हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद संस्मरण-रङ्गशाला दुर्घटना

अहिले पनि उस्तैअव्यवस्था

त्यतिखेर दुर्घटना निम्त्याउने कारण बनेको रङ्गशालाको अव्यवस्था अहिले पनि उस्तै छ।

आलेख र तस्बिरः मीन बज्राचार्य

२९ फागुन २०४४ साँघुरा गेटहरु समयमा नखोलिँदा भीडमा च्यापिएर ७२ जनाको ज्यान गएको थियो।

२९ फागुन २०४४, शनिवार। आकाश धमिलिँदै थियो। एकाएक हुरी'बतासका साथ पानी पर्न थाल्यो। पानीका साथै ठूल्ठूला असिना ओइरिए। जताततै सेताम्मे देखियो। म घरको छाना सम्हाल्दै थिएँ, एम्बुलेन्सको साइरन सुनिन थाल्यो, बेजोडसँग। भर्खर'भर्खरै फोटोग्राफीमा होमिएको ममा उत्सुकता जाग्यो। घटनालाई क्यामेरामा समेट्ने उद्देश्यका साथ साइरन र कोलाहललाई पछ्याउँदै म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालातिर लागेँ।

दौडी'दौडी रङ्गशाला यताउताका तस्बिर खिचेर म वीर अस्पतालतिर हान्निएँ। त्यहाँ रङ्गशालाको भागदौडमा परी मृत र मरणासन्न व्यक्तिहरूको ताँती नै देखिन्थ्यो (हे. तस्बिर तल)। तस्बिर खिच्न खोज्दा अवरोध पुर्‍याइएपछि म फेरि रङ्गशालातिरै मोडिएँ। त्यो दिन बाङ्लादेशको मुक्तिजुद्दा र नेपालको जनकपुर चुरोट कारखाना टोलीका बीच शुभजन्मोत्सव कप फूटबलको फाइनल प्रतिस्पर्द्धा भइरहेको रहेछ। चर्को हुरीबतासका कारण दर्शकहरू रङ्गशालाबाट बाहिरिन खोज्दा पूर्व, दक्षिण र पश्चिमका साँघुरा गेट समयमा खोलिएनछन्, आँधी र असिनाबाट बच्न बाहिर निस्कन खोज्ने दर्शकहरू एकअर्कामाथि खप्टिँदै च्यापिएछन् र त्यो भीडमा थिचिँदै, निस्सासिँदै धेरैले ज्यान गुमाएछन्। वीर अस्पताल पुग्दा ४५ जनाको ज्यान गइसकेको थाहा भयो।

अन्य अस्पतालमा पुर्‍याइएका समेत त्यो दुर्घटनाले ७२ जनाको ज्यान लिएछ। करिब त्यति नै घाइते भएछन्। भोलिपल्ट, आˆनो मन्त्रालयअन्तर्गत पर्ने भएकाले तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री केशरबहादुर विष्टले …नैतिकताका आधारमा' राजिनामा दिएको सुनियो।

यही रङ्गशालामा कात्तिक २०६३ देखि शहीद स्मारक सान मिगल ए डिभिजन लिग फूटबल प्रतियोगिता भइरहेको छ। दक्षिणतर्फको दर्शकदीर्घामा बसेर ९ फागुनमा मच्छिन्द्र इनर्जाइजर र ब्वाइज युनियनबीचको पहिलो तथा नेपाल प्रहरी र मनाङमर्स्याङ्दीको दोस्रो खेल हेर्दाहेर्दै १९ वर्षअघिको त्यो कालो दिनको सम्ना आयो। मैले सोचेँ' यत्रो वर्ष बितिसक्यो, नेपालको खेलकुदमा धेरै उतारचढाव आइसक्यो; तर खेलस्थलमा चाहिने आधारभूत आवश्यकता र पूर्वाधारहरूको स्थिति उही छ।

९ फागुन २०६३ रंगशालाको भौतिक संरचना र व्यवस्थापनमा १९ वर्षपछि पनि खासै परिवर्तन भएको छैन।

अहिले पनि उस्तै छ' दशरथ रङ्गशालाको मुख्यद्वार। दर्शक ओहोरदोहोर गर्ने प्यारापिटका गेटहरू पनि पूर्ववत् साँघुरै छन्। केही चेनगेटको रुप परिवर्तन गर्नुबाहेक अरू सबै कुरा उस्तै। अहिले त न् रङ्गशाला पस्ने र फर्किने बाटोमा पार्किङ गरिएका मोटरसाइकलका कारण खुला ठाउँ देख्नै पाइँदैन। व्यवस्था उही, स्थान उही; तर दर्शकहरूको सङ्ख्या चाहिँ निकै बढिसक्यो।

२ फागुनमा ६२ वर्षपछि काठमाडौँमा हिमपात भयो। २०४४ साल फागुनको आँधीबेहरी राजधानीमा नदोहोरिएला भन्न सकिन्न। त्यस्तो घटना दोहोरियो र रङ्गशालामा रहेका ३० हजार दर्शक एकैपल्ट वा १०'१५ मिनेटमा निस्कनुपर्ने स्थिति आयो भने दर्शकहरू त्यसरी नै च्यापिने, निस्सासिने स्थिति छँदैछ। यो सम्भावना र जिम्मेवार निकायहरूको सतर्कताबारे सोधखोज गर्ने हो भने निराश हुनुपर्ने अवस्था मात्रै छ।