| इब्सन शतवार्षिकी
चर्चाः नोरा र नारीका
•
सुलोचना मानन्धर
डेढ सय वर्षअघि,
सन् १८२८ मा नर्वेमा जन्मिएका हेनरिक इब्सनको विश्व प्रख्यात नाटक
'पुतली घर' की नायिका नोराले नाटकको अन्त्यमा आफ्नै लोग्नेसँग विद्रोह
गरी घर छाडेकी थिइन्। नोराले घर छोड्ने बेला उनका 'इज्जतदार' लोग्ने
हेमरलाई मात्र छोडिनन्, उनले आफैँले जन्माएर प्रेमपूर्वक हुर्काएका
सन्तान र आफ्ना प्रिय वस्तुहरू पनि सबै छोडिन्। घर छोडेपछि उनी कहाँ
गइन्? फेरि फर्किन चाहिन् कि चाहिनन्? अनि पछि आफ्नो जीविका कसरी चलाइन्
आदि प्रश्नहरू भने शताब्दीले फड्को मारिसक्दासम्म पनि संसारभरी नै
उठिरहे।
१९ औँ शताब्दीमा इब्सनले उठाइदिएका त्यस्तै प्रश्न
आजभन्दा आधा शताब्दी अगाडि चीनका प्रख्यात साहित्यकार लुसूनले पनि
उठाएका थिए– नोराकै विषयमा निबन्ध लेखेर। घर छाडेपछि नोरा नाटकको पात्रमा
सीमित रहिनन्, उनी विश्वभरी नै महिला विद्रोह र आन्दोलनको नमूना बन्न
थालिन्। हाम्रो देशका स्रष्टाहरू पनि इब्सनको पुतली घर को प्रभावबाट
मुक्त रहेनन्।
सन् १९०६ मा इब्सनले संसारै छोडेपछि विश्वमा ठूलै उथलपुथल
आइसकेको छ। राजनीतिक, सामाजिक र मान्छेको बौद्धिक तथा भौतिक अवस्थामा
व्यापक परिवर्तन आएको छ, तर आधा आकाशका हिस्सेदार स्वास्नीमान्छेको
अवस्था भने इब्सनले देखाइदिएको महिला अवस्थाभन्दा ज्यादै फरक हुनसकेको
छैन। आंशिक रूपमा कुनै कुनै देशका महिलाहरूले परिवर्तन र समान अवसरको
उपभोग गर्न पाए पनि हाम्रै देशका महिलाको कुरा गर्ने हो भने, यतिबेलासम्म
पनि आमाहरु आफूले जन्माएका सन्तानलाई आफ्नो नामबाट नागरिकता दिलाउन
सकिरहेका छैनन्। हिन्दू धर्मदर्शनमा पुरुष र महिलालाई अर्धनारीश्वरको
रुप दिइए पनि व्यावहारिक जीवनमा पुरुष मालिक र पुरुषको वंश चलाइदिन
उसका निम्ति नारीले सन्तान जन्माइदिनुपर्ने यथार्थ यथावत् छ। नारीलाई
भोग्यवस्तुको रूपमा लिने चिन्तनशैली मेटिएको छैन। तर यस्तै बेलामा
पनि नेपालमा इब्सन शतवार्षिकीको नाममा भव्य कार्यक्रमहरू भने भएका
छन्। यसको श्रेय भनुँ वा देनको कुरा गर्दा शुरु त इब्सनकै देश नर्वेका
राजदूत तोरे तोरङकै कुरा अगाडि आउँछ। साहित्य, कला र सङ्गीतका पारखी
राजदूत तोरे तोरङले दुई महिना अगाडिदेखि नै यो गएको मे २३ मा शतवार्षिकीको
मितिलाई ख्याल गरी विभिन्न तयारीहरू अगाडि बढाइसकेका थिए।
राजदूत तोरे तोरङको भव्य निवासस्थानको बगैँचामा कला
प्रदर्शन भएको थियो कलाकार र चित्रकारहरूद्वारा। इब्सनका बारेमा डकुमेन्ट्री
देखाउनुका साथै नेपाली नाटककार तथा कलाकार सुनिल पोखरेल र निशा शर्माद्वारा
'पुतली घर' कै केही अंश मञ्चन गराइएको थियो, साथै चित्रकारहरूलाई इब्सनकै
सम्झनामा– चित्रहरू बनाउन क्यानभास र रङहरू तयार गरी राखिएको थियो।
ठूलो बगैँचामा स्वतन्त्रपूर्वक कविहरूलाई कविता कोर्ने अवसर दिइएको
थियो।
महिला तथा पुरुष स्रस्टाहरू दुवैबाट रचिएका कविताहरूमा
नोराका विभिन्न रुप र अवस्थाबारे अभिव्यक्त भएको थियो। नोराका बारेमा
चर्चा गर्दा यो समयका स्रष्टाहरूले आफ्नै समयलाई भने बिर्सेका थिएनन्–
त्यसैले कवि गीता कार्कीका कवितामा–
हुन सक्छ नोरा यहीँ कतै होस्
आहतदेखि आहतसम्मको यात्रामा
आफूलाई सडकमा ओछ्याएर
आफैँ गाडी कुदाइरहेकी होस्
हराएकी होस् अर्कै भूगोलमा
शायद इब्सनका आँखाहरूमा
अपराजिता फुलेकी होस् नोरा...
त्यस्तै अर्का युवा कवि बुद्धिसागर चपाईँका कवितामा नोरालाई यसरी सम्बोधन
गरिएको छ–
जानुछ भने जाउ,
लैजाउ यो तिमीले र मैले दुई फेरी तानेर तन्काएको इन्द्रेणी,
लैजाउ तिमीले र मैले बतास भरेर आकाशमा पठाएको बादल,
लैजाउ तिमीले र मैले माया पोतेर टाँगेको आकाश
लैजाउ चोरऔँला समाएर डोर्याउँदै डोर्याउँदै नानी जस्तो पृथ्वी...
गएपछि तिमीले रच्नुपर्नेछ
अर्को इन्द्रेणी
अर्को बादल
अर्को आकाश
र अर्को पृथ्वी
कविहरूका आँखामा इब्सन स्वतन्त्रता र समानतापे्रेमी देखिन्छन्–
इब्सनलाई मानिस स्वतन्त्र भएको मनपर्छ
इब्सनलाई स्वतन्त्रता मनपर्छ...
–मञ्जुल
अर्का कवि राजेन्द्र शलभको अभिव्यक्तिमा– नोरालाई सीता
बनाएर आफू एकपल राम भएर हेर्ने कल्पना गरेका छन्–
...सीताका विश्वासहरू भत्केको दिन
समर्पणले पैँचो फेरेको बेला
सहनशीलताले सीमा नाघेको समय
सीताले रामको मर्यादा नाप्न चाहेको बेला
के हामी रामहरू
अग्निपरीक्षा दिन सकौँला?
यसरी पुरुष आँखाहरूमा समेत समयबोध भएको, सच्चा प्रेम, स्वतन्त्रता
र समानताको तीब्र प्यास देखिएको थियो।
रागिनी उपाध्यायले चित्रबाट अभिव्यक्ति दिएकी थिइन्–
महिला शक्ति– एउटी महिलाको निधारबाट शक्ति निस्केर आकाश फैलिएको। प्रेम
होस् या शक्ति यसको निश्चित रङ र आकार हुँदैन त्यसैले स्रष्टाहरूका
कल्पना र वर्णनमा पनि निश्चित आकार थिएनन्।
इब्सनले दिन खोजेका नारी स्वतन्त्रता र शक्तिले गर्दा
आज संसारभरी नै 'नारीवाद' ले एउटा आकार लिन खोज्दैछ। यसका जन्मदाता
इब्सनलाई कति नारीहरूले चिनेका छन् या बुझेका छन्। हामीकहाँ यो मे
२३ देखिका सप्ताहव्यापी कार्यक्रमहरूमा इब्सनको सम्झना भयो। मे २३
मा नर्वेली कलाकार र नेपाली कलाकारको संयुक्त टोलीले इब्सनले रचेको
गीतको सम्झनामा ज्याज सङ्गीत कार्यक्रम भयो। त्यस्तै अर्को दिन बसन्तपुरको
खुल्ला पटाङ्गिनीमा निःशुल्क कार्यक्रमहरू देखाइयो। चित्रकलाको प्रदर्शन
गरियो। कविहरूका विचार सङ्कलन गरिएका कविता पुस्तिका सम्झनाहरूमा इब्सन
प्रकाशित भएको छ।
|