हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

शाही शासनः तहसनहस खेलकुद क्षेत्र


किरण पाण्डे

असोजतन्त्रसँगै नेपाली खेलकुदमा शुरु भएको राजावादीहरूको आधिपत्य अब समाप्त हुने विश्वास धेरैले गरेका छन्। दूरदर्शी योजना, उत्साहजनक खेल नतिजाहरुभन्दा पनि भ्रष्टाचार, आर्थिक अनियमितता, आन्तरिक विवाद र विभाजनका घटना नै हावी रहे यी चार वर्षमा।

२०५९ माघमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा नियुक्त किशोरबहादुर सिंहको अधिकांश कार्यकाल ओलम्पिक कमिटीसँगको विवादमा नै बित्यो। आफैँले ओलम्पिक कमिटीको उपाध्यक्षमा बस्न राजी भएर हस्ताक्षर गरेका सिंहले सरकारको आडमा बखेडा झिकेपछि नेपाली खेलकुदका दुई वर्ष ओलम्पिक कमिटीको विवादमै बितेको हो।

नेपाल एथलेटिक्स संघको आन्तरिक विवादका कारण रविराज कर्णिकारलाई सरकारले एयरपोर्टबाटै गिरफ्तार मात्र गरेन, मानसिक यातना दिँदै महासचिव पदबाट राजिनामा दिन बाध्य पार्‍यो। अमेरिकामा सञ्चालित अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दीपक श्रेष्ठलाई सहभागी गराएको कारण सोतोकान कराते संघ (एसकेआईएफ) विघटन गरियो। सो स्पर्धामा श्रेष्ठले स्वर्णपदक हात पारेका थिए।

पूर्वाग्रहबाट बाल खेलाडी समेत बचेनन्। टोरन्टोमा सञ्चालित अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा छनोट भएका एन्जल आचार्यलाई एयरपोर्टबाट फर्काएर रमेश कार्कीलाई पठाउने निकृष्ट कार्य राखेपले गर्‍यो। टेनिस संघका एसके सिंह तथा शरच्चन्द्र शाहको सम्बन्धका कारण सदस्यसचिव सिंहले कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकेको जानकारहरू बताउँछन्।

केही आश लाग्दो प्रदर्शन गर्न थालेको क्रिकेटमा नेपाल क्रिकेट एसोसिएसन (क्यान) को अधिकांश समय पनि विवादमै रह्यो। नेपाल क्रिकेट संघका पूर्व सदस्य तारकमणि दीक्षितका अनुसार भ्रष्टाचारको रिपोर्ट सार्वजनिक हुन लागेको समयमा संघ पुनर्गठन गरेर राखेपले भ्रष्टाचारलाई संस्थागत गर्न पछि परेन। अध्यक्ष जयकुमारनाथ शाह तथा तत्कालीन सचिव लक्ष्मण बास्तोलाले बोर्डको बैठकमा छलफल नभइकनै प्रतितपत्रमार्फत् सामान झिकाउने बहानामा भ्रष्टाचार गरेका थिए। यति मात्र होइन, बजारमा रु.२२ हजार पर्ने सिङ्गल म्याटको भा.रु.१ लाख ६० हजारको नक्कली बिल तयार पार्नु, अध्यक्षले भैपरी आउँदा रु.१ लाख ५० हजारसम्म मात्र खर्च गर्न पाउने व्यवस्था भएपनि रु.१६ लाखभन्दा बढीको कारोबार व्यक्तिगत तवरले गर्नु, ३५ प्रतिशत भन्सार महसुलको नाममा रकम खर्च भएको देखिए पनि भन्सार तिरेको सक्कली बिल नदेखिनुले भ्रष्टाचारको सीमा नै नाघेको प्रस्ट थियो।

४० वर्षदेखि तदर्थवादमा चलेको नेपाली क्रिकेटको बेथिति र विसङ्गति बारेका हरेक मुद्दा फेरि पनि उठ्ने कुरा क्यानका पूर्व सदस्य उपेन्द्र भट्टराई बताउँछन्। भट्टराई भन्छन् “हामीलाई बर्खास्त गर्दा ती सम्पूर्ण मुद्दाहरू सामसुम हुन्छन् भन्ने नसोचे पनि हुन्छ”। नेपालले एसिया कप क्रिकेट खेल्न पाएको अधिकार पनि अध्यक्षको कमजोरीको कारण गुमेको उनको दाबी छ।

त्यही हविगत रह्यो फुटबल खेलको पनि। प्रशासकहरू खेलकुद विकासभन्दा पनि दरबारिया चाकडीमा व्यस्त रहे। दक्षिण कोरियामा आयोजित एसिया कप छनोट फूटबल खेलमा आयोजक टोलीसँग नेपालले १६ गोलको बेइज्जती व्यहोर्नु परेको थियो। यति मात्र होइन नियम, शक्तिको आडमा टिक्ने एन्फा अधिकारीहरूले फूटबलतर्फ तीन वटा विभागीय टोलीलाई ए डिभिजन क्लबको रूपमा स्थापित गराउँदै ए डिभिजनका अन्य टोली माथि अन्याय गरे। त्यसो त कार्यालयको इमेल तथा पोष्ट बक्स समेत अध्यक्षले व्यक्तिगत रूपले चलाउनुले अखिल नेपाल फूटबल संघ विधिको आधारमा होइन शक्तिको आडमा चल्ने संस्था हो भन्ने पुष्टि भइसकेको छ।

नयाँ सरकार बनिसक्दा पनि राखेपले ४० जना आफ्ना मानिसलाई भर्ना गर्ने र तिनलाई बढुवा गर्ने प्रयास गरिरह्यो। निर्णय क्षमता तथा कार्यदक्षता नभएको सदस्यसचिवका कारण विगत चार वर्षमा नेपाली खेलकुद ध्वस्त भएको नेपाल आइटीएफका अध्यक्ष कृष्णबहादुर बलाल बताउँछन्। भन्छन्, “पर्दा पछाडिबाट देशका सबैभन्दा खराब मानिसले चलाएको खेलकुद क्षेत्रले राम्रो काम गर्ने सम्भावना थिएन।” लाखौँ रुपैयाँ विना कारण खर्च गर्ने खेलकुद अधिकारीहरूले पाकिस्तानमा सञ्चालित नवौँ दक्षिण एसियाली खेलकुदमा सम्पूर्ण प्रशासकहरूले हवाईयात्रा गरे भने खेलाडीहरूलाई रेलको यात्रा गराउन समेत पछि परेनन्। परिणामतः नवौँ साफ खेलकुदपछि दक्षिण एसियाली क्षेत्रमा मार्सल आर्टस्को पावरहाउसको रूपमा परिचित नेपालको साख ध्वस्त भयो।

पछिल्लो समयमा आएर खेलकुद संघहरूको औपचारिक विभाजन समेत हुन पुग्यो। अखिल नेपाल तेक्वान्दो संघको गठनसँगै तेक्वान्दो खेल औपचारिक रूपमा विभाजित हुनपुग्यो भने बुद्धिचाल संघको पनि बुद्धिचाल समन्वय परिषद्को रूपमा समानान्तर संघ गठन भयो। पूर्वाग्रह र मनोमानीका कारण उत्पन्न विद्रोह स्वरुप ती संस्थाहरू औपचारिक रूपमा विभाजन भएका हुन्।

नयाँ नेतृत्वका सामु भ्रष्टाचार र चाप्लुसीलार्ई ठेगान लगाई नेपाली खेलकुदलाई सही दिशा प्रदान गर्ने कठिन चुनौती रहेको छ। तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री तथा एन्फाका कोषाध्यक्ष अनुयाज गौतम नयाँ नेतृत्व गिरोहवादी प्रवृत्तिको पञ्जाबाट मुक्त भए मात्र खेलकुदको विकास हुनसक्ने बताउँछन्। गौतम भन्छन्, “राखेप षड्यन्त्रकारी समूहको चङ्गुलबाट मुक्त हुनुपर्छ।”

मनोज घिमिरे