हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

राजाले बजाए बाजा

मौकामा चौका जसले पनि हान्न खोज्छ, हान्छ। राजा ज्ञानेन्द्रलाई पनि त्यो मौका मिल्यो अनि हाने चौका। प्रजातन्त्र नामको जुन बाजा राजा ज्ञानेन्द्रले यसपटक ५७ औँ प्रजातन्त्र दिवस मनाउने बेलामा बजाए त्यो पुरानो बाजा हो' उनको बाजेकै पालादेखि सबै राजाहरूले बजाउँदै आएका।

राजा त्रिभुवनले राणाहरूको पञ्जाबाट उम्केर दिल्ली गई त्यहाँबाट फर्केपछि सबभन्दा पहिले त्यो बाजा बजाएका थिए २००७ सालमा। संविधानसभाको चुनाव गर्ने कुरा उनकै मुखारविन्दबाट निस्केको हो, सबैभन्दा पहिले। त्यसपछि त्यो बाजा राजा महेन्द्रले बजाए जसले आˆनो एकलौटी अधिकार भएको राज्यव्यवस्था ल्याए। अनि उनको शेषपछि राजा वीरेन्द्रले त्यही बाजा बजाइरहे। राजा ज्ञानेन्द्रले विरासतमा पाएको बाजा त्यही थियो। भने' हाम्रो हजुरबुबा, बुबा र दाजीले सधैँ प्रजातन्त्रको मर्यादा राखिबक्सेको थियो। हामीले जे गर्‍यौँ त्यो पनि प्रजातन्त्रको रक्षार्थ थियो।

पहिले शाह राजाहरू राणा प्रधानमन्त्रीहरूका कैदी थिए। त्यस कैदबाट फुत्कन उनीहरूले प्रजातन्त्रको दुहाई दिए, जनतालाई गुहारे। आफू कैदबाट मुक्त के भए राणा वंशसित मिलेर फेरि नेपाली जनतालाई नै कैदी बनाए। यो सबै गर्दा उनीहरूले प्रजातन्त्रको रटान कहिल्यै छाडेनन्। पञ्चायती व्यवस्था पनि निर्दलीय प्रजातन्त्र कहलिन्थ्यो।

न राजाहरूले प्रजातन्त्र भन्न छाडे न त फागुन ७ गतेका दिन देशले प्रजातन्त्र दिवस मनाउनै कहिल्यै छाड्यो। राजाका मुखमा बाहेक देशमा प्रजातन्त्र हुँदो हो त २०४६ को जनआन्दोलनको दर्कार किन पर्थ्यो? मुलुकमा साँच्चिकै प्रजातन्त्र बहाल भएको हुँदो हो त जनआन्दोलनको दोस्रो संस्करण केलाई चाहिन्थ्यो?

'प्रजातन्त्र' भन्ने शब्द त हातमा खेलाउँदा खेलाउँदा सिल्पट भइसकेको मोहरजस्तो भइसकेको थियो। त्यही भएर कतै नचल्ने त्यस बेकम्मा प्रजातन्त्र नामको सिक्कालाई मिल्काएर जनता लोकतन्त्रपट्टि लागे र जनआन्दोलनको दोस्रो भागलाई सफल बनाइछाडे।
त्यसलाई बिर्सिएर सरकारलाई मनाउन पर्‍यो उही २००७ सालमा शुरु भएको 'प्रजातन्त्र दिवस', त्यो पनि तीन'तीन दिन लगाएर। 'साउनमा आँखा फुटेको गोरु' भन्ने उखान यस्तै सधैँ हरियो देखिरहनेका लागि बनेको हो। अर्थ र औचित्य दुवै गुमाइसकेको त्यस्तो दिवसलाई राष्ट्रिय चाडका रूपमा अै मनाइरहनुको के तुक?

अहिले त लोकतन्त्र दिवस पो मनाउनुपर्ने हो। अ खासमा भन्ने हो भने 'गणतन्त्र दिवस' मनाउने बेला हो यो। तर त्यसो गर्न हुति नपुग्ने अनि प्रजातन्त्र दिवस भने मनाउनुपर्ने!

यो त केही होइन, टेलर मात्र हो साथी हो! राजाबाट नयाँ वर्ष २०६४ को 'प्रजातान्त्रिक शुभकामना' थाप्न अहिल्यैबाट तयार रहनुहोस्। आफैँले किस्तीमा राखेर मौका टक्र्याउने अनि राजाले जानेको बाजा किन नबजाउने?

नयाँ नेपाल
अनुहार उही, रूप उही, खोपडी उही, खोपडीभित्रको थलथले वस्तुको मात्रा उही, चालढाल उही, सोच्ने ढङ्ग उही, बेहोरा उही, ताल उही। किस्नेलाई कृष्ण भनेर के हुन्छ?

पात्र उही, रङ्गमञ्च उही, निर्देशक उही, कथावस्तु उही, पर्दा उही, नाट्यशाला उही। नाटकको शीर्षक फेरेर के हुन्छ?
सङ्गीत उही, धुन उही, गायक उही, स्वर उही, वाद्यवृन्द उही, रेकर्डिङ उही, गीतको बोल उही, क्यासेट उही, सीडी उही। त्यसको नाम अर्कै राखेर के हुन्छ?

मोमो उही, मोमोको मासु उही, बनाउने हात उही, पकाउने मोक्तो उही, टेबुल उही, कुर्सी उही, पसल उही, पसलको साहुजी उही। साविकको टेस्टी मोमो पसलको नाम अगाडि 'न्यू' थपेर 'न्यू टेस्टी मोमो' भन्दैमा के हुन्छ?

हिजोसम्मको नेपाल अबदेखि 'नयाँ नेपाल'रे! नामको अघिल्तिर नेपालीमा नयाँ र अङ्ग्रेजीमा 'न्यू' लेख्ने यो फर्मूला कुनै नौलो आविष्कार होइन। कर छल्न साहु महाजनदेखि खुद्रे व्यापारीहरूसम्मले चलाउँदै आएका हुन् यो फर्मूला। आज एउटा कारोबार चलायो, अन्तशुल्क र करको बक्यौता राख्यो। त्यो तिर्नुपर्छ भनेर साबिकको नाम अगाडि थपिदियो नयाँ भन्ने एउटा शब्द अनि दर्ता गर्‍यो नयाँ फर्म।

नेता नयाँ छन् कि? पार्टी नयाँ छन् कि? उनीहरूको सिद्धान्त र व्यवहार नयाँ बने कि? देशले नयाँ बाटो समात्यो कि? देशले नयाँ गति लियो कि? के खाएर भयो नयाँ नेपाल?

पुरानो रक्सी नयाँ बोतल भन्ने आहानै छ। तर यहाँ त रक्सी मात्र पुरानो होइन बोतल, बिर्को सबै पुरानै, केवल कागतको लेवल नयाँ टाँसिएको छ। कसरी त्यसलाई नयाँ भन्ने?

सबै थोक उस्तै रहिरहने हो भने असनबजारलाई नयाँ असनबजार भनेर केही फरक पर्ला र?

सिनेमाघर कि चमेनाघर?
गर्मीमा शीतल र जाडोमा न्यानो पार्ने बन्दोवस्त छ। डल्बी साउन्ड छ। सरक्क सुल्किने आरामदायी कुर्सीहरू छन्। सिनेमास्कोपसम्मलाई भ्याउने ठूलो र सिनेमा हेर्नलाई नै भनेर बनाइएको विशेष किसिमको पर्दा छ। बिजुलीको हावामा हात सुकाउन पाइने सफा सुग्घर ट्वाइलेट छ। फोनबाटै टिकट अग्रिम बुकिङ गर्न पाइन्छ। सबै कुरा आधुनिक र चिटिकचटक छन् केही आधुनिक सिनेमा हलहरूमा। ती सबै सुविधाका कारण टिकटको मोल पनि गतिलो छ।

सिनेमाको आकर्षणले गर्दा टिकटको चर्को मोलको वास्ता नगरी फिल्म हेर्न गइन्छ, तर सिनेमा हलमा नभई रेस्टुराँमा पसेको हो कि भन्ने भान पर्छ। बत्ती निभेर फिल्म शुरु के हुन्छ डल्बी साउन्डलाई माथ गर्ने आवाज दायाँबायाँ, अघिपछि सबैतिरबाट आउन थाल्छ। कोही भुटेको मकै मुर्क्याइरहेका हुन्छन्। कोही कफी सुरुप्प सुरुप्प सुर्क्याइरहेका हुन्छन्। कोही कोक घुट्काइरहेका हुन्छन्। कोही पिज्जा चपाइरहेका हुन्छन्। कोही चिकेन रोल टोकिरहेका हुन्छन्। कोही स्यान्डवीच साटासाट गरिरहेका हुन्छन्। गजब छ! मानिसहरू हिजोआज हलमा सिनेमा हेर्न जान्छन् कि खानलाई? अनि बाहिरबाट पानी समेत लैजान नदिने सिनेमाहलवालाले चाहिँ सिनेमा देखाएको हो कि रेस्टुराँ चलाएको?