| खेलकुद
विश्वकपको राप

प्रशंसकसँग जिस्किँदै ब्राजिलका रोनाल्डिन्हो।
|
२६ जेष्ठदेखि
सारा विश्वको आँखा जर्मनीमा केन्द्रित रहनेछ, कारण– फूटबलको महासङ्ग्राम
विश्वकप। बर्लिनमा हुने पहिलो खेलसँगै विधिवत् उद्घाटन हुने १८ औँ
विश्वकप फूटबल प्रतियोगिताका लागि जर्मनीको भव्य आतिथ्यको तयारीसँगै,
सहभागी ३२ वटै राष्ट्रको खेलको तयारी पनि लगभग अन्तिम चरणमा पुगिसकेको
छ। प्रतियोगिताका कुल ६४ खेलहरू जर्मनीका विभिन्न शहरका १२ वटा रङ्गशालामा
सञ्चालन हुनेछन्।
युरापेली तथा दक्षिण अमेरिकी राष्ट्रहरूको बीचमा नै
उपाधिको होडबाजी हुँदै आएको विश्वकप फूटबल प्रतियोगितामा यस पटक पनि
सोेही क्रमले निरन्तरता पाउने अपेक्षा गरिएको छ। ब्राजिल, इटाली, स्पेन,
फ्रान्स, अर्जेन्टिना, चेक गणतन्त्र, स्वीडेन, इङ्गल्यान्ड र जर्मनीलगायतका
प्रायः सबै फूटबल 'पावर हाउस' हरूको सहभागिताले पनि विश्व कपलाई थप
प्रतिस्पर्धात्मक र रोचक बनाउने आशा फूटबलप्रेमीहरूले गरेका छन्।
छनौट चरणको खेल तालिकालाई हेर्दा अर्जेन्टिना, निदरल्याण्ड
र इटालीलाई यस पटक पनि पहिलो चरणमै बलिया प्रतिस्पर्धीहरूसँग भिड्नुपर्नेछ
भने फ्रान्स, जर्मनी, ब्राजिलका लागि दोस्रो चरणको प्रवेश सहजै देखिन्छ।
सहभागी एसियाली राष्ट्रहरूमा इरान, जापान र साउदी अरेबियाको दोस्रो
चरण प्रवेशको सम्भावना कम छ, तर गत विश्वकपमा सेमिफाइनलसम्मको सुनौलो
यात्रा तय गरेको दक्षिण कोरियालाई भने पहिलो चरण पार गर्न त्यति गाह्रो
नहोला।
ब्राजिलका रोनाल्डिन्हो, इङ्गल्याण्डका फ्रान्क लाम्पार्ड
र स्टेफन जेरार्ड, स्पेनका राउल र लुइस गार्सिया, फ्रान्सका थिएरी
हेन्री र अर्जेन्टिनाका हुवा रिक्वेल्मले सबैको ध्यान आफूतिर तान्ने
अपेक्षा गरिएको छ। फूटबलका सर्वकालीन महान् खेलाडीद्वय पेले र म्याराडोनाले
समेत यस विश्वकपमा रोनाल्डिन्होको भूमिका अहं रहने जनाइसकेका छन्।
ब्राजिलका कप्तान काफू, रोनाल्डो र रोबर्टो कार्लोस
सबैभन्दा अनुभवी खेलाडीको रूपमा विश्वकपमा सहभागी भइरहेका छन्। अघिल्ला
प्रतियोगिताहरूमा जस्तै यस पटक पनि एउटै परिवारका दुई सदस्य विश्वकपमा
सामेल हुने छन्। क्रोसियाका रोबर्ट र निको कोभाक तथा इभान र जर्को
लेकोले पनि विश्वकपमा सहभागिता जनाउने छन्। प्रशिक्षक निको क्रान्जकारका
छोरा ग्लान्टको पनि विश्वकपको टोलीमा परेका छन्। स्वीटजरल्याण्डको
टोलीमा जुम्ल्याहा दाजुभाइ फिलीप र डेडि डेगेन सामेल छन्।
उपाधि जित्ने होडमा भने आफ्नो गृह मैदानको फाइदा उठाउँदै
जर्मनी कम्मर कसेर लागेको छ भने, विश्वकपको सदावहार दावेदार ब्राजिल
युरोपियन लिगहरूमा हैकम जमाएका जोशिला र कुशल खेलाडीहरूका साथ जर्मनी
पुगेको छ। त्यसैगरी अर्जेन्टिना र डेभिड बेकह्यामको इङ्गलिश टोलीलाई
पनि धेरै खेल पण्डितहरूले दावेदारको रूपमा प्रस्तुत गरेका छन्। विश्वकप
उपाधिलाई कसले चुम्ने अनुमान गर्न कठिन भएतापनि, अघिल्ला संस्करणहरूमा
झैँ यसपटक पनि केही अप्रत्यासित परिणाम आउन सक्ने सम्भावनालाई भने
नकार्न सकिँदैन।
जर्मनीसम्म पुग्दैछन् नेपाली दर्शक
२६ गतेदेखि जर्मनीमा सञ्चालन हुने विश्वकप फूटबलको रन्कोले नेपालीहरूलाई
औधी छोएको छ। साथीहरूसँगै बसेर सबै खेलहरू नछुटाई टिभीमा हेर्ने युवाहरूको
ठूलै जमात छ भने व्यापारिक गृहहरूले पनि आफ्ना उत्पादनका लागि विश्वकपको
मौका पारेर उपभोक्ताहरूलाई लोभ्याउन उपहार, चिठ्ठा र विभिन्न किसिमका
बिक्री प्रवर्द्धन योजनासमेत शुरु गरेका छन्।
सुबोध ताम्राकार, २३ भन्छन्, “हामी साथीहरू मिलेर ठूलो
टिभी स्त्रि्कन किन्दैछौँ फूटबल हेर्नका लागि।” विश्वकपकै अवसर पारेर
फिलिप्स कम्पनीले आफ्ना सामग्रीहरू १०220 छुटमा बिक्री गर्दैछ। “यही
मौकाको फाइदा उठाउन खोजेका हौँ हामीले”, ताम्राकार भन्छन्।
इन्फोकममा कार्यरत प्रचण्ड शाक्यका अनुसार विश्वकपका
लागि भनेर नगद पुरस्कार रहेको बेग्लै प्रतियोगिता नै आयोजना गर्न लागेको
बताउँछन्। यस्तै थुप्रै नेपाली दर्शकहरूलाई आकर्षित गर्न राजधानीको
कमलादीमा हालै खुलेको स्पोर्ट्स बारले विश्वकपका सबै खेलहरू आफ्नो
१०० इन्चको पर्दामा देखाउने भएको छ।
विश्वकप प्यारापेटमै बसेर प्रत्यक्ष हेर्न जर्मनी जाने
नेपाली पनि भेटिएका छन्। काठमाडाँैकी कविता पराजुली आगामी २ असारमा
जर्मनीतर्फ लाग्दैछिन् विश्वकप हेर्नकै लागि। आफू चार वर्षको छँदादेखि
विश्वकप हेर्न थालेको बताउने १७ वर्षीया कविताले आफ्नो पछिल्लो शोख
पूरा गर्न खर्च भने निक्कै व्यहोर्नुपर्नेछ। कविताका अनुसार प्लेनको
भाडा ८ सय तथा एक खेल हेर्न कम्तीमा ६ सय अमेरिकी डलरसम्म लाग्छ। यति
धेरै खर्च गरेर किन जान लागेको त? भन्छिन्, “फूटबलको जोशले मलाई साँच्चिकै
तान्यो।”
विश्वकपमा आफ्नो देशको सहभागिताको सम्भावना नदेख्दा
केही खिन्न भए पनि उत्कृष्ट फूटबल हेर्ने मौका भने छुटाउन चाहँदैनन्,
नेपाली युवाहरू। फूटबलप्रेमी शशी ज्ञवाली भन्छन्, “राम्रो खेल हेरेर
धेरै कुरा सिक्न सकिन्छ।”
सहभागी टोलीका दर्शकहरू भन्दा कम छैनन् नेपालीहरू पनि,
कसले जित्छ भनेर आपसमा बाजी थाप्न। नेपालीहरूका मन पर्ने टिमहरू भने
सधैँ जस्तै यसपालि पनि अर्जेन्टिना र ब्राजिल नै छन्। र खेलाडीहरूमा
रोनाल्डिन्हो, रोनाल्डो, रोनी, बेकह्याम र फिगो।
•
मनोज घिमिरे/प्रेरणा मरासिनी
|