हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

स्थलगत

'मधेश'का नाउँमा साम्प्रदायिक हिंसा

माओवादी हिंसा मत्थर हुँदै गएको अवस्थामा, 'जनतान्त्रिक तराई मुक्ति मोर्चा' नामको संस्थाले सप्तरीदेखि रौतहटसम्मका सीमावर्ती गाउँहरूमा 'पहाडे' विरोधी साम्प्रदायिक अभियानसँगै लुट, हत्या र अपहरणको क्रम चर्काएको छ।

शिव गाउँले राजविराजमा


सबै तस्बिर सौजन्यः राजविराज टुडे
राजविराज साक्षी छः मधेशी समुदायका आकाङ्क्षामाथि थरीथरीका राजनीतिक खेल हुने गरेका छन्।

सरकार–माओवादी युद्धविरामसँगै देशभर हिंसात्मक कामकारबाही रोकिएपनि सप्तरी र सिरहाको दक्षिणी सीमावर्ती क्षेत्रका वासिन्दाले त्यस्तो अनुभूति गर्न पाएका छैनन्। सप्तरीको धरमपुर गाविस–१ आदर्श टोलका करीब सय घरधुरी पहाडे मूलका वासिन्दा रातभर गस्ती गर्छन्। 'जनतान्त्रिक तराई मुक्ति मोर्चा' का कार्यकर्ताले स्थानीय शिक्षकद्वय गणेश बस्नेत र पूर्णप्रसाद भट्टराईलाई अपहरण गर्न खोजेपछि उनीहरूलाई जोगाउन २३ फागुन २०६२ देखि गस्ती गर्ने काम थालिएको हो। त्यसयता पनि मोर्चाका गतिविधि निरन्तर रहेपछि अहिले पनि उनीहरू हरेक रात जाग्राम बस्छन्। कहिलेसम्म यसो गरिरहने हो टुङ्गो छैन। अनिश्चित भविष्य बोकेर गस्तीमा निस्कने सर्वसाधारणलाई मोर्चाका सशस्त्र कार्यकर्ता आइहाले भने जोगिन सकिन्छ भन्नेमा चाहिँ विश्वास छैन। एक स्थानीय युवा भन्छन्, “हतियारधारीले हिँड भनेपछि लुरुलुरु हिँड्ने हो, प्रतिरोध गर्न सक्ने अवस्था छैन।”

करीब तीन महिनायता सप्तरी, सिरहा र रौतहटका दक्षिणी क्षेत्रमा साम्प्रदायिक आधारमा हत्या, अपहरण र सम्पत्ति कब्जा गर्ने काम बढेपछि सर्वसाधारण त्रसित छन्। 'मधेश मधेशीको' भन्ने नारा दिएर पहाडे मूलका नागरिकमाथि भएका शृङ्खलाबद्ध हमलाका कारण मधेशमा साम्प्रदायिक सद्भाव खल्बलिन थालेको छ।

मानवअधिकारकर्मी प्रकाश खतिवडाको भनाइले सप्तरी, सिरहा आसपासका क्षेत्रको अवस्था झ्ल्काउँछ। खतिवडा भन्छन्, “हत्या, अपहरण र ज्यादतीका कारण पहाडे मूलका वासिन्दा दक्षिणी सीमावर्ती क्षेत्रमा जान सक्दैनन्, गए अपहरणमा पर्छन्।”

हत्या, अपहरण र कब्जा
२९ वैशाख २०६३ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा र माओवादी कार्यकर्ता बीच रौतहटको सुमनपुरमा भिडन्त भयो। त्यसमा मोर्चाका एक छापामार मारिए।

अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) सप्तरीको तथ्याङ्क अनुसार तराईमा मोर्चाले चलाएको हत्या, अपहरण र सम्पत्ति कब्जा गरेका शृङ्खलाबद्ध घटना छन्। मोर्चाका कार्यकर्ताले ४ वैशाख २०६३ का दिन उदयपुर वसाहा–८ का दिनेश राउतको हत्या गरे। त्यसको पाँच दिनअघि ३० चैत २०६२ मा सोही ठाउँका राजु घिसिङ्गको हत्या गरियो। कामविशेषले सप्तरीको दक्षिणी सीमावर्ती गाउँ पुगेका राउत र घिसिङ्गलाई अपहरणपछि हत्या गरिनुको कारण उनीहरू पहाडे मूलका वासिन्दा हुनुथियो। त्यति मात्रै होइन मोर्चाका कार्यकर्ताले पहाडेलाई साथ दिएको आरोपमा सप्तरीमा दुई माओवादी कार्यकर्ताको पनि हत्या गरेका छन्। यसरी मारिने माओवादी कार्यकर्तामा स्थानीय जमुनी मध्येपुरा ८ का इन्द्रदेव साफी र कमलेश यादव छन्। सो हत्याको बदलामा माओवादीले पनि मोर्चाका दुई कार्यकर्ता र एक सर्वसाधारणको हत्या गरेका छन्। २६ चैत २०६२ मा माओवादीद्वारा हत्या गरिएका स्थानीय जकिर मन्सुरी र सरिभ मन्सुरी मोर्चाका कार्यकर्ता थिए। यस क्रममा माओवादीले एक सर्वसाधारण चन्द्रशमसेर साहको पनि हत्या गरेका छन्


तस्बिरः इन्सेक

जकिर मन्सुरी र सरिभ मन्सुरी।


दिनेश राउत


राजु घिसिङ

अपहरण गरेर पैसा असुल्नु सजिलो पेशा भएको छ मोर्चाका कार्यकर्ताका लागि। आफ्नो प्रभाव क्षेत्रमा पहाडे मूलका मानिस भेट्यो कि अपहरण गर्ने, पैसा असुल्ने काम सहजै गर्छन् उनीहरू। ५ वैशाख २०६३ मा वीरगञ्ज जिल्ला वन कार्यालयमा कार्यरत खोटाङ्गका टङ्क चाम्लिङ्गलाई मोर्चाका कार्यकर्ताले अपहरण गरेर पाँच दिनपछि छाडे। रिहा भएपछि मानवअधिकारवादीसँग चाम्लिङ्गले भनेका थिए, “पैसा तिरिन कसरी भनौँ, तिरेँ कसरी भनौँ।”

मोटो रकम तिरेर रिहा हुनेहरूको सूची लामो छ। यसअघि २४ माघ २०६२ मा कञ्चनपुर ९ निवासी पूर्व प्रहरी सहायक निरीक्षक जितेन्द्रकुमार श्रेष्ठ अपहरणमा परेर १४ दिनपछि रु.२ लाख ५० हजार तिरेर मुक्त भए। ५ माघ २०६२ मा कञ्चनपुर–२ बस्ने जगतपुर गाउँ विकास समितिका सचिव खिलानाथ पोख्रेल रु.१ लाख तत्कालै बुझाएर रु.२ लाख पछि बुझाउने शर्तमा १४ दिनपछि रिहा भए। २१ पुस २०६२ मा अपहरणमा परेका रुपनगर–१ का देवनारायण श्रेष्ठ 'मधेश छाड्ने शर्तमा' तीन दिनपछि रिहा भए। उनी कति बुझाएर वा नबुझाइ रिहा भए भन्ने खुलेको छैन।

त्यसैगरी २१ मङ्सिरमा राजविराज–६ का निर्माण व्यवसायी निरज श्रेष्ठ ३ लाख १० हजार तिरेर १० दिनपछि मुक्त भए। ११ भदौमा सिरहाका पूर्व जिल्ला पञ्चायत उप–सभापति उचितबहादुर शाही र उनीसँगै रहेका व्यापारी चन्द्रबहादुर श्रेष्ठ अपहरणमा परे। रु.३ लाख तिरेर उनीहरू मुक्त भए। त्यस्तै २५ कात्तिक २०६२ मा अपहरणमा परेका राजविराज नपा–६ का देवेन्द्र देवकोटा ३ लाख १० हजार बुझाएर मुक्त भएका थिए।

पहाडेलाई समर्थन वा सहयोग पुर्‍याएको अभियोगमा मधेशी मूलका नागरिकलाई पनि सताएका छन् मोर्चाका कार्यकर्ताले। १ वैशाख २०६२ मा वेली चमेना–६ का शिव मण्डललाई अपहरण गरियो भने २१ पुस २०६२ मा अपहरणमा परेका माओवादी कार्यकर्ताहरू परमानन्द साह र राजकुमार साहलाई तीन दिनपछि 'माओवादी छाड्ने शर्तमा' छाडियो।

२१ चैतमा सप्तरीको पिप्रापूर्व–७ का गणेश श्रेष्ठ, दुर्गाबहादुर पाण्डेलगायतका १० स्थानीय वासिन्दालाई १०/१० हजार तिरेर 'मधेश छाड्न' भनियो। पैसा नदिने गणेश श्रेष्ठ अपहरणमा परे। दुई दिनपछि श्रेष्ठ पैसा तिर्न राजी भए। पैसा नदिनेले पिटाइ खाए। स्थानीय चतुरमान तामाङ्ग, जङ्गबहादुर निरौला, अर्मेली तामाङ्ग, साङकेली तामाङ्ग १०/१० हजार तिरेर छुटे। त्यसपछि पनि उनीहरूलाई 'गाउँ नछाडे ठीक नहुने' धम्की दिइएको छ। २३ चैत २०६२ मा नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर शाखाका मिटर रिडर महेश बस्नेतलाई मिटर रिडिङ्ग गर्न गएको अवस्थामा अपहरण गरेर रु.५ हजार मागियो। त्यहीवेला माओवादीले मोर्चाका तीन कार्यकर्ताको हत्या गरेपछि बस्नेत त्यसै छुटे।

क्याम्पस पढिरहेका पूर्वी पहाडका विद्यार्थीलाई पनि छाडेका छैनन् मोर्चाका कार्यकर्ताले। ३ चैत २०६२ मा राजविराज क्याम्पस पढ्ने खोटाङ्ग साउने–२ का रामकुमार मगर, उदयपुर हडिया–६ का उद्धवबहादुर खड्का, भोजपुर वालङखाका राजकुमार खत्रीलाई स्थानीय वरही वीरपुर चोकमा मरणासन्न हुनेगरी कुटियो। क्याम्पस आसपासका गाउँमा बसेर विद्यार्थी पढाउने र आफू पनि पढ्ने काम गर्ने ती विद्यार्थीहरू अहिले गाउँ छाडेर बजारमा बस्न थालेका छन्।

धेरै जसो सीमापारि भारतीय गाउँमा डेरा जमाएर आफ्नो देशमा लुटपाट, हत्या, धम्की र अपहरणका कृत्य गरिरहेका मोर्चाका कार्यकर्ताले पहाडे मूलका व्यक्तिहरूको घरजग्गा कब्जा गरेको सूचना पनि निकालेका छन्। २६ मङ्सिर २०६२ मा मोर्चाले सार्वजनिक गरेको सूचना अनुसार सप्तरी जिल्लाका १८ जनाको जग्गा कब्जामा लिइएको बताइएको छ। जग्गा कब्जा गरिएका व्यक्तिहरूमा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलदेखि पूर्व सांसद कुवेर शर्मासम्म छन्। त्यसैगरी महेन्द्रप्रसाद देवकोटा, सूर्यप्रसाद देवकोटा, अनिलप्रसाद उपाध्याय, रामकुमार श्रेष्ठ, शिशुप्रसाद देवकोटा, महेशप्रसाद देवकोटा, विजय श्रेष्ठ, मोहनकृष्ण खरेल, अविनाश पोखरेल, मोती प्याकुरेल, वनु पोखरेल, प्रल्हाद क्षेत्री, जयप्रसाद पोखरेल, दीपकराज मिश्र, अप्पा राज र माधव शमसेर थापाको जग्गा कब्जामा लिएको मोर्चाको दाबी छ।

माओवादीको मधेश राष्ट्रिय मुक्ति मोर्चाबाट छुट्टिएर बनेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले 'मधेश मधेशीको' हुनुपर्ने नारामा आधारित भएर यी काम कारबाही भएको दाबी गरेको छ। ७ मङ्सिर २०६२ मा संयोजक जयकृष्ण गोइतले दिएको वक्तव्यमा, आफूहरू “तराईको स्वतन्त्रता र मुक्तिको लागि सङ्घर्षरत रहेको” भन्दै “अब पनि तराईका मूल निवासीहरूले तराई माथि नेपालले शासन गर्न पाइँदैन भन्न नसक्नु हुतिहारा लक्षण हो” भनिएको छ।

यसैगरी गोइतले १८ वैशाख २०६३ मा प्रकाशित गरेको वक्तव्यमा “अब पनि यो वा त्यो वहानामा औपनिवेशवादी तत्वहरूसँग सुलह सम्झ्ौता गर्नु र उनीहरूका विरुद्ध निर्णायक सङ्घर्षमा उत्रन आनाकानी गर्नु घोर कायरता र मातृभूमि तराई एवं तराईका मूल निवासीप्रति गम्भीर विश्वासघात र गद्दारी हुनेछ” भनिएको छ। स्मरणीय छ यी दुवै वक्तव्य नेपाली राजनीतिमा खास अर्थ राख्ने मह140वपूर्ण दिनमा आएका छन्। ७ मङ्सिर दल–माओवादी सहमति भएको दिन गोइतले 'तराई माथि नेपालले शासन गर्न नपाउने' भनेका छन्भने जनआन्दोलन सफल भई प्रधानमन्त्रीले शपथ ग्रहण गरेर नयाँ सरकार निर्माणको प्रक्रिया थालनी भएको दिन १८ वैशाख २०६३ को वक्तव्यमा, 'औपनिवेशिक तत्वसँग सम्झ्ौता नहुने' जनाउ दिएका छन्।

गोइतको 'असन्तुष्टि'
मधेशको मुद्दा जोडतोडले उठाए पनि मोर्चा र माओवादी बीचमा सोझो दुश्मनी देखिन्छ। मोर्चाका तर्फबाट २५ वैशाखमा ज्वाला सिंहले आफ्नो सिरहा जिल्ला अध्यक्ष वलराम यादव माओवादी अपहरणमा परेको विज्ञप्ति निकाले। भोलिपल्टै माओवादीले अर्को विज्ञप्ति निकालेर यादवलाई अपहरण नगरिएको बतायो।

माओवादीले जनतान्त्रिक मोर्चालाई कुनै राजनीतिक संस्था नमानेर आफूबाट चोइटिएर गएको एउटा समूह मानेको छ। मोर्चाका संयोजक जयकृष्ण गोइत जो माओवादीको मधेशी राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष थिए, उनी माओवादीबाट अलग भएर तराई जनतान्त्रिक मोर्चा बनाएका हुन्। माओवादी र जनतान्त्रिक मोर्चा बीच एकले अर्कोलाई सिध्याउने तहमा टकराव देखिन्छ। त्यसैले देशव्यापी युद्धविराम गरेपनि सिरहा, सप्तरी र रौतहटमा जनतान्त्रिक मोर्चासँग माओवादीको लडाइँ जारी छ।

माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष महेन्द्र पासवान, 'हत्या, लुट र अपहरण जस्ता कार्यमा संलग्न मोर्चा सप्तरी–सिरहातिर सीमित रहेको' बताउँछन्। पासवानको भनाइमा, “मातृका यादवलाई अध्यक्ष बनाइएपछि असन्तुष्ट भएर गोइतले अर्को मोर्चा बनाएका हुन्।”

तर, गोइतको यो 'असन्तुष्टि' त्यति चानचुने छैन भन्ने खुलासा एउटा माओवादी दस्तावेजले गरेको छ। युवा विद्यार्थीको भेलामा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टी भित्र 'मधेश र थारूवान क्षेत्र एउटै हुनुपर्छ भनेर भारतले अनावश्यक खिचलो सिर्जना गरिदिएको' बताएका छन्। दस्तावेज (अखिल क्रान्तिकारीको मुखपत्र, योद्धा साउन २०६२) मा प्रचण्डले भनेका छन्, “थारूवान र पूर्वी तराई एउटै हुनुपर्छ भन्ने विषय भारतले उठाएको हो र हाम्रा केही साथीहरू विस्तारवादी षड्यन्त्रलाई नबुझिकन बगे।” प्रचण्डले भने झैँ यसरी बग्ने 'केही साथीहरू' मध्येका एक हुन् गोइत। जसले अहिले माओवादीले भने झैँ 'थारूवान' र 'मधेश' छुट्टाछुट्टै नभएर एकै हो भन्ने मुद्दा जोडतोडले उठाएको छ।

भेटेसम्म मोर्चाले पनि बाँकी राखेको छैन माओवादीलाई। उसको वक्तव्यमा, “माओवादीले सरकारी सेना सरह तराईमा लुटपाट र आतङ्क मच्चाएको” भन्दै “सेल्टर, खाना, चन्दा नदिएको आरोपमा सरकारी जासूस भनेर मधेशीको हत्या गर्ने काम गरेको” भनिएको छ। संयोजक गोइतको विज्ञप्तिमा यतिसम्म भनिएको छ, “घटनाक्रमले पुष्टि गरेको छ कि तराई मुक्ति आन्दोलन विरुद्ध भीषण नरसंहार मच्चाउने नेपाली शासक र माओवादी एउटै सिक्काका दुई पाटा हुन्।”

मोर्चासँगको भिडन्तलाई निरन्तरता दिने माओवादी नीतिप्रति नेपाल सद्भावना पार्टी (आनन्दी देवी) ले गहिरो चिन्ता प्रकट गरेको छ। पार्टीका सप्तरी सभापति धर्मनारायण रायको वक्तव्यमा “माओवादीको सो नीति देशमा विद्यमान मधेशी प्रतिको अभिजात शासक वर्ग पहाडी समुदायको अहङ्कारका रूपमा लिएका छौँ” भनिएको छ। रायद्वारा प्रकाशित सो वक्तव्यमा भनिएको छ, “माओवादीमा पनि पहाडी नेतृत्व रहेको र मधेशी पनि त्यसको गुलामीमा फसेको ठहर हामीले गरेका छौँ।” सद्भावना (आनन्दी देवी) राष्ट्रिय कार्यसमितिले मोर्चालाई पनि समान व्यवहार गरेर वार्तामा बोलाउन सरकारसँग आह्वान गरेको छ।

मोर्चाका नाममा पूर्वी तराईमा सञ्चालित गतिविधिको असर राजनीतिक दलहरूमा पनि पर्न थालेको देखिन्छ। सगरमाथा अञ्चलबाट एमालेको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने सुरेश कार्कीले भर्खरै भएको केन्द्रीय कमिटीको बैठकमा यसबारेमा छलफल चलाएका थिए। एमालेको सगरमाथा अञ्चल कमिटी सचिव सुमन प्याकुरेल भन्छन्, “मोर्चाका अहिलेसम्मका कामकारबाही पहाडे बोली र संस्कृतिमाथि हमला गर्नमा केन्द्रित छन्। यसलाई सरकारले बेलैमा गम्भीरतापूर्वक नलिने हो भने भोलि नसोचेको समस्या आउने छ।” तराईका जिल्लामा हरेक दल भित्र नेतृत्वका लागि पहाडे र मधेशी समुदायबीच प्रतिस्पर्धा चलिरहेको अवस्थामा मोर्चाका कार्यकर्ताले पहाडे माथि केन्द्रित गरेर त्यही दलभित्रका मधेशी कार्यकर्ताको भावना जित्न खोजिरहेका छन्।

मधेशका नाममा काठमाडौँको राजनीतिमा आफूलाई स्थापित गर्न धेरैले प्रयास गरेका छन्। वेदानन्द झादेखि गजेन्द्रनारायण सिंहसम्मले सिंहदरबारदेखि राजदरबारसम्म आफ्नो पहुँच र प्रभाव विस्तार गर्न विगतमा मधेश र मधेशी 'कार्ड' को प्रयोग गरे। राजनीति र शक्तिका दृष्टिले पद र पहुँचको उपल्लो तहमा पुगेका जयप्रकाश गुप्तादेखि माओवादी नेतृत्वमा पुगेर पनि मधेशी जनअधिकार फोरममा लागेका उपेन्द्र यादवसम्म अहिले 'मधेशको हित' लाई प्रमुख राजनीतिक नारा बनाउन अघि सरेका छन्। मधेशमा सशस्त्र सङ्घर्ष र मधेशी सेनाको कुरा गर्ने जयकृष्ण गोइत 'पहाडे विरोधी' गतिविधि गरेर मधेशमा जबरजस्ती उदाउन खोजिरहेका नयाँ पात्र हुन्। राजविराजका बुद्धिजीवी डा. अशोकानन्द मिश्र भन्छन्, “तराईलाई राजदरबार, सिंहदरबार मात्रै होइन पटना र दिल्लीले समेत उपयोग गरेका छन्। तर, मधेशका वास्तविक समस्याप्रति कसैलाई चासो छैन।”

वीरेन्द्र साह बारामा


को हुन् जयकृष्ण गोइत?

२०४२ सालसम्म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मानन्धर) का कार्यकर्ता रहेका जयकृष्ण गोइत २०४३ मा सप्तरी जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यका लागि जनपक्षीय उम्मेद्वार थिए तर चुनाव हारे। त्यसयता तत्कालीन माले हुँदै एमालेको सप्तरी पार्टी सचिव भइसकेका गोइत २०४८ र २०५१ मा एमालेबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेपनि विजयी हुन सकेनन्।

त्यसपछि 'कोशी सरोकार समूह' बनाएर कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका सर्वसाधारणको हितमा क्रियाशील गोइत सेनाको तर्फबाट स्थानीय समुदायमाथि भएका ज्यादती विरुद्ध क्रियाशील थिए। त्यही क्रममा उनी माओवादी सम्पर्कमा पुगे। मधेशी समुदायमा स्थापित गोइतलाई माओवादीले पनि तत्कालै माथिल्लो पदमा पुर्‍यायो। मधेश राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनबाट उनी अध्यक्ष छानिए।
तर, उनी त्यहाँ पनि टिकेनन्। आफ्नो वक्तव्यमा गोइतले भनेका छन्, “नेपाली शासकहरूले झैँ माओवादीले पनि जब तराईको मुक्तिको लागि उठेका बन्दूकमाथि खेलवाड गरे तब मैले प्रतिरोध कारबाहीको नेतृत्व गर्ने जिम्मेवारी सम्हालेँ।” अर्थात् गोइत २०६१ साउनदेखि माओवादीबाट अलग भए र बनाए 'जनतान्त्रिक तराई मुक्ति मोर्चा'। अहिले उनी त्यसको संयोजक छन्। २७ वैशाखमा अज्ञातस्थलबाट हिमाल सँग सम्पर्कमा आएका गोइतले 'आफू टेलिफोनमा केही भन्न नसक्ने' बताएका थिए।