रिपोर्ट हुलाकसेवा
गुम्दैछ शान
समयअनुसार चल्न नसक्दा सय वर्षदेखि राज्यको
एउटा प्रमुख सञ्चार संयन्त्र रहेको हुलाक सेवा पूर्णतः उपेक्षित भएको
छ। तर, यस्तो अवस्थामा समेत द्रुत डाँक सेवा, हुलाक ब्याङ्किङ आदि
क्षेत्रमा हुलाकले हासिल गरेको सफलताले जिम्मेवारी र अवसर पाए अझै
केही गर्नसक्ने आँट पनि देखाउँछ।
• डम्बरकृष्ण श्रेष्ठ
 |
| तस्बिरहरूः मीन बज्राचार्य |
| काठमाडौंको न्यूरोडस्थित पत्र'मञ्जुषा। |
पूर्व सञ्चारमन्त्री
तथा लेखक'स्तम्भकार प्रदीप नेपालले चिठ्ठीपत्र लेख्न र हुलाकको प्रयोग
गर्न छाडेको १० वर्ष नाघिसक्यो। २०४६ सालअघिसम्म पार्टीको भूमिगत सम्पर्क
केन्द्र र त्यसपछि केही वर्ष हुलाकबाट चिठ्ठीपत्र आदानप्रदान गरेका
नेकपा (एमाले) का नेता नेपाल हिजोआज कम्प्युटरमा चिठ्ठी'पत्र र लेखरचनाहरू
लेख्छन् अनि इमेलबाट पठाउँछन्। गोश्वारा हुलाक कार्यालय, काठमाडौँको
उनको पोष्ट बक्समा औपचारिक निम्तो बाहेक खासै चिठ्ठीपत्र आउँदैनन्।
उनी भन्छन्, “इमेल'इन्टरनेट चलाउन थालेपछि पोष्ट बक्स नै खारेज गरौँ
कि जस्तो लागेको छ।”
आधुनिक सञ्चारप्रविधिले गर्दा अहिले धेरैले चिठ्ठी
लेख्न छाडिसके। चिठ्ठीपत्रको ठाउँ इमेल, च्याट, एसएमएस'एमएमएसले लिएका
छन्। पाल्पाबाट आएर काठमाडौँमा बसिरहेका र पत्रमित्रतामा रुचि राख्ने
दीपक अर्याल एक समय हुलाकबाट महिनाको डेढ सय जति चिठ्ठीपत्र पाउने'पठाउने
गर्दथे भने अहिले मुश्किलले तीन वटा पाउँछन्'पठाउँछन्, त्यो पनि इमेल
नभएका दुर्गम ठाउँका साथीहरूका मात्र। मदन पुरस्कार पुस्तकालयमा कार्यरत
दीपक भन्छन्, “हुन त हातले चिठ्ठी लेख्दा जत्तिको मज्जा इमेलमा लेख्दा
हुँदैन, तैपनि चिठ्ठी लेख्ने बानी हराइसक्यो।”
इन्टरनेटबाट आˆनै भाषामा इमेल लेख्न, तस्बिर पठाउन
र एकअर्काको प्रत्यक्ष अनुहार हेरेर कुरा गर्न समेत सकिने भएकाले यसको
आकर्षण बढ्दै गएको छ। आफू सञ्चारमन्त्री हुँदा सञ्चारप्रविधिमा यति
विकास भइनसकेको स्मरण गर्दै प्रदीप नेपाल भन्छन्, “म मन्त्री हुँदा
भर्खर इन्टरनेट आएको हो। त्यो बेला उपत्यकामा समेत टेलिफोनको ठूलो
अभाव थियो। मोबाइलका लागि पहिलो हस्ताक्षर गर्ने मै हुँ।”
टेलिफोनको पहुँच बढेदेखि नै सञ्चोसुविस्ता र स'साना
खबर आदानप्रदान गर्न हुलाकको प्रयोग घट्न थाल्यो। इमेल आएपछि यो क्रम
न् बढ्यो। साधारण फोन, मोबाइल, इमेल'इन्टरनेटको त्यति विकास नहुँदा
सञ्चारको एउटा प्रमुख माध्यम रहेको हुलाक सेवालाई अहिले आˆनै अस्तित्व
जोगाउन गाह्रो भइरहेको छ। सरकारले हुलाक सेवामा समयानुकूल सुधार गर्न
नसक्नुले यस्तो भएको हो भन्ने सम्बद्ध पक्षको धारणा छ। १० वर्षअघि,
हुलाक सेवामा प्रवेश गरेका खडानन्द (प्रतीक) ढकाललाई त्यसबेला कतै
हुलाकै धरासायी हुने त होइन भन्ने लागेको थियो। यसै वर्ष संस्कृति,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका ढकाल भन्छन्, “हुलाकमा
चिठ्ठीपत्र आदानप्रदानको क्रम ९० प्रतिशतले घट्ला भन्ने ठानेका थियौँ,
तर अहिलेसम्म ५० प्रतिशत जति मात्र घटेको छ। चिठ्ठीपत्र घट्यो, तर
पुस्तक, शुभकामना कार्ड, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र
तिनका प्रतिलिपि जस्ता डकुमेण्टस् पठाउने क्रम बढेको छ। वैदेशिक रोजगारमा
जानेले र एफएम रेडियोका श्रोताले चिठ्ठी पठाउने क्रम कायमै छ।”
घट्दो शान
 |
| गोश्वारा हुलाक कार्यालय, काठमाडौँका हुलाकीहरु। |
२०२२ सालमा हुलाक सेवामा प्रवेश गरेर त्यसमा १६ वर्ष बिताएका हास्यकलाकार
गोपालराज मैनालीको अनुभवमा, गाउँमा चिठ्ठी पुर्याउन जाँदा हुलाकीले
ठूलो मान र मीठा'मीठा खानेकुरा पाउने हुनाले हुलाकी बन्नलाई कसैकसैले
ठूला हाकिमलाई घूस समेत खुवाउने गर्दथे रे। उनी सुनाउँछन्, “हुलाकी
सरकारका प्रतिनिधि हुन्, हुलाकीसँग हिमचिम गर्न पाउनु अहोभाग्य, आफैँ
हुलाकी हुनु त न् सौभाग्य भन्थे मानिसहरू!”
तर, आज स्थिति ठीक उल्टो छ। हुलाकको आकर्षण पहिले जस्तो छैन। हुलाक
सेवा विभागका महानिर्देशक श्रीधर गौतम हुलाकले समयअनुसार आफूलाई परिवर्तन
गर्न नसकेकाले यस्तो भएको बताउँछन्। उनी भन्छन्, “पहिले शानको जागिर
ठान्ने कर्मचारीहरूकै मनोबल आज गिरेको छ। आत्मग्लानि छ। समाजले बढी
पैसा कमाउने कर्मचारीलाई ठूलो ठान्ने हुनाले हुलाकका कर्मचारी हेपिएका
छन्। हुलाकमा काम गर्नेलाई छोरी दिन नचाहने प्रवृत्ति समेत देखिएको
छ।” महानिर्देशक गौतम प्रशासन र हुलाक दुवै सरकारी निकाय नै भएपनि
हुलाकमा जाने मानिसहरूले कर्मचारीलाई थर्काउने, तर प्रशासनमा जानेहरू
मुसा जस्तो हुने गरेका उदाहरण दिन्छन्। हुलाकीको जनसम्पर्क घट्दै गएको
छ र उनीहरू आफूलाई हल्काराको रूपमा चिनाउन समेत चाहँदैनन्। गोश्वारा
हुलाक कार्यालय, काठमाडौँका प्रमुख लोकप्रसाद आचार्य भन्छन्, “त्यही
कारणले होला कतिपय हल्काराहरू आˆनो पोशाक समेत लगाउन मन पराउँदैनन्।”
 |
नेपालमा हुलाकको अवधारणा पृथ्वीनारायण शाहकै पालामा आएको हो। त्यसबेला
स'साना राज्यहरूले आˆना जनतासँग र अरू राज्यमा सम्पर्क विस्तार गर्न
तथा सेनाका लागि रसदपानी ल्याउन …हुलाकी' को रूपमा अलग्गै मान्छे राख्ने
गरेका थिए। एकीकरण अभियानका बेला हुलाकीको प्रयोग न् बढ्यो, जुनबेला
सामान बोक्नेलाई …थाप्ले हुलाकी' र कागजपत्र बोक्नेलाई …कागते हुलाकी'
भनिन्थ्यो।
नेपालमा हुलाक सेवाको संस्थागत सुरुआत करिब १३० वर्षअघि वि.सं. १९३५
मा …नेपाल हुलाक घर' को स्थापनापछि भएको र योजनाबद्ध विकास २००७ सालपछि
हुनथालेको हो। त्यसै समयदेखि छिटो चिठ्ठीपत्र पुर्याउन एउटा हुलाकबाट
अर्को हुलाक पुग्ने छोटा …हुलाकी मार्ग' को विकास भयो। नेपालको हुलाकले
विश्व हुलाक संघको सदस्यता लिएर २०१३ सालदेखि अन्तर्राष्ट्रिय सेवा
शुरु गर्यो। अधिराज्यका प्रायः सबै नगरपालिका र गाविसमा सञ्जाल भएको
हुलाकका देशभर ३,९९२ कार्यालय छन्। १०६ वटा गाविसमा मात्र हुलाक पुग्न
बाँकी छ।
हुलाकले पछिल्लो समय हिंसात्मक द्वन्द्वको मार पनि खप्नु परेको थियो।
हुलाक सेवा विभागले द्वन्द्वबाट क्षति भएका ६८५ हुलाक कार्यालयका पूर्वाधार
निर्माण र पुनःस्थापना गर्न रु.१८ करोड ३४ लाखभन्दा बढी खर्च लाग्ने
बताएको छ। थप हुलाक कार्यालय स्थापना र हुलाक ब्याङ्किङका लागि कम्प्युटर
प्रणाली विस्तार तथा काउण्टर निर्माणका लागि अरू रु.८ करोड जति आवश्यक
देखिएको छ। तर, सरकारले यसलाई कुनै प्राथमिकता नदिएकाले स्थिति एकदमै
दयनीय रहेको हुलाकका कर्मचारीहरूको गुनासो छ।
एक हुलाक कर्मचारीका अनुसार, हुलाकका कति ठाउँका कार्यालयले भाडा
तिर्न सकेका छैनन्। हुलाकसँग सबै कार्यालयको साइनबोर्ड र रबर स्ट्याम्पमा
…श्री ५ को सरकार' फेरेर …नेपाल सरकार' बनाउने पैसा नभएकाले कतिपय
कार्यालयका स्ट्याम्प र बोर्डमा …श्री ५ को सरकार' नै छ। देशका करिब
चार हजार कार्यालयलाई रबर स्ट्याम्प र बोर्ड फेर्न रु.२० लाख चाहिन्छ।
वार्षिक रु.१२ करोड जति आम्दानी गर्ने हुलाकको खर्च करिब रु.१ अर्ब
छ।
सरकारकै बेवास्ता
 |
| जिम्मेवारी पाए गर्न सक्छौंः हुलाकमा अहिले कम्प्युटर प्रविधिबाट
काम हुन थालेको छ, गोश्वारा हुलाकको दृश्य। |
हुलाक सेवालाई समयअनुसार परिमार्जन नगरी बेवास्ता गरेर सरकारले देशभर
छरिएका २० हजारभन्दा बढी हुलाक कर्मचारीबाट फाइदा लिन सकेको छैन। हुलाक
सेवामा ९,८५२ नियमित र १०,७७७ करारका कर्मचारी काम गर्छन्।
हुलाकको स्रोतसाधन र जनशक्ति परिचालन गरेर केन्द्रदेखि गाउँसम्म गर्न
सकिने कैयौँ कामका लागि सरकारले करोडौँ खर्च गरेर अरू संयन्त्र खडा
गरिरहेको हुलाक कर्मचारीहरूको गुनासो छ। महानिर्देशक गौतम भन्छन्,
“हाम्रा कर्मचारी कार्यालयमा िँगा मारेर बसेका छन्। दाताले दिएका पैसा
सिद्ध्याउन कतिपय काममा पहिलेदेखि खडा भएको संरचनालाई उपयोग नगर्ने,
तर थप खर्च गरेर तल्लो तहसम्म नयाँ संरचना खडा गर्ने काम भइरहेको छ।”
आफूले यो कुरालाई राष्ट्रिय योजना आयोगसम्म पुर्याए पनि हुलाक पूर्ववत्
सरकारी बेवास्ताको शिकार भइरहेको उनी बताउँछन्। हुलाकका एक उच्च अधिकृत
सरकार र राजनीतिक दलप्रति नै आक्रोश पोख्दै भन्छन्, “सरकार र पार्टीहरू
आˆना मान्छेलाई जागिर खुवाउने ध्याउन्नमा भएकाले विद्यमान संयन्त्रलाई
बेवास्ता गरेर नयाँ खडा गर्नेतिर लागेका हुन्।”
जिम्मेवारी पाए हुलाकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता,
राहदानी र लाइसेन्स वितरणदेखि मतदाता नामावली सङ्कलन तथा स्थानीय सूचना'सञ्चार
केन्द्रसम्मको काम गर्न सक्ने महानिर्देशक श्रीधर गौतमको दाबी छ। उनी
भन्छन्, “विदेशमा जस्तो प्रत्येक मानिसको व्यक्तिगत विवरण राख्ने र
उसलाई सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने काम, जुन नेपालमा भएकै छैन,
हुलाकले गर्न सक्दछ। सञ्चार मन्त्रालयले सूचनाप्रविधि आयोजनाअन्तर्गत
देशभर खोल्ने तयारी गरिरहेको १५ सय टेलिसेण्टरको काम हुलाकलाई दिनुपर्ने
माग राख्दै आएका छौँ।”
हुलाक पुरानै ढाँचा र शैलीमा चलिरहेकाले यसले काम गर्नै सक्दैन भन्नेहरूलाई
उनको जवाफ छ, “३० वर्षदेखि हुलाक टिकट बेचेर बसेका हाम्रा कर्मचारी
अहिले कम्प्युटरमा काम गर्न थालेका छन्। जिम्मेवारी र प्रशिक्षण पाए
गर्न नसक्ने कुरै छैन।” अहिले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज,
पोखरा, विराटनगर र धरानका हुलाक कार्यालयहरूमा कम्प्युटरको प्रयोग
हुन थालेको छ। गोश्वारा हुलाक कार्यालय, काठमाडाँैले आˆना १७ हजार
पोष्टबक्स ग्राहकलाई चिठ्ठीपत्र आएको जानकारी इन्टरनेटबाट दिने गरेको
छ।
देशका कैयौँ ठाउँमा हुलाकले गर्दै आएको परम्परागत कामको पनि उत्तिकै
महव छ। हुलाकका पूर्व कर्मचारी गोपालराज मैनाली शहरबजारमा इमेल, इन्टरनेट,
मोबाइल आए पनि कतिपय दुर्गम गाउँ अै हुलाकको पहुँच बाहिर रहेको बिर्सन
नहुने बताउँछन्। उनी भन्छन्, “अै कति गाउँका मानिसहरू आˆनो ठाउँमा
अतिरिक्त हुलाक आइदिए हुन्थ्यो भन्ने आश गरेर बसेका छन्।” हुलाकको
काम छैन भनेर बेवास्ता गर्नुको साटो यसलाई पनि आधुनिक प्रविधिमा ढाल्दै
दुर्गम क्षेत्रमा विस्तार गर्नुपर्ने मैनालीको सुाव छ। पूर्व सञ्चारमन्त्री
प्रदीप नेपाल पनि इमेल'इन्टरनेट नपुगेका ठाउँका लागि सामाजिक, भौगोलिक
कारणले हुलाकको महव पहिले जत्तिकै भएकोले यसलाई समाप्त गर्नुहुँदैन,
परिमार्जन गर्दै लैजानुपर्छ भन्छन्।
आश र आँट बाँकी छ
शान र मान घटेपनि, समाज र सरकारबाट उपेक्षित भएपनि हुलाक सेवाले आˆनै
प्रयासमा समयअनुसार सेवा विस्तार गर्न र नयाँ प्रविधि अँगालेर अघि
बढ्न छाडेको छैन। कर्मचारीहरूमा निराशाको अवस्था छाउन थालिसके पनि
पूरै आश मरिसकेको छैन। बितेका १० वर्षयता हुलाक सेवा विभागले हुलाक
बचत ब्याङ्क, राष्ट्रिय'अन्तर्राष्ट्रिय द्रुत डाँक सेवामा आर्जन गरेको
सफलता देख्दा सरकारले नयाँ काम र जिम्मेवारी थपिदिए हुलाकले जनस्तरका
अरू काम गर्न सक्छ भन्ने देखाउँछ।
 |
विगतमा हुलाकले शान र मानसँगै बद्नामी पनि कमाएको थियो। धेरै चिठ्ठीपत्र
समयमा नपुग्ने, ब्याङ्क चेक, ड्राˆट र बहुमूल्य पार्सलहरू हराउने गरेकाले
हुलाकप्रति अविश्वास बढ्दै गएको थियो। गोपालराज मैनालीका अनुसार, २०२५'३०
सालदेखि नै हुलाकमा जिम्मेवारीबोध, जवाफदेहिता र उत्तरदायित्वको कमी
देखिन थालेको हो। २०३० सालमा पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय,
नेपालगञ्जका निमित्त निर्देशक समेत रहेका मैनाली भन्छन्, “धेरै चिठ्ठीपत्र
चोरी हुने, पठाइएका पैसा हराउने कारणले हुलाक त्यत्तिकै बद्नाम थियो।
हुलाक अपराधका उजुरीको चाङ हुने भएपनि कमैले सजाय पाउँथे।” हुलाकको
यस्तै बद्नामीको परिणामस्वरुप पछिल्लो एक'डेढ दशकयता निजी कुरियर सेवा
फस्टाएका हुन्।
यही समयमा हुलाकले राष्ट्रिय र अन्तर्राष्ट्रिय निजी कुरियर सेवासँग
आन्तरिक र वैदेशिक द्रुत डाँक सेवामार्फत् देशका १० नगर र २० राष्ट्रहरूमा
प्रतिस्पर्धा पनि गरेको छ। विदेशबाट नेपालमा रेमिट्यान्स पठाउनेहरूका
लागि ६ वटा देशमा वैदेशिक धनादेश सेवा सञ्चालन गरेको छ। हुलाक बचत
ब्याङ्कको पूँजी रु.४५ करोड पुर्याएको छ। ०५४ सालयता ड्राˆट र चेक
चोरी पूरै रोकिएको गोश्वारा हुलाक कार्यालयका तत्कालीन उपनिर्देशक
खडानन्द ढकाल बताउँछन्। उनका अनुसार, एकपटक तीन वटा विदेशी चेक हराएको
घटनाको छानबिनले चेक र ड्राˆट हराउने क्रम नै रोकियो। त्यसबेला सुशान
रे भन्ने एक अष्ट्रेलियाली महिलाले आनन्दकुटी विद्याश्रमका अनाथ बालकको
सहयोगार्थ पठाएको ३०० अमेरिकी डलरको चेक हराएपछि अमेरिकी सिटी ब्याङ्कसँग
सो चेकको विवरण माग्दा नेपाल ब्याङ्कको एक व्यक्तिको खातामा रकम जम्मा
भएको पत्ता लागेको थियो। ढकाल भन्छन्, “हुलाकमा आएको चेक साट्नलाई
कसै न कसैको खातामा जम्मा गर्नैपर्ने भएकाले पठाउने देशबाटै विवरण
मागेर कारबाही शुरु भएपछि यस्तो चोरी हटेको हो।”
 |
तत्कालीन केन्द्रीय धनादेश कार्यालयका प्रमुख ढकालले २०५५ सालमा रु.४०
लाखसहित बचत ब्याङ्क सञ्चालन गर्ने जिम्मेवारी पाएका थिए। हुलाकमा
कार्यरत कर्मचारीहरूलाई पहिलेकै तलब सुविधामा परिचालन गरेर बचत ब्याङ्क
सुचारु गरिएको उनी बताउँछन्। रु.५ मा ब्याङ्क खाता खोलेर रु.२ बचत
गर्न पाउने गरी २०३३ सालमा खोलिएको हुलाक बचत ब्याङ्कको अवधारणा गरिबीको
रेखामुनि रहेका नेपालीका लागि आर्थिक क्रान्ति नै भएको मान्छन् उनी।
हाल रु.१०० मा खाता खोलेर बचत गर्न सकिने यो ब्याङ्किङ सेवा देशभरका
११७ हुलाक कार्यालयमा सञ्चालन भइरहेको छ। हालसम्म यसले रु.४२ करोड
४९ लाख ८० हजार निक्षेप सङ्कलन गरेर रु.३१ करोड ४५ लाख १८ हजार लगानी
गरेको छ।
अन्तर्राष्ट्रिय र आन्तरिक द्रुत डाँक सेवाले अन्य कुरियरले भन्दा
सस्तो, तर भरपर्दो सेवा दिइरहेको गोश्वारा हुलाक प्रमुख लोकप्रसाद
आचार्य बताउँछन्। विदेशी कुरियरले रु.३५ सय लिएर अमेरिका पठाउने पार्सल
हुलाकले ७२ घण्टाभित्र डेलिभरी दिने गरी रु.१ हजारमै पठाउँदै आएको
र आन्तरिक द्रुत डाँक सेवाले १० रुपैयाँमै आजको भोलि डेलिभरी दिनेगरेको
जानकारी दिँदै उनी भन्छन्, “तर पनि सोचेजस्तो स्तरमा मानिसहरूले यी
सेवाको उपयोग गरिरहेका छैनन्।”
एकातिर नयाँ प्रविधिको विकास र अर्कातिर हुलाकको पुरानै कार्यशैलीको
अवस्थामा यस्तो सफलता कसरी हासिल भयो भन्ने प्रश्न पनि उब्जिन सक्छ।
२०४९ र ०५३ सालमा नयाँ सोच र विचारका साथ हुलाकमा प्रवेश गरेका आठ
उपसचिव र ९६ शाखा अधिकृतको देनका कारण हुलाकले आˆनो साख बचाउँदै आएको
तीमध्ये एक खडानन्द ढकाल बताउँछन्।
बदलिँदो समयअनुसार हुलाकलाई प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको
तथा व्यावसायिक, आत्मनिर्भर र स्वायत्त बनाउँदै लैजान हुलाक सेवा विभागले
सरकारसमक्ष तीनवर्षीय अन्तरिम योजना पेश गरेको छ, जसमा आधुनिक सूचनाप्रविधिको
उपयोग गर्दै विद्युतीय हुलाक, बचत ब्याङ्क, मनी ट्रान्सफर र द्रुत
डाँक सेवाको प्रवर्द्धन गर्ने कुराहरू उल्लिखित छन्। महानिर्देशक श्रीधर
गौतम भन्छन् “हुलाकमा आधुनिक प्रविधिको विकास र भौतिक पुनर्संरचना
निर्माण गरेर सरकारले सञ्चारसम्बन्धी अन्य कामको जिम्मेवारी सुम्पिएमा
हामी त्यसका लागि तयार छौँ।”
|