहरूमाथि
केन्द्रित निबन्धमा थुप्रै प्रेरणादायी प्रसङ्ग भेट्न सकिन्छ। बस्नेतका
स्वतन्त्र चिन्तनहरू पढ्दा ठम्याउन सकिने अर्को पक्ष हो– समाजका स–साना
विसङ्गतिहरू पनि उनलाई घोच्ने र पोल्ने काँडा बन्दा रहेछन्। त्यस्ता
विसङ्गतिमाथि खबरदारीयुक्त अभिमतहरूमा लेखक निर्भिक र इमान्दार लाग्दछन्।
किताबमा राखिएका राजनीतिक टिप्पणीहरू तिख्खर र यथार्थपरक छन्। उनको
निष्कर्ष छ, “सबै कुराको मुहान राजनीति हो। राजनीति बिग्रिएपछि सबै
कुरा बिगिँ्रदै जान्छ।” राजनीतिमा कतै आशावादी र कतै निराशावादी लाग्ने
लेखकका साहित्यिक टिप्पणीहरूमा शिल्प र सौन्दर्यको प्रखर उज्यालो चाहिँ
अनुभव गर्न सकिन्छ।
'आफ्नै सेरोफेरोभित्र'लाई चाहे कथा भन्नुहोस्, या निबन्ध,
या संस्मरण– जे भने पनि हुन्छ भनेर शुरुमै लेखिएको कुरा किताब पढ्दै
जाँदा राम्रैसँग प्रमाणित हुन्छ। वास्तवमै यसमा कथा, निबन्ध र संस्मरण
सबै मिसिएको छ, सबैको स्वाद पाइन्छ।
•
पेशल पोखरेल
प्राप्त
कृति
 |
नेपालमा मानवअधिकार तथा कानुनी उपचार
(दोस्रो संस्करण)
(व्याख्यात्मक लेख–सङ्ग्रह)
सम्पादकः गोपाल सिवाकोटी 'चिन्तन'
प्रकाशकः त्रिभुवन विश्वविद्यालय मानवअधिकार
केन्द्र, २०६२
पृष्ठः ४२३, मूल्यः रु.२००
|
 |
चाम्लिङ छाचामा छाब्ला
(चाम्लिङ भाषाको बाह्रखरी)
लेखकः टङ्कबहादुर राई
प्रकाशकः उत्तमकुमार चाम्लिङ राई, २०६२
पृष्ठः २२, मूल्यः रु.७ |
 |
निसासिएको भावना
(गजल–सङ्ग्रह)
लेखकः सन्दिप 'झझल्को' राई
प्रकाशकः इन्द्र 'अन्जान' राई २०६२
पृष्ठः ५१, मूल्यः रु.३५ |
 |
फरेन डाइरेक्ट इन्भेष्टमेन्ट इन नेपाल
(वैदेशिक सहयोग र प्रभावको लेखाजोखा)
लेखकः रघुवीर बिष्ट
प्रकाशकः सेन्टर फर
इन्टरग्रेटेड डेभलपमेन्ट स्टडिज्
ललितपुर, सन् २००५
पृष्ठः ११९, मूल्यः रु.३५०
|
 |
“तुलसा”
(सामाजिक उपन्यास)
लेखकः गिरिराज आचार्य
प्रकाशकः अनन्त पुस्तक पसल, धरान, २०६२
पृष्ठः ११२, मूल्यः रु.३० |
 |
गाईमाताको अपूर्व महिमा
(गाईसम्बन्धी धार्मिक/साँस्कृतिक विचारहरूको संकलन)
लेखक/प्रकाशकः यमजीत प्रताप
ज.ब.रा., विराटनगर२०६२
पृष्ठः ६०, मूल्यः रु.५० |
|