| स्थलगत | युद्धविरामपछिका गाउँ
भारी'भो बन्दुक
१० वर्षदेखि सशस्त्र युद्ध गर्दै आएका माओवादीको
'जनमुक्ति सेना' जन–सम्वादमा क्रियाशील भएपछि लाग्छ, उनीहरूलाई आफ्नो
बन्दुक भारी हुन थालेको छ ।
•
किरण नेपाल, घुर्मी, उदयपुरम

तस्बिरहरूः किरण पाण्डे |
| ढिलो भयो बिसाउनः सभास्थलमा पत्रकारको प्रवेशपछि
कमाण्डरको आदेशमा सेल्टरतर्फ लाग्दै सभाको सुरक्षाका लागि एक छापामार।
|
१० वर्षदेखि बन्दुकको
बलमा सत्ता कब्जा गर्ने लडाइँमा होमिएको माओवादीको 'जनमुक्ति सेना'
यतिखेर जन–सम्वादमा जुटेको छ। पछिल्ला दिनहरूमा गाउँगाउँमा हुन थालेका
माओवादीको राजनीतिक सभाहरूमा 'जनसेना'का उच्च कमाण्डरहरू सक्रियताका
साथ आफ्ना धारणाहरू राख्न थालेका छन्। सभामा उनीहरूका भनाइ यस्ता हुन्छन्,
'जनता जे चाहन्छन् जनमुक्ति सेना त्यही गर्छ। जनताको चाहना शान्ति
हो भने यसमा हाम्रो बन्दुक छेकवार बन्दैन।' तर, आमसभामा माओवादी छापामारहरू
आफूहरू बदलिएको नभनेर 'जनसेनाका बारेमा रहेका भ्रमहरूलाई चिर्न यसरी
अगाडि आउनु परेको' बताउँछन्। २८ वैशाखमा सिन्धुली, ओखलढुङ्गा र खोटाङसँग
सीमा जोडिएको उदयपुरको घुर्मीमा सम्पन्न जनसभामा उभिएर माओवादीको सेकेण्ड
डिभिजन कमाण्डर राजेशले भने, “जनमुक्ति सेना जनताको घोडा हो।”
आफ्नो बन्दुक भन्दा जनताको मत धेरै गुणा बलियो रहेको
स्वीकारोक्ति माओवादी नेतृत्वमा देखिन्छ। डिभिजन कमाण्डर राजेश आफूहरूले
जनवादी गणतन्त्र प्राप्तिका लागि हतियार उठाएको भएपनि एक्काइसौँ शताब्दीमा
जनभावनाको उपेक्षा गर्न नसकिने बताउँछन्। राजेशले कुरा नलुकाइ भने
“एकदलीयताका कारण विश्वमा विभिन्न समाजवादी सत्ताहरू धरासायी भएको
इतिहास छ, हामी इतिहास दोहोर्याउन चाहँदैनौँ।” उनको भनाइ थियो, “समाज
र समय अनुसार चल्न सकिएन भने हामी पनि नासिन्छौँ।”
शान्ति प्रक्रिया, समस्या समाधानको उपाय, संविधानसभालगायतका
विषयहरूमा आफ्नो धारणा जनसमक्ष पुर्याउन माओवादीको जनकपुर–सगरमाथा
उपक्षेत्रीय ब्यूरोले सो सभा आयोजना गरेको थियो। सभाका सबैजसो वक्ताको
भनाइ थियो–माओवादी पार्टी जनताको इच्छा अनुसार चल्नेछ।
जन–इच्छा सर्वोपरि
जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएयता गाउँमा आत्मविश्वास
जागेको छ। विगत १० वर्षदेखि छाएको सन्त्रास धेरै हदसम्म हटेको छ। माओवादीको
घुर्मी जनसभा सुन्न आफ्ना दर्जनौँ सहयात्रीका साथ दुई दिन हिँडेर आएका
थिए, खोटाङ कुभिण्डे–५ का मातृका पौडेल। पौडेल र उनका सहकर्मीहरू माओवादीहरूले
भन्दै आएको संविधानसभा भनेको कस्तो हो भन्ने जान्न चाहन्थे। आफ्नै
खर्चमा कार्यक्रमस्थलसम्म पुगेका पौडेलले भने, “अरू दलका नेताको बोली
एकातिर काम अर्कोतिर देखियो, अब माओवादीको चाहिँ हेर्न बाँकी छ।”
पौडेल मात्र नभई कार्यक्रमका थुप्रै सहभागीको चाहना
माओवादीहरू के भन्छन् भन्ने जान्नु नै थियो। यस्तो लाग्थ्यो उनीहरू
ठम्याउन चाहन्थे शान्तिप्रतिको माओवादी प्रतिबद्धता साँच्चिकै हो या
अर्को कुनै सैन्य रणनीति। वर्षौँदेखि माओवादीको सैन्य हर्कत हेर्दै
आएका जनसभाका अधिकांश श्रोताहरू तिनका राजनीतिक भाषण एकाग्रताका साथ
सुन्दै गर्दा जनमुक्ति सेनाका कमाण्डरहरू एक पछि अर्को आफ्नो गल्तीहरू
स्वीकारिरहेका थिए। आफ्ना बारेमा बढी भन्दा बढी स्पष्ट पार्दै लगेका
थिए र सत्तामा रहेका संसदवादी दलहरूलाई राजनीतिक खबरदारी सहितका चेतावनी
दिइराखेका थिए। हिजोसम्म बन्दुक बोकेर आफ्नो नीति थोपर्ने माओवादी
कमाण्डरहरूको पछिल्लो व्यवहारबाट खुशी देखिएका पौडेलले भने, “दल तथा
माओवादी दुवैले आ–आफ्ना विगतका गल्तीहरू स्वीकारेका छन्, शायद अब चाहिँ
एकअर्का बीचमा गद्दारी नहोला कि!”
माओवादीद्वारा आयोजित सो कार्यक्रम कुनै संसदवादी दलहरूको
भन्दा फरक थिएन। दुवै अञ्चलका तराई तथा पहाड दुवै क्षेत्रलाई पायक
पर्ने गरी स्थानको छनौट गरिएको थियो। सभाका लागि पार्टीले आफ्नै खर्चमा
सय वटा भन्दा बढी बस–ट्रकमार्फत् पूर्वमा सप्तरीदेखि पश्चिममा सर्लाहीसम्मका
मानिसहरू लगेको थियो। माओवादी कार्यकर्ताहरू अघि लागेर खानपान र बासको
व्यवस्थाका साथ सिन्धुली, ओखलढुङ्गा, खोटाङ लगायतका पहाडी क्षेत्रहरूबाट
मानिसहरूलाई ल्याइएको थियो।

संविधानसभाको चासोः घुर्मी, उदयपुरमा माओवादीले गरेको जनसभामा
उपस्थित जनसमुदाय। |
बन्दुक देखाइएन
जनसभाहरूमा माओवादी नेताहरूबाट व्यक्त गरेका विचारहरूले देखाउँछ, उनीहरू
हतियारका बलमा होइन जन आकांक्षामा चल्ने प्रतिबद्धता व्यक्त गरिरहेका
छन्। लोकतान्त्रिक शक्तिहरू माओवादीहरूको पछिल्लो माग संविधानसभाका
बारेमा जति जति स्पष्ट हुँदै गएका छन्, त्यति नै माओवादीहरू बन्दुकबाट
टाढा र जनताको नजिकमा पुग्न बाध्य हुँदै गएका छन्। लाग्छ, तिनलाई आफूले
उठाउँदै आएको बन्दुक भारी लाग्न थालेको र जनताको माझ् पुग्न व्यग्र
छन्।
माओवादी सैन्य नेतृत्वलाई प्रमुख अतिथि बनाइए पनि कार्यक्रमलाई
बढी भन्दा बढी राजनीतिक बनाउने आयोजकहरूको प्रयास रहेको थियो। प्रमुख
अतिथि सैनिक कमाण्डरलाई बनाइए पनि उनलाई कम्ब्याट ड्रेसमा प्रस्तुत
गरिएन। त्यसैगरी विगतमा झैँ सैन्य उन्माद झ्ल्काउने सैनिक मार्चपास
पनि गरिएन। पत्रकारहरू कार्यक्रम स्थलमा पुगे लगत्तै माओवादी छापामारहरू
तत्काल सेल्टरतर्फ लागेका थिए। यतिसम्म कि फोटो पत्रकारहरूले माओवादी
सैन्य टुकडीको तस्बिर लिन गरेको पटक पटकको अनुरोधलाई पनि 'जनमुक्ति
सेना कार्यक्रमस्थल भन्दा निक्कै टाढा रहेको' भनेर आयोजकहरू पन्छिए।
राष्ट्रिय सेना निर्माणबारे राजेश भन्छन्, “प्यारजङ्ग
थापाले भनेको जस्तो शाही नेपाली सेनामा जनमुक्ति सेनालाई समाहित गर्ने
होइन कि दुवै सेनालाई पुनः संयोजन गरेर संसदको मातहतमा रहने राष्ट्रिय
सेना बनाउनु नै सर्वोत्तम विकल्प हो।”
तीब्र रूपमा विकास भइरहेका राजनीतिक घटनाक्रमले माओवादीलाई
बहुलवादी समाजमा प्रवेश गर्न बाध्य बनाएको छ। सैन्य कमाण्डर राजेशकै
भनाइमा, “हामीहरू गणतन्त्र चाहन्छाँै तर २१ औँ शताब्दीमा जनभावनाको
कदर गर्छौँ।” यसले देखाउँछ समग्र माओवादी आन्दोलन जनतामा समाहित हुने
प्रक्रियामा अगाडि बढिरहेको छ।
|