हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९० होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

रीमाको सुर

डम्बरकृष्ण श्रेष्ठ

वर्षकै उमेरबाट विद्यालयका मञ्चहरूमा गीत गाउन थालेकी गायिका रीमा गुरुङ (होडा) ले 'इमेज अवार्ड' २०६३' र 'हिट्स एफएम म्युजिक अवार्ड' २०६३' दुवैमा कस्को आँखा लाग्यो बरै... गीतबाट उत्कृष्ट गायिकाको उपाधि पाइन्। त्यसो त २०५६ र ०५७ सालमा पनि उनले पप र आधुनिक गायनमा हिट्स एफएम अवार्ड पाएकी थिइन्।

सङ्गीतकार बुबा प्रकाश गुरुङको काखमै सारेगम र शारदा क्षत्रीबाट सङ्गीतको औपचारिक प्रशिक्षण लिएकी रीमा (३१) ले २०५० सालबाट व्यावसायिक गायन शुरु गरेकी हुन्। त्यसयता उनले सबै विधाका गरी ४ सयजति गीत गाइसकेकी छन्। उनका लाहुरे दाइले परदेशबाट..., मैले जानिनँ कि कसो..., धरान'पोखरा... जस्ता लोक'आधुनिक तथा लगी दे लगी दे..., डाली डालीमा... आदि चलचित्रका गीत चर्चित र कर्णप्रिय छन्। अरूका ४० जति अल्बममा स्वर दिएपनि २०६२ सालमा मात्र आˆनो पहिलो एकल अल्बम प्रहिनीर बजारमा ल्याएकी रीमाले एक दर्जनभन्दा बढी देशका मञ्चमा गाइसकेकी छन्। २०५५'०५६ मा नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम तिम्रो सुर मेरो गीत र 'बीएफबीएस' रेडियोमा कार्यक्रम प्रस्तोता रहिसकेकी उनी आधुनिक, पप, लोक'दोहोरी, भजन र चलचित्र गायनमा गीतको प्रकृति हेरेर शैली फरक हुने बताउँछिन्। भन्छिन् “जनजीवन, संस्कृति बेर लोकभाका गाउनुपर्छ भने चलचित्रमा गाउँदा कथाको पात्रमा डुब्नुपर्छ। यीमध्ये सधैँका लागि जीवन्त हुन्छ आधुनिक गीत।”


कुशल श्यामल

अजय जोशी

'नयाँ नेपालको परिकल्पनामा साहित्यलाई किन छुटाउने?' यो प्रश्नले उद्वेलित भएका दोलखेली साहित्यकारहरूले २७'२८ माघमा चरिकोटमा बृहत् भेलाको आयोजना गरेर साहित्यको भूमिका खुट्याउने प्रयास गरे। उनीहरूले राजधानीबाट आमन्त्रित करिब ४० जना स्रष्टाको साथ लिएर सातबुँदे दोलखा घोषणापत्र नै जारी गरे। लोकतान्त्रिक गणतन्त्र पक्षधर स्रष्टाहरूको साा आवाज मानिएको त्यो घोषणापत्रका प्रमुख अभियन्ता थिए, कवि श्यामल (हरिहर अधिकारी)। चङ्की श्रेष्ठ, ठाकुर बेल्वासे र विष्णु भण्डारीको साथसहयोग लिँदै श्यामलले तयार पारेको घोषणापत्रले सम्मेलनस्थलमा मात्रै नभएर देशव्यापी स्याब्बासी पायो। कवि वैरागी काइँलाले त्यहीँ भनेँ, “यो घोषणापत्र हामीलाई हाम्रै निर्देशन पनि हो।”

श्यामलले दोलखा सम्मेलनको परिकल्पनामा समेत आयोजकहरू (इन्द्रेणी साहित्य समाज, प्रगतिशील लेखक संघ'दोलखा र दोलखा साहित्य सङ्गम) लाई राम्रै हौस्याएका थिए। सम्मेलनमा प्रस्तुत कार्यपत्रहरूले सहभागीहरूको अपेक्षा धान्न नसकेपछि उत्पन्न असन्तोषलाई घोषणापत्रमार्फत् थुम्थुम्याउन श्यामलले देखाएको अग्रसरताले उनका 'लुतो', 'पुल' जस्ता बहुचर्चित कविताहरू जत्तिकै छाप छोड्यो।

आयोजकदेखि सहभागीसम्म सबै “अँ, बल्ल हाम्रो कर्तव्य र दायित्वका कुरा आए” भन्दै दङ्गदास देखिएपछि सोखले कवि, पेशाले व्यवस्थापन परामर्शदाता श्यामलले भनेका थिए, “लोकतान्त्रिक मूल्य प्रवर्द्धन गर्ने काममा साहित्यकार, सिर्जनाकर्मीहरू पनि उत्तिकै सक्रिय हुनुपर्छ भन्ने हाम्रो आग्रहलाई सबैले अनुमोदन गरे। त्यसमा म गौरवान्वित छु।”