हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

विदेशी आकाशमा नेपाली सुन्दरी

अनुशील श्रेष्ठ, दोहा, कतारमा


डम्बरकृष्ण श्रेष्ठ
एयरहोस्टेसत्रय हेमा श्रेष्ट, प्रज्ञा पन्त र नमिता कोइरला ।

उदितनारायण झा, रामकृष्ण ढकालदेखि नेपाली तारा दीपक लिम्बूसम्मका वनमाराले वनै खायो..., माया नगर्ने हैन?, मलाई तिमीले... जस्ता आधा दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोकी मोडल प्रज्ञा पन्तको धेरै समय अहिले आकाशमै बित्छ। नेपाली फेशन/मोडलिङको क्षेत्रमा चिनिएका उनीजस्ता धेरै सुन्दरीहरू अहिले कतार एयरवेजको अन्तर्राष्ट्रिय उडानका यात्रीहरूको स्वागत सत्कारमा तल्लीन छन्, राजधानीका फेशन शोको सट्टा आकाशमा उडिरहने बोइङमा क्याटवाक् गरिरहेका छन्। उडानपछिको समय लण्डन र पेरिसमा घुमेर बिताइरहेका छन्। बविता शर्मा, सिसिलिया गुरुङ, पिंकी शाह, अर्पणा श्रेष्ठ, वेदना महत लगायतका मोडलसँगै मिस नेपाल २००५ मा उत्कृष्ट तीनमा परेकी नुमा राईसमेत एयरहोस्टेस बनेर यसरी नै उडिरहेका छन्।

सिज द बम..., साँझ्मा पनि...आदि गीतको म्युजिक भिडियोमा देखिने मोडल बविता, बिहान उठ्ने बित्तिक्कै...की पिङ्की, झ्लझ्ली आँखामा... मा देखिने अर्पणा, अचानक आज के भयो... की सुन्दरी वेदनाको नयाँ दिनचर्या बनेको छ विमानयात्रीहरूसँगको नियमित सामीप्य। साइबर नेपाल डटकमकी 'हट' मोडल सिसिलिया कतार एयरवेजमा पछिल्लो समयमा थपिएकी नेपाली एयरहोस्टेस हुन्। आकाशमा उड्ने जागिर पाएर कतारको दोहामा बसाइँ सरेका सुन्दरीहरूको जीवनशैली पनि उसरी नै आकाशिएको छ।

मोडलिङमा चासो नै नराखेका वीरगञ्जकी हेमा श्रेष्ठ र विराटनगरकी नमिता कोइरालासहित दर्जनौँ नेपाली सुन्दरीहरू पनि एयरहोस्टेसका रूपमा आकाशमा उडिरहेका छन्। विश्वका ६९ देशमा उडान भर्ने प्रतिष्ठित विमान कम्पनी कतार एयरवेजमा एयरहोस्टेस बनेको ६ महिनाभित्रै आफू करीब तीन दर्जन देश पुगिसकेको प्रज्ञा बताउँछिन्। भन्छिन्, “एयरहोस्टेस बन्ने सानैदेखिको चाहना थियो। शुरुमा नेपालमै नेकोन, कस्मिकतिर लागुँला भन्ने आशा थियो। अन्तर्राष्ट्रिय उडानको कल्पनै गरेकी थिइनँ।”

यी सुन्दरीहरूको फुर्सदको दिन भने कतारको गर्मीमा बित्छ। तर, दोहाको ४५ डिग्रीको तापक्रमले उनीहरूलाई छुँदैन। दोहामा रहेको कतार एयरवेजको आवासीय भवनका सुविधासम्पन्न क्वाटरमा बस्छन् उनीहरू। आवतजावतका लागि वातानुकूलित गाडी, तारे होटलको खाना अनि उडानपिच्छेको भत्तासँगै लाख रुपैयाँको हाराहारीमा मासिक तलब छ। आम नेपालीले सोचेभन्दा फरक छ उनीहरूको दिनचर्या।


फुर्सदको क्षणः कतार एयरवेजमा कार्यरत नेपाली एयरहोस्टेसहरू सामूहिक जमघटमार्फत् नेपालमै भएको अनुभव सँगाल्छन्।

काठमाडौँको एक फर्ममा एकाउण्टेन्टको काम गर्दागर्दै एयरहोस्टेस बन्न आइपुगेकी वीरगञ्जकी हेमा आफ्नो कामलाई 'रमाइलो जब' ठान्छिन्। उनी भन्छिन्, “एकदम मज्जा आउँछ। आज विश्वको एक ठाउँमा, भोलि अर्को कुनामा पुगिन्छ, घुम्न पाइएको त छ नै, 'पर्सनालिटी डिभलप' समेत भइरहेको महसूस गरेकी छु।” विराटनगरकी नमिता कोइरालाले आफ्नै खुट्टामा उभिने चाहना एयरहोस्टेस बनेर पूरा गरेकी छन्। भन्छिन्, “केही सेवामूलक क्षेत्रमा काम गरुँ, करिअर बनाउँ भन्ने रहर थियो।” ६ महिनाअघि पत्रिकामा छापिएको विज्ञापन देखेर प्रतिस्पर्धामा उत्रिएकी नमिता आफूहरूले पाएको यो आकर्षक जागिरलाई नसोचेको कुरा ठान्छिन्। विराटनगरबाट अन्तर्राष्ट्रिय आकाशसम्मको यात्रा तय गर्न उनले अरूसरह दुई दुई पटक लिखित परीक्षा र अन्तर्वार्ताको चरण पार गर्नुपरेको थियो।

पाँच वर्षअघि चितवनको सिनर्जी एफएमबाट रेडियो एङ्कर बनेकी प्रज्ञा पन्तले राजधानीमा टाइम्स एफ.एम., इमेज टिभीमा भिडियो जकीसँगै मोडलिङमा राम्रै अनुभव सँगालेकी छन्। कर्णदासको राष्ट्रिय गीत आमा भनी रुन पाउँ... र नेपाली तारा दीपक लिम्बूको माया नगर्ने हैन... गीतको म्युजिक भिडियोको निर्देशकसमेत हुन् उनी। लिम्बूले गाएको अलोकश्रीको सङ्गीतको यो गीत उनैले लेखेकी हुन्। बहुप्रतिभाशाली प्रज्ञा उडानपछि कतारमा बसेको समयमा नेपालीहरूले आयोजना गर्ने सांस्कृतिक कार्यक्रममा उद्घोषण गर्न समेत भ्याउँछिन्। भन्छिन्, “एयरहोस्टेस त केही समयका लागि न हो। मेरो क्षेत्र त त्यही मिडिया र मोडलिङ नै हो।”

६ महिनाअघि कतार एयरवेजले नेपालीहरूका लागि एयरहोस्टेसको आवश्यकताको सूचना प्रकाशित गरेपछि धेरै युवतीहरूको सपना पूरा भएको छ। अहिले कतार एयरवेजमा मात्र ६ दर्जनभन्दा बढी नेपाली एयरहोस्टेसहरू छन्। एक दर्जन नेपाली युवतीहरू कतार एयरवेजअन्तर्गत कष्टमर एभिएशन सर्भिसमा संलग्न छन्। यो सेवामा काठमाडाँैकी अनुषा श्रेष्ठ, रिंकी श्रेष्ठ, पल्पसा नकर्मी, अनु मिश्र, मन्दिरा लोप्साङ, एञ्जिला भुटिया, शिखा सुब्बा, जैनव भट्ट, नेपालगञ्जकी पिङ्की प्याकुरेल दोहामा कार्यरत छन्। उनीहरूले एक वर्षअघि काठमाडौँमा भएको छनौटपछि पाँच वर्षका लागि रोजगारी पाएका हुन्।

नेपालीहरूसँगै कतार एयरवेजमा भारतीय, चिनियाँ, श्रीलङ्काली, थाई, फिलिपिनो, रोमेनियाली, अरबी, केन्याली सुन्दरीहरू एयरहोस्टेसका रूपमा कार्यरत छन्। उनीहरूले वर्षमा ३० दिन बिदा पाउँछन्। यस अतिरिक्त उडानका क्रममा अमेरिका, युरोपका देशमा कहिलेकाहीँ चार–पाँच दिनसम्म विश्राम गर्न पाउँछन्। त्यो समय तारे होटलको बसाइँ, घुमघाम र सपिङमै उनीहरूको दिन बित्छ। प्रज्ञा भन्छिन्, “काठमाडौँमा परेको बेलामा चाहिँ म समय मिलाएर म्युजिक भिडियो बनाउने र मोडलिङ गर्ने ध्याउन्नमै हुन्छु।”


सङ्गीत

आज भोलि भीम बिराग

आज–भोलि हरेक साँझ् मात्तिन थालेछ...
तिमीले पनि म जस्तै माया दिएर हेर....
फूलै–फूल मात्र पनि हैन रै'छ जीवन...


डम्बरकृष्ण श्रेष्ठ

स्वरसम्राट नारायणगोपाललाई नेपाली गायनको उच्चतम बिन्दुमा पुर्‍याउने केही गीतमध्येमै पर्छन् भीम बिरागका यी गीत। नेपाली सङ्गीत क्षेत्रमा तीनदशकदेखि छाएका यी र यस्तै सदाबहार गीतका स्रष्टा भीम बिरागलाई भेटेपछि थाहा हुन्छ उनले आफैँले भोगेका, महसूस गरेका पीडा कसरी गीतमा पोखेका रहेछन्। ७२ वर्षीय गीतकार बिराग भन्छन्, “मैले अरूका गीत लेख्नै भ्याएको छैन, सबै गीत मेरै मुटुभित्रको पीडा हो, आफ्नै कथा र व्यथाको वर्णन हो।” तर उनको पीडा पोखिएका गीतहरू अरूका लागि मल्हम बनिरहेका छन्।

बाह्र वर्षकै उमेरमा शारीरिक कमजोरी (कुप्रोपन)को शिकार बन्नु परेकाले माया–प्रेममा आफूले पटक–पटक तिरस्कृत र अपमानित हुनुपरेको तीतो अनुभव सुनाउँदै उनी भन्छन्, “दुःख–पीडा बाहेक मैले जीवनमा अरू केही पाइनँ। २२/२४ को उमेरमा दुई हात घुँडामा राखेर कुप्रिएर हिँड्नु पर्दा कस्तो पीडा हुन्छ? त्यो मैले भोगेको छु।” कतिको दयालाई माया–प्रेम सम्झ्ेर आफैँले पीडा खेप्नु परेको अनुभव सम्झँदै उनी त्यो बेलामा लेखेको गीत गुन्गुनाउँछन्– 'तिमीले पनि म जस्तै माया दिएर हेर...'। आफ्ना गीत–सङ्गीतप्रति उनको अलग्गै धारणा छ, “जीवन–शैली र समाजसँग मिल्छ मिल्दैन भनेर म हेर्दिनँ, मैले आफ्नै लागि लेखेको हुँ। कृत्रिमता जान्दिनँ, गीतमा मैले आफ्नी प्रेयसीलाई जूनतारा ल्याइदिन्छु भनेर कहिल्यै भनेको छैन।”

वीरगञ्जमा जन्मी, हुर्किएका बिराग २०२६ सालदेखि हेटौँडामा बस्दै आएका छन्। बुबा तुलसीबहादुर भजन लेख्ने भएकाले सानैदेखि उनले मन्दिरमा बुबासँगै गाउँथे। घरको वातावरणमा जे पायो त्यही सिके, सार्वजनिक पुस्तकालयमा भेट्टाएजति पुस्तक पढेर उनले देश–दुनियाँ बुझ्े। साहित्य र सङ्गीत आफ्नै प्रयासबाट सिकेका बिराग गीत लेखन र सङ्गीत सृजनासँगै गायनमा पनि उत्तिकै सशक्त छन्। २०२२ सालमा वीरगञ्ज सांस्कृतिक परिषदको अध्यक्ष समेत रहेका बिरागले त्यहीबेला वीरगञ्ज आएका गायक नारायणगोपाललाई भेटेका थिए। पछि दाजुभाइको जस्तै सम्बन्ध भएको नारायणगोपाललाई उनको शब्द र सङ्गीत निक्कै मन पर्थ्यो। नारायणगोपालले “भीम बिरागको सबै गीत मै गाउँछु, अरू कसैलाई नदिनू” भनेको उनी सम्झ्न्छन् तर बिरागका तीन भन्दा बढी गीत उनले गाउनै पाएनन्।

भीम बिरागकोे आफ्नै रचना, स्वर र सङ्गीतमा दुःखेको मुटु र चर्चित गायक/गायिकाहरूको स्वरमा कलेक्सन अल्बमको रूपमा दुःखेको इन्द्रेणी रहेको छ। राजधानीबाट टाढा रहेका कारणले पनि माग अनुसार लेख्न र सङ्गीत सृजना गर्न नसकेको उनको अनुभव छ। साहित्य र सङ्गीतकै लागि आफू जन्मेको जस्तो लाग्छ उनलाई। आफ्नै पीडा पोखेर गीत/सङ्गीत सृजना गरेपनि आफूलाई गीतले नै उठाएको बताउँछन्। उनका गीत, गजल, कथा, कविता सङ्ग्रह, खण्डकाव्य र महाकाव्यहरू समेत प्रकाशित छन्। नारायणी साप्ताहिक पत्रिकाको सम्पादनसँगै साहित्यिक पत्रकारितामा उनको लामो अनुभव रहेको छ। कवितामा सशक्त ढङ्गबाट प्रस्तुत हुने भीम बिराग गीतमा भने सधैँ दुःखी, पीडितकै रूपमा प्रकट हुने गरेका छन्। उनका सिर्जनामाथि टिप्पणी गर्ने क्रममा समालोचक कृष्णचन्द्रसिंह प्रधानले भनेका पनि छन्, “कवितामा भीम र गीतमा बिराग।”

कतिपय नेपाली सञ्चारमाध्यमहरूले गीतकार सङ्गीतकारको नाम नभन्ने गरेकोमा गुनासो पोख्दै उनी भन्छन्, “हामी जस्ता सृजनाकर्मीको त्यागलाई मिडियाले जरैदेखि काटेर फालिदिएको छ। पैसा नदिउन्, सम्मान नगरुन् तर नाम त भनिदिउन् न।”
दुई महिनाअघि नेपालयको पलेँटीमा गीत गाउन काठमाडाँै आउँदा ७२ वर्षे भीम बिरागको जोश २७ नकाटेको ठिटौले नै थियो। जीवनको आरोह अवरोहसँगै जीवनसाथीको रूपमा अनुदेवी श्रेष्ठलाई पाएपछि एक छोरी आभासहितको उनको परिवार अहिले सुखद् छ। तरपनि उनलाई बितेका पीडादायी पलहरूले छाडेका छैनन्, कवि हृदयले भोगेका पीडा र मान्छेहरूबाट पाएका तिरस्कारका पलहरू खोतली नै रहन्छ।

आफू रोएर अरूलाई हँसाउनेहरू देखेँ
अरूमाथि हाँस्नेमाथि हाँस्नेहरू देखेँ ....।

अनुशील


विविध

स्रष्टाको सहयोग अभियान


किरण पाण्डे
विक्रम सुब्बा

'अब पालो खबरदारीको!'– लोकतान्त्रिक आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट 'हैँसे' गर्ने कला, साहित्यकर्मीहरू अहिले गीतसङ्गीत, कविता र चित्रहरूमार्फत् यसै भन्न थालेका छन्। जनताको विजयमा उनीहरू उत्साहित छन्। र, लोकतान्त्रिक उपलब्धिलाई कुनै पर्खालले छेक्न नपाओस्, कुनै आतङ्कले छोप्न नसकोस् भनेर चिन्तित पनि। २६ वैशाखमा राजधानीको गुरुकुलः स्कुल अफ थिएटरमा आयोजित एकल कविता प्रस्तुतिमा कवि विक्रम सुब्बा भन्दैथिए, “ऊ नमरेपछि होशियार, जातजातका माछाहरू होशियार!” “उज्याला नाराहरूलाई कोठा– कोठामा पस्न देऊ” जस्ता आग्रहसहित कवितामार्फत् गणतन्त्रको खेती गरिरहेका सुब्बालगायतका केही स्रष्टाहरूले जनआन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि सहयोग जुटाउने अभियान थालेका छन्। गुरुकुल, हिमाल एशोसिएशन, किराँत लेखक संघ र नेपाल कविता डट कमद्वारा आयोजित 'विक्रम सुब्बाका एकल कविता प्रस्तुति' त्यो अभियानको एउटा पाटो थियो।

नाट्यसंस्था आरोहणले 'चित्रकलामा जनआन्दोलन' शीर्षकको कार्यशाला नै आयोजना गर्‍यो। उद्देश्य थियो, शहीदका परिवारहरूलाई सहयोग जुटाउने। किरण मानन्धर, रमेश खनालले अगुवाई गरेको सो कार्यशालामा करीब ९० वटा क्यान्भास रङ्गाइए। तिनमा कलाकारले चित्र र लेखक–कविहरूले 'खबरदारी' का शब्दहरू कोरे। र, तिनको बिक्रीबाट एक हप्ताभित्रै रु.४० हजार ५ सय उठाइयो।
यो अभियानमा हातेमालो गर्न गायक आभासले एक साँझ् गुरुकुलको प्रेक्ष्यालयमा 'पलेँटी' कसे। अर्को साँझ् अमृत गुरुङको नेतृत्वमा सङ्गीत समूह 'नेपथ्य'ले आफ्ना लोकप्रिय गीत सुनायो। नेपालय र गुरुकुलको आयोजनामा भएका यी दुवै कार्यक्रमको लक्ष्य पनि उस्तै थियो– सहयोग जुटाउने। कवितावाचन, चित्रकला र साङ्गीतिक कार्यक्रममार्फत् गुरुकुलले रु.१ लाख १० हजारभन्दा बढी उठायो। त्यसको आधा अंश २०४६ सालको जनआन्दोलनका घाइते तारा खड्का (जो अझै अस्वस्थ छन्) लाई दिइयो, साहित्यकार, कलाकारहरूको शुभेच्छास्वरूप। बाँकी रकम महजोडीको अगुवाईमा स्थापित सहयोग कोषलाई हस्तान्तरण गरियो। आरोहणको यो अभियानलाई साथ दिन १३ र १४ जेठमा गायक रामेश र शास्त्रीय सङ्गीत समूह 'सुकर्म' ले गुरुकुल प्रेक्ष्यालयमै साङ्गीतिक कन्सर्ट आयोजना गर्ने भएका छन्।


'यलमाया क्लासिक'

शास्त्रीय सङ्गीत–पारखीहरूका लागि खुसीको खबर बनेको छ– पाटनढोकास्थित यलमाया केन्द्रको मासिक कार्यक्रम 'यलमाया क्लासिक'। महिनाको एकपटक शास्त्रीय सङ्गीतका विविध सिर्जनाहरूलाई श्रोतासमक्ष प्रस्तुत गर्ने उद्देश्यले यलमाया केन्द्र र इन्टरनेशनल म्युजिक सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको साङ्गीतिक जमघटले शास्त्रीय सङ्गीतको संरक्षण सम्बर्द्धन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमका एक संयोजक जीवन आलेका अनुसार, हरेक महिनाको दुई गते साँझ् ६ बजे आयोजना हुने कार्यक्रम सशुल्क हुनेछ। एक वर्षसम्मका लागि सहभागी सङ्गीतज्ञहरूको निर्क्योल भइसकेको छ।

२ जेठमा आयोजना हुने 'यलमाया क्लासिक' को पहिलो शृङ्खलामा डा. ध्रुवेशचन्द्र रेग्मीको 'सुकर्म' समूहले शास्त्रीय र लोकसङ्गीतको 'फ्युजन' युक्त विभिन्न सिर्जना प्रस्तुत गर्ने भएको छ।


लोकतान्त्रिक देउडा


किरण पाण्डे

देउडा समाजले सुदूर तथा मध्यपश्चिमाञ्चलको महत्वपूर्ण चाड 'विसु पर्व' को सन्दर्भ पारेर २२ वैशाखमा काठमाडौँमा 'लोकतान्त्रिक देउडा'को आयोजना गर्‍यो। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न विसु उत्सवमा देखिएको सांस्कृतिक उल्लास राष्ट्रिय सभागृह परिसरभरि देउडाका विभिन्न भाकाहरूमा अभिव्यक्त भएको थियो।

सो अवसरमा लोकतान्त्रिक योद्धा छायादेवी पराजुली, साहित्यकार फणीन्द्रराज खेताला, हिमाल खबरपत्रिकाका सम्पादक राजेन्द्र दाहाल, चिकित्सक डा. महेन्द्रबहादुर मल्ल र गायिका कविता आलेलाई आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदानका लागि अभिनन्दन गरिएको थियो। सम्पादक दाहाल कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो।


कराते छाडेर कम्प्युटर प्रोग्रामिङ


किरण पाण्डे

२५ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर सिकेका निर्मल सेढाइँ आफ्नै लगन र मेहनतबाट पाँच वर्षभित्रै 'डाटाबेस प्रोग्रामर' बनेका छन्। साथीको घरमा कम्प्युटरले चेस खेलेको देखेर कम्प्युटर सिक्ने रहर जागेपछि 'बेसिक प्याकेज' सिक्न गएका निर्मल अहिले 'प्लाज्मा टेक' नामक आफ्नै सफ्टवेयर कम्पनी खोलेर करीब एक दर्जन युवालाई रोजगारी दिइरहेका छन्। कामको सिलसिलामा कहिले दिल्ली, ढाका पुगिरहेका उनी कहिले स्वदेशमै सरकारी उच्च अधिकृतहरूलाई कम्प्युटर प्रशिक्षण दिइरहेका भेटिन्छन्।

कम्प्युटर सिक्दासिक्दै नेकोन एअरमा सिस्टम एडमिनिस्ट्रेटर बनेका निर्मलले उक्त एअरलाइन्स बन्द हुनुअघिसम्म कम्प्युटर डाटाबेस प्रोग्रामिङमा निकै दखल हासिल गरे। हालैमात्र कस्मिक एअरका लागि 'अनलाइन रिजर्भेशन' को सफ्टवेयर बनाएको उनको कम्पनीले अत्याधुनिक र कठिन डाटाबेस ल्याङ्गवेज मानिने अर्‍याकल मा आधारित सफ्टवेयरहरू उत्पादन गर्दछ। वर्षमा रु.१५ लाख जतिको सफ्टवेयर उत्पादन गर्ने प्लाज्मा टेकले नेपालका अग्नि एअर, काठमाडौँ ट्रेड सेन्टर, ब्लुक्रस नर्सिङ होम, एब्सोल्यूट बार, एल्डर फर्मास्यूटिकल्स तथा बाङ्लादेशका बेस्ट एभिएसन (कार्गो) र योङ–वन फ्लाइट डिपार्टमेन्टका लागि सफ्टवेयरहरू बनाएको छ। शुद्ध रूपमा नेपालमै बनाइएको सफ्टवेयर विदेश निर्यात गर्ने उनको जस्तो कम्पनी एक–दुई वटा मात्रै छन्।

नेपाली कम्पनीहरूमा आइटी शाखालाई बोझ्को रूपमा हेर्ने गरिएकोे गुनासो गर्दै निर्मल भन्छन्, “त्यसैले गर्दा अहिलेसम्म हामी अन्तर्राष्ट्रियस्तरमा पुग्न नसकेका हौँ। तर अब त नेपालीहरूमा पनि आत्मविश्वास बढ्दै गएको छ।” अमेरिकाको एक भारतीय कम्पनीले राखेको रोजगारीको प्रस्तावलाई अस्वीकार गरेका निर्मल यहीँ बसेर अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर बनाउन सकेमा बढी सन्तुष्टि हुने बताउँछन्। आफूले बनाएको नगद पाँच लाख भन्ने टीभी कार्यक्रमको 'क्वीज डाटाबेस' अरूको नामबाट प्रचार गरिएको पाउँदा भने उनलाई एकदमै चित्त दुखेको छ। व्यावसायिकता र स्वस्थ प्रतिस्पर्धा हुन सके सफ्टवेयर उत्पादन र कम्प्युटर रोजगारीमा नेपालको भविष्य निकै उज्ज्वल हुने उनको विश्वास छ। उनको भनाइमा, भविष्यमा नेपालीहरूलाई भारतले नै आइटीमा राम्रो रोजगारी दिनसक्छ।
निर्मल करातेका कुशल खेलाडी पनि हुन्। करातेको सितेरियो ब्ल्याक बेल्टसम्म हात पारेका उनी २०४७ सालमा जनकपुरमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन बने भने सन् १९९१ र १९९२ मा एसियाली र दक्षिण एसियाली च्याम्पियनशीपमा समेत भाग लिन पुगे। तर त्यसपछि भने उनले खेललाई निरन्तरता दिन सकेनन्, करिअरले अचानक कम्प्युटर प्रोग्रामरको बाटो समात्यो।

सुरेशराज न्यौपाने


कतारमा 'नाई मलाई ...'


डम्बरकृष्ण श्रेष्ठ

कतारको दोहास्थित टाइसर कम्पनीको पेट्रोलपम्पमा सात महिनायता एकाउण्टेन्ट रहेका गायक प्रकाश पौडेलले आफू अभिनित चलचित्र नाइँ मलाई केही चाहिँदैन भर्खरै कतारमै हेर्न पाए।

नाइँ मलाई त्यही केटी चाहिन्छ... भन्दै रुञ्चे गीत गाएर नेपाली सङ्गीत क्षेत्रमा चिनिएका पौडेल नायक भएको पहिलो चलचित्र मितेरी क्लब, कतारको आयोजनामा २१ वैशाखबाट प्रदर्शन शुरु हुँदा रोजगारीका लागि देश छाडेर आएका नेपाली दर्शकले आफ्नै गाउँघर सम्झ्िए। राम्ररी बोल्न नसक्ने लठेब्रो गाउँले ठिटोले गाउँ र शहरमा भोग्नुपर्ने समस्या, आफन्तको हेपाइ अनि उसको सपना, कल्पनालाई समेटेर बनेको हास्यप्रधान नेपाली चलचित्र हेर्न दोहाको अमीर सिनेमाहल आएका दर्शकहरू भन्दै थिए, “कथाले हँसाएन मात्रै, गम्भीर समेत बनायो।”

चलचित्रको छायाङ्कन लगत्तै कतार आएका थिए गायक प्रकाश। यसअघि कतारका नेपाली माझ् स्टेजमा गीत गाएर मात्र प्रस्तुत भएका प्रकाशले यसपटक चलचित्रबाट अभिनय देखाउन पाएकोमा खुशी व्यक्त गरे। चलचित्र प्रदर्शनका क्रममा कतार आएका चलचित्रका निर्माता तथा पत्रकार अनुशीलले डिजिटल प्रविधिमा साथीहरूसँग मिलेर कम लगानीमा बनाएको चलचित्रको बढ्दो मागले उत्साहित बनाएको बताए। अनुशीलका अनुसार, कतारपछि नाइँ मलाई ... को प्रदर्शन हङकङमा गर्न लागिएको छ। आयोजक मितेरी क्लब, कतारका अध्यक्ष ज्योति रानाभाट नेपाली चलचित्र सीडीमा प्रशस्तै आएपनि कतारका सिनेमा हलमै नेपाली चलचित्र हेर्न हत्तपत्त नपाइने बताउँछन्। चलचित्र प्रदर्शनबाट उठेको रकमबाट नेपालका जनआन्दोलनका घाइतेहरूलाई समेत सहयोग गर्ने लक्ष्य आयोजकहरूले राखेका छन्।

रवि भट्ट, कतारबाट