हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट यात्रा

अब सहज पनि, सुलभ पनि

घुम्न विदेश जाने कुरा अब उच्च वर्गको पेवा रहेन। चासो राख्नेहरू तीर्थयात्रादेखि मनोरञ्जनसम्मका निम्ति 'दूरदेश' पुग्न थालेका छन्। र, नेपालमै संयोजन गरिने सुलभ प्याकेजहरू त्यस्तो यात्राका भरपर्दा माध्यम बनिरहेका छन्।

विवेकराज मौर्य

रविन साय्मि

हात्तीगौँडास्थित व्यावसायिक प्रतिष्ठान कान्तिपुर हाउसका सञ्चालक कुमारबहादुर थापालाई मानसिक थकाइ महसूस भयो भने आफूलाई ताजा पार्न केही दिनका लागि विदेश जाने गर्छन्। घुम्नु उनको सोख नै हो, त्यसबाहेक विदेशमा देखेर'सिकेर आएको तौरतरिकाले व्यवसाय'सञ्चालनमा नयाँ प्रयोग गर्न पाइने तथा विदेशमा हुने सम्पर्कबाट व्यापार विस्तार गर्न सकिने सम्भावनाले समेत उनलाई विदेश'यात्राका निम्ति लोभ्याइरहन्छ।

पेशाले सूचनाप्रविधि परामर्शदाता रवि घिमिरेलाई थाइल्याण्डको रात्रिजीवनमा रमाउने रहर पहिलेदेखि नै थियो। गएको माघमा एकहप्ता थाइल्याण्डका नाइट क्लब, डिस्को, बार तथा समुद्र किनारमा रमाएर आएका घिमिरे अब चाँडै नै थाइल्याण्ड हुँदै मलेसिया र सिङ्गापुर घुम्न जाने ध्याउन्नमा छन्। भन्छन्, “थाइल्याण्डमा छुट्टी मनाएर आएपछि 'रिफ्रेश' महसूस गरेको छु।”

विदेश भ्रमण हुनेखाने परिवारका मानिसको मात्र सोख हो भन्ने केही वर्षअघिसम्मको सोचाइमा क्रमशः परिवर्तन देखिन थालेको छ। परिणामस्वरुप; विदेश भ्रमणको चाँजोपाँजो मिलाउने स्वदेशी 'टुर अपरेटर' हरूको सक्रियता बढेको छ अनि छोटो समयावधिको विदेश यात्रा रुचाउने मध्यमवर्गीय परिवारका मानिसहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि देखिँदैछ। उद्देश्य जेजस्ता भए पनि छुट्टी मनाउने बहानामा नेपालबाट एक्लै वा समूहमा विदेश जानेहरूको मुख्य आकर्षण थाइल्याण्ड, मलेसिया, सिङ्गापुर, भारत, श्रीलङ्काजस्ता दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरू हुने गरेका छन्। “नेपालभित्रका टुर'अपरेटरहरूले सुलभ मूल्यमा विदेश भ्रमणका प्याकेज उपलब्ध गराउन थालेपछि मध्यमवर्गमा समेत विदेश यात्राको आकर्षण बढ्न थालेको छ”, सन् १९९४ मा पहिलो पटक आफ्नो कम्पनीले २८ जना नेपालीलाई धार्मिक भ्रमणका निम्ति थाइल्याण्ड लगेको अनुभव सुनाउँदै ललित मण्डपका अध्यक्ष सुरज शाक्य भन्छन्, “अब विदेश'भ्रमणको कुरा उच्च वर्गको पेवा रहेन।”

टुर अपरेटरहरूका अनुसार, विगतमा प्रायः धार्मिक भ्रमणका लागि मानिसहरू भारत, थाइल्याण्ड, कम्बोडिया, म्यानमार, श्रीलङ्काजस्ता मुलुक जाने गर्दथे। हाल व्यापारिक प्रयोजन, किनमेल, औषधोपचारका लागि जानेहरूको सङ्ख्या उल्लेख्य छ। मनोरञ्जनका लागि मात्र विदेश जान रुचाउनेहरूकोे सङ्ख्या समेत बढ्दै गएको पर्यटन व्यवसायीहरू बताउँछन्।

यसरी सुलभ, छरिता प्याकेजअन्तर्गत विदेश'भ्रमणको सुविधा जुटाइदिन काठमाडौँमा हाल सात वटा ठूला टुर अपरेटरहरू सक्रिय छन्। छोटो अवधिका निम्ति भ्रमण भिसामा विदेश जाने नेपालीको सङ्ख्या वार्षिक १२ देखि १५ हजारसम्म भएको अनुमान गरिन्छ जसमध्ये अधिकांश आफ्नै पहलमा स्वतन्त्र तरिकाले जाने गरेको बताइन्छ। सन् २००३ मा घुम्नका लागि मलेसिया पुगेका ८ हजार नेपालीहरूमध्ये करिब २० प्रतिशत चाहिँ टुर अपरेटरको सहयोगमा गएको तथ्याङ्कको हवाला दिँदै मार्कोपोलो ट्राभल्स नेपालका प्रबन्ध निर्देशक सुबोध राणा भन्छन्, “नेपालका टुर अपरेटरले सुलभ र स्तरीय सेवा दिन थालेपछि भारतीय कम्पनीमार्फत् विदेश जानेहरूको सङ्ख्यामा कमी आएको छ। स्वदेशी टुर अपरेटरहरूप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ।”

अपरेटरको यात्रा'प्रबन्ध
पहिलो पटक विदेश जाँदा स्थानीय भाषा र तौर'तरिकाको अज्ञानता बाहेक बाटोमा अल्मलिनु, भनेको ठाउँमा पुग्न नसक्नु, खोजेको कुरा नपाउनु जस्ता समस्याले पिरोल्नु स्वाभाविक नै हो। केही वर्षअघि पहिलो पटक सिङ्गापुर पुगेका कान्तिपुर हाउसका कुमार थापाको अनुभवमा होटेल बुकिङ, घुम्ने कार्यक्रम आदिको पूर्व तयारी र ठाउँबारे ज्ञान नहुँदा उनको आधाजसो समय त अल्मलिँदै गयो। ललित मण्डप टुर्समार्फत् अमेरिका, युरोप घुमिसकेका थापा सोही अपरेटरमार्फत् अष्ट्रेलियातर्फ उड्नु एक दिनअघि पनि निश्चिन्त देखिन्थे। उनी भन्छन्, “भिसादेखि हवाई टिकटसम्मका सबै चिज मेरो घरैमा आइपुगेका छन्। भोलि दिउँसो एअरपोर्ट पुगे पुग्छ' कहाँ बस्ने, कहाँ घुम्ने, कसरी पुग्ने, के गर्ने' मलाई कुनै चिन्ता छैन।” थापालाई यति चाहिँ थाहा छ' यसपालिको अष्ट्रेलिया भ्रमणमा सिड्नी, मेलबोर्न, पर्थ शहर घुम्नुका साथै उनी ग्रेट ब्यारियर रिफमा स्कुबा डाइभिङ अनि मनमोहक दृश्य रहेको ब्लु माउन्टेनमा हाइकिङ गर्नेछन्, अष्ट्रेलियाको आदिवासीको कला संस्कृति हेर्न काकाडु राष्ट्रिय निकुञ्ज र अष्ट्रेलिया महादेशमा मात्र देख्न पाइने कङ्गारु, कोअलाजस्ता जनावर हेर्न कङ्गारु टापुसमेत जाँदैछन् उनी।

कुन उद्देश्यका निम्ति कुन ठाउँ जानु उपयुक्त हुन्छ, खर्च कति लाग्छ जस्ता विषयमा उचित परामर्शदेखि जानुपूर्व भिसा र टिकटको तयारी, विदेश पुगिसकेपछि एअरपोर्टबाट होटेलसम्म पुर्‍याउने र त्यहाँ रहुञ्जेल सबै व्यवस्था व्यवस्थित तरिकाले मिलाइदिने जिम्मा 'टुर अपरेटर'कै हुने गर्छ। कतिपय टुर अपरेटरले आफ्नो प्राथमिकता अनुसार विदेशमा शाखा समेत खोलिसकेका छन्। शाखा नहुनेले त्यहीँकै स्थानीय अपरेटरसँगको साेदारीमा टुर सञ्चालन गर्छन्। सन् २००३ देखि मुख्यतः थाइल्याण्डका निम्ति भ्रमण कार्यक्रम सञ्चालन गर्दै आएको सुरुचि टुर्स एण्ड ट्राभल्सकी निर्देशक रेनु बज्राचार्य भन्छिन्, “उताको कार्यालयमा नेपाली कर्मचारीहरू नै भएकाले हामीमार्फत् जानेहरूले धेरै सजिलो अनुभव गर्छन्। एक्लै जानुभन्दा हामीमार्फत् जाँदा खर्च पनि निकै कम लाग्छ।”

एसियाः सस्तो गन्तव्य
चार रात ५ दिनदेखि ११ रात १२ दिनसम्म थाइल्याण्ड वा थाइल्याण्ड र मलेसियाको भ्रमण नेपालीहरूले प्रायः रुचाउने यात्रा'तालिका हो। यस्तो प्याकेजमा एअरपोर्ट कर, हवाई टिकट, तीनतारे होटेल सुविधा, खाना आदि सबैका लागि प्रतिव्यक्ति रु.४२,००० देखि ८५,००० सम्म पर्ने गरेको छ। भ्रमण अवधिअनुसार पूर्वीय तथा पश्चिमी संस्कृतिको बेजोड सङ्गम मानिने थाइल्याण्डको राजधानी ब्याङ्कक, मन्दिर तथा गुम्बाको शहर च्याङमाई, 'दक्षिणको मोती' का रूपमा प्रख्यात टापु फुकेट, १२७ मिटर अग्लो पगोडा रहेको पुरानो शहर नाखोन फाटम आदिको भ्रमण गराइन्छ। यस्तै मौका छोपी मानिसहरू थाइल्याण्डमा फस्टाउँदै गरेको स्वास्थ्य'पर्यटनको फाइदा लिन सक्छन्। सुरज शाक्य भन्छन्, “थाइल्याण्डमा स्तरीय अस्पतालमा सस्तोमा उपचार गरिने भएकाले कोही कोही त स्वास्थ्य परीक्षणका निम्ति समेत पुग्छन्।”

ाइल्याण्ड भ्रमणलाई सेक्स क्लब, यौन व्यापारसँग सम्बद्ध यौन पर्यटनको पर्याय बनाउन खोज्ने प्रवृित्तमा परिवर्तन आउँदै गरेको अनुभव सुनाउँदै बज्राचार्य थप्छन्, “थाइल्याण्डका मानिस अनुशासित, सांस्कृतिक र मेहनती पनि छन्, उनीहरूबाट हामीले धेरै सिक्न सक्छौँ।”

टुर अपरेटिङ व्यवसायमा आवद्ध सबैको एकैखाले अनुभव रहने गरेको छ' 'नेपाली पनि घुम्नका लागि विदेश जान सक्लान् र?' भनेर यस्तो व्यवसायमा नलाग्न सल्लाह दिनेहरूको कमी थिएन, कुनैबेला। तर नेपालीहरू घुम्नकै लागि एसियाली मुलुकका साथसाथै अष्ट्रेलिया, अमेरिका, युरोपसम्म पुग्न थालेपछि त्यस्तो आशङ्का गर्नेहरू गलत साबित भएको व्यवसायीहरूको धारणा छ।

तथापि समस्याहरू अै बाँकी छन्। सन् २००३ देखि मलेसिया पर्यटन बोर्डसँग आवद्ध भई मलेसिया'भ्रमणको प्याकेज सञ्चालन गर्दै आएको मार्कोपोलोका सुबोध राणा भन्छन्, “यो व्यवसायको भविष्यबारे हामी आशावादी छौँ तर कतिपय गन्तव्यसम्म पुग्न सीधा हवाई सेवा नभएकाले भ्रमणमा जानेहरूको सङ्ख्यामा अपेक्षाअनुरुप वृद्धि भएको छैन।” उनी थप्छन्, “सन् २००३ मा कतार एअरलाइन्सले सस्तोमा क्वालालुम्पुरसम्मको सीधा सेवा उपलब्ध गराउँदा प्याकेज पनि सस्तो थियो र ग्राहकहरूलाई ट्रान्जिटको दुःख पनि हुँदैनथ्यो।”

यात्रा'प्रबन्धकहरूका अनुसार मलेसिया मुस्लिम मुलुक भएपनि उदार छ र एसियाली पर्यटकहरूले त्यहाँ पश्चिमी राष्ट्रहरूकै वातावरण पाउन सक्छन्। यात्रीहरूले राजधानी क्वालालम्पुरमा गगनचुम्बी ट्वीन टावर, त्यहाँको रात्रिजीवन, व्यापारिक गतिविधिहरूमा रम्न पाउँछन्। उनीहरू तटीय मनोरञ्जन, जलक्रीडाका निम्ति पेनाङ जान सक्छन्। उष्णदेशीय जङ्गल घुम्न पाहाङस्थित मलेसियाकै सबैभन्दा पुरानो तमन नेगारा राष्ट्रिय निकुञ्जमा घुम्ने विकल्पहरू पनि यात्रीहरूका निम्ति उपलव्ध छन्। रुचि र समयका आधारमा उपलब्ध गराइने ४ देखि ७ दिनसम्मका यस्ता प्याकेज टुरका निम्ति रु.४० देखि रु.६० हजारसम्म लिने गरिएकोे छ। नेपाल'मलेसिया दुईतर्फी हवाई टिकटको रु.२८ हजार पनि त्यसैभित्र पर्छ।

केही समययता चीन र इजिप्टतर्फ पनि नेपाली पर्यटकहरू आकर्षित हुन थालेका छन्। दुई चिनियाँ हवाई कम्पनीहरूले चीन'नेपाल सीधा उडान सञ्चालन गर्न थालेपछि नेपाल आउने चिनियाँ पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भइरहेको छ। नेपालबाट चीन घुम्न जानेहरूको सङ्ख्या पनि क्रमिक रूपमा उक्ँिलदो छ। सन् २००७ बाट मुख्यतः चीन भ्रमण गराउने उद्देश्य शुरु भएको बताउने फक्स टुर्सका कार्यकारी निर्देशक आशाकाजी तण्डुकार भन्छन्, “पूर्वी सभ्यताको खानी मानिने चीनमा पर्यटकहरूले कला र संस्कृतिका साथै आधुनिक निर्माण, औद्योगीकरण र व्यापारबारे जान्ने र बुझने मौका पाउँछन्।”

देशमा स्थायी शान्ति आयो, आर्थिक उन्नति हुँदै गयो भने विदेश भ्रमणमा जाने नेपालीको सङ्ख्या बढ्ने निश्चित रहेको ठोकुवा गर्दै गोर्खा ट्राभल्सका अध्यक्ष दीपक भट्ट भन्छन्, “विदेश घुम्न जानुलाई खर्च भन्दा पनि लगानीका रूपमा हेर्नुपर्छ। त्यस्ता भ्रमणमा विदेशको संस्कृति, प्रविधि, अनुभव, व्यवहार समेत हेर्न र सिक्न सकिन्छ जसले मानिसको ज्ञान र सोचलाई समेत फराकिलो बनाउँछ।”

विदेश जाने बहाना जेसुकै होस् तर त्यहाँबाट देखेर'सिकेर आएको संस्कृति, आचरण, प्रविधि, विकासले घुम्न गएकाहरूको आचरण र व्यवहारमा नयाँ आयाम र उमङ्ग थपेका छन्। यात्रा'प्रबन्धक, यात्री र पर्यटन व्यवसायीलाई मात्र हैन, समग्र देशकै लागि यो खुसीको कुरा हो।