हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

मन्तव्य

जो अरूका लागि बाँचिरहेछन्

मुस्लिम महिलाहरू आफ्नो लागि होइन, अरूका लागि बाँचिरहेका छन्। म को हुँ भन्दा पनि म कसैकी श्रीमती, बुहारी हुँ भन्ने मात्र सोच्न बाध्य छन्, उनीहरू।

मोहम्मदी सिद्दीकी

पुरुषकै भरमा पुरुषकै लागि जिन्दगी चलाउनुपर्ने बाध्यता मुस्लिम महिलाको सबैभन्दा ठूलो समस्या हो।

पालगञ्ज नगरपालिकाको उपमेयरमा चुनाव लड्दा २०४९ सालमा मैले बुर्का खोलेकी थिएँ। धेरैले अचम्म माने, कतिले कुरा काटे। वास्तवमा मुस्लिम महिलाका लागि बुर्का त्यति ठूलो समस्या होइन। बुर्का लगाएर स्कूल'कलेज जान सकिन्छ। पाकिस्तानमा बुर्का लगाएरै महिला पाइलटहरू जहाज उडाउँछन्, डाक्टरहरू अपरेसन गर्छन् भने हामी किन घरबाहिर नहिँड्ने भनेर चलाइएको आन्दोलनले गर्दा मुस्लिम दिदीबहिनीहरू बुर्का लगाएरै स्कूल, कलेज, गोष्ठी, सभा'सम्मेलनमा जान थाले। सार्वजनिक ठाउँमा बुर्का लगाएका महिलाको उपस्थिति भएपछि बुर्काबारे विकसित गलत मान्यतामा पनि कमी आउँदै गयो।

यसो भन्दैमा मुस्लिम महिलाहरू वर्षौँदेखि भोग्दै आएका समस्याबाट मुक्त भइसकेका भन्ने होइन। मुस्लिम समाजमा हजुरआमा, आमा, श्रीमती, छोरी, दिदीबहिनी, भाउजू, बुहारी जुन रूपमा भएपनि महिलाको पुरुषको जत्तिकै भूमिका छ, उनीहरूले समाजलाई धानेका छन्। तर, मुस्लिम समुदायका महिला आˆनो लागि होइन, अरूका लागि बाँचिरहेका छन्। उनीहरूलाई आˆनो पहिचान थाहा छैन, म को हुँ भन्दा पनि म कसैकी श्रीमती, बुहारी हुँ भन्ने मात्र सोच्न बाध्य छन्, उनीहरू। समुदाय र संस्कार नै यस्तो छ कि महिलाले आˆनो बारेमा सोच्नै पाउँदैनन्। व्यक्तित्व विकास गर्ने अवसर छैन। पुरुषकै भरमा र पुरुषकै लागि जिन्दगी चलाउनुपर्ने बाध्यता मुस्लिम महिलाहरूको सबैभन्दा ठूलो समस्या हो। हुन पनि छोरी हुँदा आमाबाबुको खुसीका लागि बनाइएका नियममा बाँधिनु पर्छ। बिहे गरेपछि 'लोग्नेको घरको संस्कार नै मेरो जीवन हो' भनेर आफूलाई समर्पण गर्नुपर्छ। शैक्षिक र आर्थिक स्थिति बलियो भएको घरमा केही खुकुलो वातावरण होला, तर धेरै मुस्लिम परिवार शैक्षिक र आर्थिक रूपमै पिछडिएका हुनाले धेरैले त्यो सुविधा पाउन सम्भव छैन।

छोरा 'बोर्डिङ' पढ्न जान्छ, छोरीले दाजुभाइलाई हेरेर चित्त बुाउनुपर्छ। धार्मिक शिक्षा दिइने शहरका केही मदरसामा छोरीले पढ्न पाउँछन्, तर गाउँमा त त्यही पनि पाउँदैनन्। मदरसा जान नपाउनेहरू विद्यालय जान पाउने कुरै भएन। शिक्षामा यति पछि परेपछि उसको चेतनास्तर कस्तो होला? अपवादबाहेक बुहारीहरू आˆनै परिवारबाट प्रताडित छन्। कुटपिट र यातना सामान्य जस्तै छ। नेपालमा महिलाले भोग्ने घरेलु हिंसा सबैभन्दा बढी मुस्लिम समुदायमै छ।

यस्तो पीडामा जीवन बिताउँदा पनि सुख छैन। लोग्नेलाई मूड चल्यो कि 'तलाक' भनेर सम्बन्धविच्छेद गर्छ र घरबाट लखेटिदिन्छ। इस्लाम धार्मिक कानुनले लोग्नेस्वास्नीलाई सँगै बस्न नसक्ने अवस्था आएपछि मात्र तलाक गर्न छूट दिएको छ, जसअनुसार एक'एक महिनाको अन्तरमा तीनपल्ट तलाक भन्ने र तलाकबाट सम्बन्धविच्छेद भएपछि लालनपालनको जिम्मा लोग्नेले लिने मान्यता छ। तर, लोग्नेलाई मूड चल्नेबित्तिकै एकैमिनेटमा तीनपल्ट तलाक भनेर केही नदिई घरबाट निकालिन्छ। फोनबाटै तलाक दिइएका उदाहरण पनि छन्।

लोग्नेले यसरी 'तलाक' दिँदा पनि महिलाहरू प्रतिवाद गर्न सक्दैनन्। शिक्षा'चेतना नभएकाले आफैँ प्रतिवाद गर्ने आँट हुँदैन, समुदायले कहिल्यै उनीहरूको पक्ष लिँदैन। त्यसपछि या त आमाबाबुको बो बनेर बस्नुपर्छ, या कतै भाँडा माझ्ने काम खोजेर आफू र सन्तानको गुजारा चलाउनुपर्छ।

२१ औँ शताब्दीको दुनियाँमा, नेपालका मुस्लिम महिलाले आˆनो जीवन जिउन पाएका छैनन्। तलाकपीडित महिलाले भोगिरहेका पीडालाई सार्वजनिक मञ्चमा उठाएर हामीले उनीहरूलाई अदालतको ढोकासम्म पुर्‍याउने अभियान चलायौँ। तर, त्यसो गर्दा केही धर्मगुरुले हामीबारे गलत चर्चा चलाए। एउटा समूह बनाएर हामीलाई नै सामाजिक बहिष्कार गर्नेसम्मको योजना बनाए। मुस्लिम महिलाका लागि केही गर्नुपर्छ भनेर बल्लबल्ल लागेकाहरूमध्ये कति त्यसपछि चुप बस्न बाध्य भए। तर हामीले अभियान जारी राखेका छौँ। यो अभियान रोकिनु हुँदैन।

मुस्लिम महिलाले सधैँ धार्मिक आचरणको पालना गर्दै आएका छन्। तैपनि इस्लामले दिएको समान अधिकार आˆनै समुदायका 'टाठाबाठा' पुरुषका कारण उनीहरूले कहिल्यै उपभोग गर्न पाएका छैनन्। मुस्लिम महिलाका पीडा र समस्यालाई न राज्यले वास्ता गरेको छ, न समाजका प्रबुद्ध पुरुषहरूले नै। यतिसम्म कि शिक्षित परिवारका स्नातकोत्तर उत्तीर्ण केही बुहारीहरूलाई पनि समाज र परिवारले बाहिर काम गर्न अनुमति दिँदैनन्। उनीहरूको डिग्री'प्रमाणपत्र चार पर्खालभित्र सीमित रहन्छ। कथंकदाचित घर बाहिर निस्किन पाए पनि सरकारले नै रोजगारीको अवसर दिँदैन। बाँकेमा ६० भन्दा बढी मुस्लिम महिलाले स्थायी अध्यापन अनुमतिपत्र लिएका छन्, तर एकजनाले पनि सरकारी विद्यालयमा पढाउन पाएका छैनन्। मुस्लिम समुदाय अ विशेष गरी मुस्लिम महिलाको अवस्थामाथि अन्तर्राष्ट्रिय दातृसंस्था र गैरसरकारी संस्थाका आँखा पनि परेका छैनन्।

समग्रमा, ठूलो समस्या हाम्रो आˆनै समुदाय हो। इस्लामको ज्ञान हुने र नहुने दुवैथरीले मुस्लिम महिलालाई दबाएर राखेका छन्। त्यसैले यसका लागि महिला आफैँ जाग्नुपर्छ र आˆनै समाजका पुरुषलाई त्यो ज्ञान दिन शुरु गर्नुपर्छ।

टोलटोलमा सचेतना जगाएपछि कतिपय तलाकपीडित महिलाहरू देशको कानुनअनुसार सम्बन्धविच्छेद हुनुपर्छ भन्दै अदालत पुग्न थालेका छन्। केहीलाई अदालतले न्याय दिएको छ। तर देशमा इस्लाम कानुन नभएकाले अदालतबाट पाएको न्यायलाई पनि समाजले अस्वीकार गरिदिन्छ। त्यसैले राज्यले इस्लाम धर्मग्रन्थ 'कुरान' लाई आधार मानी मुस्लिम समाजका लागि छुट्टै कानुन बनाउनुपर्छ, त्यसो भयो भने मुस्लिम महिलाले सामाजिक न्याय पाउन सक्नेछन्।

देशमा लोकतन्त्र आएको छ। जनताको संविधान बनाउन संविधानसभाको निर्वाचन गर्ने तयारी हुँदैछ। तर नयाँ संविधानमा मुस्लिम महिला र समुदायका समस्या समाधानका लागि एउटा छुट्टै आयोग बन्नुपर्छ र त्यसमा महिला सहभागिता हुनुपर्छ। अहिलेलाई यतिमात्र भयो भने पनि मुस्लिम महिलाले भोगिरहेको उत्पीडन र पीडा धेरै हदसम्म कम गर्न सकिन्छ।

(डेढ दशकदेखि मुस्लिम महिलाको अधिकारका लागि क्रियाशील सिद्दीकी गैरसरकारी संस्था 'फात्तिमा फाउण्डेशन' की अध्यक्ष हुन्।)