| तन्नेरीका कुरा
पुरानो त फालियो...
•
शैली बस्नेत

डेकराज |

शङ्कर |

रामकुमारी |

नविना |

प्रदीप |

गगन |

महेन्द्र |

टेकराज |
जनआन्दोलनमा युवाहरू
निकै सक्रिय रहे। १९ दिन नै सडकमा युवा सहभागी र तिनको अगुवाई गर्ने
युवा नेताहरूको बाहुल्य थियो। आन्दोलनमा मारिने र घाइते हुनेहरूमा
पनि अधिकांश युवा नै छन्। कस्तै दमनको समेत पर्वाह नगरी उनीहरू आन्दोलनको
अग्रपंक्तिमा डटेका थिए। आन्दोलनलाई यत्रो उचाइमा पुर्याउने युवा
नेपालीहरू के चाहन्छन् र उनीहरूले कस्तो नेपालको सपना देखेका छन्?
युवाहरू नयाँ नेपालको निर्माण गर्न चाहन्छन्। त्यस्तो
नेपाल बनाउन युवा नेताहरू २०४६ सालको आन्दोलनपछि भएका गल्तीहरूको मूल्याङ्कन
गर्दै त्यसका उपलब्धिलाई पूर्णता दिनुपर्ने बताउँछन्। यसका लागि राजनीतिका
साथै सांस्कृतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा परिवर्तन ल्याउनुपर्नेमा
उनीहरूले जोड दिएका छन्। अनेरास्ववियूका बालगोपाल उपाध्याय भन्छन्,
“राज्यले जनतालाई बोल्न र लेख्न पाउने राजनीतिक स्वतन्त्रता मात्र
होइन, खाने र बाँच्ने अधिकार दिन सक्नुपर्छ।” अनेरास्ववियूकी नेतृ
रामकुमारी झाँक्री भन्छिन्, “२०४६ सालपछि आर्थिक, सामाजिक र सांस्कृतिक
परिवर्तन हुन सकेन। अब पनि राज्य, पार्टीलगायत सबै क्षेत्रको पुनर्संरचना
नगर्ने हो भने अर्को दुर्घटना निश्चित छ।” नेपाली काङ्ग्रेसका युवा
नेता गगन थापाको धारणा छ, “युवाहरूले राजसंस्था जस्तो नचाहिने संस्था
फाल्ने हिम्मत देखाए, अब उनीहरूले नयाँ नेपालका लागि आवश्यक नयाँ संस्थाहरूको
निर्माण गर्नुपर्छ।” नेविसंघ–प्रजातान्त्रिकका अध्यक्ष किशोरसिंह राठौर
पार्टी भित्रका 'राजा'लाई पनि तह लाउनुपर्ने आवश्यकता रहेको आंैल्याउँछन्।
युवाहरूको उत्थान र देशको दीर्घकालीन हितका लागि शिक्षामा
सबैको पहुँच हुनुपर्ने, शिक्षामा वर्गीय विभाजनको अन्त्य हुनुपर्ने,
युवालाई समेट्ने रोजगारीको सृजना हुनुपर्ने कुरामा युवा नेताहरू एकमत
देखिन्छन्। बालगोपाल कम्तीमा माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क
शिक्षा तथा स्थानीय आवश्यकता अनुसार व्यावहारिक शिक्षा हुनुपर्ने विचार
राख्दछन्। नेपाल विद्यार्थी संघका अध्यक्ष महेन्द्र शर्मा भन्छन्,
“शिक्षाको विभेद अन्त्य नभएसम्म देशको समस्या समाधान हुँदैन। शिक्षाको
प्रतिफल लामो समयपछि मात्र पाइने हुनाले तत्कालका लागि अशिक्षितहरूलाई
समेत रोजगारीको अवसर सृजना गर्नुपर्छ।”
शिक्षा र रोजगारी बाहेक अरू केही परिवर्तनहरू पनि हुनुपर्ने
युवाहरूको धारणा छ। मुलुकले युवा उर्जा र गतिशीलताको उपयोग गर्न सकोस्
भनेर राजनीतिमा पनि अवकाशको उमेर निश्चित गर्नुपर्ने सोच बालगोपालको
छ। भन्छन्, “युवाहरूको संलग्नताको विषयमा संविधानमै व्यवस्था गर्नुपर्छ।”
अनेरास्ववियूका अध्यक्ष खिमलाल भट्टराईले युवा पुस्तालाई स्थान दिन
स्पष्ट नीतिकै खाँचो देखेका छन्। अमृत साइन्स कलेज, स्वतन्त्र विद्यार्थी
युनियनका सभापति टेकराज पछाईको विचारमा युवाहरूले खानेलाउने, सम्पत्ति
कमाउने, काठमाडाँैमा घर बनाउने जस्ता सामान्य कुराभन्दा माथि उठ्न
सक्नुपर्दछ।
पार्टीहरूले तन्नेरी जमातलाई सडकमा उत्रिन र प्रहरी–सेनासँग
भिड्न प्रयोग गरे पनि निर्णय प्रक्रियामा स्थान नदिएको युवा गुनासो
छ। रामकुमारी भन्छिन्, “यही आन्दोलनमा पनि हामी सहभागी भएका बैठकबाट
बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए। मर्ने बेलामा धेरै
युवा मरे, तर युवाको आवाज संसदमा उठ्दैन।” नीति निर्माण तहमा युवा
पुस्तालाई पुर्याउनै पर्ने आवश्यकता दर्शाउँदै अनेरास्ववियुकी नविना
लामा थप्छिन्, “मानिसहरू तिनै पुराना अनुहार हेरेर वाक्क भैसके, यत्रो
आन्दोलन हाँक्न सक्ने युवाले पार्टी र देश चलाउन नसक्ने कुरै छैन।”
अनेरास्ववियू (क्रान्तिकारी)को रत्नराज्य क्याम्पस इकाइ अध्यक्ष शङ्कर
भण्डारी हरेक नयाँ काममा युवाको विचार समेटिनुपर्नेमा जोड दिन्छन्।
युवाहरूले राजनीतिमा प्रत्यक्ष संलग्न भएर वा राजनीतिबाट
टाढा रहने हो भने पनि जुझ्ारु दबाब समूहको रूपमा नेताहरूलाई 'हामी
हेरिरहेका छौँ' भन्ने सन्देश दिएर देश बनाउन जुट्नुपर्ने युवा नेताहरूको
विचार छ। यसका लागि आफ्नो क्षमता विकासमा ध्यान पुर्याउनु जरुरी भएको
स्पष्ट गर्दै गगन भन्छन्, “हामीले आलोचनात्मक शक्ति प्रदर्शन गरिसक्यौँ,
अब यसलाई कायम राखेर सृजनात्मक शक्ति देखाउने बेला आएको छ।” यथार्थमा
राज्य वा समाजले युवाका लागि लगानी नगर्ने हुनाले आफ्नो व्यक्तिगत
क्षमता आफैँबाट शुरु गर्नुपर्ने उनी बताउँछन्। पुराना पुस्तालाई आलोचना
गरेर मात्र होइन, उनीहरूका राम्रा कुरा लिएर र गल्तीबाट सिकेर युवा
पुस्ता अगाडि बढ्नुपर्ने नेताहरूको सोच छ। राठौर भन्छन्, “नेताहरूले
पनि युवाको गतिशीलता बुझ्ेर चल्नुपर्छ। नेताको सकारात्मक मार्गदर्शनमा
युवाले नेतृत्व लिनुपर्छ।” नेविसंघका उपाध्यक्ष प्रदिप पौडेलको भनाइ
छ, “अब हामी आफैँ समस्यालाई चिन्न र समाधान खोज्न सक्ने हुनुपर्छ।”
युवा नेताहरूले सबै कुरा नेताले नै दिन्छन् भनेर उनीहरूको
चाकडी गर्ने परम्पराको अन्त्य गर्नुपर्ने कुरा पनि टड्कारो रूपमा उठाएका
छन्। पार्टी र सङ्गठन भित्र विद्यमान सामन्ती प्रवृत्तिको उन्मूलन
र लोकतन्त्रीकरण नभएसम्म आन्दोलन सार्थक नहुने कुरामा युवा नेताहरू
एकमत छन्। महेन्द्र शर्मा भन्छन्, “हामीले विना चाकडी आफ्नै खुबीमा
उभिन सक्नुपर्छ।” स्थापितहरूले युवाहरूले भन्दा बढी जानेको छु भनेर
हेप्ने र युवाहरूले बूढापाकाहरू नै जान्दछन् भनेर नेतृत्व लिनबाट हच्किने
दुवै प्रवृत्ति बन्द गर्नुपर्ने रामकुमारी झाँक्रीको अनुभव छ।
शङ्कर भण्डारीका अनुसार यसपालिको आन्दोलनमा युवा वर्गको
राजनीतिक चेतना आन्दोलनको शक्ति थियो। गगन भन्छन्, “२०४६ सालमा आन्दोलनपछि
युवा सेलाएका थिए। अब यसपालिको आन्दोलनका उपलब्धिलाई सुरुआत ठानेर
युवाहरू सचेत भैरहनुपर्दछ।” प्रविधिसँग भिज्न सक्ने गतिशीलता, परिवर्तन
र शान्तिको तीब्र चाहना तथा उद्देश्यप्रति अडिग रहनुलाई युवा नेताहरू
यो पुस्ताको शक्ति ठान्दछन्। युवाहरू कुलत र विसङ्गतिमा परे भन्ने
गुनासो गरिए पनि उनीहरू किन त्यता लागे भनेर प्रश्न नउठाइएको र विकृति
विरुद्ध लड्न हौसला नदिइएको युवा नेताहरूको भनाइ छ। उनीहरूका अनुसार,
नयाँ नेपालमा युवाप्रति समाज र परिवारको जिम्मेवारी पनि नयाँ ढङ्गले
परिभाषित हुनुपर्छ। राजनीतिमा व्याप्त भ्रष्टाचार रोक्न राजनीतिकर्मीको
जिम्मेवारी राज्यले लिनुपर्ने र त्यसो नभएसम्म राजनीतिमा लाग्ने युवाहरूले
रोजगारमूलक अन्य काम गर्नुपर्ने राठौरको सुझ्ाव छ।
युवाहरू देशले अब राजनीतिक समस्याको अन्तिम टुङ्गो
लगाएर छाड्नुपर्नेमा दृढ छन्। किशोर राठौर भन्छन्, “नेपालका युवाले
पटकपटक स्वतन्त्रताको लागि लड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, उत्पादनशील
युवाहरू अब नयाँ कुराको लागि जुट्नुपर्छ।” गगन थप्छन्, “अहिलेको पुस्ताले
नयाँ नेपाल निर्माण गर्ने ऐतिहासिक अवसर पाएको छ, यसलाई ग्रहण गर्ने
वा कायर भएर आफ्नो लागि मात्र बाँच्ने, छनौट युवाहरूकै हातमा छ।”
|