| जनता
क्रेजी छन् उत्तम

मुम्बईमा १० वर्षअघि जी–टीभीको टेलिश्रृङ्खला
'शूटिङ' को निर्देशन गर्दै उत्तम (रातो टोपीमा)। |
इन्द्रेणीको प्रतिबिम्ब
झैँ लाग्ने सात रङका दौरा, सुरुवाल, इष्टकोट र गुन्यूँचोलो लगाएका
विद्यार्थी। कलाकार, साहित्यकार, राष्ट्रिय विभूति, अञ्चल, उपत्यकाका
नाम अङ्कित कक्षा कोठा। बाँसैबाँसले बनाइएका अध्यापन कक्षाहरू घुम्दै
दिनरात निगरानी गरिरहेका भेटिन्छन्, समता शिक्षा निकेतनका उत्तम सञ्जेल।
राजधानीमा मजदुरी गरिरहेका श्रमिक तथा विपन्न परिवारका छोराछोरीलाई
सुलभ तर स्तरीय शिक्षाको उज्यालो बाँड्ने उद्देश्यका साथ ६ वर्षअघि
काठमाडौँ, जोरपाटीबाट समता शिक्षा अभियान शुरु गरेका थिए उत्तमले।
अहिले भक्तपुर, कमलविनायक र ललितपुर, ग्वार्कोमा समेत उनले उस्तै स्कूल
खोलेका छन् र करीब १२ सय दाताहरूको नियमित सहयोग जुटाउँदै सात हजार
विद्यार्थीलाई देशको सुयोग्य नागरिक बनाउने प्रयत्न गरिरहेका छन्।
उनी भन्छन्, “पढ्न पाएनन् भने यिनीहरू भोलि नै सडकमा जान्छन्। त्यसैले
उनीहरूका लागि गोरेटो कोरिदिनु मैले आफ्नो कर्तव्य ठानेको छु।”

किरण पाण्डे |
आफैँले स्थापना गरेको विद्यालयका बालबालिकाका
साथ उत्तम। |
शुरुमा उत्तमको अभियानलाई धेरैले पत्याएकै थिएनन्। हुनपनि,
गोठाटारमा ३३ वर्षअघि जन्मिएका उत्तमलाई झट्ट देख्दा र उनका लम्बेतान्
कुरा सुन्दा त्यति लगनशील–उद्यमी होलान् भन्ने कसैलाई लाग्दैन। कतिले
त 'क्रेजी' समेत भनिदिन्छन् उनलाई। तर उनको काम देखिसकेपछि तिनकै मुखबाट
निस्कन्छ– 'गतिलो काम गरेर देखाउन त उत्तमजस्तै 'क्रेजी' भएर पो लाग्नुपर्ने
रहेछ!' जोरपाटी–नयाँवस्ती युवा क्लबमार्फत् बाल शिक्षा कार्यक्रम शुरु
गर्दा उत्तमले अठोट गरेका थिए, “अवगाल आइलागोस् या अवरोध, म गर्छु
गर्छु।” नभन्दै पहिलो वर्षमै गलैँचा मजदुरका ८५० केटाकेटी उनको स्कूलमा
आइपुगे। अनि उनले बम्बईमा शुरु गरेर काठमाडौँमा हुर्किँदै गरेको आफ्नो
फिल्मी करिअरलाई चटक्कै छोडेर अँगाले– समता निकेतनको पालेदेखि प्रिन्सिपलसम्मको
दायित्व। कक्षा १ देखि ९ सम्म प्रतिमहिना रु.१०० शुल्क लिएर पोशाक,
पुस्तक समेत निःशुल्क बाँडिरहेका समताका यी अभियन्ताले नगरकोट नरसंहारमा
अभिभावक गुमाएका १६ बालबालिकालाई समेत निःशुल्क पढाउन थालेका छन्।
बाल हितकारी, समाजसेवा पुरस्कारलगायतका थुप्रै प्रोत्साहनलाई उत्तमले
आफ्नो अभियानको सम्मान ठानेका छन्।
साँच्चिकै अनुकरणीय छन् विद्यार्थीलाई सिर्जनात्मक,
प्रतिस्पर्धी बनाउने समताका गतिविधि। र, विद्यालयका नयाँ शाखाको शिलान्यास
र उद्घाटन गर्ने सत्पात्र पनि यिनै विद्यार्थीलाई सम्झन्छन् उत्तम।
समताका विद्यार्थीले भविष्यमा आ–आफ्नो जिल्लामा गएर यस्तै स्कूल खोलून्
भन्ने सपना बोकेका छन् उत्तमले। उनको लगन हेर्दा यो कुरा पनि असम्भव
लाग्दैन।
|