हिमाल खबरपत्रिका  
पूर्णाङ्क १८९ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पुस्तक समीक्षा

त्रासदीको चित्रण

किताबः सुकरातका पाइला (२०६३)
उपन्यासकारः प्रा. डा. गोविन्दराज भट्टराई
पृष्ठः १९५+
मूल्यः रु.१५०

एक दशक लामो द्वन्द्व र त्यसका प्रभाव, परिणतिहरूको औपन्यासिक वर्णन हो, सुकरातका पाइला। उपन्यास, निबन्ध, समालोचना, अनुवाद र सम्पादनमा सँगसँगै कलम चलाइरहेका डा. गोविन्दराज भट्टराईको बाह्रौं पुस्तकाकार कृति तथा तेस्रो उपन्यास सुकरातका पाइला लाई 'युद्ध'साहित्य' को एक अब्बल नमूना मान्न सकिन्छ। यसमा मूलतः युद्धको बेला आम नेपालीले भोगेको त्रासदीको चित्रण भेटिन्छ। त्रिभुवन विश्वविद्यालयमा मौलाइरहेको शैक्षिक बेथितिको आधारभूमिमा देशकै बेथिति उतार्ने क्रममा उपन्यासकार भट्टराईले अस्तित्ववादको वकालत गरेका छन् र स्वतन्त्रताको महिमागान गर्दै पटकपटक औंल्याएका छन्, “मानिसको निर्णयकर्ता ऊ स्वयं हो।”

कथानकका दृष्टिले सुकरातका पाइला लाई युद्धको पीडाले आहत मुलुकको आत्माको आवाज भने हुन्छ। प्रस्तुतिका हिसाबले यसमा उत्तरआधुनिक प्रयोगहरूको सम्मिलनसमेत भेट्न सकिन्छ। बौद्धिक र विचारप्रधान पनि छ यो। पहिलो खण्ड वर्णनात्मक छ भने पछिल्लो खण्ड विश्लेषणात्मक। उपन्यासले दार्शनिक सुकरातको विम्ब तानेर नेपाली गाउँशहर र त्यहाँ हुर्किरहेका प्रवृत्तिहरूको रोचक चिरफार गरेको छ। मुगलान (२०३१) र मणिपुरको चिठ्ठी (२०३४) पढिसकेकाले यो उपन्यासमा लेखक गोविन्दराज भट्टराईको अलि बेग्लै खालको चिन्तनप्रधान अवतार भेट्नेछन्।



बिक्रीमा कीर्तिमान

किताबः रक्तकुण्ड (२०६३)
लेखकः कृष्ण अविरल
पृष्ठः १४४+,
मूल्यः रु.१००

रिपोर्टाजमा उपन्यासको स्वाद र उपन्यासमा खोज पत्रकारिताको प्रभाव देखाउने संस्मरणात्मक कृति हो, रक्तकुण्ड। लेखक कृष्ण अविरलले यसलाई 'इतिहास खोतल्ने प्रयास गरिएको उपन्यास' भनेका छन्। मूलतः यो कृति नारायणहिटी दरबारभित्र पर्दाभित्रै रहेका आचरण, व्यवहारहरूको फेहरिस्त हो। राजा त्रिभुवनको विवाह प्रसङ्गदेखि १९ जेठ २०५८ को हत्याकाण्डसम्मको विवरणात्मक प्रस्तुतिमा लेखकले दरबारभित्रका शक्तिसङ्घर्ष, यौन दुराचार, षड्यन्त्रहरूका अनेकौं दृष्टान्त समेटेका छन्, जुन अपत्यारिला लाग्दैनन्। कतिपय पात्र जीवितै भएको अवस्थामा अविरलले 'दरबारी चरित्र' लाई अनावृत गर्ने काममा देखाएको साहस र ऊर्जा तारिफयोग्य छ। उपन्यास पढ्ने जो कोहीले अनुभव गर्न सक्छन्' लेखक अविरल जुारु, निडर र महवाकाङ्क्षीसमेत छन्। रहस्यहरूको उत्खनन् गर्ने उनको प्रयास औपन्यासिक सौन्दर्य, गति र संयोजनका दृष्टिले अपुरो लाग्दालाग्दै पनि पठनीय छ। कुनै प्रसङ्ग ह्वात्तै आएर स्वात्तै बिलाउँछन् र लेखक भन्छन्, “यो विषयमा चाहिँ मैले थप अनुसन्धान गर्न सकिनँ।” जिज्ञासाको उच्चतम बिन्दुमा पुर्‍याएर बिना निष्कर्ष विषयान्तर हुनु पुस्तकको औँल्याउनैपर्ने एउटा कमजोरी हो।

कथानकलाई थप प्रामाणिक बनाउन लेखक अविरलले बाबुराम आचार्य, बीपी कोइराला, डायमन शमशेर, पुरुषोत्तम जबरा, एरिका ल्युकट्यागका संस्मरणात्मक कृतिहरूसँगै दरबार हत्याकाण्डको सेरोफेरोमा पत्रपत्रिकामा प्रकाशित आलेख, तथ्य'तथ्याङ्कलाई समेत उपन्यासमा यथाप्रसङ्ग उद्धरण गरेका छन्। पत्रकारिताका दिग्गज व्यक्तित्व, मित्रमण्डलीसँगै विगतमा राजदरबारसँग सम्बद्ध कर्मचारीहरूलाई स्रोतव्यक्ति र पात्रका रूपमा उभ्याएर लीलालेखनको अभ्यास गरिरहेका अविरल र उनको रक्तकुण्ड ले सङ्केत गरेको अर्को तथ्य के हो भने, नेपालमा पाठकहरूको अभाव छैन। लेखनलाई अलिकति सुरुचिपूर्ण बनाउने हो भने बिक्रीवितरणको कीर्तिमान बनाउन सकिन्छ। सुनिँदैछ, रक्तकुण्ड ले यस्तै कीर्तिमान बनाएको छ।


जीवनजस्तै गीत

किताबः आभासित आलाप (२०६३)
गीतकारः रमेश पौडेल
पृष्ठः १०६,
मूल्यः रु. १००

कविता, गीत, गजल र मुक्तक सँगसँगै लेखिरहेका कवि रमेश पौडेलले सङ्ग्रह निकाल्ने मौका मिल्नासाथ गीतलाई प्राथमिकता दिए। भर्खरै प्रकाशित गीति'सँगालो आभासित आलाप पढ्नासाथ अनुमान गर्न सकिन्छ' उनी अरू विधामा भन्दा गीतमा बढी सहजताका साथ प्रस्तुत हुँदा रहेछन्। कृतिका ८१ वटै गीत सरल, सरस र लयात्मक छन्। हरेकमा गीति'विन्यास र शिल्पको अनुभव गर्न सकिन्छ। 'देखिएकाभन्दा छेकिएका कतिपय कुरा कल्पनामा न् राम्रा हुँदा रहेछन्' भन्दै गीति'सिर्जनामा होमिएका पौडेलले अधिकांश गीतमा 'मायाको हरक' पोखेका छन्। दुःखपीडाका अनुभूति, प्रकृति, संस्कृति र आˆनो परिवेशलाई शब्दमा उतार्न सिपालु देखिन्छन् उनी।

'बुझ्नुपर्थ्यो तिमीले नि मान्छेबाटै भूल हुन्छ त्यही भूल बल्िदिँदा मुटु दुख्ने शूल हुन्छ' जस्ता गहकिला अभिव्यक्तिहरूको आधिक्य रहेको आभासित आलाप लाई केही गीतकारले 'सपनाहरूको दस्तावेज' समेत भनेका छन्। ती सपना र तिनलाई पर्गेल्ने अभियानमा चित्रसँगै गीत र गीतसँगै चित्र कोरिरहेका रमेशको यात्रालाई 'के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित', 'साँघु चाहिने रै'छ यहाँ वारिको मन पारि तार्न कसै गरी सकिँदैन मनको चाह त्यसै मार्न' जस्ता बोलहरूले नयाँ उचाइ दिएका छन्।


हिन्दी पाठकलाई उपहार

किताबः नयी नेपाली कविताएँ (२०६३)
अनुवादकः रामदयाल राकेश
पृष्ठः १३६+
मूल्यः रु.२००, भारु. १२५


भारतीय कविहरू नेपालीमा जति परिचित छन्, नेपाली कवि'कवयित्रीहरू भारतमा त्यति चिनिँदैनन्। यसको अर्थ नेपाली कविता/काव्य अन्तर्राष्ट्रिय स्तरका छैैनन् भन्ने होइन। बाह्य परिवेशमा गर्वसाथ उभ्याउन सकिने त्यस्ता केही कवि र तिनका प्रतिनिधिमूलक सिर्जनालाई भारतीय पाठकसमक्ष पुर्‍याउने प्रयत्नकै एउटा कडी हो, नयी नेपाली कविताएँ। डा. रामदयाल राकेशले यसमा नेपाली सिर्जनालाई भारतीय साहित्यिक वृत्तमा परिचित गराउने सदाशयका साथ नेपालका ५७ कवि'कवयित्री र तिनको प्रस्तुति'शिल्पलाई हिन्दीमा अनुवाद गरेका छन्।

पुरानो र नयाँ पुस्ताका प्रतिनिधि कवि'कवयित्रीहरूलाई समेटिएको यो सङ्ग्रहका प्रायः कवितामा नेपाली सभ्यता, संस्कृति र माटोको आवाजसँगै नेपाली ढुकढुकीको अनुभव गर्न सकिन्छ। कुनै भाषा, साहित्यको मौलिक अभिव्यक्तिलाई अर्को भाषामा उत्तिकै सम्प्रेषणीय हिसाबले प्रस्तुत गर्ने चुनौतीपूर्ण कामलाई डा. राकेशले कुशलतापूर्वक पूरा गरेका छन्। अनुवादकले कविता छनौटमा पनि परिपक्वता देखाएका छन्। गजलसमेत समाविष्ट सङ्ग्रहमा पद्यकविताको अभाव भने केही खट्किन्छ। तैपनि, हिन्दीका पाठकलाई नेपाली कविताको रसास्वादन गर्ने राम्रै मौका दिएको छ यो सङ्ग्रहले।


भोगाइको अभिलेख

किताबः चिन्तन र अनुभूति (२०६३)
लेखकः मित्रसेन दाहाल
पृष्ठः २७८,
मूल्यः रु.२००

सङ्घर्षमय जीवनको रमाइलो प्रस्तुति रहेको लेख'सँगालो चिन्तन र अनुभूतिमा लेखक मित्रसेन दाहालले आˆना अनुभूतिका धेरै रोचक प्रसङ्ग समेटेका छन्। सङ्ग्रहमा समाविष्ट राजनीति, व्यवसाय र समाजसेवासम्बन्धी आलेखहरूले बौद्धिक क्षेत्रदेखि साधारण पाठकसम्मलाई घच्घच्याएका छन्। तिनमा राजनीतिक विसङ्गति र राजनीतिक नेताहरूको विचलनमाथि तीखो प्रहार भेटिन्छ।

काङ्ग्रेस पार्टी भित्रको कर्म र कलह केलाउने काममा दाहालले धेरै मेहनत गरेका छन्। अधिकांश लेखमा पार्टी कार्यकर्ताका पीडा अभिव्यक्त छन्। पुस्तकमा पार्टीभित्र हुने द्वन्द्व र कार्यकर्ताले चाहेको परिवर्तन अनि तिनको प्रभावबाट हुने समाजको विकासक्रमलाई सरल ढङ्गले व्याख्या गरिएको छ। जीवन संघर्षका क्रममा लेखकले देखेका, भोगेका घटनाहरूको सटिक प्रस्तुति यसको सबैभन्दा उल्लेख्य पक्ष हो। त्यसैले, जीवनलाई संघर्षको अर्को आयाम सम्ने हरेक व्यक्तिका लागि पठनीय र उपयोगी बनेको छ यो किताब।


रूसी कथा

किताबः रसियाको गहिराइमा र अन्य कथाहरू (२०६२)
अनुवादकः डा. जङ्गब चौहान
पृष्ठः २२२,
मूल्यः रु.१९५

रूसी भाषा'साहित्यको अध्ययनको सिलसिलामा १२ वर्ष रूसमै बिताएका अनुवादक जङ्गब चौहानले नेपाली पाठकलाई त्यो देशको ण्डै एक शताब्दीको समयलाई प्रतिनिधित्व गर्ने अन्तोन चेखोभ, माक्सिम गोर्की, मिखाइल शोलोखोभदेखि युरी बोन्देरेभसम्मका १८ लेखकका २९ वटा कथा सुम्पिएका छन्। किताबमा अधिकांश कथाकारहरूको परिचय र साहित्यिक प्रवृत्तिबारे पनि लेखिएको छ।

कथा छनौट गर्दा चौहानले बालदेखि वृद्धसम्म सबै पिँढीका पाठकहरूको रुचिलाई ध्यानमा राखेका छन्। तिनमा रूस र रूसी चरित्र, तिनको जीवन, सङ्घर्ष, मानसिकता, प्रेम, राजनीति, युद्ध र शान्तिजस्ता विविध पक्ष अभिव्यक्त भएको छ। सङ्ग्रहमा बालमनोवैज्ञानिक कथाले अलि बढी ठाउँ पाएका छन्। बालकथालाई जोड दिनुका पछाडि ६ वर्षकी छोरी नीलमसँग अनुवादकको दुःखद् वियोग पनि गाँसिएको रहेछ। उनले उपचारमा रहेकी छोरी ठीक भएपछि सुनाउनुपर्छ भनेर अनुवाद गरेका बालकथामै केही थपथाप गरेर यो सङ्ग्रह निकालेका हुन्।

सङ्ग्रहमा राखिएका अन्य कथामा २० औँ शताब्दीको पूर्वार्द्धमा भएका रूसी मजदुर आन्दोलन, क्रान्ति, गृहयुद्ध र दोस्रो विश्वयुद्धका विभीषिका तथा क्रान्ति र युद्धपछिको विकास निर्माणका गाथाहरू पनि छन्। त्यसबेलाका रूसी लेखकहरूले देखेका युद्धको त्रासदी तथा फिँजाएका मानवता र शान्तिको सन्देश भर्खरै मात्र आˆनै प्रकारको युद्ध भोगेको र शान्तिको बाटोमा अग्रसर नेपाली समाजका लागि पनि उपयोगी हुनेछन्।


गुनको सम्मान

किताबः नेपालका हितैषी जापानीहरू २ (२०६३)
लेखकः अगनसिंह थापा
पृष्ठः १४०+

नेपालका विभिन्न जनजाति र संस्कृतिको अध्ययन'अनुसन्धान गरी जापानी भाषामा जापानीले नै दर्जनौँ ग्रन्थ लेखेका छन्। नेवाः बौद्ध दर्शनको गहन अनुसन्धान गर्ने,आँखा रोगीलाई उज्यालो संसार देखाउने, नेपाली वनस्पतिलाई विश्वव्यापी चिनाउने, लुम्बिनी गुरुयोजनाको रेखाङ्कन गर्नर्ेे, परोपकार र समाजसेवामार्फत् नेपाली गाउँघरमा चेतनाको उज्यालो छर्ने सत्कार्यमा लागेका यस्ता जापानीहरूका जीवनकथा धेरैका लागि प्रेरणादायी हुन सक्छन्। यस्तै कथा'गाथाहरूको सँगालो हो, नेपालका हितैषी जापानीहरू'२। एक अर्थमा नेपाल र नेपालीलाई औधी माया गर्ने जापानीहरूप्रति कृतज्ञता पनि हो यो किताब। लेखक अगनसिंह थापाले यसलाई गुणकारी समाजसेवीहरूलाई भावनात्मक सलामी भनेका छन्।

पुस्तकमा विभिन्न क्षेत्रबाट नेपालको सेवा गर्ने १८ जना जापानी हितैषीहरूको कर्मगाथा समेटिएको छ। 'मिसन सङ्कलनका नायक', 'आमाजस्तै प्यारी कुमासिरो' जस्ता मीठा शीर्षकमा प्रस्तुति जीवनीहरू रोचक, पठनीय र ज्ञानवर्द्धक मात्र छैनन्, प्रेरणादायी पनि छन्। ल