| •
कदी |
 |
इतिहासमा
युद्धका साइत
म्यासेडोनियाका राजा,
महान सिकन्दर (अलेक्जाण्डर) ग्रहगति मिलाएर लडाइँका लागि प्रस्थान
गर्थे रे। हाम्रा पृथ्वीनारायण शाह पनि साइत हेरेर हिँड्थे लडाइँ गर्न।
जङ्गबहादुरले पनि भोटमा हमला गर्दा पटकपटक साइत पारी फौज चलान् गरेको
त्यसै अर्थमा बुझन सकिन्छ। बरु, बुझन गाह्रो केमा पर्छ भने नेपाली
(गोर्खाली) फौज भोट हान्न ६ मोर्चाबाट गएको रहेछ। एकैचोटि ६ मोर्चा
किन खोल्नुपर्यो बुझन सकिन्न। पूर्वमा ओलाङचुङदेखि पश्चिममा हुम्लासम्मबाट
सेना भोट पसेका देखिन्छन्। र, सबतिरबाट जाने पल्टनका भिन्नाभिन्नै
साइत निकालिएको रहेछ। जस्तो जुम्लाबाट मेजर जनरल कृष्णध्वज कुँवर राणाको
कमानमा बरख पल्टन गएको छ। त्यसको प्रस्थानको साइत यस्तो छ– १९१२ साल,
“...वैसाषका दिन ११ जाँदा. सुदि ६ रोज १ दिन रात घटि १० पला ५३ जाँदा
जुमलाबाट ताक्लाषार तरफ मेजर जनरल कृष्णध्वज कुँवर राणाजि वरष पल्टन
समेत रवाना भयाको सायेत्-”। अचम्म केमा लाग्छ भने जुम्लाबाट हिँड्ने
साइत मात्र हेरेको होइन त्यस पल्टनले भोट (तिब्बत) पस्ने साइत पनि
लेखिराखेको छ, यस्तो– “वैसाषका दिन २२ जाँदा ज्येष्ठ वदि १ रोज ५ मा
रात्रि गत घटि १८ पला १७ जाँदा. जुमलाबाट रवाना भयाको पल्टन परभूमि
प्रवेशको सायेत्-” अर्थात् जुम्लाबाट हिँडेको ११ दिनपछि राति त्यो
पल्टन साइत गरी भोट भित्र छिर्यो।
६अै तिरबाट गएका पल्टनको 'परभूमि प्रवेश' को तेरिज
दिइएको छैन, केहीको छ। जस्तो १९११ चैत ८ गते हिँडेको मुस्ताङतिरको
फौजलाई परभूमि प्रवेश गर्ने साइत थियो १९१२ साल वैशाख २ गते दिन घटि
पला ११ मा। त्यस्तै छ जङ्गबहादुर स्वयंको झुँगामा प्रवेश गर्ने साइत।
त्यो विवरण नै पढ्नु चाखलाग्दो होला। लेखेको छ―
“(१९१२ साल) वैसाषका दिन १९ जाँदा वैसाष सुदि १४ रोज
२ का दिन गत घटि ३ मा श्री प्राइम्मिनिष्टर यान कमाण्डरइनचीफ जनरल
जंगबहादुर कुँवर राणाजि श्री जनरल भक्तवीर कुँवर राणाजि श्री ५ सरकारमा
बिदा भया–१ येस दिन घटि ११ पला २५ जाँदा थापाथलीबाट रवाना भयाको सायेत्–१
ज्येष्ठका दिन ९ जाँदा ज्येष्ठ सुदि ५ रोज २ मा दिन
घटि ९/४५ मा झुँगामा श्री प्राइम् मिनिष्टर प्रवेश भयाको सायेत्–१”
यति मात्र पनि होइन। 'सबै पल्टनका निसान् कोतमा राष्याको सायेत्' र
'... तोप हिडायाको सायेत्' पनि हुँदोरहेछ। १९११ साल फागुन १५ गते सबै
पल्टनका निसान कोतमा राखेको, भनेकोले त्यो लडाइँका लागि कुच गर्ने
भनेको होला। अनि कुती केरुङतिर तोपहरू पनि त्यसै दिन प्रस्थान भएछन्।
तर कुती र केरुङबाहेक अरू कुनै मोर्चामा पनि तोप पठाएको साइत उल्लेख
गरिएको छैन। हुम्ला, मुस्ताङमा पनि २/४ वटा तोप पुगेका देखिन्छन् तर
ती 'साइत' जुराएर गएका होइनन्। शायद त्यतै पहिलेदेखि नै हुँदा हुन्।
बुझन सकिने गरी यसमा यी ६ तिरका मोर्चामा जाने फौज
पल्टनका नामहरू दिइएका छन्। कमाण्डर या सेनापति भएर जानेको नाम सबैतिर
खोलिएका छैनन्। जस्तो जुम्ला, हुम्लातर्फबाट जाने पल्टनको नाइके मेजर
जनरल कृष्णध्वज कुँवर राणा थिए। तर मुस्ताङ लामुबगर र ओलाङचुङतिर सेनानायक
भएर को गए थाहा हुँदैन। कुती र केरुङतिर जाने धेरै जना जर्नेल कर्नेलहरूको
नाम दिइएको छ। वास्तवमा जङ्गबहादुरले भोट हान्दा कुती र केरुङतिर नै
बढी ध्यान दिएको देखिन्छ। केरुङतिर पैले उनले आफ्ना भाइ मिनिष्टर जनरल
बमबहादुरलाई नै पठाएका थिए। तर बमबहादुर सञ्चो नभई फर्केपछि जङ्गबहादुर
आफैँ नै त्यसतर्फ हिँडेका देखिन्छन्१९१२ साल वैशाख १९ गते।
साइतका कुरा गर्दा के देखिन्छ भने कुती र केरुङतर्फ
फौज हिँड्नलाई एउटै साइत दिएको छ (फागुन २३ गते) चैत वदि २ रोज् २
रात्रि घटि २३, पला ५७ जाँदा। अनि दुवै पल्टनलाई परभूमि प्रवेशको साइत
पनि एकै दिएको छ। यसरी– “चैत्रका दिन ३ जाँदा चैत्र वदि ११ रोज ४ मा
कुतिकेरुङतिर. दिन गत घटि ५ पला ११ जाँदा. भोट मुलक प्रवेशको सायेत्-”
अब, यी साइतको तिथिमितिका कुरा अलिकति पन्छाएर भोटयुद्धमा
कति जति सैन्य सञ्चालन भए त्यतातिर ध्यान दिनु रमाइलो होला। भनिसकियो
जङ्गबहादुरले भोटमा आक्रमण गर्न ६ वटा नाका खोलेका थिए। तर उनको मुख्य
शक्तिप्रयोग चाहिँ कुती र केरुङतिर नै थियो। देखिसक्यौँ हामीले तोप
र मोटार जस्ता हतियार पनि दुई मोर्चामा बढी पठाइएका छन् अरूतिर कम
छन्। सेना पनि केरुङतिर १५ पल्टन र ३ कम्पनी गरी १२४६५ जना पुगेका
छन्। कुतीतिर ७ पल्टन र १ कम्पनी गरी ४४८० जवान पठाइएका छन्। जबकि
मुस्ताङ, हुम्लातिर १०००/१२०० जति मात्र छन्। यद्यपि, त्यता मुस्ताङी,
जाजरकोटे र सल्यानी राजाहरूबाट पनि २/३ हजार जवान सैनिक लडाइँका लागि
लिइएका देखिन्छन्।
केरुङको मोर्चामा त भोटे सिपाही पनि १०/१२ हजार तैनाथ
भएका देखिन्छन्। लेखेको छ, “भारी पनि वोकन्या तीर पनि हांन्या भोट्या
१००००। वोझ्िदार षजाना उठाउन्यावाला २०००”। यी त भए लडाइँका कामका
जवानहरू। लडाइँमै नचाहिए पनि अरू कामलाई पनि प्रसस्तै मान्छे चाहिन्छन्
मोर्चामा। केरुङ मोर्चामा त्यस्ताको सङ्ख्या पनि ठूलो छ। “श्री प्राइम्मिनिष्टर
लगायत सिपाहीहरूका बोझ्िवाला ५०००” र त्यसभन्दा पनि पत्याइनसक्नुको
सङ्ख्या छ केरुङ मोर्चामा बिना ज्याला र मन्जुरी काम गर्ने 'झारा'
कामदार। लेखेको छ, “रसद उठाउन्या वोझिदार नेपालदेषी भैस्या. भैस्यादेषी
केरुङसम्मका झ्ाराली २२५००”। अर्थात् रोजरोजै (१/१ दिन) बिना पैसा
काम गर्ने दैनिक भरिया सवा दुई लाख पुगेका थिए केरुङ मोर्चामा मात्र।
झ्ारा गर्ने भनेको त्यसबेलाको चलनचल्ती नै थियो, जमिन्दार बिर्तावालले
पनि लिने या लिन पाउने। आज विचार गर्दा भने यो अमानवीय लाग्छ– मानवअधिकारको
उल्लङ्घन सरह।
भोट युद्ध हुँदा सबैजसो फौज उतै गएको देखिन्छ भने राजधानीको
रक्षा कसले गर्यो त? यसमा खुल्दुली लाग्छ। तर त्यहीं लेखिएको छ– 'नेपालमा
रहन्या पल्टन ६ र कम्पनी ८' अनि 'तर्यानिमा रहन्या पल्टन २ र कम्पनी
३' समेतका गरी जम्मा ७ हजार जति सैनिक जवान तैनाथ रहेछन्। यहाँ 'नेपाल'
भनेर काठमाडौँ र 'तर्यानि' ले तराई वा मधेशलाई सङ्केत गरिएको हो कि?
अहिलेलाई अनुमान मात्र गरौँ।
|