हिमाल खबरपत्रिका  
पूर्णाङ्क १९२ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट गौर नरसंहार

अधिकारका नाममा अपराध

प्रधानमन्त्रीको दोस्रो सम्बोधनले संविधानसभा निर्वाचनसम्मका लागि मधेशको माग पूरा गरे पनि मधेशमा सातदल सक्रिय नभएका कारण अधिकारका नाममा आपराधिक गतिविधि हुन थालेका छन्। गौर नरसंहार त्यसैको एउटा परिणाम हो।

चन्द्रकिशोर, वीरगञ्जमा

तस्बिरहरूः मनोज तिमलसिना

लहानबाट शुरु भएर भैरहवा, परासी, नेपालगञ्ज, आदि हुँदै अघि बढिरहेको नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमको भिडन्तले मध्य'मधेशमा आएर उग्र रूप लिएको छ। ३ चैतमा वीरगञ्जमा भएको माओवादी 'योङ कम्युनिष्ट लिग' र फोरमको डप खासै उग्र नभए पनि त्यसको चारदिनपछि ७ गते गौरमा भएको माओवादी'फोरम भिडन्त 'नरसंहार' मा परिणत भयो।

२ माघदेखि फोरमले आह्वान गरेको मधेशी आन्दोलनलाई माओवादी नेतृत्वले शुरुमा वाक्युद्ध र पछि बल प्रयोगबाट निस्तेज पार्न खोजेको थियो। आन्दोलनले मधेशी विद्रोहको स्वरुप ग्रहण गरेपछि माओवादीले आˆनो नारा र एजेण्डा खोसिएको अनुभूति गर्‍यो। यस क्रममा बढ्दै गएको माओवादी र फोरमको शत्रुतामा राज्यपक्षको चरम उदासीनता जोडिन पुगेपछि ७ चैतमा गौरमा २८ जना एकैचिहान हुन पुगेका हुन्।

गौरमा के भयो?
फोरमले दुई सातादेखि ७ चैतमा गौरको राइस मिल चौरमा आमसभा गर्ने प्रचार गरेको थियो। केही दिनपछि माओवादीको मधेशी राष्ट्रिय मुक्ति मोर्चाले पनि त्यही चौरमा त्यसै दिन आमसभा गर्ने कार्यक्रम राख्यो। परस्पर विरोधी देखापर्दै आएका यी दुई सङ्गठनले एकै समय र एकैठाउँमा आमसभा राखेपछि कार्यक्रमपूर्व नै गौरको वातावरण आतङ्कित भएको थियो। घटना हुने दिन बिहानै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष देवप्रयाग गुप्ता, मानवअधिकारकर्मी रुद्रनारायण ालगायतका व्यक्तिले स्थानीय जुद्ध माविमा दुवै पक्षलाई वार्ता गर्न बोलाए पनि माओवादी आएन। फोरम'माओवादी वार्ता गराउन आयोजित बैठकका सहभागी एमाले कार्यकर्ता रेवन्त ा भन्छन्, “फोरमको घोषित कार्यक्रममा आˆनो कार्यक्रम जुधाएर माओवादीले प्रतिगामी शक्तिलाई चलखेल गर्ने मौका दिएको छ।”

गौरमा कुनै पनि बेला भिडन्त हुनसक्ने आशङ्का थियो। तर, जिल्ला प्रशासनले वास्ता गरेन। प्रहरी पनि त्यति गम्भीर बनेन। गाउँगाउँबाट हजारौँको सङ्ख्यामा आएका फोरमका कार्यकर्ताले माओवादीको मञ्च तोडफोड गरेर आˆनो सभा शुरु गरे। फोरमले सभा सञ्चालन गरेको केही समयपछि जुलुसका साथ आइपुगेका माओवादीहरू फोरममाथि जाइलागे। भिडन्त शुरु भयो। यस क्रममा घटनास्थलमा फायरिङ समेत भएको भन्ने प्रत्यक्षदर्शीहरूको भनाइ छ, यद्यपि गोली हान्न कसले शुरु गर्‍यो भन्ने कुरा स्पष्ट हुनसकेको छैन। त्यसपछि फोरमका कार्यकर्ताले माओवादी लखेट्न थाले र यो भिडन्त नरसंहारमा परिणत भयो। सभामा फोरम समर्थकले रातो, पहेँलो र हरियो रंगका डण्डा बोकेका र उनीहरूले त्यस्तो डण्डा नभएकाहरूलाई आक्रमण गरेका थिए। हिंसाले त्यतिखेर विकराल रुप लियो, जब गाउँगाउँमा माओवादी खोज्दै मार्न थालियो।

यति ठूलो सङ्ख्यामा माओवादीहरू आक्रमणको शिकार हुनुमा विभिन्न कारण छन्। माओवादीको मधेशी राष्ट्रिय मुक्ति मोर्चाले आˆनो कार्यक्रममा सहभागी गराउन दुई वटा ट्रकमा 'योङ कम्युनिष्ट लिग×' मा आवद्ध अन्य जिल्लाका युवालाई गौर पुर्‍याएको थियो। फोरमले आˆना समर्थकहरूको ठूलो समूहलाई हतियारभन्दा पनि धारिलो हुने बाँसको फट्टा बोक्न लगाएको थियो। प्रत्यक्षदर्शीहरूको भनाइमा, घटनास्थलमा नेपाल र भारत दुवै देशमा प्रहरीले खोजी गरिरहेका अपराधी पनि देखिएका थिए। घटनामा देखिएको क्रूरताका पछाडि यिनै आपराधिक तत्वको समेत हात रहेको अनुमान छ।

सधैँ तयारीका साथ भिड्ने माओवादी गौरमा यसरी पराजित हुनुमा त्यहाँको पृष्ठभूमिले पनि काम गरेको छ। फोरमको मञ्च व्यवस्थित थियो, छेउमै राइस मिलका पुराना घरहरू थिए, त्यसको आडमा माओवादीमाथि आक्रमण गर्न फोरमलाई सजिलो भयो। केही दिन पहिले माओवादीले मधेशी आन्दोलनमा लागेका राजावादी तथा पूर्व नगरप्रमुखद्वय बाबुलाल गुप्ता र अजय गुप्तालाई पिटेका थिए। यो समूह माओवादीसँग बदला लिन आतुर थियो। गौर बजारकै आम बासिन्दाहरू पनि माओवादीका विगतका हिंसाबाट सन्तुष्ट थिएनन्। माओवादीले कार्यक्रम समयभन्दा २४ घण्टा अगावै मञ्च बनाएपछि फोरमका कार्यकर्ताले आक्रमणको तयारी गर्ने अवसर पाए।

गौर उत्तरका केही गाविसमा 'तराई कोब्रा' को र पूर्वमा 'मधेशी टाइगर' को केही प्रभाव रहेको स्थितिमा जिल्लाका पश्चिमी गाउँहरूमा पकड भएका माओवादी गौरमा घेराबन्दीमा समेत परेका थिए। तराई जनतान्त्रिक मोर्चा (ज्वाला सिंह) का जिल्ला अध्यक्ष अजय यादव, कोबराका तक्षक, स्वतन्त्र मधेशका केन्द्रीय अध्यक्ष शेरे मधेश र मधेशी टाइगरका जिल्ला अध्यक्ष वीरेन्द्रसिंह यादवले स्थानीय सञ्चारकर्मीलाई फोन गरेर आˆना सशस्त्र लडाकुले माओवादीमाथि आक्रमण गरेको बताएका छन्। यसमा उनीहरूको केही भूमिका थियो वा सस्तो प्रचारबाजीको लागि मात्र त्यसो भनेका हुन् भन्नेबारे स्वतन्त्र पुष्टि भएको छैन।

फोरमको आन्दोलनका कारण १२ माघमै लगभग ध्वस्त जिल्ला प्रशासन कार्यालय, गौरमा प्रजिअ थिएनन्। उनी सम्भावित भिडन्तबाट जोगिन सैनिक ब्यारेकमा बसेका थिए। यसैकारण भिडन्तका पूर्व सङ्केत देख्दादेख्दै पनि प्रशासन निरीह रह्योभन्ने आरोप छ। रौतहटका पत्रकार विवेकानन्द मिश्र भन्छन्, “कार्यक्रमस्थलबाट सय मिटरको दूरीमा बसेका प्रहरी दुई बजे शुरु भएको डप नियन्त्रण गर्न पौने तीन बजे कˆर्यू घोषणा भएपछि मात्रै बाहिर निस्केका थिए।”

फोरमको अन्योल र अस्पष्टता

मधेशी जनविद्रोहको बलमा प्रधानमन्त्रीले गरेको दोस्रो सम्बोधनले संविधानसभा निर्वाचनसम्मको लागि मधेशको मागलाई सम्बोधन गरेको थियो। फोरम स्वयम्ले त्यस सम्बोधनलाई सकारात्मक भनेर तत्काल आन्दोलन स्थगित गरेको हो। तर, त्यसको १० दिनपछि उसले गृहमन्त्रीको राजिनामाको माग गर्दै आमहडताल आह्वान गर्‍यो। हडतालप्रति आन्दोलनका सहयोगी किसान, मजदुर, शिक्षक, विद्यार्थी, उद्योगीहरूको समर्थन घट्न र फोरममाथि चर्को दबाब पर्न थालेपछि उसले कार्यालय बन्द र नाकाबन्दीको कार्यक्रम अघि सार्‍यो। यसमा पनि उत्साहप्रद जनसहभागिता नदेखिएपछि फेरि आन्दोलन स्थगित गरेको थियो।

गौर काण्डपछि पनि केही ठाउँमा सभा, जुलुस, प्रदर्शन गर्नेबाहेक फोरमका जिम्मेवार नेताहरू सार्वजनिकस्थलमा देखिएका छैनन्। फोरमका नेता सीतानन्दन रायले गौर काण्डपछि आमसभाहरू रोकिएको र अब विस्तारै आन्दोलन बढाइने बताएका छन्। फोरमका महासचिव रामकुमार शर्माले एक वक्तव्यमा गौर घटनाको छानबिनमा संयुक्त राष्ट्रसंघको संलग्नता र नेपालमा शान्ति सेनाको आवश्यकताको माग गरेका छन्।

स्वयं माओवादीभित्र पनि गौर घटनाबारे आˆनै खालको मन्थन चलिरहेको बुिन्छ। माओवादी नेतृत्व गौर घटना आˆनो लागि गम्भीर पाठ भएको र यसले उसकै शब्दमा 'भारतीय विस्तारवाद विरुद्ध लड्नुपर्ने' शिक्षा दिएको निष्कर्षमा पुगेको छ। उता मधेशी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रभु साहले गौर घटना वस्तुस्थितिको मनोगत विश्लेषणका कारण भएको बताउँदै यसले मधेशको आन्दोलनलाई विचलित गराउन सक्ने धारणा व्यक्त गरेका छन्।

मधेशमा यस्ता घटना हुनुमा सात दल पनि जिम्मेवार छन्। प्रधानमन्त्रीको दोस्रो सम्बोधनपछि प्राप्त उपलब्धिलाई लिएर राजनीतिक दलहरूले मधेश जाने आँट देखाएनन्। मधेश विद्रोहको क्रममा भएको क्षतिको जाँचबु गर्न गठन गरिएको न्यायिक आयोग विवादरहित हुन सकेन। यसले गर्दा मधेशमा बन्न लागेको सहमतिको वातावरण दलहरूको पक्षमा बनेन। मधेशमा आफूहरू 'साफ' भएको हीनताबोधले हुनसक्छ माओवादीले पनि त्यसका लागि अन्य दलहरूलाई दबाब दिन सकेन। त्यसैले आफूलाई आवश्यक पर्‍यो कि मधेशी भावना भजाउन फोरमलाई सजिलो भएको छ। स्थानीय प्रहरी प्रशासनको उदासीनताले बेलाबेलामा यसलाई मलजल गरेको छ।

'जस्तोसुकै सहयोग'

एक वर्षअघि १६ मङ्सिर २०६२ मा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वरिष्ठ नेताहरू सम्मिलित फोरमको एक उच्चस्तरीय प्रतिनिधि मण्डलले दुई साताव्यापी भारत भ्रमण गरेको थियो। टोलीले भारतीय राजनीतिज्ञ र सरकारका केन्द्रीय गृहराज्यमन्त्री, विदेशराज्यमन्त्री, विदेशसचिव, गृहसचिव, विदेश मन्त्रालयका नेपाल हेर्ने अधिकारी र भारतका नेपालविद् तथा सीमावर्ती क्षेत्रका नेता, सांसद र सरकारी अधिकारीहरूसँग भेटेको थियो।

त्यसको एक वर्षपछि १६ मङ्सिर २०६३ मा सीमा जागरण मञ्चद्वारा रक्सौलमा आयोजित कार्यक्रममा पूर्व गृहराज्यमन्त्री चिन्मयानन्द स्वामीका साथमा उपेन्द्र यादव पनि सहभागी भए। त्यसयता फारविसगञ्जदेखि गोरखपुरसम्मका सीमावर्ती क्षेत्रमा भाजपा र त्यस निकट हिन्दूवादी सङ्गठनहरूद्वारा आयोजित अन्य कार्यक्रममा पनि फोरमको सहभागिता रहने तथा तिनमा नेपालका मधेशीहरूको समर्थनमा कुरा उठ्ने गरेको छ। यही ४ चैतमा गौरको सीमावर्ती बैरगानियामा भाजपाका बाहुबली पूर्वसांसद आनन्द मोहनले मधेशी आन्दोलनलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको घोषणा गरेका थिए।

तर भारतीय सुरक्षा अधिकारीहरूले भने गौर नरसंहारमा संलग्न अपराधीलाई पक्राउ गर्न नेपाल प्रहरीलाई सघाउने वचन दिएका छन्। प्रहरी नायव महानिरीक्षक किरण गौतम भन्छन्, “सीमापारिका अपराधीले नेपाल आएर वितण्डा मच्चाउने गरेकाले त्यसलाई निरुत्साहित गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत भएका हुन्।