हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

नयाँ नेपालको प्रतीक चिह्न

यसको आकार गोलो जरुर हुन्छ तर यो थरीथरीको साइजमा पाइन्छ— सानो, ठूलो, पातलो, मोटो। यो जहाँ पनि पाइन्छ— नयाँ भए पसलमा, नत्र ग्यारेजमा, फोहोरको डङ्गुरमा, कबाडी पसलमा। आगो पाउनासाथ यो सजिलै जल्छ। यो जल्दा यसले कालो धुवाँको मुस्लो ˆयाँक्छ। त्यो धुवाँको महव छ। त्यो धुवाँ फैलन थालेपछि ट्राफिक रोकिन्छ। मानिसहरू त्यसतिर ुम्मिन्छन्। प्रायशः यो बलेको ठाउँमा ण्डा पनि हुन सक्छ र नारा लागेको पनि हुन्छ। यो त्यो ऐतिहासिक गोलो हो जसले नेपालीहरूलाई लोकतन्त्र दिलायो। यो त्यो बस्तु हो जसले लोकतन्त्रलाई जिउँदो, ऊर्जाशील र सक्रिय बनाइराखेको छ। यो बाक्लो र मोटो रहुन्जेल कुनै सवारीसाधनको बो बोकेर सडकसित नाक रगडिरहन्छ। घिसि्रएर पातलो भएपछि सवारी गुडाउनुपर्ने दायित्वबाट जब त्यो मुक्त हुन्छ, तब यो विद्रोहको, असन्तोषको, आक्रोशको र समग्रमा क्रान्तिको राँको बन्दछ। हो, यो त्यही टायर हो।

गुगलअर्थ

टायरले आˆनो सारा जीवन नै रिक्सा, साइकल, मोटरसाइकल, मोपेड, स्कुटर, टेम्पो, कार, मिनीबस, ट्याक्टर, पावर टिलर, बस, मिनीट्रक, ट्रक, गल्फकार्ट, ठेलागाडा, बुल्डोजर, डम्पर आदिको तलुवा बनेर न्यौछावर गर्छ। तर जब यो सक्रिय सेवाबाट पत्रु भएका कारण निवृत्त हुन्छ तब यो महान् यज्ञमा चरुैँ उत्सर्ग हुन्छ। वास्तवमा टायरबिना कुनै बन्द, हडताल, विरोध प्रदर्शन, जुलुस र आन्दोलन सफल बन्दैन। यसमा सरकार बदल्ने शक्ति छ। राजा महाराजालाई गलाउने तागत छ। आफैँ कसैले पाङ्ग्रामा नजोडी गुड्न पनि नसक्ने यो टायर जनताका हातमा परेपछि महादेवको त्रिशूल बन्छ। विष्णुको चक्र बन्छ। अर्जुनको गाण्डीव बन्छ। यो हरेक विद्रोहीको अमोघ अस्त्र बन्छ। कुनै पनि विद्रोहीले इच्छा मात्र गर्नुपर्छ यो सहजै उपलब्ध हुन्छ।

यो केटाकेटी, किशोर'किशोरी, विद्यार्थी, युवा, महिला, शिक्षक, मजदुर, किसान, व्यापारी, उद्योगपति जसले उपयोग गरे नि हुन्छ। अनि जे कामका लागि उपयोग गरे नि हुन्छ। मिनीबसले ठक्कर दिँदा होस्, प्रवेश परीक्षामा फेल हुँदा होस्, ट्राफिक प्रहरीले लाइसेन्स खोस्दा होस्, चन्दा माग्दा होस्, चन्दा नदिँदा होस्, कसैको वक्तव्य आउँदा होस्, कोही आउँदा होस्, कोही जाँदा होस्, तलब वृद्धि नहुँदा होस्, बस त्रिशूलीमा खस्दा होस्, मोटरसाइकल जुध्दा होस्, लोडसेडिङ हुँदा होस्, धारामा पानी नआउँदा होस्, क्रिकेट म्याच हार्दा होस्, साहुले पिटाइ खाँदा होस्, खलासीलाई गाडीले किच्दा होस् टायरको उपयोग गर्न सकिन्छ। यसलाई सडकमा बाल्न सकिन्छ। अनि चाहेको कुरा पाउन सकिन्छ।

यस्तो प्रभावशाली, यस्तो शक्तिशाली, यस्तो बलशाली टायरबिना हाम्रो लोकतन्त्र किमार्थ चल्न सक्दैन। यसैले अन्तरिम संविधानमा तत्काल संशोधन गरेर विद्रोहको परिचायक, क्रान्तिको संवाहक, लोकतन्त्रको द्योतक यस टायरलाई नयाँ नेपालको प्रतीक चिह्न घोषित गरिनु उपयुक्त देखिन्छ।

यस्तो प्रस्ताव अन्तरिम संसदसामु राखे कसो होला?

फोटो खिच्न नहुने दरबार
'गुगल अर्थ' यस्तो कम्प्युटर प्रोग्राम हो जसको सहायताले पृथ्वीको कुनै पनि ठाउँको घर, बारी, रूख, मैदान, खोला सडक सबै समेटिएको भूदृश्य छर्लङ्ग कम्प्युटरमा देख्न सकिन्छ। कम्प्युटर खेलाएर त्यस नक्सालाई तल, माथि दायाँबायाँ र जुनसुकै कोणबाट ठूलो'सानो पारी हेर्न सकिन्छ। कुनै खास ठाउँको लम्बाइ'चौडाइ नापेर त्यसको क्षेत्रफल धरी निकाल्न सकिन्छ। अमेरिकाका शहरहरूको त घरको ब्लक नम्बरमै 'जुम' गर्न सकिन्छ।

स्याटेलाइटबाट खिचिएका तस्बिरहरूका आधारमा तयार भएको यो प्रोग्राम चलाएर काठमाडौँ उपत्यकाकै पनि चप्पाचप्पा चहार्न सकिन्छ। यस शहरको हरेक ठाउँलाई ठूलो पारेर आरामसँग हेर्न सकिन्छ चाहे त्यो नारायणहिटी दरबार होस् वा सिंहदरबार, लालदरबार होस् वा फोहोरा दरबार।

अस्ति भर्खरै एउटा समाचार आएको थियो अमेरिकी क्लब रहेको फोहोरादरबार अघिल्तिर फोटो खिचेकामा एक जना जापानी पर्यटक त्यस क्लबका सुरक्षा गार्डहरूद्वारा पक्राउ परे भनेर। समाचारअनुसार यसअघि नेपालीहरू पनि फोटो खिचेकै कारण पक्राउ परेका बुियो। अहिलेको जमानामा त्यो पनि नाथे टेनिस र पौडी खेल्ने अनि सिनेमा हेर्ने एउटा क्लबको बाहिरी पर्खालको फोटो खिच्न नपाइने र त्यसबापत समातिने भनेको त साह्रै हाँसउठ्दो मात्र होइन रिसउठ्ने कुरा पनि हो।

के अमेरिकी अधिकारीहरूलाई थाहा छैन 'गुगल अर्थ' मा के देखिन्छ भन्ने? फोहोरा दरबारको त्यस क्लबमा गोप्य राख्नुपर्ने वा सुरक्षाको के त्यस्तो कुरा हुँदो हो फोटो खिच्न नमिल्ने? अमेरिकी करदाताले कर तिरेको पैसाले यहाँ दूतावासले यस्तो मोजमज्जा गरिरहेको छ भन्ने अमेरिकी जनताले थाहा पाउँछन् भन्ने डरले फोटो खिच्न नदिएका हुन् कि! अथवा त्यहाँ भित्रकाहरूले आफूलाई नेपालको नयाँ दरबारमा बसेका ठानेका हुन्?

क्रिकेट क्रेज
वेष्टइण्डिजमा क्रिकेट म्याच शुरु के भयो जताततै त्यसैको कुरा, त्यसैको चर्चा। पत्रिका पढ्यो त्यसैको खबर मुखपृष्ठमा। रेडियो सुन्यो क्रिकेटकै खबर। टेलिभिजन हेर्‍यो, जुन च्यानल हेरे पनि क्रिकेटकै छलफल, क्रिकेटकै विश्लेषण, क्रिकेटकै अन्तर्वार्ता। खेल हुनुअघि यस्तो यस्तो हुनेछ भन्ने अड्कलबाजी। खेल सकियो— यस्तो यस्तो हुनुपर्ने थियो भन्ने विशद विवेचना।

साथीभाइसँग भेट्यो त्यही क्रिकेटकै कुरा। कोही एउटाको पक्ष लिने, कोही अर्काको। कति त बाजी पनि खेल्ने।

यता टोलछिमेकमा न ठाउँ छ, न गतिलो ब्याट र विकेट छ तर केटाहरूलाई क्रिकेट खेल्नुपर्ने। दस फिट चौडा गल्लीमै तीन वटा घोचा ठड्यायो, हान्यो। झ्यालको सिसा फुट्ला कि आˆनै टाउकामा टुटुल्का उठ्ला भन्ने त्राहिमाम्।

जिन्दगीमा साँच्चिकै कहिल्यै बल र ब्याट नछोएकाहरूबाट पनि 'एलबीडब्ल्यु' बारे राय सुन्नुपर्ने। कसरी खेलाडी आउट हुन्छ र आउट कति प्रकारले हुन्छ त्यो नबुझ्ने गृहिणीले पनि को आउट भयो रे भनेर सोधिदिने।

क्रिकेटलाई अङ्ग्रेजको उपनिवेश रहिसकेका देशहरूमा मात्र खेलिने खेल भन्छन्। तर नेपालमा पनि क्रिकेटले उपद्रो मच्चाएको छ। के भएको होला यो?