| अर्थ | बजार
कम्पन गर्ने कण्डम
'सेफ सेक्स विथ फन'को नाराका साथ दीप ज्योति इण्टरनेशनलले
ताइवानमा उत्पादित भाइकन ब्राण्डको 'भाइब्रेटिङ कण्डम' नेपाली बजारमा
भित्र्याएको छ। यो कण्डमको प्रयोगबाट यौन जीवन एवं सहवास रोमाञ्चकारी
हुने दावी कम्पनीको छ। भाइकन कण्डमको माथिल्लो भागमा जडान गरिएको ब्याट्रीसहितको
रिङले करीब २५–३० मिनेटसम्म कम्पन (भाइब्रेसन) सिर्जना गर्ने बताइएको
छ। २ वटा भाइकन को रु.२३० पर्छ।
पीठोको टुपीएम
एशियन थाइफुड्सले टु पीएम आटा नुडल्स नामक अर्को चाउचाउ
बजारमा ल्याएको छ। गहुँको मैदाबाट बनाइएका चाउचाउहरूको तुलनामा पीठोबाट
बनेको यो चाउचाउ स्वास्थ्य र स्वादका हिसाबले उत्कृष्ट रहेको दाबी
कम्पनीको छ। यसमा अजिनोमोटो (एमएसजी) को पनि प्रयोग नगरिएको बताइएको
छ। कुखुराको मासु तथा तरकारीका टुक्राहरू समेत राखी गहुँका तीन वटा
रोटी बराबरको पौष्टिकतत्वयुक्त तुल्याइएको यो चाउचाउको उपभोक्ता मूल्य
रु.१२ तोकिएको छ।
शारदाको स्यानिटरी प्याड
शारदा समूह अन्तर्गतको जास्मिन हाइजिन प्रोडक्टले महिलाहरूले
महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडको उत्पादन तथा बिक्री
वितरण शुरु गरेको छ। सेफ्टी सेनिटरी प्याड को नाममा 'रेगुलर' र 'अल्ट्रा'
गरी दुई श्रेणीमा उत्पादित यो प्याड नरम, सुरक्षित र आरामदायक रहेको
कम्पनीको दाबी छ। ११ वटा प्याड रहेको सेफ्टी सेनिटरी रेगुलर को एक
प्याकेटको रु.४० र १० वटा प्याड रहेको अल्ट्राको रु.८५ उपभोक्ता मूल्य
तोकिएको छ।
एनआईसीको डलर खाता
एनआईसी ब्याङ्कले अमेरिकी डलरमा खाता खोल्न सकिने सुविधा
सहितको 'एनआईसी यूएसडी सुपर सेभिङ्स खाता' कार्यक्रम शुरु गरेको छ।
वार्षिक ४ प्रतिशत ब्याज दिइने यो खाता खोल्नेलाई ओभरड्राफ्ट, घरकर्जाको
प्रक्रियागत शुल्कमा ५० प्रतिशत छुट, गाडी कर्जामा ९० प्रतिशतसम्म
कर्जा, निःशुल्क एटिएम तथा डेबिट कार्ड लगायतका थुप्रै सुविधा दिइने
बताइएको छ।
नेपालको बजारमा किरोन तथा जेन–२

किरोन

जेन–२
|
गोल्छा समूह अन्तर्गतका दुई कम्पनीले दुई छुट्टाछुट्टै
ब्राण्डका मोटर गाडी नेपाल भित्र्याएका छन्। कोरियाली कम्पनी साङयोङ
मोटरको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले साङयोङको पछिल्लो
ब्राण्ड किरोन एसयुभी आफ्ना ग्राहकमाझ प्रस्तुत गरेको छ। मर्सिडिज
'एम क्लास' तथा बीएमडब्लु एक्स फाइभ आदि गाडीहरूकै जस्तो सस्पेन्सन
सिष्टम रहेको मजबूत चेसिसयुक्त किरोन एसयुभी खराब सडकमा समेत उत्तिकै
सुरक्षित रहने दाबी कम्पनीको छ। यसको मूल्य रु.३५ लाखबाट शुरु हुने
जनाइएको छ।
गोल्छा समूह अन्तर्गतकै अर्को कम्पनी भूदेव ट्रेडिङले
जेन–२ नामक गाडी बजारमा ल्याएको छ। मलेशियायी कम्पनी प्रोटोनको पछिल्लो
उत्पादन जेन–२ दुई वटा श्रेणीमा उपलब्ध भएको जनाइएको छ। यसको बजार
मूल्य सुविधाअनुसार रु.१९ लाख ५० हजारदेखि रु.२० लाख ५० हजारसम्म कायम
गरिएको छ।
चौधरीको विङ्गो आटा चाउचाउ
चौधरी समूहले गहुँको पीठोबाट बनेको विङ्गो तयारी आटा
चाउचाउ बजारमा ल्याएको छ। विङ्गो मा रहेको पोषणतत्वका कारण यो चाउचाउ
खाजा मात्र नभएर खाना नै हुने दाबी कम्पनीको छ। स्वादिष्ट मसलाहरू
सहितको बिङ्गो का प्याकेट भित्र लाखौँ रुपैयाँका कुपनसमेत राखिएको
जनाइएको छ।
ब्रिज सिमेण्ट लाई आईएसओ प्रमाणपत्र
केडिया समूह अन्तर्गतको ब्रिज सिमेण्ट ले गुणस्तर प्रमाणीकरण
सम्बन्धी अन्तर्राष्ट्रिय संस्था इण्टरनेशनल अर्गनाइजेशन फर स्टाण्डराइजेशनले
तर्जुमा गरेको गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी मापदण्ड आईएसओ
९००१ः२००० लागू गरेको प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीका अनुसार
ज्वाइण्ट एक्रेडिसन सिष्टम अफ अष्ट्रेलिया एण्ड न्यूजिल्याण्ड (जेएएस–एएनजेड)
बाट प्रमाणीकरण भई इण्टरनेशनल सर्टिफिकेशन सर्भिसेज (एशिया) प्रा.लि.ले
अडिट गरेर यो प्रमाणपत्र प्रदान गरिएको हो। काम गर्ने स्थानको अनुकूल
वातावरण, व्यवस्थापन, कर्मचारी–व्यवस्थापनबीचको सम्बन्ध र उत्पादनको
गुणस्तर लगायतका थुप्रै प्रक्रियाहरू पूरा गरेको आधारमा यो प्रमाणपत्र
दिने गरिन्छ।
नूनमा आयोडिनः भारतको सहयोग जारी
 |
भारतले नेपाल सरकारमार्फत् कण्ठरोग नियन्त्रण आयोजनाका
निम्ति साल्ट ट्रेडिङ कर्पोरेशनलाई यो वर्ष करीब रु.२० करोड उपलब्ध
गराउने भएको छ। यो रकम दुर्गम क्षेत्रमा पठाइने नूनको आंशिक ढुवानी,
रिआयोडाइजेशन, प्याकेजिङ मेटेरियल, आयोडिनयुक्त नूनको प्रचारबप्रसार
लगायतका कार्यमा खर्च हुनेछ। नूनमा आयोडिन मिसाउन शुरु गरिएको यस आयोजनाका
निम्ति भारतले विगत २५ वर्षदेखि सहयोग गर्दै आएको छ। यसकै परिणामस्वरुप
नेपालमा देखिने (भिजिबल) गलगाँड करीबकरीब निर्मूल भइसकेको छ।
|