हिमाल खबरपत्रिका  
पूर्णाङ्क १७१ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

चिठी

जनता नै जनार्दन

'जनताको जय होस्' (हिमाल आवरण, १६–३० वैशाख) उत्साहप्रद र आशलाग्दो लाग्यो। स्वतःस्फूर्त रूपमा निस्किएको जनसागरका सामु निरङ्कुशताले घुँडा टेक्यो। निश्चय नै दल–माओवादीबीचको बाह्रबुँदे समझ्दारीप्रति जनताले आश देखाएका कारणले नै अहिलेको जनआन्दोलन सफल भएको हो। जनता विजयका पात्र भएका छन्। तर उद्देश्य अझ् पूरा भएको छैन। सात दल–माओवादी दुवै पक्षले बाह्रबुँदे समझ्दारीप्रति प्रतिबद्ध रही सफलतापूर्वक संविधानसभाको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र शान्तिको स्थापना गर्नु नै जनताप्रतिको वफादारी र देशको हितमा छ।

नरेन्द्र पण्डित, जानकी पण्डित
कल्लेरी–५, धादिङ्ग

जनआन्दोलनको उद्देश्य र यथार्थबीचको सन्तुलनको अनुभव गराउँदै ऐतिहासिक घटनाको उच्च मूल्याङ्कन गरेकोमा हिमाल को सराहना गर्दछु। हिमाल लाई मेरो एउटा सुझ्ाव पनि छ– राजा, दल र माओवादीमध्ये कसले पहिला इमान्दारीसाथ जनतासमक्ष गल्ती स्वीकार गर्न थालेका हुन्, त्यो पनि आन्दोलनकारी पाठकहरूलाई सुसूचित गर्न बिर्सनुहुँदैन।

दामोदर पौड्याल
झ्म्सीखेल–२, ललितपुर


तारालाई नबिर्सौं

१६–३१ वैशाखको हिमाल को 'मुहूर्त' मा प्रकाशित रविन साय्मिको कार्टुन–चित्रमा 'जनआन्दोलन भाग १' तिर छापिएको रेखाचित्र जनआन्दोलन २०४६ ताकाको चर्चित फोटोको प्रतिरुप हो। राजाको सालिक ढाल्न चढेका ती वीर युवा आजसम्म जिउँदै छन् तर घरको न घाटको भएर।

२०४६ सालको जनआन्दोलनको उत्कर्षको दिन २४ चैतमा दरबारमार्गस्थित राजा महेन्द्रको सालिक ढाल्न नौ जना सुरवीर युवाहरू अघि सरेका थिए। प्रहरीले गोली दाग्यो। नौ जनालाई गोली लाग्यो। आठ जना त्यहीँ ठहरै भए तर एक जना गोली लागेर पनि मरेनन्। ती व्यक्ति हुन् तारा खड्का। गोली लागेका तारालाई प्रहरीले उठाएर अस्पताल पुर्‍याउनुको साटो यातनागृह पुर्‍यायो। तारालाई निर्मम यातना दिइयो। उनको जिब्रो काटियो। जीउभरिका छाला छियाछिया हुने गरी चक्कुले चिरियो र नूनखुर्सानी दलियो। मुखबाट घाँटीसम्म तार छिराएर करेन्ट लगाइयो। त्यसपछि मर्‍यो भनेर बाग्मतीको किनारमा लगेर मिल्काइयो। ललितपुरतिरबाट आइरहेका केही आन्दोलनकारीले तारालाई देखेर वीर अस्पताल पुर्‍याए। त्यहाँ उनको पूरा उपचार हुन नसक्ने भयो।

त्यही घटनामा एक जना विदेशी पत्रकारलाई पनि गोली लागेको थियो। तिनै पत्रकारले तारालाई अमेरिका पुर्‍याए उपचार गराउन। अमेरिकाबाट उनी बाँचेर फर्के तर अपाङ्ग भएर। ताराको एउटा खुट्टा काट्नु पर्‍यो। जिब्रो पनि कृत्रिम प्रत्यारोपण गरिएको छ। हातको नाडीको हाड पनि काम नलाग्ने भएर स्टिलको सेट जोडिएको छ। शरीर टालटुल पारे पनि ताराको मानसिक स्थिति ठीक हुन सकेन। रातमा पुलिस पुलिस भनेर कराउने र तोडफोड गर्न थाल्ने, छतबाट हाम्फाल्ने गर्छन् उनी। अमेरिकाबाट फर्केपछि काठमाडौँमा भएको एउटा घर पनि बेचेर उपचारमा लगाए। त्यतिले पनि नपुगेपछि आफ्नो छोरा भारतीय व्यापारीलाई बेचिदिए। उनी भन्छन्, “छोरा बेच्ने बेला मेरो मानसिक अवस्था ठीक थिएन।”

विकलाङ्ग शरीर र विक्षिप्त मानसिक अवस्थाका कारण उनी काम गरेर जीविका चलाउने हालतमा रहेनन्। जनआन्दोलनपछि बनेका सरकार र पार्टीका नेताहरूसँग उनले सहयोगको याचना नगरेका होइनन्। तर, कसैले सहयोग गरेनन्।

अहिले तारा खड्काको जीवन भूपि शेरचनको कविता जस्तै भएको छ– “मरेर जाने शहीदहरू हो, बाँचेर त हेर, बाँच्न कति कठिन छ।”

जनआन्दोलनका शहीदका परिवार र घाइतेहरूलाई सहयोग दिने कुरा भइरहेको बेला जिउँदा शहीद तारा खड्कालाई पनि सरकारले सम्झ्िनुपर्छ। हिमाल मा काटुर्निष्टको प्रेरणास्रोत बनेका ताराका बारेमा सञ्चारजगतले थप सोधखोज गरोस् भन्ने मेरो आग्रह छ।

मदन छारापाने,
गोलबजार, सिरहा


ढिलै भए पनि....

'चिहान खोतल्ने सुरसार' (रिपोर्ट, १६–३१ चैत) ले देशमा मानवअधिकारको भयावह स्थितिको वास्तविक चित्रण गरेको छ। देशले झेलिरहेको असहज परिस्थितिमा समेत नागरिक हक, अधिकारका पक्षमा संवेदनशील हुनुपर्ने तत्कालीन राज्यपक्ष आफैँ मानवअधिकारको घोर उल्लङ्घनकर्ता भएको रिपोर्टले स्पष्ट गरेको छ।

ढिलै भएपनि राष्ट्रिय मानवअधिकार आयोगले शुरु गरेको बेपत्ता नागरिकहरूको खोजी गर्ने, मारिएकाहरूको पहिचान गर्ने कार्य प्रशंसनीय छ।

रञ्जित खड्का
त्रियुगा नगरपालिका–१४, उदयपुर


गजल

खबरदार नेता होश गर्ने बेला आएको छ
अरू हैन जनतासँगै डर्ने बेला आएको छ।

जति गर्‍यौ गल्ती पाप, नदोहोर्‍याई रतिभर
माफ पायौँ वैतरणी तर्ने बेला आएको छ।

जनताले जीवन दिए, पालो अब तिम्रो नै हो
कुर्ची मोह त्यागी ऋण भर्ने बेला आएको छ।

दायाँबायाँ हैन सुन जनबाटो स्पष्ट छ
समावेशी लोकतन्त्र छर्ने बेला आएको छ।

कहिल्यै नि नओइलाउने मखमली फूल जस्तै
खाका नयाँ नेपालको कोर्ने बेला आएको छ।

डा. रविन खड्का
मनिपाल शिक्षण अस्पताल, पोखरा


सच्याइएको

हिमाल को गताङ्कमा प्रकाशित फोटोफिचर (जनमार्ग २०६३) मा रहेको यो तस्बिरका फोटोग्राफरको नाम योहाइनिस आर जेपेन हुनुपर्नेमा अन्यथा छापिएकाले सच्याइएको छ। –सं