हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
रविन साय्मि

मुहूर्त

 

 


भनेको/सुनेको

“हामी प्रतिनिधिसभालाई अनिश्चितकाल–सम्म निरन्तरता दिने पक्षमा छैनौँ। तर माओवादी समस्या वार्ताद्वारा समाधान नभएसम्म यसले निरन्तरता पाउनुपर्छ।”

माधवकुमार नेपाल, महासचिव, नेकपा एमाले
दि काठमाडौँ पोष्ट, २७ वैशाख २०६३

“राजा प्रधानमन्त्री बन्ने धारा कहाँ छ? त्यस्तालाई अझै राख्ने? तीन पटक प्रधानमन्त्री भएको म, दुई पटक राजाबाट खोसिएँ, अब प्रधानमन्त्री बन्ने भनेपछि लाज भइसक्यो, म अब श्री ५ भन्न पनि चाहन्न।”

शेरबहादुर देउवा, पूर्व प्रम प्रतिनिधिसभाको बैठकमा बोल्दै
१७ वैशाख २०६३


अङ्क र अर्थ

१ सेमी आर्थिक सम्पन्नतासँगै खानपिनमा आएको सुधारका कारण गएको १५ वर्षमा चिनियाँ महिलाको छातीको औसत आकार १ सेमीले बढेर ८३.५३ सेमी पुगेको छ।

१९ संविधानसभा र १९ अङ्कको संयोग अनौठो छ। १९ माघ २०१४ मा राजा महेन्द्रले संविधानसभाको चुनाव खारेज गरे। १९ माघ २०६१ को राजा ज्ञानेन्द्रको कदमले देशलाई संविधानसभामा पुर्‍याउने १९ दिने आन्दोलन जन्मायो र यी १९ दिनमा १९ जना शहीद भए।

स्रोतः डब्ल्यूएचओ


हिँड्दा-हिँड्दै

काङ्ग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य विजयकुमार गच्छेदार दुवै काङ्ग्रेसका केही व्यक्तिले पार्टी एकीकरण हुन नदिइरहेको आरोप लगाउँछन्।


किरण पाण्डे

के गर्दै हुनुहुन्छ?
पार्टी एकताको निम्ति सक्रियतासाथ लागिरहेको छु।

एकता हुन्छ त?
हुनैपर्छ। प्रजातन्त्रका लागि काङ्ग्रेस एकता अपरिहार्य छ। दुवै काङ्ग्रेसका ८० प्रतिशतभन्दा बढी कार्यकर्ता पार्टी मिल्नुपर्छ भन्ने पक्षमा छन्। कार्यकर्ताहरूको यो भावनाको कदर गर्न एक नभई सुखै छैन।

को–कोबीच कुरा भइराखेको छ त?
विभिन्न तहका नेता तथा कार्यकर्ताहरूमाझ यसबारे कुरा भइराखेको छ। सुशील, रामचन्द्र, चक्र, महेश, अर्जुन, खुमबहादुर, शशाङ्क, सुजाता, गोविन्दलगायत धेरै एकताको पक्षमा हुनुहुन्छ। यस्तै हामीतिर पनि धेरै मिल्नुपर्छ भनेर लागेका छौँ।

किन मिल्न सकिरहेको छैन त?
दुवैतिरका केही नेताहरू 'देखावटी' रूपमा एकताको कुरा गर्छन्। वास्तवमा तिनीहरू पार्टी एक होस् भन्ने चाहँदैनन्। दुवैतिर रहेका यस्ता द्वैध चरित्रधारीहरूका कारण एकतामा बाधा परिरहेको छ।

एक हुने भन्दाभन्दै तपाइँहरूको संसदीय दलसमेत विभाजन भइसक्यो नि!
बदलिँदो परिस्थितिमा नेपाली काङ्ग्रेसले राजनीतिक निर्णयका आधारमा संसदीय दलको मान्यता पाएको हो। तर पार्टी एकता मुलुक र प्रजातन्त्रको आवश्यकता हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले काङ्ग्रेस एकताको महत्त्वलाई जरुरी ठानिसकेको छ।

कहिलेसम्म एकता होला?
५/६ महिनामा पार्टी एकता भइसक्नुपर्छ। दुवै काङ्ग्रेसबीच सम्मानजनक एकता हुन्छ भन्ने कुरामा म पूर्ण आशावादी छु।

मिलेन भने के गर्नुहुन्छ?
मिल्नुपर्छ, मिलेन भने त्यत्तिकै नेपाली काङ्ग्रेसमा जाने कुरा भएन।