हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

कृषि अलैंची

पाखोमा फल्ने पैसा

राम्रो सम्भावना हुँदाहुँदै पनि आधुनिक सीप र प्रविधिको अभाव अनि बजार प्रवर्द्धनमा कमीका कारण पूर्वी पहाडका किसानले अलैँचीबाट सक्नेजति फाइदा लिन पाएका छैनन्।

तुलसी गौतम

पछिल्ला पाँच वर्षमा नेपाली अलैँचीको निर्यात बढ्दै आएको छ। तर दुई वर्षअघि रु.८० करोडभन्दा बढीको वैदेशिक मुद्रा आर्जन गरेको अलैँचीले गएको वर्ष रु.७२ करोडमात्रै कमायो। २०५६ सालमा किसानहरूले प्रति केजी रु.५०० मा बेचेका अलैँचीको मूल्य २०६२ मा रु.१०० मा रेकाले निर्यात बढे पनि आम्दानी बढ्न सकेन। केही समयअघि भारतमा अलैँचीको बजार बुझ्न गएका उद्योेग वाणिज्य संघ, ताप्लेजुङका अध्यक्ष सन्तोष खतिवडा भन्छन्, “नेपालको अलैँची मुख्यतया सिलगुढीहुँदै दिल्ली र अमृतसर जाने भएकोले त्यहाँ मूल्य घट्नासाथ नेपाली किसानलाई पनि मर्का पर्छ।”

भदौमा यो वर्षको सिजन शुरु भएदेखि किसानले अलैँचीको मूल्य प्रति केजी रु.२००'२२५ पाउँदै आएका छन्। बजार लागत, निर्यात खर्च र प्रति मेटि्रक टन सरदर ३ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय मूल्य हेर्दा नेपाली किसानले यो वर्ष पाएको भाउ राम्रै भएको व्यापारीहरूको धारणा छ। ठूला दाना, आधुनिक प्रशोधन र आकर्षक प्याकिङ्ग हुने हो भने अै राम्रो मूल्य लिन सकिने खतिवडा बताउँछन्।

अलैँचीको वार्षिक विश्व उत्पादन १७ हजार टन छ। यसमध्ये करिब सात हजार टन उत्पादन गर्ने नेपाल अलैँचीमा संसारमै पहिलो स्थानमा आउँछ। भारतले ६ हजार टनको हाराहारी उत्पादन गर्छ भने अन्य अलैँची उत्पादक मुलुकमा भुटान र इण्डोनेसिया पनि आउँछन्। १३ हजार हेक्टरमा अलैँची लगाइएको नेपालमा गत वर्ष ६,६४६ टन सुकेको अलैँची उत्पादन भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ। कृषि उद्यम केन्द्रका डा. देवभक्त शाक्यका अनुसार भारतमा नेपालको तुलनामा दोब्बर भन्दा बढी क्षेत्र (३० हजार हे.) मा अलैँची लगाइए पनि गत वर्षको उत्पादन नेपालको भन्दा कम, ५७७३ टन, छ। पुरानो माटो, बूढा गाँज, रोग, आदिले गर्दा भारतको उत्पादन दर प्रति हेक्टर १९३'२०५ केजी छ भने नयाँ माटो, बाक्लो गाँज र कम रोग लाग्ने हुनाले नेपालको उत्पादन दर प्रति हेक्टर ५४८ केजी पुग्ने गरेको छ।

खेती र परम्परागत बजार
अलैँची खेती गर्न समुद्री सतहबाट ७०० मिटरदेखि २२०० मिटरसम्मको उचाइ, ८ देखि २० डिग्री सेल्सियस तापक्रम, दोमट माटो र वार्षिक १५०० देखि ५००० मिलिमिटर वर्षा हुने सेपिलो उत्तर मोहडा भएको ठाउँ उपयुक्त मानिन्छ। 'डम्मरसाई', 'रामसाई', 'चिवेसाई', 'गोलसाई', 'राम्ला', 'साउने', आदि अलैँचीका प्रमुख जात हुन्। डम्मरसाई ७०० देखि १२०० मिटरको उचाइसम्म र रामसाई त्यसभन्दा पनि माथि २१०० मिटरसम्ममा लगाउन सकिन्छ। १२०० मिटरभन्दा माथि नै लाग्ने साउनेको दाना ठूलो हुने र यसमा रोग कम लाग्ने भएकोले रामसाईभन्दा कम फले पनि किसानहरू साउनेप्रति आकर्षित भएका सन्तोष खतिवडाको अनुभव छ।

नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको खेती ३६ जिल्लामा फैलिएको छ। यद्यपि अलैँची लगाइएको ९७ प्रतिशत क्षेत्र पूर्वाञ्चलका १२ जिल्लामा र बाँकी तीन प्रतिशत मात्रै अरू विकास क्षेत्रमा पर्दछ। नेपालमा सबैभन्दा बढी अलैँची खेती गर्ने जिल्लामा ताप्लेजुङ्ग, (३६४७ हे.), संखुवासभा (३२५९ हे.) र इलाम (२७७४ हे.) पर्दछन्। कुल १३ हजार १९२ हेक्टर क्षेत्रमा लगाइएको अलैँचीमध्ये ११ हजार ४९८ हेक्टर अर्थात् ण्डै २ लाख ३० हजार रोपनीमा उत्पादन दिने अवस्थाका बोटहरू छन्। लगाएको तीन'चार वर्षपछि फल्न थाल्ने अलैँची २५'३० वर्षसम्म फलिरहन्छ।

अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने आदि कारणले किसानहरूका लागि यो वरदान सावित भएको छ। अलैँची भूक्षय रोक्न पनि उपयोगी मानिएको छ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै हाङ्देवामा करिब दुई दशकअघि गएको निकै ठूलो पहिरो अलैँचीले नै रोकेको, पहिरो गएको ठाउँ र भिरालो जग्गामा उत्तिसका बिरुवाहरू राम्रोसँग हुर्केका तथा अलैँचीको आम्दानीले स्थानीय अर्थतन्त्र एवं जनजीवनमा परिवर्तन समेत आएको नेदरल्याण्डस्को अन्तर्राष्ट्रिय विकास संस्था एसएनभीका एकनाथ खतिवडा बताउँछन्।

राणाहरूले वि.सं. १९०० ताका अलैँचीको बजार व्यवस्थापन गर्न भारतको पटना र मिर्जापुरमा 'अलैँची कोठी' खोलेका थिए। त्यसबेला इलामबाट किसानले ल्याउने अलैँची धरानमा सङ्कलन गरी भारत पठाइन्थ्यो। तर पछि औलोका कारण भरियाहरू बाटैमा मर्न थालेकाले धरान ल्याउन नसकेको र गाउँमा बिक्री नभएको हुनाले अलैँची बगैँचा मासिन थालेका थिए। वि.सं. १९९० को दशकमा मारवाडी व्यापारीहरूले इलाममै सङ्कलन केन्द्र खोलेेपछि पुनः खेती हुन थाल्यो। २०२० सालतिर मेची विकास कोषले किसानलाई अलैँची खेती गर्न ऋण दिन थाल्यो। आर्थिक वर्ष २०३२'३३ मा 'कृषि वर्ष' मनाउँदा सरकारले चारलाख बेर्ना वितरण गरेको थियो। २०३३ मा इलाम, फिक्कलमा अलैँची उत्पादन एवं प्रशोधनबारे अनुसन्धान एवं विकास गर्न सरकारी तवरबाट अलैँची विकास केन्द्र स्थापना भयो।

अलैँचीमा पातमा छिर्का देखिने छिर्के, गाँजमा जमरा जस्ता बिरुवा देखिने फुर्के र गानो कुहिएर बोट मर्ने आदि रोगहरू लाग्छन्, जसले उत्पादनमा २५'३० प्रतिशतसम्म कमी ल्याउने गरेको किसानहरूको गुनासो छ। अलैँची विकास केन्द्रका प्राविधिक उमेश राउत यसको दोष किसानहरूलाई नै दिँदै भन्छन्, “छिटो आम्दानी लिने लोभले रोगी बगैँचाबाट ल्याइएका बिरुवा लगाउनाले यस्तो भएको हो। हामी अलैँची विकास केन्द्रबाट शुद्ध वीउ प्रयोग गरी उमारिएका अढाई वर्षका बिरुवा लगाउन सल्लाह दिन्छौँ।” तर फिक्कलकै कतिपय किसानहरू केन्द्रका बिरुवामा ६'७ वर्षसम्म पनि अलैँची नफलेकोले उखेलेर ˆयाँकेको बताउँछन्। नेपालमा पनि भारतको सिक्किममा जस्तै अलैँचीको विकास र बजार प्रबर्द्धन हुनुपर्ने धारणा केन्द्रका प्रमुख रामप्रकाश साहको छ। “तर बजेटको अभावमा कार्यक्रम छैन र प्राविधिकहरूले मन लगाएर काम गर्न पाएका छैनन्”, उनी भन्छन्।

नेपालको अलैँची प्रशोधन प्रविधि पुरानो छ। नेपालका अधिकांश परम्परागत भट्टीमा काँचो दाउराको धुवाँले सीधै सुकाइने अलैँची बढी कालो र धुवाँ गनाउने हुन्छ। यसो हुन नदिन सुकेको दाउरा बालेर चिम्नीबाट धुवाँ बाहिर पठाई पाइपको तातोले सुकाउने सुधारिएको भट्टी चाहिन्छ। यसका लागि जिल्ला कृषि विकास कार्यालय र एसएनभी लगायतका संस्थाले सहयोग गर्न थालेका छन्। पूर्वी पहाडी कृषि विकास आयोजनाले भोजपुर, तिम्मामा जनजाति र दलितका लागि एउटा त्यस्तो भट्टी निर्माण गरिदिएको छ। यस्तो भट्टी बनाउन रु.३५'५० हजार लाग्ने र त्यसमा दाउराको खपत २५ प्रतिशत कम हुने इलामका किसानहरूको अनुभव छ।

तेस्रो मुलुकको बजार
नेपालमा उत्पादित ९० प्रतिशतभन्दा बढी अलैँची विदेश निर्यात हुन्छ। व्यापार प्रवर्द्धन तथा विकास केन्द्र पूर्वाञ्चलका दिलीप अर्यालका अनुसार, विशेषगरी मुस्लिम सम्प्रदाय भएका मुलुकमा पुलाउ, मासुका परिकार पकाउँदा हाल्न, अन्य मसलासँग मिलाएर करी पाउडर बनाउन, बिस्कुट, बेकरी, कन्फेक्सनरीमा मिसाउन, सुगन्धित तेल, पाउडर र औषधि तयार पार्न, विष लाग्ने कीरा र जनावरले टोकेको ठाउँमा लगाउने टिञ्चर बनाउन, रक्सी उत्पादन गर्न अलैँचीको प्रयोग हुन्छ। नेपालमै सिंहदरबार वैद्यखानालगायतका आयुर्वेदिक औषधि उत्पादकहरूले पनि रक्तशोधक, शक्तिवर्द्धक र दम'खोकी, अम्लपित्त, वाथ तथा पेटको रोगका औषधिमा अलैँची मिसाउँछन्।

करिब दुई सय वर्षअघि कोसेलीका रूपमा सिक्किमबाट नेपाल भित्रिएको अलैँचीको व्यावसायिक खेती हुने गरे पनि निर्यात भने भारतमै मात्र हुन्छ र त्यहाँबाट 'भारत', 'इलामी', 'हिमाली', आदि ब्राण्डमा तेस्रो देशमा जान्छ। पाकिस्तानले पनि नेपाली अलैँची खरिद गरेर अरब देशहरूमा निर्यात गर्ने गरेको छ। नेपालले गुणस्तरीय उत्पादन गरेर आˆनै ब्राण्डमा सीधै अन्य मुलुकमा निर्यात गर्ने हो भने अलैँची साँच्चिकै 'सुनको फूल पार्ने कुखुरी' हुनसक्ने उद्यमी'व्यवसायीहरूको विश्वास छ। उद्योग वाणिज्य संघ, ताप्लेजुङका अध्यक्ष सन्तोष खतिवडा पारखीहरूले धुवाँको गन्ध नआउने र ठूलो दाना भएको अलैँची मन पराउने बताउँछन्। यसका लागि उत्पादन कम भए पनि ठूलो दाना फल्ने साउने जात लगाउनु र सुधारिएको भट्टीमा सुकाउनुपर्ने उनको धारणा छ।

विश्व व्यापार सङ्गठनको सदस्य रहेको नेपालले विश्व बजारको मागअनुरुप उत्पादन र व्यापार प्रवर्द्धन गर्ने हो भने तुलनात्मक लाभका आधारमा अलैँचीमा आˆनो वर्चस्व राख्न सक्ने व्यवसायीहरूको धारणा छ। उनीहरूका अनुसार यसका लागि सरकारले पूर्वी पहाडलाई 'अलैँची क्षेत्र' घोषणा गरी अलैँचीको उत्पादन, प्रशोधन, गोदाम र बजार विविधीकरणलाई प्राथमिकता दिने,रोग कम लाग्ने जात र जैविक (अर्गानिक) उत्पादन प्रवर्द्धन गर्ने, प्राविधिक तालिम, बजार विस्तार र अमृतसर या दिल्लीमा लिलामीस्थल स्थापना गर्ने, गैरसरकारी संस्था र निजी क्षेत्रले व्यापारिक सूचना एवं सम्बन्धनका साथै आन्तरिक लिलाम प्रक्रिया र खरिद परिमाण तोक्ने तथा किसानले आधुनिक प्राविधिक ज्ञान र सीपका आधारमा लक्षित बजार हेरेर उत्पादन गर्ने काम गर्नुपर्दछ।

नेपालबाट हुने अलैँची निर्यात
आ.व.
भारत
समुद्रपार
जम्मा
२०५७/५८
२९८२०० (९१%
२१८०० (९%)
३२००००
२०५८/५९
३५९९०० (८३%)
७१५०० (१७%)
४३१४००
२०५९/६०
४६८००० (७९%)
१२५४०० (२१%)
५९३४००
२०६०/६१
४४९५०० (६६%)
२३१४०० (३४%)
६८०९००
२०६१/६२
६००७०० (७५%)
२०५२१२ (२५%)
८०५९१२
२०६२/६३
६०८१०० (८४%)
११४३३३ (१६%)
७२२४३३

स्रोतः कृषि तथा सहकारी मन्त्रालय एवं व्यापार प्रवर्द्धन तथा विकास केन्द्र, काठमाडाँै।