| स्थलगत | युद्धविरामपछिका गाउँ
माओवादी शहरमा गाउँमा शान्ति

रामेश्वर बोहरा |
बर्दिया सोरहवाकी भगवती
चौधरीलाई कतिखेर माओवादी आउँछन्, खाना बनाउन लगाउँछन् र धम्क्याउँछन्
भनेर दिनरात त्रास भइरहन्थ्यो। गाउँका धेरैको बाध्यता थियो त्यो। माओवादीलाई
खाना खुवाउने, बस्न दिनुपर्ने बाध्यता धेरैको थियो। माओवादी गाउँमै
अड्डा जमाएर बस्थे र सबै कामकाज यहीँबाटै चलाउँथे। केही दिन भयो, उनीजस्ता
गाउँले ढुक्कले बस्न पाएका छन्, त्रास धम्की छैन। भगवती भन्छिन् “आजभोलि
उनीहरू गाउँमा छैनन्, शहरतिर गए भन्छन्, त्यसैले आनन्द छ।” युद्धविरामपछि
माओवादीहरू शहरतिर लागेपछि गाउँलेले शान्तिको सास फेर्न पाएका छन्।
गाउँकै भुवन चौधरीका भनाइमा, “सेना आयो भने भिडन्तमा परेर मरिएला भन्ने
त्रास भइरहन्थ्यो, अब ढुक्क भो। हुनपनि युद्धविरामपछि माओवादी शहरतिर
लागेका छन्। त्यही भएर गाउँलेहरू आनन्दको अनुभूति गर्छन्। २३ वैशाखमा
सोरहवामा पुग्दा गाउँलेहरूले यस्तै आनन्दको अनुभूति सुनाए। त्रास र
आतङ्कको छायाँमा बाँचिरहेका सर्वसाधारण यतिखेर साँच्चिकै शान्तिको
सास फेर्न पाएको महसूस गर्दैछन्।
साँझ् ६ बजेदेखि नै कर्फ्यू लाग्ने त्रासले ५ नबज्दै
बजार बन्द भइसकेको हुन्थ्यो। सडकहरू सुनसान लाग्थे। तर, अहिले पत्याउनै
गाह्रो हुन्छ, राति १० बजेसम्म सडकमा गाडी कुदिरहेका हुन्छन् मान्छेको
चहलपहल छ। सडकमा यतिखेर न सेनाका वख्तरबन्द लडाकु गाडी देखिन्छन् न
त अत्याधुनिक हतियार बोकेका सुरक्षाकर्मीको गस्ती नै। नेपालगन्ज छिर्न
युद्धमोर्चामा बस्ने सुरक्षाकर्मीको चेकपोष्टमा हैरानै हुनुपर्थ्यो,
सोधपुछ र चेकिङले, त्यो पनि अब हटेको छ। गाउँ शहरबीच आवतजावत शुरु
भएको छ।
आतङ्क र त्रासले भारत पलायन भएका मध्यपश्चिम पहाडका
नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। केही दिन अघिसम्म पलायन हुने
क्रम बढ्दो थियो, त्यो क्रम ह्वात्तै घटेर अहिले भारतबाट फर्किनेको
सङ्ख्या बढेको छ। सीमामा सुरक्षाचौकी र अध्यागमन कार्यालय नभएकाले
त्यो सङ्ख्या कति छ यकिन छैन। दैनिक अन्दाजी हजारदेखि पन्ध्रसय मानिस
नेपाल फर्किरहेका छन्। युद्धविराम भएको खबर पाएर फर्किएको बताउने उनीहरू
यस्तै शान्ति भइरहे आफूहरू भारत नजाने बताउँछन्। फर्कने मध्येका एक
भन्छन्, “आफ्नै बारीमा कुटोकोदालो गरिखान पाए अर्काको गुलाम बन्न जान्नौँ।”
तीन वर्षभन्दा लामो समयदेखि बन्द भएका गाउँ विकास समितिका
कार्यालय धमाधम खुल्दैछन्। माओवादी त्रासले गाविसका कामकाज ठप्प थिए।
गाउँका केही कार्यालयसमेत माओवादीले भत्काइदिएका थिए भने त्रासले गाविस
सचिवहरू सदरमुकाम विस्थापित भएका थिए। सदरमुकाममा सचिव बस्ने कोठामा
गाविसको काम हुने भएपनि गाउँका सर्वसाधारण सामान्य सिफारिस पनि नपाउँदा
ठूलो मर्कामा थिए। तर, तीन वर्षदेखि सदरमुकाम थन्किएका सचिवहरू गाउँ
फर्किन शुरु गरिसकेका छन्। बाँकेको सीतापुर गाविसका सचिव इन्द्रबहादुर
श्रेष्ठ भन्छन्, “परिस्थिति त्यस्तै थियो र भाग्नुपर्यो, अब त गाविसमै
फर्किन्छौँ।”
स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरे कोहलपुर,
नौवस्ता, रझ्ेना, परसपुरलगायत आधा दर्जन गाविस सचिव गाउँ फर्केको र
अन्य गाविसको काम पनि छिटै गाउँमै शुरु गरिने बताउँछन्। नेपालगञ्जबाट
देशका विभिन्न भागमा चल्ने रात्रिबस करीब बन्दै भइसकेका थिए। बेलुकी
६ बजेपछि राजमार्गमा गाडी गुडाउन पाइँदैनथ्यो। रात्रिबस दिउँसो १२
बजे नै चलाउनुपर्थ्यो। काठमाडौँबाट आउने बस १८ घण्टाभन्दा छिटो कहिल्यै
आइपुगेनन्। तर, फेरि एकदर्जनभन्दा बढी रात्रिबस यहाँबाट छुटेको देख्दा
लाग्छ, अवस्था त धेरै फेरिएछ।
नेपालगन्जका जिल्ला प्रशासन, जिल्ला प्रहरी, वडा प्रहरी,
कारागारमा ११ माघपछि शाही सेनालाई राखियो। सर्वसाधारणको आवतजावत भइरहने
प्रशासन र प्रहरी कार्यालयमा सेना युद्धमोर्चामा बस्यो, बङ्कर र युद्धका
डरलाग्दा संरचना बनाइएपछि कति सर्वसाधारण त काम परेपनि जान छाडे। सधैँभरि
बस्ने सुरले प्रहरी कार्यालयमा समेत कब्जा जमाउन पुगेको सेना २१ वैशाखदेखि
प्रहरी कार्यालयबाट फिर्ता भएको छ। अब ती कार्यालयमा काम लिएर आउने
सर्वसाधारणको भीड लाग्न थालेको छ, सेना बसुञ्जेल त्यो थिएन।
१९ दिने जनआन्दोलनलगत्तै १३ वैशाखमा माओवादीले गरेको
युद्धविरामपछि साँच्चिकै जनजीवनमा अनौठो परिवर्तन आएको छ। माओवादीको
नाम सुनेर पनि त्रस्त भइरहने शहरका मानिसहरू माओवादीका नेता र कार्यकर्ता
शहरमा छ्याप्छ्याप्ती भेटिन थालेपछि पनि यसलाई सामान्य रूपमा लिन थालेका
छन्। किनकि त्यतिवेला बन्दुक र बम बोकेर आउने माओवादी रित्तै आएका
छन्।
कसैले पनि कल्पना गरेको थिए, यतिछिटै यस्तो दिन पनि
आउनेछ भनेर। आतङ्क, त्रास र हिंसाले जनजीवनलाई कतिसम्म कहालीलाग्दो
र खोक्रो बनाइसकेको रहेछ भन्ने अनुभव आम सर्वसाधारणले बल्ल गर्न पाएका
छन, शान्तिको अनुभूतिबाट। माओवादीको त्रास भइरहने गाउँमा यतिखेर आनन्द
छ, माओवादी आक्रमण र विष्फोटका शृङ्खलाबद्ध घटनाले त्रस्त रहने शहरमा
पनि ढुक्कको दिनचर्या शुरु भएको छ।
तर, यस्तो दिन सधैँ रहला–नरहला भन्ने आशङ्काले चाहिँ
उनीहरू अहिले पनि त्रसित छन्। हिंसा, आतङ्क र त्रासको छायाँमा बाँचेका
सर्वसाधारण अब सधैँ यही अवस्था रहिरहोस् र विगतका कहालीलाग्दा दिन
कहिल्यै नआउन् भन्ने चाहन्छन्। तर, यो अवस्था रहिरहला भन्ने आश भए
पनि विश्वास भने अझ्ै छैन। माओवादीहरू शान्तिको बाटोमा अग्रसर भएपछि
यो अवस्था आएको उनीहरूले बुझ्ेका छन्। त्यसैले सरकारलाई पनि सधैँका
लागि शान्ति आउने बाटोमा हिँड्न आग्रह गर्छन्। सर्वसाधारणको के कुरा?
मध्यपश्चिम क्षेत्रका एकजना सुरक्षा अधिकारी यतिसम्म भन्छन्, “यति
ढुक्कको अवस्था कहिल्यै पाइएन, यसलाई गुम्न दिनुहुन्न, बरु हामी बर्दी
खोलेर सिंहदरबार र राजदरबार घेर्न जान तयार छौँ।”
•
रामेश्वर बोहरा
|