| •
रामचन्द्र पौडेल |
 |
विचार
| जनआन्दोलनको उद्देश्य
भय, भ्रम र भोकबाट मुक्ति
साँचो लोकतन्त्र भनेको जनतासँग शासकले डराउनुपर्ने
व्यवस्था हो, न कि शासकसँग जनता डराउने। 'शासक वर्ग' भित्र दलका नेता
र कार्यकर्ता समेत पर्छन्। तसर्थ, सच्चा लोकतन्त्रवादीको प्रथम कर्तव्य
जनतालाई भय, भ्रम र भोकबाट मुक्ति दिनु हुन्छ।

रविन साय्मि |
यसपालिको जनआन्दोलनले
एउटा उत्कर्षको भञ्ज्याङ पार गरेको छ। ४ जेठको प्रतिनिधिसभाको घोषणा
विश्वकै प्रजातान्त्रिक आन्दोलनको निम्ति एउटा विशिष्ट दस्तावेज बनेको
छ। यो घोषणाले राजाका जम्मै अधिकार खैँचेर जनतामा सारेको छ। सार्वभौम
सत्ताका स्वामी सिङ्गै नेपाली जनता मात्र भएका छन्। यो कतै विभाजित
छैन। यसको रक्षा गर्ने कर्तव्य हामी सबैको हुन आएको छ। सात दल मात्र
हैन माओवादीदेखि राप्रपासम्म सबै राजनीतिक दल र सबै जनता यसका संरक्षक
हुन् र हुनुपर्छ– यदि जनराजनीति गर्ने हो भने।
यति भइसकेपछि अब सबै नेपालीले समानता र स्वतन्त्रताको
निर्वाध उपयोग गर्न र उन्नत जीवन बाँच्न पाउनुपर्छ। ध्वंस र हिंसाबाट
प्रतिगामी शक्तिलाई लाभ पुगेको कुरा विगत दश–एघार वर्षको अनुभवले स्पष्ट
गरिसकेको छ। त्यो बेला– जब माओवादीहरू देशभर प्रहरीचौकी कब्जा गर्न
सफल हुँदै थिए, राजा आफूलाई सक्रिय बनाउने तानावाना बुनिइरहेका थिए।
जब माओवादीहरू सेनाका ब्यारेक कब्जा गर्न सफल हुँदै थिए त्यसबेला राजा
ज्ञानेन्द्र निरङ्कुश शासन चलाउन तयार भइसकेका थिए। अन्तर्राष्टिय
सहयोगमा मनग्य हतियार प्राप्त गर्न र झण्डै एक लाख सैन्यशक्ति थुपार्न
सफल भइसकेका थिए। राजाको शक्ति उत्तरोत्तर वृद्धि भइरहेको थियो। तर
जनताको शक्ति जागेपछि, शान्तिपूर्ण जनआन्दोलनले उन्नाइसै दिनमा त्यत्रो
सैन्यशक्तिका साथ उभिएको राजाको पाशविक शक्ति जनतासामु घुँडा टेक्न
बाध्य भएको छ। सत्ता बन्दुकको नालबाट हैन जनताको जागेको चेतनाबाट आउँछ
भन्ने कुरा सिद्ध भएको छ। नव नेपालको प्रारम्भ भएको छ। त्यसकारण अब
बन्दुकको राजनीति पूरै र सधैँका लागि थान्को लाग्नुपर्छ।
पुरातनकालदेखि राज्य र राजनीतिको आधार हिंसा र बल प्रयोग
रहँदै आयो। बलियाले निर्धाहरूमाथि हैकम जमाउने र सबैलाई आफ्नो खटनमा
हिँडाउने दमनकारी यन्त्रको रूपमा राज्य रहँदै आएको थियो। पृथ्वीमा
जब विवेकवादको उदय हुँदै आएको छ, मानवतावादको विकास हुँदै आएको छ,
राज्यको त्यो हिंसात्मक चरित्र अस्वीकृत हुँदै गएको छ। विचार, आस्था,
सहमति र सहभागिताको राजनीति शुरु भएको छ। नेपालको शान्तिपूर्ण प्रजातान्त्रिक
आन्दोलनले राज्य र राजनीतिको त्यो चरित्रलाई बदल्न चाहेको छ। राष्ट्रहरूले
स्वाधीनता र जनताले स्वतन्त्रता चाहेका छन्। निर्धक्क मन र ठाडो शिर
गरेर भयरहित जीवन चाहेका छन्। शासनको नैतिक आधार फेरिएको छ। 'शक्ति
नै नैतिकता हो' भन्नुको सट्टा 'निर्धानिमुखाको एकता नै नैतिकता हो'
भन्ने मान्यता आजको राजनीतिको सर्वस्वीकार्य मूल्य र आधार बनेको छ।
यतिका दिनसम्म हिंसात्मक द्वन्द्वको मारमा परेर निस्सासिएको जनता स्वतन्त्रताको
पुकार गर्दै आँधी बनेर सडकमा ओर्लेको हो। यो कुरालाई हामी कसैले पनि
बिर्सनुहुँदैन। त्यसैले अब यो नयाँ यात्राको थालनी बन्दुकको राजनीतिलाई
बिसर्जन गरेर गर्नुपर्छ। शासन शक्तिको बलमा हैन शासितको सम्मतिको आधारमा
चल्नुपर्छ। अल्प सङ्ख्यकको, एक व्यक्ति वा एकदलको शासनको त कुरै छोडौँ,
बहुदलीय शासनप्रणाली भन्दा पनि सहमतीय शासनप्रणाली एक्काइसौँ शताब्दीको
युगीन प्रवृत्ति बनेको छ।
बीपी कोइरालाले 'राजतन्त्र' भन्ने लेखमा लेख्नुभएको
थियो, “नेपालको शाहवंशीय राजतन्त्रले विजेताको चरित्र लिएर नेपालमा
शासन गरेको छ”। तर आज त्यो चरित्रपछि हटेको छ। र, त्यो अब फेरि अगाडि
आउनुहुँदैन। अब विजेताको चरित्र राख्ने, हिंसामा आधािरत शासन कुनै
पनि रुप, आकार वा नाममा फेरि फर्केर नेपालमा आउनुहुँदैन। जनता सार
र स्वरुप दुवै अर्थमा स्वतन्त्रता र स्वराज चाहन्छन्। भय र भ्रममा
आधारित शासनबाट मुक्ति चाहन्छन्।
माओवादी नेताहरूको एउटा भनाइ आएको छ, “दश वर्षको हाम्रो
उपलब्धि भनेको हाम्रो महान् जनसेना हो।” हिजो राजशाहीसँग लड्दाका बखत
भन्ने गरिएको त्यो भनाइ आज पनि कायम छ कि छैन, म भन्न सक्तिनँ। तर
यसपालिको शान्तिपूर्ण आन्दोलनले के कुरा सावित गरिदिएको छ भने जनताको
सङ्कल्प शक्तिका सामु कुनै पनि सैन्यशक्ति निरर्थक छ।
एउटा प्रसङ्ग यहाँ उल्लेख गरौँ– लगभग अढाइसय वर्ष अगाडि
पृथ्वीनारायण शाहले कीर्तिपुरमा चढाइ गर्दा कीर्तिपुरेहरूले पनि उस्तै
हतियार लिएर लडेका थिए। त्यसबेला पृथ्वीनारायणको सैन्य शक्ति कीर्तिपुरलाई
अपमानजनक रूपमा पारजित गर्न सफल भएको थियो। तर यसपालि कीर्तिपुरे जनता
विल्कुलै निःशस्त्र थिए। उनीहरूले कुनै शूरप्रतापको हत्या गरेका थिएनन्।
उल्टै बरु भीडले चेपिएको सरकारको एउटा डीएसपीलाई उनीहरूले जेनतेन जोगाएर
पठाइदिएका थिए। तर हिंसाको मात चढेको सत्ताले त्यसैमा पनि अपमान महसूस
गरेको र भोलिपल्ट कीर्तिपुरलाई तह लगाउन पूरै संयुक्त सुरक्षा फौज
अत्याधुनिक हातहतियारले सुसज्जित भएर त्यहाँ चढाइ गर्न पुग्यो। तर
त्यहाँका जनताले कुनै भौतिक प्रतिकार गरेनन् बरु पूरै सडक ढाकेर पलेँटी
कसेर शान्तिपूर्ण अवज्ञामा बसिदिए। सुरक्षा फौज जनताको त्यो सङ्कल्प
र संयमका सामु परास्त हुन पुग्यो। गोङ्गबुको एउटा घटनामा त म आफैँ
भुक्तभोगी थिएँ– वैशाख १० गते। त्यहाँ भइरहेको विशाल जनसभालाई सुरक्षाफौजले
चारैतिरबाट घेरेको थियो। सेनाको हेलिकोप्टर आकाशमा चक्कर लगाएको लगायै
थियो। कतिखेर आक्रमण हुने हो, कुनै ठेगान थिएन। तर जनता अटल र अविचल!
शाही फौजको त्यो सम्पूर्ण हर्कतको जनताले कुनै पर्वाह गरेनन्। सभा
सम्पन्न गरिछाडे। देशका सम्पूर्ण भागमा जनताले झण्डै झण्डै यसरी नै
अहिंसाको शक्ति प्रदर्शित गरेर देखाए। अनि वैशाख ११ गते शही सत्ताले
घुँडा टेक्यो।
त्यसैले अबको जमाना सैन्यशक्ति माथि होइनजनताको शक्ति
माथि भर गर्ने जमाना हो। आज जनताले नेपालमा स्थापित गर्न खोजेको पद्धति
भनेको– खुला र भयरहित वातावरण हो, सिर्जनशील जीवन मूल्य र पारदर्शी
तथा न्यायपूर्ण समाज व्यवस्था हो। समष्टिमा भन्नुपर्दा “हिंसामुक्त
राज्यपद्धति” यो आन्दोलनको अभीष्ट हो। यसले बन्दुकको शक्ति उपर गौरव
गर्ने संस्कृति जन्माउन चाहेको होइन, यसको चाहना त बन्दुकलाई नै निरर्थक
सिद्ध गराउने संस्कृति हो।
मुलुक लोकतन्त्रको बाटोमा अग्रसर भइसकेको छ, तर यस
प्रक्रियाको पूर्णता नेकपा माओवादीसँगको वार्ताको परिणामसँग सम्बन्धित
छ। यो वार्ता दुवै परस्पर विरोधी पक्षका बीचमा भएको नभएर एउटै लक्ष्यमा
भिन्न रूपले समर्पित दुई घटकका बीचको छलफलको रूपमा हुँदैछ। यो वार्ता
जीत हारको रूपमा नभएर जीत–जीतको आधारमा हुनुपर्छ। दुवैथरी मिलेर राष्ट्र
र जनताका समस्याको समाधान कसरी गर्ने भन्ने आधारमा वार्ता हुनुपर्छ।
यो वार्ताले राष्ट्र र जनताको स्वतन्त्रताको रक्षा गर्नुपर्छ। नवयुगको
नेपाली समाज कस्तो हुने? समावेशीकरण, राज्यको पुनःसंरचना र समाजको
रुपान्तरण कसरी गर्ने भन्ने साझा सवालहरूमा आ–आफ्ना अनुभव र धारणाहरूको
आदानप्रदानका रूपमा यो वार्ता हुनुपर्छ र सहमतिमा पुगेर निर्णय गरिनुपर्छ।
यहाँनेर सबैपक्ष के कुरामा स्पष्ट हुनुपर्छ भने– एक्काइसौँ
शताब्दीका जनता सार र रुप दुवैमा वास्तविक लोकतन्त्र चाहन्छन्। साँचो
लोकतन्त्र भनेको जनतासँग शासकले डराउनुपर्ने व्यवस्था हो न कि शासकसँग
जनता डराउने। 'शासक वर्ग' भित्र राजनीति र शासनसत्तालाई प्रभावित पार्ने
दलका नेता र कार्यकर्ता समेत पर्छन्। माओवादी होस् वा काङ्ग्रेस, एमाले
जुनसुकै पार्टीका कार्यकर्ता र नेताहरू जनतासित डराउने परिपाटी चाहिएको
छ, नेपालीलाई। सात दल–माओवादी वार्ता होस् वा कुनै व्यवस्थाको चर्चा
होस् यही विषयमा केन्द्रित भएर गरिनुपर्छ। तसर्थ कुनै पनि कुराले सर्वप्रथम
जनतालाई स्वतन्त्रता दिनुपर्छ, शान्ति र प्रगति दिनुपर्छ। भय, भ्रम
र भोकबाट मुक्ति दिनुपर्छ।
आज सम्पूर्ण नेपालीहरू स्वतन्त्रता र प्रगतिका लागि
शान्तिको कामना गरिरहेका छन्। वार्ताको एजेण्डा नै शान्ति हो। राष्ट्रको
एजेण्डा नै शान्ति हो। स्वतन्त्रतापूर्वक बाँच्ने र प्रगति गरेर उन्नत
जीवन जिउने एजेण्डा नै नेपालीको आजको एजेण्डा हो।
कुनै पनि शक्ति वा व्यक्तिसँग जनता भयभीत हुन्छन् भने
त्यस्तो व्यक्ति वा शक्तिका प्रति जनताको मनमा घृणा र नफरत पनि अवश्य
पैदा भएको हुन्छ। हिजोसम्म कतिलाई लाग्थ्यो होला, राजालाई कति धेरै
जनताले हेर्न चाहेका! तर त्यसको खास कारण, राजाप्रतिको आकर्षण नभई
जनताको भित्री मनमा गहिरिएर बसेको भय थियो– बाघले दप्काएको बाख्रो
वा घोडा बाघतिरै आकर्षित भए जस्तै। यसपटकको जनआन्दोलनमा त्यही भय,
घृणा र आक्रोश छताछुल्ल भएको हो।
अधिनायकतन्त्रको राजनीतिमा जनताले विजेता शासकको गोडाको
धूलो शिरमा लगाउने, गोडाको पानी खाने जस्ता व्यक्तिपूजाका दृष्टान्तहरू
पाइन्छन्। तर लोकतन्त्रको राजनीतिमा त्यस्ता कुरा अशुभ र त्याज्य मानिन्छन्।
लोकतन्त्रका नेताले आफूलाई सफल बनाउनु छ भने जनताको मनमा भय हैन स्नेह
बर्साउनुपर्छ। भय र हिंसामा आधारित राजाको सत्तालाई हामीले किनारा
लगाएका छौँ। अब हामीले राज्य र राजनीतिको चरित्रलाई पनि यसैगरी बदल्नुपर्छ।
भय र हिंसाले कुनै पनि स्वरुप वा नाममा नेपालको राजनीतिमा फेरि प्रवेश
पाउनु हुँदैन।
यता आएर माओवादी अध्यक्ष र अन्य नेताहरूबाट 'नेपालीको
रगत अब अरू नबगोस्' भन्ने जस्ता सकारात्मक अभिव्यक्ति र चाहनाहरू प्रकट
भएका छन्। बीसौँ शताब्दीमा प्रयोगमा ल्याइएका मान्यता र सिद्धान्त
एक्काइसौँ शताब्दीको कसीमा खरो उत्रन नसक्ने कुराको अनुभूति त्यहाँ
भएको देखिन्छ। बहुदलीय प्रतिस्पर्धाको राजनीतिलाई आत्मसात् गर्दै शान्तिपूर्ण
प्रक्रियामा अघिबढ्ने अठोट पनि देखिएको छ। अब हामी कुनै पनि स्थितिमा
फेरि वनतिर फर्कने छैनौँ भन्ने प्रतिज्ञासहित उहाँहरू वार्तामा आउनुभएको
छ। अझ स्पष्ट शब्दमा भन्नुपर्दा लोकतन्त्रको बाटोबाटै मुुलुक र मुलुकवासीको
भलो गर्न सकिन्छ भन्ने विश्वासले त्यहाँ राम्रै घर गरेको देखिन्छ।
यो सकारात्मक पक्ष हो। यो विश्वासलाई 'किन्तु', 'तर' वा 'हो तापनि'
जस्ता शब्द जोडेर दिग्भ्रमित पार्ने काम अब हुनुहुँदैन। 'लोकतन्त्र'
आफैँमा परिपूर्ण शब्द हो।
लोकतन्त्र साकार पार्न र संविधानसभाको निर्वाचन सम्पन्न
गरी नयाँ संविधान निर्माण गर्न पनि देशमा भयरहित शान्तिपूर्ण वातावरण
कायम हुनु जरुरी हुन्छ। जनताले निर्भय र स्वतन्त्र भएर आफ्नो विवेक
प्रयोग गर्न सक्ने वातावरण पैदा गर्नै पर्छ। पारस्परिक विश्वास र सहज
वातावरणमा मात्रै लोकतन्त्र विकसित हुनसक्छ।
कसरी लोकतन्त्र साकार पार्न सकिन्छ भन्ने चिन्ता लिएर
दुवैथरीले वार्ता गरौँ, चिन्तनमनन गरौँ। यो दुःखी राष्ट्र र पीडित
जनताले त्यसमै ठूलो गुन मान्नेछन्। अनि नेपाल साँच्चि नै नवयुगमा प्रवेश
गर्नेछ। अतीतको दुःखद् प्रसङ्ग एउटा 'शकटि्रटमेन्ट' बनेर नेपालका लागि
वरदान सिद्ध हुनेछ।
|