हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रमझम

मै छोरी सुन्दरी ...

नाम, काम, पैसा, इज्जत धेरै थोक जुट्न थालेपछि मिस नेपालहरूले सामान्य युवतीहरू भन्दा फरक 'प्रिभिलेज्ड' जीवनको अनुभव गरिरहेका छन्। यो अवसर कसैका निम्ति विदेशबसाइको माध्यम भएको छ भने कतिपय चाहिँ विज्ञापनका 'शो'पिस' र अल्पावधिका सेलिब्रिटीमा सीमित देखिँदैछन्।

डम्बरकृष्ण श्रेष्ठ

तस्विरः अनुपशप्रकाश
पहिलो मिस नेपाल रुवी राणा।

बाह्र वर्षअघि पहिलो मिस नेपाल प्रतियोगिताको उपाधि जितेपछि वीरगञ्ज, छपकैयाकी रुवी राणा एकाएक 'सेलिब्रिटी' बन्न पुगिन्। आज उनी एक सफल ब्युटीसियनको प्रतिष्ठित जीवन बिताइरहेकी छन्। एक सामान्य शिक्षिका रहेकी रुवी १९९४ मा मिस नेपाल घोषित भएपछि पछाडि फर्केर हेर्नै नपरेको बताउँछिन्। “मिस नेपालको ताजले एकपछि अर्को नाम, काम र दाम दिलायो।” उनी भन्छिन्, “मिस नेपाल नभएकी भए आज शिक्षिकामै सीमित हुनेथिएँ।”

यसबीचमा राजेश हमालकी नायिका बनेर चलचित्र अनमोल र सुनिल पाण्डेसँग म त भुतुक्कै भए नि मा काम गरेकी उनी आठ वर्षयता काठमाडौँ'न्युरोडमा रुवी सिण्ड्रेला ब्युटीपार्लर एण्ड ट्रेनिङ सेण्टर चलाएर बसेकी छन्। छनौट चरणमा रहेको मिस नेपाल २००७ का सहभागी किशोरी/युवतीहरूलाई सिँगार्ने जिम्मा पाएकी रुवी यस्ता प्रतियोगिताले सहभागीहरूमा जिम्मेवारी थप्ने बताउँछिन्। तर धेरैजसो सहभागीहरूले प्रतियोगितालाई सामान्य रूपमा लिने गरेको बताउँदै उनी भन्छिन्, “यो प्रतियोगिता मनोरञ्जन, सोख र टाइमपासको क्षेत्र हैन।”

रुवीका अनुसार यस्ता प्रतियोगिताले नारीहरूलाई प्रोत्साहन दिन्छ, केही गर्ने अठोट र आत्मविश्वास जगाउँछ। भन्छिन्, “यस्ता आयोजनाले नारीको शारीरिक, चारित्रिक, सैद्धान्तिक र बौद्धिक क्षमतालाई माझ्ने काम गर्छ।” पहिलो मिस नेपाल बन्न पाएकोमा गर्व गर्ने रुवीका भनाइमा यस्ता आयोजनाहरू निरन्तर भइरहनुपर्छ।
पछिल्लो पटक घोषित मिस नेपाल २००५ को ताज पहिरिएदेखि नै ललितपुर, धापाखेलकी सुगरिका केसीको जीवनशैली बदलिएको छ।

आयोजक नेपाल जेसिज तथा हिडन ट्रेजरका कार्यक्रम र प्रायोजक डाबर नेपालको 'एड् क्याम्पेन' बाहेक पनि उनी विभिन्न संघ'संस्थाको सद्भावना राजदूतका रूपमा सामाजिक कार्यसँगै कतिपय कार्यक्रममा प्रमुख अतिथि र नयाँ खुलेका व्यापारिक केन्द्र, संस्थाहरूको उद्घाटनमा व्यस्त हुन्छिन्। बाल मन्दिर र वृद्धाश्रमहरूमा अनाथ र वृद्ध'वृद्धाहरूलाई सहयोग गर्ने काममा पनि यदाकदा उनलाई देख्न सकिन्छ।

२००६ मा प्रतियोगिता नभएकाले नयाँ मिस नेपाललाई ताज हस्तान्तरण गर्न नपरेपछि सुगरिकाको उपाधि'अवधि नै दुईवर्षे बनेको छ। आउँदो चैतको अन्तिम साता नयाँ मिस नेपालको घोषणापछि अलि फुर्सदिलो बन्ने पर्खाइमा छिन् उनी। भन्छिन्, “दुईवर्षे यो अनुभवले धेरै कुरा सिकाएको छ।” मिस नेपाल हुनुअघि वातावरण विज्ञानकी विद्यार्थी र नेपाल एफएममा कार्यक्रम सञ्चालक रहेकी सुगरिका त्यतिबेलै रेयुकाईलगायतका संस्थामार्फत् सामाजिक कार्यमा संलग्न रहे पनि त्यसप्रति गम्भीर भने थिइनन्। मिस नेपाल बनेपछि सामाजिक दायित्व थपिएको उनको ठम्याइ छ। भन्छिन्, “सामान्य युवतीको भन्दा धेरै फरक छ अहिलेको जीवन। जिम्मेवारी थपिएकाले हरेक कुरामा विचार पुर्‍याउने गरेकी छु।” मिस नेपाल भएकैले सरकारले बनाएको राष्ट्रिय युवा नीति तथा आमाको नामबाट नागरिकता दिइनुपर्ने छलफल र दबाबमूलक कार्यक्रममा आफू प्रत्यक्ष संलग्न हुन पाएको उनी बताउँछिन्। मिस नेपाल नभएकी भए? उनी भन्छिन्, “एफएममै काम गरिरहेकी हुन्थेँ होला!”

यात्रा 'मिस अर्थ' सम्म

अनुप प्रकाश
मिस नेपाल २००५ का विजेता तीन सुन्दरीहरुसुगरिका केसी, सभोना श्रेष्ठ र आयुष्मा पोखरेल।

काठमाडौँ जेसिजको आयोजनामा सन् १९९४ देखि नेपालमा शुरु भएको सौन्दर्य प्रतियोगिताले अहिलेसम्म १२ जना मिस नेपाल जन्माइसकेको छ। सन् २००१ र २००६ मा बाहेक यो प्रतियोगिता हरेक वर्ष हुँदै आएको छ। अहिले आयोजनाको दायरा राजधानी बाहिरका शहरहरूसम्म पुगेको छ भने पुरस्कारका राशि र आयोजनाको बजेट पनि बढेका छन्। पहिलो मिस नेपाल रुवीले रु.६५ हजार बराबरको नगद तथा उपहार पाएकी थिइन् भने अहिलेका मिस नेपालले रु.१ लाख, स्कुटर र उपहार गरेर अढाई लाख रुपैयाँ बराबरको पुरस्कार पाउँछन्। त्यसबाहेक विज्ञापन, चलचित्र, म्युजिक भिडियोका कामदेखि विभिन्न संघ'संस्थाहरूको सद्भावना राजदूत बन्ने अवसर सहितको अलग्गै पहिचान त छँदैछ।

१३ वर्षमा बनाइएका १२ मिस नेपालहरूमा रुवी राणा (१९९४), सुमी खड्का (१९९५), पुनम घिमिरे (१९९६), नीलिमा गुरुङ (१९९७), रना बज्राचार्य (१९९७), नीरु श्रेष्ठ (१९९८), श्वेता सिंह (१९९९), उषा खड्गी (२०००), माल्भिका सुब्बा (२००२), प्रीति सिटौला
(२००३), पायल शाक्य (२००४) र सुगरिका केसी (२००५) रहेका छन्। यीमध्ये सात जना नेपालमै विभिन्न क्षेत्रमा कार्यरत छन् भने पाँच जना विदेशिएका छन्।

सन् १९९७ मा भने दुई मिस नेपाल छानिए। काठमाडाँै जेसिजले 'मिस एसिया प्यासिफिक'मा पठाउन गरेको प्रतियोगितामा पोखराकी नीलिमा गुरुङ छानिएकी थिइन् भने हिडन ट्रेजरले 'मिस वर्ल्ड'मा सहभागी बनाउन सोही वर्ष आयोजना गरेको प्रतियोगितामा रना बज्राचार्य मिस नेपाल भएकी थिइन्। रना मिस वर्ल्डमा सहभागी हुने पहिलो नेपाली सुन्दरी हुन्। त्यसअघि मिस नेपालहरूलाई एसिया प्यासिफिक स्तरीय प्रतियोगिताहरूमा मात्र पठाइने गरिएको थियो। सन् २००४ बाट मिस अर्थ प्रतियोगितामा समेत नेपालको सहभागिता हुन थालेपछि अहिले मिस नेपालका उत्कृष्ट तीन सुन्दरीलाई तीन वटै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी बनाइन्छ। त्यसैले मिस नेपाल घोषित सुन्दरी बाहेक फष्ट र सेकेण्ड रनरअपको उपाधि पनि महवपूर्ण मानिन्छन्।

तस्बिरः मीन/किरण/अनुप/अनुशील/अनलाइन
रुवी राणा '९४, सुमी खड्का '९५, पुनम घिमिरे '९६, नीलिमा गुरुङ '९७, झ्रना बज्राचार्य '९७, नीरु श्रेष्ठ '९८

भ्याई नभ्याई
मिस नेपालको सिको गर्दै राजधानीभित्र र बाहिर बर्सेनि हुँदै आएका अञ्चल, जिल्ला, शहर र कलेजस्तरका प्रतियोगिताका विजेता सुन्दरीहरू प्रायः फुर्सदिला देखिए पनि पूर्व मिस नेपालहरूलाई भने भ्याई नभ्याई नै छ।

मिस नेपाल '०२ भएपछि माल्भिका सुब्बालाई नयाँ'नयाँ काम र अवसरको ताँती नै लाग्यो। भन्छिन्, “यति धेरै कामको अफर आयो कि सबै काम गर्न भ्याउने कुरै थिएन।” मिस नेपाल बन्नुअगावै सफल उद्घोषक बन्ने चाहना राखेकी माल्भिकाको त्यो लक्ष्यसमेत अहिले पूरा भएको छ। आधा दर्जन विज्ञापन, केही म्युजिक भिडियोमा काम गरेकी उनी अहिले कान्तिपुर टेलिभिजन की 'फुल टाइमर स्टाफ' हुन्। हाल आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्ययनरत् उनलाई यी सबै सफलता मिस नेपाल भएकैले पाएको भन्ने चाहिँ लाग्दैन। भन्छिन्, “ममा भएको क्षमता र मेहनतको पनि हात छ तर मिस नेपाल भएकाले सजिलो भयो, काम आफैँ आए, खोज्दै जानु परेन।” मिस नेपालको चिनारीले सधैँभरि नपुग्ने भएकाले आˆनै, अलग्गै पहिचान बनाउनतर्फ समेत लागिरहेको बताउने उनी प्रतियोगिता अवधिमा सिकेका कुराले व्यक्तित्व'विकासमा धेरै सहयोग पुगेको बताउँछिन्। मिस नेपाल हुनुअघि एक फाइनान्स कम्पनी र टेलिभिजन कार्यक्रम उत्पादक संस्था दिव्यदृष्टि मा काम गरेकी उनी “मिस नेपाल नभएकी भए कुनै विज्ञापन एजेन्सी या टीभीमै काम गरिरहेकी हुन्थेँ होला, अहिले पनि” भन्छिन्।

श्वेता सिंह '९९, उषा खड्गी २०००, माल्भिका सुब्बा '०२, प्रीति सिटौला '०३, पायल शाक्य '०४, सुगरिका केसी '०५

वीरगञ्जकी उषा खड्गीको पनि यस्तै मूल्याङ्कन छ। भन्छिन्, “मिस नेपाल हुने इच्छा पूरा भयो र यसबाट पाएको नयाँ परिचयले धेरै अवसरको बाटो खोल्यो।” उषा सन् २००० मा मिस नेपाल बन्नुअघि नेपाल टेलिभिजनमा एङ्कर थिइन्। मिस नेपाल बनेपछि चाहिँ उनले के पाइन् त? भन्छिन्, “मिडिया कभरेज, नाम, काम, पैसा, इज्जत। एउटा सामान्य मान्छेले यति धेरै कुरा सजिलै हासिल गर्नै सक्दैन।” प्रतियोगितामा केही नजित्ने सहभागीहरूले पनि सामान्य जीवनभन्दा फरक अनुभव र आत्मविश्वास प्राप्त गर्ने उनी बताउँछिन्।

उषा अहिले जीवनसँगी जीपी तिमिल्सेनासँगै मिडियासम्बद्ध संस्था प्रमोशन नेपाल चलाउँछिन् र नेपाल वान टेलिभिजनका निम्ति सातामा दुई कार्यक्रम उत्पादन/सञ्चालन गर्छिन्। एकदर्जन व्यावसायिक टीभी विज्ञापनमा देख्न पाइने उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन्।

रना बज्राचार्य नेपाली चलचित्र र म्युजिक भिडियोका क्षेत्रमा समेत चर्चित छिन्। म्युजिक भिडियोकी महङ्गो नायिका मानिने उनले एक दर्जन नेपाली चलचित्रमा काम गरेकी छिन्। दुई वर्षअघि हिन्दी चलचित्र लभ इन नेपाल मा उनले गरेको अङ्ग प्रदर्शनले उनलाई निक्कै चर्चामा ल्याएको थियो। प्रकाश साय्मिको सिमाना बाट चलचित्रमा अभिनय शुरु गरेकी 'ग्ल्यामरस' नायिका रना लभ इन नेपाल पछि हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गर्ने कसरतमा हाल मुम्बईमै छिन्।

त्यस्तै, अर्की मिस नेपाल नीलिमा गुरुङ जन्मथलो पोखरामै व्यस्त छिन्। आˆनो घरपरिवार, बच्चाको हेरचाहसँगै तीन वटा संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् उनी। लक्ष्मी ब्याङ्ककी जागिरे नीलिमाको मिस नेपालपछि 'ग्ल्यामर' क्षेत्रसँग नाता टुटेजत्तिकै भएको छ। भन्छिन्, “रुचि नभएरै ग्ल्यामर क्षेत्र छाडेकी हुँ, मिस नेपालले 'ग्ल्यामर' दुनियाँमै लाग्नुपर्छ भन्ने छैन।” मिस नेपाल '९९ श्वेता सिंह पनि समाजसेवामा सक्रिय रहँदै हाल सामसुङ डिजिटल वर्ल्ड, दरबारमार्गको शो रुमको प्रबन्धकका रूपमा कार्यरत छिन्।

विरोधका स्वर
त्यसो त, मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिताहरूको बर्सेनि जसो विरोध समेत हुने गरेको छ। रुवी राणाको पालामा विरोधको त्यो स्वर आजभन्दा निकै चर्को थियो। “त्यसबेला सुन्दरी प्रतियोगितालाई नग्नता'प्रदर्शनका रूपमा हेरेर विरोध गरिन्थ्यो। म मिस नेपाल हुँदा मिडियाहरूले समेत खुलेरै विरोध गरेका थिए” रुवी भन्छिन्, “तर, आज त्यस्तो छैन, धेरैले यसको सकारात्मक पक्षलाई बुझ्न थालेका छन्।”

माल्भिका भने 'विरोधका लागि विरोध' मात्र भइरहेको बताउँछिन्। भन्छिन्, “विरोध गर्नेहरूले पनि यसको सकारात्मक पक्षलाई केलाउनु जरुरी छ।” अन्तर्राष्ट्रिय प्रतियोगितामा जाँदा 'बिकनी' लगाएर लाखौँ मान्छेका सामु उभिनुलाई नेपाली समाजले पचाउन नसक्नुलाई चाहिँ उनी स्वाभाविक मान्छिन्। सबै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने बताउँदै उषा भन्छिन्, “हाम्रो समयमा भन्दा अहिले विरोधका स्वर कम भएका छन्। यसलाई सकारात्मक रूपमा लिनेहरू बढेका छन्।” नीलिमाका दृष्टिमा समर्थन र विरोध स्वाभाविक कुरा हुन्। भन्छिन्, “सबैको राम्रो र नराम्रो पाटो त हुन्छ नै। विरोधले गलत काम हुन दिँदैन र भइरहेको काममा सुधार ल्याउने भएकोले विरोध हुनुलाई म अस्वाभाविक मान्दिनँ।”

लैङ्गिक सम'विकासको क्षेत्रमा दख्खल राख्ने, समाजशास्त्रकी उप'प्राध्यापक उषा भण्डारी सौन्दर्य प्रतियोगिताप्रति समाजको मिश्रित प्रतिक्रियालाई स्वाभाविक मान्छिन्। उनी भन्छिन्, “समाजका अन्य मुद्दाहरूजस्तै नयाँ र पुराना पुस्ताले यसलाई हेर्ने दृष्टिकोण फरक छ। तर, अहिले यस्ता प्रतियोगिताले महिलालाई 'डोमिनेट' गर्दैनन्, बरु आन्तरिक र बाह्य ब्यक्तित्व विकासतर्फ डोर्‍याउँछन् भन्ने मान्यता प्रबल हुँदै गएको छ।” केही मिस नेपाल सामाजिक कार्यमा लागेर उदाहरणीय बनेको पाइए पनि केही चाहिँ विज्ञापन र ग्ल्यामरको क्षेत्रमा 'शो पिस' का रूपमा सीमित भएको उनको ठम्याइ छ। भन्छिन्, “कतिका लागि यस्ता प्रतियोगिता परीक्षाको तयारी जस्तो मात्र हुने गरेको छ। मिस नेपाल बन्दा गरेका सामाजिक वाचाहरू व्यवहारमा लागू गरेको पाइन्न।”

आयोजक हिडन ट्रेजरका प्रबन्ध निर्देशक गिरेन्द्रमान राजवंशी यस्ता केही अपवाद भएपनि सौन्दर्य प्रतियोगिताप्रति नेपाली समाज सकारात्मक बन्दै गएको बताउँछन्। भन्छन्, “शुरुमा यो नौलो प्रयोग थियो र यसको चर्को विरोध भयो तर अहिले यसले समाजमा पार्ने सकारात्मक प्रभावबारे सबैले बुझ्न थालिसकेका छन्।”


विदेश मोह!

अन्तर्राष्ट्रियस्तरका सुन्दरी प्रतियोगितामा सहभागी हुन प्रायः सबै मिस नेपाल विदेश पुगेका छन्। अनुभवको कमीले रित्तै फर्किनु अर्कै कुरा। तर स्वदेशमा एक वर्षको चमकधमकपछि नेपाल छाडेर उतै पलायन हुनेहरू पनि थपिन थालेका छन्। १२ मिस नेपालमध्ये पाँच जना विदेशमै छन्।

ज्योति प्रधान मिस वर्ल्डमा भाग लिन सेसेल्स जाँदा उताबाटै अमेरिका पलायन भएकीले उनको उपाधि खोसियो र फष्ट रनरअप नीरु श्रेष्ठलाई सो वर्ष (१९९८) को मिस नेपाल घोषणा गरियो। ज्योतिको स्थानमा मिस नेपाल बनाइएकी नीरु पनि अहिले अमेरिकामै छिन्। बुद्ध एयरमा पाइलट रहँदै केही वर्षअघि तालिमका लागि अमेरिका गएपछि उनले तत्काल यता फर्किन रुचाइनन्।

सन् १९९६ की मिस नेपाल पुनम घिमिरे पनि परिवारका साथ अमेरिकामै छिन्। १९९५ की मिस नेपाल सुमी खड्का पनि केही फिल्ममा अभिनयको धोको पुर्‍याएपछि विदेशिइन्। अहिले उनी कतार एयरवेजको एयर होस्टेसका रूपमा विदेशमै छिन्। २००४ को ताज पहिरिने पायल शाक्य आˆना 'ब्वायफ्रेण्ड' पपगायक सरुन प्रधानका साथ एक वर्षदेखि अष्ट्रेलियामा छिन्। मिस नेपाल २००३ प्रीति सिटौला पनि मिडिया सम्बन्धी अध्ययन गर्न एक शिक्षण संस्थाको छात्रवृत्तिमा एक वर्ष अघिदेखि अमेरिकामा छिन्।


रमझम सङ्गीत

लाक्पाको लय

स्केर दुख्छ, यो मुटु मेरो उसैको यादमा...
ए नि लै लै' बूढापाकाहरू भन्थे...
मोती दिएर आँसु बटुलेँ...

मीन बज्राचार्य

आधुनिक नेपाली सङ्गीतमा बेग्लै चिनारी दिने यस्ता थुप्रै गीतका गायक हुन् लाक्पा शेर्पा। अढाई दशकअघि गायन क्षेत्रमा लागेका इलाम, चमेताका लाक्पाले यो अवधिमा निरन्तर साधनाका साथ नेपाली सङ्गीतमा आˆनो स्पष्ट पहिचान बनाएका छन्।

लाक्पाको गायनयात्रा दार्जीलिङबाट शुरु भएको हो। २०३६ सालताका अध्ययनको सिलसिलामा उनी उतै थिए। त्यहाँ गिटार, हार्मोनियम बजाउने साथीहरूको सङ्गतमा लागेर उनी पनि सङ्गीतमा रम्न पुगे। स्कूलमा कार्यक्रम हुँदा गीत गाउने जिम्मा उनैले पाउँथे। लाक्पा भन्छन्, “त्यहाँ रहँदा मोहम्मद रफी र किशोर कुमारका गीतहरू सुनेर म सङ्गीतको गहिराइ छाम्ने कोशिश गर्थेँ।”

त्यो बेला 'गोर्खा दुःख निवारक सम्मेलन'ले दार्जीलिङमा हरेक वर्ष सङ्गीतकर्मीहरूको भेला गरी साङ्गीतिक उत्सवको आयोजना गर्दथ्यो। २०३८ सालको उत्सवमा तीन वटा गीत गाएर प्रथम घोषित भएपछि लाक्पाले अल इण्डिया रेडियोमा गीत गाउने मौका पाए। सोही वर्ष उनले चन्दन लम्जेलको शब्द र सङ्गीतमा निराश भएर जाँदैछु म... बोलको पहिलो गीत रेकर्ड गराए। उनी भन्छन्, “यसपछि लगत्तै 'भोकलिस्ट'का रूपमा दार्जीलिङको व्यावसायिक व्याण्ड 'कार्निभल'मा आबद्ध भएँम।” २०३९ सालमा नै 'कार्निभल हिट्स' अल्बममा उनले तीन वटा गीत गाएका थिए। दार्जीलिङमा हुने नाटकहरूको गीतमा पनि उनी स्वर दिन्थे। दार्जीलिङका मणिकमल क्षेत्री, कर्म योञ्जन, चन्दन लोम्जेललगायतका सङ्गीतकारको सङ्गीतमा ७० भन्दा बढी गीतमा उनले स्वर दिएका छन्।

२०४० सालमा कलेजको अध्ययन सकेर काठमाडौँ आएपछि लाक्पा यतै व्यस्त रहन थाले। गजल गायनमा दख्खल भएकाले शुरुका दिनमा उनले साना रेस्टुरेन्टदेखि एभरेष्ट, सोल्टी लगायतका होटेलमा समेत गाउने काम गरे। उनी सम्छन्, “सङ्घर्षका दिनहरू ज्यादै कठिन थिए। होटेलमा मध्यरातसम्म गाउनुपर्थ्यो।” काठमाडौँ आएर शम्भु थापाको शब्द र शिलाबहादुर मोक्तानको सङ्गीतमा पाएको जिन्दगी रेकर्ड गराएपछि उनले चुपचाप बस्नु परेन। उनका 'शुभेच्छा', 'स्केर दुख्छ', 'लाक्पा' र 'सुपरहिट्स अफ लाक्पा' अल्बम निस्किसकेका छन्।
लाक्पाले दार्जीलिङमा नै मनिकुमार राईसँग तीन वर्ष शास्त्रीय सङ्गीतको प्रशिक्षण लिएका थिए। लुक्लामा होटेल समेत चलाउँदै आएका लाक्पा अर्थको जोडघटाउमा लाग्दा कहिलेकाहीँ सङ्गीत सिर्जनामा गतिरोध आउने गरेको बताउँछन्। भन्छन्, “तर सङ्गीत नै मेरो पहिलो र अन्तिम रोजाइ हो। सङ्गीत बिनाको जीवन अब सोच्नै सकिन्न।”

राम्रो गीत बन्नका लागि शब्द, सङ्गीत र स्वरको बराबरी भूमिका हुने बताउँछन् उनी। नयाँ पुस्ताले गीत सिर्जनालाई हल्का रूपमा लिने गरेकोमा उनलाई दुःख लाग्छ। भन्छन्, “गीतलाई हल्का रूपमा लिनु गीत/सङ्गीतलाई बुझ्न नसक्नु हो। तीनै विधामा सचेत र गम्भीर हुन आवश्यक छ।”


नेपालमा ओजोम्याट्ली

विवेकराज मौर्य

ग्य्रामी अवार्ड विजेता प्रसिद्ध ब्याण्ड 'ओजोम्याट्ली' ले ५ फागुनमा काठमाडौँमा 'थरीथरी बाजा एउटै ताल, मिलेर बनाऔँ सुनौलो नेपाल' भन्ने सन्देशसहित आˆना गीतहरू प्रस्तुत गर्‍यो। अमेरिकाको लस एन्जल्सबाट आएको नौ सदस्यीय, बहुजातीय, ल्याटिन ब्याण्ड हिप'हप शहरी सङ्गीतका लागि प्रसिद्ध छ।

ओजोम्याट्ली समूहका सदस्यहरूमा युलिसेस बेला, विल'डग एबर्स, राउल पचेको, जस्टिन पोरी, आस्ड्रयु सेरा, जिरो यामागुची, जाबु स्मिथ'फ्रिम्यान, मारियो क्यालिरे, सेफ ब्रुटोन रहेका छन्। बाह्र वर्ष पुरानो ओजोम्याट्ली ब्याण्ड भारत तथा नेपालको साङ्गीतिक भ्रमणका क्रममा नेपाल आएको हो। काठमाडौँ र नयाँदिल्लीस्थित अमेरिकी केन्द्र तथा यूएसएआईडी नेपालको सहयोगमा आएको ब्याण्डको यस क्षेत्रमा यो पहिलो भ्रमण हो।

रत्नपार्कको खुला मञ्चमा निःशुल्क आयोजित कार्यक्रममा नेपाली रक सङ्गीत ब्याण्ड 'रविन एण्ड द न्यू रिभोल्युसन' ले समेत केही गीत प्रस्तुत गरेको थियो।


नयाँ सिर्जना

धड्कन
नेपाली चलचित्रका उत्कृष्ट दश गीत
चलचित्रहरूः समर्पण, मुग्लान, आशीर्वाद, मायाको जाल, ग्रहण, हाम्रो सानो घर होला, दैव, उपकार र सन्यास।
प्रस्तुतिः म्युजिक नेपाल

 

बेष्ट अफ लक
शब्दः दीपेन्द्र श्रेष्ठ
सङ्गीतः आलोकश्री, कर्णदास, राजु सिंह, श्यामसुङ तामाङ, दीपक भट्टराई।
स्वरः राजेशपायल राई, रामकृष्ण ढकाल, कर्णदास, शिव परियार, जगदीश समाल, यशकुमार, रामचन्द्र काˆले र धर्मेन्द्र सेवान

पञ्चैबाजाका लोकधुनहरु
सङ्गीत संयोजनः नवीन खड्का
सङ्कलनः नेपाली लोक सांस्कृतिक केन्द्र
प्रस्तुतिः म्युजिक नेपाल


रमझम रङ्गकर्म

राजालाई बम हानेपछि...

किरण पाण्डे

राजा महेन्द्रमाथि बम प्रहार गरेपछि १५ माघ २०२० मा केन्द्रीय कारागार परिसरमा ुण्ड्याइएका शहीद दुर्गानन्द ाको सत्यकथालाई सर्वनाम नाट्य समूहले ११ फागुनमा राजधानीमा मञ्चन गर्‍यो। ाको जीवनको चित्रण बीपी कोइरालाले एक रात कथामा समेटेका थिए। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक रात मञ्चन हुँदा दर्शकले पञ्चायती कालरात्रिको त्यो क्रूर क्षणलाई सम्ेका थिए।

बीपीको राजनीतिक विषयवस्तुको एकमात्र कथा एक रात लाई रङ्गकर्मी अशेष मल्लले नाट्य रुपान्तर गरी निर्देशन गरेका हुन्। हालै मात्र बनारसमा मञ्चन गरिएको यो नाटक भारतीय दूतावास र बीपी कोइराला नेपाल'भारत फाउण्डेसनले राजधानीमा पहिलो पटक प्रदर्शन गरेको हो। बमकाण्डमा फाँसी दिइएका ाको कथा बीपीले सुन्दरीजल जेलमा रहँदा २०२२ सालमा लेखेका हुन्। ुण्ड्याइनु अघिल्लो रात जेलमा रहँदा दुर्गानन्दको मनोदशा चित्रण गरिएको कथालाई नाटकमा घटनाक्रममा ढालिएको छ। कथामा बीपीले दुर्गानन्दको नाम भने उल्लेख गरेका छैनन्।

रङ्गकर्मी अशेष मल्ल दुर्गानन्दको यो कथा २०१७ देखि २०३६ सालसम्म विद्यार्थी जीवन बिताएका पीडितहरूको पनि कथा भएको बताउँछन्। उनी भन्छन्, “म पनि आफूलाई त्यसबेलाको एक पात्र नै ठान्छु। हरेक क्रान्तिकारीले त्यो बेलामा नाटकका पात्रहरूको जस्तै नियति भोगेका थिए।” मल्लले बीपीको यो कथालाई लिएर २०४६ सालको जनआन्दोलनपछि नेपाल टेलिभिजनको लागि एक घण्टाको टेलिचलचित्र समेत बनाएका थिए।

को हुन् दुर्गानन्द?

चित्रः वात्स्यायन
शहीद दुर्गानन्द झ्ा

धनुषा, जटहीका युवा दुर्गानन्द ा २०१७ सालमा खोसिएको स्वतन्त्रता र प्रजातन्त्र पुनःप्राप्तिका लागि आन्दोलनमा होमिएका थिए। दुर्गानन्दसँगै समातिएका अरविन्द ठाकुरले हिमाल लाई दिएको जानकारी अनुसार त्यसबेला भारतको उम्गाउ हाईस्कूलबाट म्याटि्रक परीक्षा दिएका ाको उमेर १८ वर्ष मात्रै थियो। भारतका शहीद भगत सिंह र चन्द्रशेखर आजादबाट पे्ररित भई आˆनो देशका लागि केही गर्नुपर्छ भनेर उनी निरङ्कुशताविरोधी आन्दोलनमा होमिएका थिए। ठाकुर भन्छन्, “काङ्ग्रेस पार्टीमा आवद्ध भएर त्यो बेला हामीले सीमा क्षेत्रका प्रहरीचौकी जलाउने र हतियार खोस्ने काम पनि गर्‍यौँ।”

९ माघ २०१८ सालमा दुर्गानन्द ा र अरविन्द ठाकुर पञ्चायतको घोषणापछि जनकपुर आएका राजा महेन्द्रलाई बम हान्न तयार भएका थिए। दुई दिनअघि रामचन्द्र सिंहसँग जयनगर गएर ठाकुरले ल्याएको बम हान्न ८ गते रातिको बैठकमा ा र ठाकुर नै अघि सरेका थिए। “बैठकमा अरू पछि हटेपछि हामी दुई जना बम हान्न तयार भयौँ।” ठाकुर सम्छन्, “९ गते राजा आउनासाथ एयरपोर्टमा मैले बम हान्ने र त्यहाँ असफल भए दुर्गानन्दले जानकी मन्दिरमा हान्ने योजना बन्यो।” तर, एयरपोर्टमा बम प्रहार गर्नै नपाई ठाकुर समातिए। दुर्गानन्दले भने बम हाने तर बमले राजा महेन्द्रको गाडीमा मात्र क्षति पुग्यो। सो गाडी राजधानीको राष्ट्रिय सङ्ग्रहालयमा अै पनि देख्न पाइन्छ। बम प्रहार गरेको तीन महिनापछि चैतमा ा पक्राउ परे।

ा र ठाकुरलाई केन्द्रीय कारागारमा एउटै सेलमा नेल र हत्कडी लगाएर राखिएको थियो। जेलमा राखिएकोे १८ महिनापछि ालाई मात्र फाँसी दिइएको थियो, ठाकुर चाहिँ १६ वर्षका मात्र भएकाले फाँसी दिइएन। ठाकुरका अनुसार दुर्गानन्दलाई सेन्ट्रल जेल परिसरकै रूखमा राति १२ बजे ुण्ड्याउँदा उनी निकैबेर छट्पटाएपछि रूखमा बाँधेर गोली हानिएको थियो। हत्याको केही दिनसम्म रूखमुनि ाको रगत आफूले देखेको उनी बताउँछन्। फाँसी दिइनुअघि भेट्न आएकी आˆनी आमालाई उनले भनेका थिए “मलाई हाँसेर बिदा दिनुस्।” ठाकुर भन्छन्, “मृत्युको डर उनमा रत्तिभर थिएन, ुण्ड्याउनुअघि हामीले भेट्दा उनले 'यो मुलुकमा एक दिन अवश्य प्रजातन्त्र आउँछ, चिन्ता नगर्नुस्' भनेका थिए।”

ाले भनेजस्तै देशमा प्रजातन्त्र आएको वर्षौँ भयो। तर, शहीद ाकी श्रीमती काशीदेवी धनुषा, जटहीमा गुमनाम जीवन बिताइरहेकी छन्। २०४६ मा प्रजातन्त्र प्राप्तिपछि राजनीतिक पीडित सहयोग समितिबाट ाको परिवारले रु.१ लाख आर्थिक सहयोग पाएको थियो। ज्यानको आहुति दिएर स्वतन्त्रता र प्रजातन्त्रका लागि लागिपर्ने दुर्गानन्दको योगदानको कदर आज काङ्ग्रेसभित्रै पनि हुन नसकेको ाका साथी अरविन्द ठाकुर बताउँछन्। भन्छन्, “दुर्भाग्य छ, यो देशमा शहीद र तिनका परिवारको मूल्याङ्कन कहिल्यै भएन।”

अनुशील