विज्ञान'विचार
मारिँदैछन् गैँडा कोखैमा पनि
यौटा कोख दुखी रै'छ अरू क्वै
नदुखे पनि
गर त्यो गर्भको रक्षा गर्न नै नसके पनि
- कविवर माधव घिमिरेको अश्वत्थामा बाट
 |
| तस्बिरहरूः जनक अर्याल |
| मङ्सिर २०६३ मा चितवनको बरण्डाभार क्षेत्रमा
तस्करहरुले गोली हानी मारेको गैंडा। |
आमाको कोखले गर्भको
रक्षाका लागि गरेको त्यो पुकार चितवन राष्ट्रिय निकुञ्जको एक दोजिया
गैँडाले आˆनो प्राण त्याग गर्दै जस्ताको तस्तै उजागर गरिदिइन्। घटना
धेरै पुरानो हैन। १२ साउन २०६३ का दिन साँ सूर्यास्तको घाममा दुई टन
(२००० किलो वजन) शरीरकी एक पोथी गैँडा आˆनो कोखभित्र १५ महिनाको बच्चा
बोकेर चित्रसेन सामुदायिक वनको छेउछाउमा आहाल खेल्न पनि अल्छी मानेर
उभिबस्छे। एउटा गोली पड्कन्छ। ढालभन्दा बाक्लो छाला छेडेर आएको रगतको
आहालमा आमा पछारिन्छे। त्यो पीडा र त्यहाँको छटपटी कसैले वर्णन गर्न
सक्ने विषय भएन। कल्पनै पनि शायद सम्भव छैन। मानव सभ्यताले बन्दुक
र गोली त बनायो तर त्यसबाट हुने पीडा नाप्ने कुनै यन्त्र बनाएको छैन।
करिब एक महिनापछि जन्मने गर्भको रक्षा अब त्यो आमाबाट सम्भव भएन। गोलीको
पीडामा प्रसवको पीडा थपेर त्यस आमाले आˆनो बच्चालाई कोखबाट बाहिर ˆयाक्न
भएभरको बल निकाल्छे। बच्चा आधा मात्र बाहिर निस्कन्छ। आमा गैँडाको
बल सकिन्छ। प्राण जान्छ। निश्चल हुन्छे।
करिब तीन घण्टापछि कर्मचारी, सेना र समुदाय त्यहाँ पुग्छन्। गर्भको
रक्षा कसैबाट हुनसक्ने कुरै भएन। त्यहाँ एउटा जन्मको अस्वाभाविक अवसान
हुन्छ(तस्बिर तल)। मृत्युको मूल कारण गैँडाको खागमा लुकेको देखिन्छ।
गैँडाका दर्शनाभिलाषी पर्यटक र तिनबाट हुने आम्दानीसँग त्यो शिकारीको
सम्बन्ध जोडिएको थियो वा थिएन? आफू पनि आमाकै कोखबाट जन्मिएको हुँ
भन्ने हेक्का नभएको त्यस शिकारीको गाँस'बासको बाध्यताले पो त्यो क्रूरता
सिर्ज्यो कि वा फगत लोभ र लहड पो थियो कि? त्यो अै अथाहको गर्भमा छ।
तर, गैँडाको खागमा खेलवाड र लहड गर्ने मध्यपूर्वका विलासी सामन्त तथा
अतृप्त यौनका औषधिमा रनभुल्ल दक्षिण पूर्वका पथभ्रष्ट पाखण्डीहरूमा
वैज्ञानिक चेतना नहुनु गैँडा'खाग तस्करीका विशेष कारण हुन्। विश्व
समुदायले यिनमा ज्ञानको नयाँ ज्योति थप्न नसक्नु पनि एक दुःखदायी नैराश्य
हो।
उक्त घटनाको दर्द र पीडा नसेलाउँदै पञ्चकन्या सामुदायिक वन, देवनगरमा
अर्को गैँडा घाइते अवस्थामा कहिले पानीतिर कहिले जमिनतिर भाग्दै भौँतारिँदै
मान्छेबाट टाढा जान खोज्दछ। शरीरभित्र धसिएको सिसाको गोली निकालेर
औषधोपचार सम्भव हुँदैन। न एक्सरे गर्न मिल्छ न गोली ठम्याउन। न त रक्तस्राव
भरण गर्न रगतै थप्न मिल्छ त्यस शरीरमा। मृत्युवरण बाहेक अरू केही विकल्प
हुँदैन। गैँडा फेरि मर्छ। त्योभन्दा ५/७ दिन पहिले नवलपरासीको रजहरमा
विषसेवनबाट मारिएको गैँडाको सिनो गन्हाइरहेकै बेला करेन्टको प्रयोगले
पनि गैँडा मारिएको सुनियो। यो वर्षको साउनदेखि माघसम्म १४ गैँडा मरिसकेका/मारिइसकेका
छन्। आˆनै शरीरको एउटा अवयव आˆनो शत्रु बनेको छ विचरा गैँडाको जीवनमा।
त्यस खागलाई काटेरै ˆयाँकिदियो भने शायद गैँडा बच्न सक्छ कि! यसतिर
पनि विचार किन नगर्ने?
केही अफ्रिकी देश जस्तै नामिविया, स्वाजिल्याण्ड र जिम्बाबेमा यो
प्रयोग भइसकेको पनि छ। हाम्रा शासक, प्रशासक र प्रबन्धकहरू अनि विभिन्न
राजनीतिक दल र सैनिक गण पनि गैँडा खाग शिकारी र तस्करीलाई नियन्त्रण
गर्न सक्तैनन् भने शल्यक्रियाद्वारा गैँडालाई 'बे'खाग' किन नगर्ने?
यसबाट गैँडाको खाग हैन नेपालीकै नाक पो काटिन्छ कि भन्ने तर्क पनि
अगाडि आउँछ। वस्तुतः गैँडा संरक्षणले गर्दा नेपालीले आˆनो नाक निकै
ठाडो पारेको पनि हो। सन् २००० को गैँडा गणनामा विगत ५०/६० वर्षयता
लगभग सयको हाराहारीमा रहेको गैँडा सर्वाधिक बढेर ६१२ पुगेको थियो।
सन् २००१ को जनगणनामा नेपालीको सङ्ख्या २ करोड ३१ लाख नाघेको थियो।
त्यस हिसाबमा हाम्रो राष्ट्रिय सम्पदाको धरोहर प्रत्येक गैँडा मारिँदा
३७ हजारभन्दा बढी नेपालीको नाक काटिएको हीनताबोध पनि हुनुपर्ने हो।
सन् २००० देखि हालसम्म चोरी शिकारीबाट १५० गैँडा मरिसकेका छन्। त्यस
अङ्कमा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकाबाट बेपत्ता भएका ७२
गैँडा पनि थप्दा २२८ गैँडा हामीले गुमाइसकेका छौँ। चितवनमा मारिएका
जनावरको सिनोसम्म भेटिन्थ्यो। बबईमा त न खाग, न खुर, न सिनो, न कुनै
चिनो नै भेटियो।
खागको खेल
गैँडा खागको खेल दिनप्रतिदिन जटिल बन्दैछ। चर्चित पनि छ। चर्चाका
मूल विषयवस्तु भने राजनीतिक अस्थिरता र सङ्क्रमणकालको वातावरणमा भए'गरेका
भूलै भूलको यथार्थ बन्न पुगेको छ। त्यहाँ शिखाराम थारूको मृत्युदेखि
प्रमुख वार्डेन गोपाल उपाध्यायको निलम्बनसम्मका एकपछि अर्को भूल थपिँदैछन्।
एक वृद्ध चोरशिकारीको आरोपमा चितवन राष्ट्रिय निकुञ्जको प्रयासमा
पकडिन्छ र निकुञ्जको हिरासतमा रहँदारहँदै ३० जेठ २०६३ मा अस्पतालमा
उसको मृत्यु हुन्छ। त्यस परिबन्दमा चोरीशिकारी नियन्त्रण ईकाईका कर्मचारीहरू
ज्यान मारेको अभियोगमा कैद हुन्छन्। आˆनै मन्त्रालयले पनि ती कर्मचारीलाई
जोगाउन सक्तैन। निकुञ्ज प्रशासनको मनोबल शिथिल हुँदै जान्छ। चोरीशिकारीको
बिगविगी तीब्र हुन्छ। गृह प्रशासनले गैँडा चोरीशिकारीमा कैद खेप्दै
गरेका १५ जना व्यक्तिलाई बाँकी कैद मिनाहा गरी उनीहरूलाई मुक्त गरेपछि
त्यसले थप गति लिन्छ। अनुभवी शिकारी भेटिएपछि खाग तस्करीका लागि अनुकूल
वातावरण बन्दछ। थप गैँडा मारिन शुरु हुन्छ। केही पूर्वशिकारी (जेल
मुक्त) पुनः गिरˆतार पनि हुन्छन् तर गृह प्रशासनले थप ५० जना गैँडा
शिकारी कैदीहरूलाई कैदमुक्त गर्ने कारबाही पत्रपत्रिकाले भण्डाफोर
गर्छन्।
संरक्षणसँग सम्बन्धित कर्मचारी, गैरसरकारी संस्था र विशेष गरेर पत्रकार
जगतले उठाएका गैँडा संरक्षणका मुद्दालाई संसदीय समितिले गम्भीर छलफल
पनि गर्यो। संसदको गम्भीरता र सरकारको कटिबद्धता कथाैँ काल्पनिक सिद्ध
भए। गैँडाजस्तो राष्ट्रिय सम्पदालाई मार्ने वा तस्करी गर्ने अपराधलाई
जघन्य अपराधको कोटिमा राखिनुपर्छ भन्ने निर्क्योल निकालेलगत्तै निकुञ्जमा
खटिगएका नयाँ प्रमुख वार्डेनले आˆनो स्वविवेकीय अधिकार प्रयोग गरेर
'याक्चे' भनिने पेम्बा लामासहित १६ जना अभियुक्तलाई न्यूनतम सजाय तोकेर
फैसला गरिदिए। यसबाट उनीहरू पनि चाँडै छुट्न सक्ने वातावरण बनेको आभास
मिल्छ। गैँडा खाग तस्करीमा उच्चकोटिको अभियुक्त मानिने 'याक्चे' र
उनले सकारेको खाग तस्करीका विभिन्न अपराधलाई दृष्टिगत गर्दा यस घटनाले
धेरै शङ्का, उपशङ्काहरू उब्जाएको छ। याक्चेलाई गिरˆतार गर्न सफल कर्मचारी
ज्यान मुद्दामा जेलभित्र सड्ने र कुख्यात तस्कर जेलमुक्त हुनसक्ने
संयोगलाई भूलैभूलको यथार्थ मान्नुपर्दछ।
यसभित्र धेरै जटिल प्रश्नहरू छन्। पहिलो प्रश्न मानवअधिकारको हुन्छ।
चोरी शिकारीसम्वद्ध अपराध अनुसन्धान गर्ने/गराउने तौरतरिकाबारे आधुनिक
पद्धतिद्वारा (मानवअधिकारको मर्यादाभित्र बसेर) हुनुपर्ने हो वा हैन?
अभियुक्तलाई कति अवधिभित्र मुद्दा किनारा लगाएर न्याय सम्पादन गर्ने?
न्याय सम्पादनको अधिकार प्रमुख वार्डेनलाई कायम राख्न दिने वा नदिने?
कानून विशेषज्ञको भूमिका हुन्छ वा हुँदैन? अभियुक्तहरूबाट बरामद हुने
भौतिक सामग्री कसको जिम्मा भित्र राख्ने? कब्जा गर्ने निकुञ्ज प्रशासन
वा सेनाका अधिकारीले प्रयोग गर्न मिल्ने कि नमिल्ने? मुद्दा फैसला
गर्दा मौजुदा स्वविवेकीय अधिकार (५ वर्षदेखि १५ वर्ष कैद, ५० हजारदेखि
१ लाख रुपैयाँ जरिवाना वा दुवै) को दायरा घटबढ गर्ने वा नगर्ने?
निकुञ्जमा कार्यरत नेपाली सेनाले मध्यवर्ती क्षेत्रमा गस्ती गर्न
मिल्दैन र अधिकतम गैँडा शिकार मध्यवर्ती क्षेत्रमा हुने गरेको छ। मध्यवर्ती
क्षेत्रमा सशस्त्र गस्ती कसको जिम्मा हो भन्ने स्पष्ट छैन। निकुञ्जको
आम्दानीबाट करोडौँ रुपैयाँ मध्यवर्ती विकासमा गएको देखिएपनि त्यसको
प्रतिफल गैँडा सुरक्षामा उजागर हुन नसक्नुका कारणहरू के होलान्? निकुञ्जको
सम्पूर्ण व्यवस्थापन निजी क्षेत्रबाट मात्र हुने अवस्थामा गैँडा सुरक्षाको
रणनीति कस्तो हुनुपर्ला?
गैँडा शिकारी वा तस्करीको अपराधलाई जघन्य अपराधको कोटिमा राख्नेबारे
कारबाही चलिरहेको अवस्थामा गैँडा, बाघ, हात्तीजस्ता राष्ट्रिय सम्पदाका
रूपमा संरक्षित वन्यजन्तुबाट हुने हानि, नोक्सानी वा अन्य जनधनको क्षतिपूर्ति
बारे पनि विशेष बन्दोवस्त हुनु अति आवश्यक छ। नेपालको अन्तरिम संविधान
२०६३ ले राज्य पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि'सम्ौताको प्रभावकारी
कार्यान्वयन राज्यको दायित्वभित्र छ भन्ने स्पष्ट उल्लेख गरेको छ।
यस सम्बन्धमा हालसम्म पनि दुर्लभ पशुपक्षी वा वनस्पतिको अन्तर्राष्ट्रिय
बेचविखन र व्यापारमा नियन्त्रण गर्ने 'साइटिस' बारे नेपाली कानून बन्न
सकेको छैन। चोरी शिकारी र तस्करी विषयमा सरकार उदासीन भयो भने भोलिका
सन्ततिले हामीलाई धिक्कार्ने छन्।
गैँडालाई उपयुक्त वासस्थान भएका अन्य क्षेत्रमा स्थानान्तर गर्नुभन्दा
पहिले सुरक्षाको व्यवस्था प्रत्याभूत हुनुपर्छ भन्ने उदाहरण बबईले
प्रस्तुत गरेको छ। तसर्थ, हाल मौजुदा दुई निकुञ्ज (चितवन तथा बर्दिया)
तथा शुक्लाफाँटा वन्यजन्तु आरक्षको सुरक्षा विशेष कडा गर्नु परेको
छ। गैँडा स्थानान्तरलाई हाल स्थगित गर्नु नै श्रेयस्कर हुन्छ।
सन् २००५ को गैँडा गणनापछि चितवन, बर्दिया र शुक्लाफाँटा समेतमा गरेर
३९५ गैँडा भएको अनुमान गर्न सकिन्छ। हालै नेपाल सरकारले जारी गरेको
गैँडा संरक्षण कार्ययोजनाले सन् २००६ देखि २०११ सम्म पाँच वर्षका लागि
२९ लाख अमेरिकी डलर (लगभग रु.२० करोड) को प्रस्ताव गरेको छ। यसबाट
प्रति गैँडा रु.५० लाख ६० हजार लागत पर्ने स्पष्ट छ। यो राशी उपलब्ध
हुने अवस्था खडा नभएसम्म तत्काल गरिनुपर्ने कार्यमा निकुञ्ज, नेपाली
सेना एवं वन प्रशासनतर्फका चौकी एवं गस्तीहरू चुस्त राख्नुपर्छ। तर
अहिले चोरी शिकारी र तस्करी व्यक्तिविशेषका मुद्दामा चलखेल गर्ने,
कैद माफी र मिनाहालाई प्राथमिकता दिने कार्यहरूमा अल्ेर संरक्षण कार्य
ओेलमा पर्न गएको छ। चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणको सम्पूर्ण
कार्य गैँडा खागको खेलमा अड्कन पुगेको छ।
गैँडालाई अङ्ग्रेजीमा 'राइनोसेरस' भनिन्छ। ग्रीक भाषाको 'राइनो'
ले नाक र 'सेरस' ले सिङ भन्ने बुाउँदछ। यो प्राणीको नाकमाथि उम्रने
सिङ हाम्रो गाई, भैँसी, जरायो, हरिणको जस्तो खप्परकै अभिन्न अङ्ग भने
होइन। हाम्रा हातगोडाका नङ वा कपालैँ यो बाह्य अवयव हो। यसलाई काट्न
मिल्छ र यो फेरि पलाउँदछ पनि। हाम्रो गैँडामा एक सिङ हुने भएकोले वैज्ञानिक
जगतमा यसको नाम 'राइनोसेरस युनिकर्निस' पर्न गएको हो। छिप्पिएको गैँडाको
खाग लगभग एक किलोग्राम वजनको हुन्छ र मुठ्ठी हात जति लामो हुन्छ। भाले
वा पोथी दुवैमा खाग हुन्छ। यो लौरो न हतियार भनेैँ लड्न भिड्नमा काम
लाग्दैन, न त जमिनमा माटो खन्नमा नै प्रयोग हुन्छ। जोडी खोज्नमा वा
कुनै यौनक्रीडामा आकर्षण थप्न पनि यसले कुनै भूमिका खेल्दैन। त्यसो
भए मध्यपूर्वका, विशेषतः ओमान र यमनका धनाढ्यहरूले भिर्ने खञ्जर र
चुप्पीको बिँडका लागि नै यसको सृष्टि भएको होला त? यिनले पिउने रक्सीको
प्यालाकै निम्ति प्रकृतिले यति कष्ट उठायो होला त? साँच्चै गैँडा खागको
प्यालामा विष मिसावट भएका मदिराले फिंज निकाल्छ त? चिनियाँ वा तिब्बती
औषधिमा गैँडाको खागले यौन उत्तेजना शक्ति भर्न सक्छ त? यी सब मित्थ्या
हुन्। तिनमा वैज्ञानिक आधार छैन। तसर्थ गैँडा'खागको विषयमा एक मनोवैज्ञानिक
सङ्ग्राम पनि छेड्नु जरुरी छ। चेतना उजागर गराउन सक्नु परेको छ। यसो
हुन सकेन र अै पनि एउटा खागले एक खेतालाको २/३ वर्षको ज्याला तिर्छ
भने प्रशासनको पासोमा तस्करीभन्दा तस्करीको पासोमा प्रशासन फस्ने सम्भावना
रहिरहन्छ। खागकै कारण गैँडाको वंश लोप हुने भएमा र तस्करीको सञ्जाल
'बेनकाव' गर्न नसकिने हो भने गँैडालाई 'बे'खाग' गर्नु नै राम्रो विकल्प
होला।
|