हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

वि.सं. २०३३ मा अधिवक्ताका रूपमा युवा रायमाझी।

मीन बज्राचार्य

निर्भिकताको निरन्तरता

न्यायप्रतिको निष्ठा, मानवअधिकारको सम्मान, व्यावसायिक निर्भिकता र दायित्व निर्वाह गर्ने क्षमता– सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजङ्ग रायमाझ्ीका गुणदोष केलाउनेहरू यिनै खुबीलाई उनको 'शक्ति' भन्छन्। त्यही गुणले अहिले उनलाई एउटा गहन जिम्मेवारी दिलाएको छ– शान्तिपूर्ण जनआन्दोलनमाथि भएका दमन र ज्यादतीको छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय छानबिन आयोगको नेतृत्व गर्ने। आयोगको अध्यक्ष पदका लागि निर्विवाद छानिएका ६८ वर्षीय रायमाझ्ी र उनका सहयोगी सदस्यहरूले पहिलो बैठकबाटै 'बोल्ड' निर्णय गरेर निर्भिकताको परिचय दिएका छन्। कस्तो लागिरहेको छ यो जिम्मेवारी? “चुनौतीपूर्ण”, रायमाझ्ी भन्छन्, “हामी छानबिनमा क्रियाशील भइसकेका छौँ। जनइच्छाअनुसार आफ्नो भूमिका निर्वाह गर्न पछिपर्दैनौँ, ढुक्क भए हुन्छ।”

करीब डेढ दशक सक्रिय कानुन व्यवसायी, त्यसपछि क्षेत्रीयदेखि सर्वोच्च अदालतसम्मको दुई दशक लामो न्यायिक अनुभवले उनलाई सधैँ जिम्मेवार बनिरहने हिम्मत दिलायो। सर्वोच्च अदालतको न्यायाधीशबाट मङसिर २०५९ मा स्वेच्छिक अवकाश लिएका रायमाझ्ी चुपचाप बसेनन्। नागरिक समाजको एक सचेतकका रूपमा सक्रिय भइरहे। सरकार–माओवादी युद्धविरामको समयमा रामेछापको दोरम्बामा भएको सैनिक ज्यादतीको अनुसन्धान र सत्यतथ्य सार्वजनिक गर्ने निर्भिक टोलीका अगुवा उनै थिए। केही समययता नागरिक शान्ति आयोगका संयोजकका रूपमा समेत नागरिक अधिकारको वकालत गर्दै आएका रायमाझ्ीको अर्को विशेषता मानिन्छ– उनको निष्कलङ्क छवि। निकटवर्तीहरू भन्छन्– उनी न्यायिक 'करिअर' मा कहिल्यै विवादमा आएनन्। सार्वजनिक जीवनमा पनि वद्नाम भएको सुनिएन।

गणितमा स्नातकोत्तर, कानुनका स्नातक रायमाझी शुरुमा इञ्जिनियर बन्न चाहन्थे तर कोलम्बो प्लान छात्रवृत्ति नपाएका कारण त्यो धोको पूरा नभएपछि कानुन व्यवसायीका रूपमा उनी चार दशकअघि अदालत प्रवेश गरे। पाल्पा– भैरवस्थानबाट उठेर जीवनका धेरै सिँढी उक्लँदै उच्चस्तरीय छानबिन आयोग हाँक्न आइपुग्दा आफ्नो दृढता अरू बढेको अनुभव गरेका छन् उनले। आयोगको जिम्मेवारी निर्भिकताको अर्को परीक्षा पनि हो उनका लागि। सबैको कामना छ– यो दृढता, जाँगर नसुस्ताओस्।