हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
कदी

इतिहासमा

 

मर्नेले नेपाल देख्न पाऊन्

आजको प्रकरण अलि रसिलो हुने छैन। कारण आज हामी लडाइँको, खास रणक्षेत्रमा पस्दैछौँ– 'षेत पर्‍याको' हेर्दैछौँ। लडाइँ भएपछि मर्ने मार्ने त हुन्छ नै। त्यस्तो हुन्छ भन्ने अन्दाज पहिले नै गरेर त्यसको पनि बन्दोबस्त मिलाउनुपर्छ। यो सोच जङ्गबहादुरको 'जङ्गी ऐन' मा पूर्णतः पालन गरिएको देखिन्छ। आज अरूतिर आँखा नलगाई हामी लडाइँमा घाइते हुने र मर्नेहरू अर्थात् युद्धका हत–आहत सैनिकका बारेमा जङ्गबहादुरले के–कस्तो व्यवस्था गरिदिएका रहेछन् त्यो हेरौँ।

जङ्गबहादुरको आफ्नै सोच–समझ हो कि होइन यो हामी किटान गरेर भन्न सक्तैनौँ, तर उनैले तजवीज गरेर बनाएको ऐन भनेर शिरबेहोरा नै लेखिएको हुँदा ऐले त्यसमा अन्यथा सोच्नुपर्ने कारण देखिँदैन। तर यी 'वन्देज' अर्थात् रुल नियमहरू ऐले पढ्दा के जङ्गबहादुर भन्ने मान्छे त्यति संवेदनशील या मानवीय धारणा राख्ने थियो त भनी शङ्का चाहिँ हुन्छ। पहिल्यै दफामा लेखिएको छ– “नसकन्या लाचारी विरामी जति छन् २/३ वासको ज्मा गरि सिमानाको अडामा फिराई दिनु. अफिसरलाई नफिराउनु”। अर्थात् साना तहका सिपाहीहरू घाइते भई विरामी परे भने, तिनको हेरविचार भोटतर्फ राम्ररी हुन सक्तैन, अतः तिनीहरूलाई नेपालतिरका ब्यारेकमा पठाइदिहाल्नू, भोटमा नराख्नू भनेका छन् जङ्गबहादुरले। ठूला अफिसरको त उता पनि हेरविचार गरेकै हुन्छन् भन्ने विचार पुर्‍याइ यो नियम बनाइएको छ। मानवीय संवेदनशीलतामा तेस्रो दफा अझ बढी मार्मिक छ। लामो छ, त्यो दफा, तर सारांशमा त्यसले के भन्छ भने घाइते भएका सिपाहीहरूको सहयोग–सुसार राम्रोसँग हुनुपर्छ, झारा तिर्‍याइको ढङ्गले होइन। नबाँच्ने किसिमको घाइते छ भने उसलाई धेरै दुःख नहुने गरी उतै राख्नू तर बाँच्ने किसिमको छ र होस खुलेको छ भने नेपालतिरको अस्पतालमा पठाउनू भनिएको छ। नेपाल ल्याएपछि पनि विरामीको घरवाला, पत्यारिलोले लिन आए मात्र दिई पठाउनू नत्र सरकारी खर्च लगाई उपचार गराउनू भनिएको छ यसरी-

“... नेपाल पुग्यापछि उस्का वारिसवाला कोही आई हामी सह्यार गर्छौँ भन्न आयो भन्या र घाइत्याले पनि म जांछु भन्यो भन्या घरवालाको जिम्मा गरिपठाइदिनु. वारिसवाला कोही छैन भन्या नेपालमा रहन्या मालिकले उस बेरामीलाई नेपालको हसपतालमा राषी
(सरकारी) षर्च लगाई. इलाज औषधि षान्या पिउन्या वढ्न्या विछ्याउनाको तजवीज गरि बहुत तरहसँग सह्यार संभार गर्नु”
यो त भयो घाइतेहरूलाई नेपाल ल्याइसकेपछिको कुरा। उता भोटको, युद्ध क्षेत्रमै रहँदाको व्यवस्था मानवताका हिसाबले अझै मार्मिक छः “घाइत्यालाई कसैले नदेष्न्या षिर्की बारि सजिलो वछ्यान पारि षान्या कुरो र पानिको तजवीज गरि घाइत्या राषन्या ठाउँमा लगि पकाई षुवाउन्या सुसार गर्न्या मानिस लगाइदिनु. औषधि गर्न्या नाउ वैद्य राषी यौटा धर्म चिन्ह्या सबै घाइत्यालाइ आफ्ना भाइ छोराझैँ माया गर्न्या येक ठूलो अफिसर संभार गर्न्या राषि औषधि कपडा, लत्ता षानाले हर्कत नहुन्या गरि मालिकले तजवीज गरि पुर्‍याइ दिनु. उस जगामा कमान दिन्या मालिक जो छ उसले रोजको ३ फेरा गै हेर्नु.”

यस बन्देजमा त्यहाँका अफिसर कमाण्डरले घाइते विरामीहरूलाई रोजको तीन फेर गई हेर्नु भनेको कत्ति अर्थपूर्ण छ भनिरहनु परोइन। तर त्यसभन्दा पनि लक्ष्य गर्नुपर्ने वाक्य यस बन्देजमा अर्कै छ। 'धर्म चिन्ह्या' भनेको धर्म चिन्ने, अर्थात् दयालु प्रकृतिको एक जना ठूलो अफिसरलाई त्यो अस्थायी अस्पतालको इन्चार्ज बनाउनु भन्छन् जङ्गबहादुर। किन भने– बिरामी घाइतेहरूलाई आफ्नै भाइछोरा जस्तो गरी माया गर्ने मनमा दयाधर्म भएको मायालु हुनुपर्छ ऊ। घाइते बिरामीहरू उपर स्नेह नराख्ने सद्व्यवहार नगर्ने व्यक्तिका मातहतमा उनीहरूलाई नराख्नू भन्ने उर्दी छ जङ्गबहादुरको। कति मार्मिक छ यो उर्दी, भनिरहनु नपर्ला। बेलायतमा फ्लोरेन्स नाइटिङ्गेलको उदय भएकै थिएन त्यतिबेलासम्म तर जङ्गबहादुरको मनमा यो विचार उदाइसकेको देखिन्छ। त्यसैले महत्त्वपूर्ण लागेको हो मलाई यो जङ्गी ऐन। फ्लोरेन्स नाइटिङ्गेल क्रिमियाको युद्धको मोर्चामा सेवा गर्न गएकी सन् १८५६ अर्थात् १९१३ सालमा मात्र हो। उनले युद्धपीडित रोगीहरूको सेवा सुश्रुषा, सहयोग संभारका रुल–नियम बसाउनुभन्दा १/२ वर्षअघि नै हाम्रा जङ्गबहादुरले उस्तै मानवीय संवेदनायुक्त 'वन्देज' बाँधेछन् भन्ने बुझ्दा अलिकति गौरवबोध हुँदैन?

युद्धका घाइतेहरूको जतिसुकै राम्ररी सहयोग संभार गरे पनि केही त मरिहाल्छन्। त्यस्ता मृतकहरूको सद्गत कसरी गर्ने भन्नेबारेमा पनि यहाँ व्यवस्था गरिएको छ– 'लडाञिमा मर्न्याहरूको वन्देज' भनेर। जङ्गबहादुरको यो वन्देज पढ्दा अझ भावुक होइन्छ। किनभने त्यस वन्देजको पहिलो दफामा दर्शाइएको व्यावहारिकता जति विचारपूर्ण छ, त्यसपछि लेखिएको वाक्यांश त्यतिकै मार्मिक र राष्ट्रवादी छ। व्यावहारिक यो कति छ भने, लडाइँमा कोही त अवश्यै मर्नेछन् भन्ने बुझी मृतकहरूलाई (जलाउने प्रबन्ध नहुनेहुँदा तिनलाई) गाड्ने खाडलहरू खनिराख्न सतर्क गराइएको छ। अनि युद्धमा मर्नेहरूलाई आफ्नो देश, आफ्नो जन्मभूमिभन्दा पर शत्रुको मुलुकमा गाडिनुपर्दाको दुःख बिर्साउन नेपाल देखिने गरी अर्थात् दक्षिणतिर हिमालको दर्शन हुने गरी गाड्ने बन्दोबस्त मिलाउनु भन्छन् जङ्गबहादुर। सूत्रात्मक छ यो बन्देज तर यसभित्रको सन्देश अत्यन्त गहिरो छ, कोमल छ र सहृदयी। यो पढ्दा झण्डै डेढ सय वर्षपछि राष्ट्रकविले पोखेको उद्गारको स्मरण हुन्छ– “बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस्... नेपाल भन्न पाइयोस्”।

हेरौँः भोलिपर्सि लडाञि हुन्छ भन्या थाहा भयापछि कदाचित् लडाञिमा मर्न्या गाडना निमित्त. हिमाल देखन्या डाडो बाटाको नगिच पारी हुद्दा सिपाही पिपा लाजिमा गैर जाति जात छन् १ जातलाई षाल्डो १ षाल्डामा १०० मानिस अटाउन्या तजवीज गरी षाल्डो षनि तैयार गरि राषनु मर्‍याका लाई षाल्डामा राषि पुर्नु. ज्मादार देषि उभोका पगरिलाई वेगला वेगलै षाल्डा षनि पुर्नु”। यसबारे बढी टिप्पणी गर्नु नपर्ला।

लडाइँका मैदानमा नेपाली काजकिरियाको थिति पालन गर्नुपर्दैन भन्ने हुकुम पनि दिएका छन् जङ्गबहादुरले 'गुरु धर्माधिकारले बोल्याको' भनी। यसरी– “लडाञिमा घा लागि दुस्मनका राज्यमा छंज्याल मर्‍यो भन्या दुस्मनका राज्यमा रहन्या भाइछोराले स्नान गर्नु सुद्ध हुन्छ. आफना मुलुकमा रहन्याले आफनु पुरानु विधिसग क्रियाकाज गरि जुठो मांनु”।

मर्नेहरूका लागि यसपछि शिलापत्र राखी शिलापत्रहरू बनाइदिने आदेश पनि छ। तर त्यो पछिलाई।