हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट तन्नेरी

भीर'जङ्गलमा हुइकिँदै

अमित राजकर्णिकार।

खोलाको ढुङ्गे बगर, गोरेटो'घोडेटो बाटो, अनकण्टार जङ्गल र भीरको यात्रा! त्यो पनि मोटरसाइकलमा! हो; फुर्सद हुनासाथ तन्नेरीहरूको एउटा समूह शहरका चिल्ला र आसपासका नागबेली सडक छाडेर राजधानी वरिपरिका डाँडा छिचोल्ने साहसिक यात्रामा निस्कन्छ। यसै क्रममा उनीहरूले मोटरसाइकलमै काठमाडाँैदेखि जोमसोमसम्मको यात्रा पनि पूरा गरेका छन्।

काठमाडाँै, बौद्धका पासाङ शेर्पा (२२) को ध्यान जहिल्यै आˆनो ३५० सीसीको एक्सआर जापानिज होण्डा मा हुन्छ। फुर्सद हुनासाथ उनी महिनामा तीन पटकसम्म पनि 'बाइकर्स' साथीहरूका साथ मोटरसाइकल लिएर हुइकिहाल्छन्। उनी भन्छन्, “यसरी बाइकमा घुम्दाको रोमाञ्च नै अर्कै हुन्छ, शक्ति बढेको महसूस हुन्छ।” पाँच वर्षअघि क्याम्पसका एक साथीको जापानिज होण्डा देखेर उनले बुबालाई कर गरेर साढे तीन लाख रुपैयाँमा त्यस्तै सेकेण्ड ह्याण्ड बाइक किन्न लगाएका थिए।

चार वर्षअघि साढे तीन लाखमै पासाङकै जस्तो बाइक किनेका ललितपुर, बालकुमारीका अमित राजकर्णिकार (२८) को दिनचर्या पनि उस्तै छ। अमित भन्छन्, “नदेखेको ठाउँ देख्न पाइन्छ। यसरी बाइकमा घुम्दा अरू गाडीको त काम नै छैन जस्तो लाग्छ।” ग्राफिक डिजाइनिङ, चलचित्र र सङ्गीत जस्ता उनका अरू सोखहरूलाई 'बाइकिङ्ग' ले उछिनेको छ। डेढ वर्षअघि मात्र २५० सीसीको एक्सआर लिएर साथीहरूसँग भीर र जङ्गल चहार्न थालेका काठमाडौँ, विशालनगरका अद्वैत श्रेष्ठ (२२) यसरी घुम्न जाँदा शुरुमा डर लागे पनि पछि सजिलो हुँदै गएको बताउँछन्।

पासाङ शेर्पा, जोमसोममा।

पासाङकै सिको गरेका अद्वैत भन्छन्, “अरूले कुदाएको देख्दा कुदाउँ'कुदाउँ लाग्थ्यो, अहिले बानी लागेपछि छाड्नै मन लाग्दैन।” राजधानीका पासाङ शेर्पा, अमित राजकर्णिकार र कविन श्रेष्ठले चार वर्षअघि तीन जनाको समूह बनाएर उपत्यका वरिपरिका डाँडा चहार्न शुरु गरेका हुन्। अहिले यो समूहमा १८ जना पुगिसकेका छन्।

अष्टे्रलिया, बेलायत, थाइल्याण्ड, अमेरिकालगायतका देशहरूमा 'बाइक राइडिङ' लाई व्यावसायिक रूपमै साहसिक खेल र पर्यटनका रूपमा लिने गरिन्छ। महङ्गो पुरस्कारसहित बाइकर्स प्रतियोगिता हुन्छन्। अमेरिकाका न्यू मेक्सिको र क्यालिफोर्निया राज्य 'बाइक राइडिङ' का लागि अरू ठाउँ भन्दा बढी चर्चित छन्।

रोमाञ्चक यात्रा
सबैजसो बाइकर्सलाई तिनका परिवारले मोटरसाइकल कम गतिमा कुदाउन सम्ाउँछन्। तर, उनीहरूलाई लाग्छ जोखिम मोलेर नै रोमाञ्चक अनुभव हासिल गर्न सकिन्छ। अमित भन्छन्, “मान्छे हिँड्दाहिँड्दै पनि त मर्न सक्छ नि! भीरमा चिप्लिएर खस्ने खतरा त हुन्छ नै तर यसको मज्जा कुदाउनेलाई नै थाहा हुन्छ।”

किरण पाण्डे
सुशील शेर्पा

भीर र जङ्गलको यात्रामा चिप्लो, भिरालो बाटो भएकाले लड्नु स्वाभाविक भएपनि हालसम्म कसैलाई घाउ'चोट नभएको पासाङ बताउँछन्। अद्वैतको अनुभवमा मोटरसाइकलको बनावट र लचकताका कारण पनि यो सुरक्षित छ। उनी भन्छन्, “पहिले काठमाडाँै रिङरोड भित्रै कतिपटक लडेर घाउ'चोट लागेको थियो, अहिले त्यसरी लडेकै छैन।”

उपत्यका आसपासका डाँडा, भीर, खोँच र जङ्गलमा यी बाइकर्सले नयाँ'नयाँ यात्रा रुट बनाएका छन्। यिनले पटक'पटक बूढानीलकण्ठ-नारायणथान-चिसापानी-सुन्दरीजल-नगरकोट-नाला-'बनेपा-पनौती-लुभ'-गोदावारी-टीकाभैरव-भैसेपाटी-बौद्ध रुटका जोखिमपूर्ण बाटोको यात्रा गरिसकेका छन्। गएको २२ असोजमा पासाङ र उनका साथीहरू प्रताप गुरुङ, सचितपाल वैद्य, पाल्देन लामा र इजरायली युवक चिकोमन बेलाले काठमाडाँैबाट जोमसोमको मोटरसाइकल यात्रा गरेका थिए। काठमाडौँबाट तातोपानी र खासाहुँदै तीन दिनमा जोमसोम पुगेर त्यहाँका भीर र डाँडाहरूमा बाइक दौडाउँदै अरू तीन दिन बसेको पासाङ बताउँछन्। “हामीले देशका अरू ठाउँलाई पनि अˆनो गन्तव्य बनाउने सोचेका छौँ”, उनी भन्छन्।

पासाङ शेर्पाले राजधानीमा बाइकर्स नेपाल प्रालि भन्ने कम्पनी नै स्थापना गरेर आˆनो सोखलाई 'एडभेञ्चर टुरिज्म' को व्यवसायमा बदल्न लागिपरेका छन्। युवाहरूले आˆनै देशका भीर'पाखा र मनोरम दृश्य अवलोकन गरेर आˆनो ठाउँलाई बुझ्न सकून् भनेर संस्थागत एवं व्यावसायिक रूपमै लागेको उनी बताउँछन्। यसरी मोटरसाइकल चढेर डाँडा र जङ्गल घुम्न चाहने स्वदेशी तथा विदेशीहरूलाई शेर्पा र उनका साथीहरूले एकदेखि तीन दिनसम्मको भ्रमण गराउन थालेका छन्' प्रति दिन नेपालीलाई रु.१५ सय र विदेशीलाई १२० अमेरिकी डलर (रु.८ हजार) लिएर। पासाङका अनुसार, यसरी डाँडा'जङ्गल घुम्न चाहनेलाई बाइक र खानेकुरा त्यही खर्चमा उपलब्ध गराइन्छ। यात्रामा भेटिने गाउँका विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम र स्टेशनरीहरू वितरण गर्ने पनि उनको योजना छ।

किरण पाण्डे
अद्वैत श्रेष्ठ, पासाङ शेर्पा, मनचिन श्रेष्ठ, सुशील शेर्पा र अमित राजकर्णिकार।

तन्नेरीहरूले शुरु गरेको समूह बनाएर घुम्ने यो यात्रामा अधबैँसेहरू पनि आकर्षित हुनथालेका छन्। हालै मात्र बूढानीलकण्ठबाट सुन्दरीजल, चिसापानी, साँखु हुँदै बौद्धसम्मको यात्रा गरेका विशालनगरका ५५ वर्षीय शशि राणाले तन्नेरीहरूसँग हुइकिँदा एकदमै रमाइलो अनुभव सँगालेका छन्। शशि भन्छन्, “म जस्तो उमेर ढल्कँदै गएकोलाई त यस्तो मज्जा आउँछ भने तन्नेरीहरूलाई न् कस्तो होला?” सोखका लागि मोटरसाइकल लिएर निस्कने यी युवाहरूको कामले मानिसमा प्रकृतिप्रतिको मोह बढाउनुका साथै साहसिक पर्यटन प्रबर्द्धनमा योगदान पुर्‍याउने उनी देख्छन्। भन्छन्, “सरकारीस्तरबाट उनीहरूलाई प्रोत्साहित गर्दै एडभेञ्चर टुरिजमको सुविधा र सहुलियत दिइनुपर्छ।”

यस्तो यात्रामा प्रयोग हुने बाइकहरू आम मोटरसाइकलभन्दा फरक हुन्छन्। यस्ता बाइकलाई विदेशतिर पनि डाँडा, खोला र भीरहरूतिर कुदाउन नै प्रयोग गरिन्छ। २०० देखि ३५० सीसीसम्मका यस्ता मोटरसाइकल नेपालमा थोरै छन्। विशेषगरी सिङ्गापुर, हङकङ, बेलायतबाट फर्केका लाहुरेहरूले यी मोटरसाइकल नेपाल भियाउने गरेको पाइन्छ। साढे तीन लाखदेखि सात लाख रुपैयाँ पर्ने यस्तो मोटरसाइकलको भन्सार शुल्क मूल्यको १६० प्रतिशतसम्म भएकाले रहर हुनेहरू सबैले किन्न नसक्ने पासाङ बताउँछन्। भन्छन्, “धेरै लाहुरेहरूले छुट्टीमा आउँदा ल्याउँछन् र फर्केर जाँदा रु.७ लाख पर्ने बाइक तीन'साढे तीन लाखमै बेचेर जाने गरेका छन्।”

मोटरसाइकलका पार्टपुर्जा पनि महङ्गो हुने र विदेशबाटै मगाउनुपर्ने समस्या छ। प्रति लिटर १५ देखि ३० किलोमिटर माइलेज भएका यस्ता मोटरसाइकलका लागि सामान्य मर्मत खर्च मासिक रु.१५ सय जति लाग्छ। तर, कम्तीमा तीन लाखको मोटरसाइकल चढेर घुम्ने यी तन्नेरीका लागि 'बाइक राइडिङ' मा पाउने रोमाञ्चक अनुभव अमूल्य छ।

डम्बरकृष्ण श्रेष्ठ